शुक्रबार, वैशाख १४, २०८१

प्रत्येक हप्ता कति प्लास्टिक खानुहुन्छ ? एउटा बैंक कार्ड जत्तिकै !

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार १३ गते १५:०६

महासागरको सबैभन्दा भित्रि गहिराई, अर्थात् समुद्रको दुर्गम भागदेखि फोक्सोको अन्तरकुन्तरसम्म माइक्रोप्लास्टिक्स (प्लास्टिकका सुक्ष्म कण) ले आक्रमण गरेको छ । अर्थात् प्लास्टिक समुद्रको गहिराईदेखि मानव शरिरको कोषकोषमा पुगिसकेको छ । मानिसले खाएको खाना वा पिएको तरल जहाँ जहाँ पुग्छ त्यो सबै भागमा प्लास्टिक पुगेकै छ ।

भियनाको मेडिकल युनिभर्सिटीले भर्खरै एक्सपोजर एण्ड हेल्थ जर्नलमा एउटा अध्ययन प्रकाशित गरेको छ जसमा प्रति व्यक्ति प्रति हप्ता औसतमा पाँच ग्राम प्लास्टिक कणहरू मानव ग्यास्ट्रोइंटेस्टाइनल ट्र्याक्ट (हामीले खाना खाएपछि शरिर भित्र प्रवेश गर्ने मार्ग, अंग) मा प्रवेश गर्दछ ।

यसअघिका अध्ययनहरूले मानव रगत र अंगहरूमा प्लास्टिकका कणहरू फेला पारेका थिए। माइक्रोप्लास्टिकले गर्भमा रहेका शिशुलाई पनि हानि पुर्‍याउने गरेको पाइएको छ ।

माइक्रोप्लास्टिक के हो ?

सन् १९५० देखि आठ अर्व ३० करोड टनभन्दा बढी प्लाष्टिक मानिसले उत्पादन गरेको छ, जसमध्ये ७९ प्रतिशत ल्याण्डफिल र प्राकृतिक वातावरणमा फ्याँकिन्छ ।

शरिरमा एन्टिबायोटिक प्रतिरोध हुनुको कारण माइक्रोप्लास्टिक प्रदूषणलाई बेवास्ता गरिएको प्रभावले हो भन्ने अध्ययनले पत्ता लगाएको छ ।

मानव अंगहरूले माइक्रोप्लास्टिकहरू शोषित गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन् । मानिसले फ्याँकेका प्लास्टिक हाम्रो जलमार्ग र माटोमा प्रवेश गर्ने सूक्ष्म र न्यानो कणहरूमा टुक्रिन्छ । शुन्य दशमलव ००१ देखि ५ मिलिमिटरको आकारमा माइक्रोप्लास्टिक्स र शुन्य दशमलव ००१ मिलिमिटरभन्दा कम भएको नानोप्लास्टिक (कणहरू अनजानमा उत्पादन गरिन्छ । अर्थात प्लास्टिक वस्तुहरूको क्षय र निर्माणबाट निस्किन्छन् । र १ देखि १००० एनएम सम्मको आकारमा रहन्छन्) हरू अन्ततः समुद्री खाना वा फलफूल र तरकारीहरू मार्फत हाम्रो खाद्य श्रृंखलामा प्रवेश गर्छन् ।

हामीले प्लास्टिकको बोतलबाट कुनै तरल पदार्थ पिउँदा प्लास्टिक शरीरमा पनि प्रवेश गर्न सक्छ । यी बोतलहरूबाट दैनिक एक दशमलव पाँच देखि दुई लिटर पानी पिउने मानिसहरूले प्रति वर्ष ९० हजार प्लास्टिक कणहरू खान्छन् ।

“यद्यपि धारा, टुटीको पानी रोज्नेहरूले आफ्नो भौगोलिक स्थानको आधारमा ४० हजार प्लास्टिक कणहरू कम गर्न सक्छन्” भियनाको मेडिकल युनिभर्सिटीको अध्ययनमा छ ।

यी कणहरूको अर्को स्रोत माइक्रोबिड अर्थात् साना साना प्लास्टिकका टुक्राहरू हुन्, जुन जानाजानी धेरै स्वास्थ्य र सौन्दर्यका उत्पादनहरूमा प्रयोग गरिन्छ ।

एनजीओ प्लास्टिक सुप फाउन्डेसन (पीएसएफ) द्वारा गरिएको अनुसन्धानले लोरेयल पेरिस, गार्निय, निभिया, जिलेट, ओरल भी, हेड एण्ड सोल्जर र अन्य अग्रणी ब्रान्डहरूका १० कस्मेटिक्समध्ये झण्डै ९ मा माइक्रोप्लास्टिक कणहरू रहेको पत्ता लगाएको छ । यी कणहरूले हाम्रो पानीको स्रोतमा पुगेपछि मानव शरीरमा फर्कने बाटो पनि फेला पार्छन् ।

कस्ता स्वास्थ्य जोखिमहरू फेला परेका छन् ?

सूक्ष्म र न्यानोप्लास्टिक्सको सेवनले स्वास्थ्य जोखिम निम्त्याउँछ कि भनेर धेरै अध्ययनहरूमा अनुसन्धान भइरहेको छ । तर आजसम्म यो धेरै हदसम्म अज्ञात छ । अध्ययन भने जारिनै छन् ।

भियनाको मेडिकल युनिभर्सिटीको अनुसन्धान टोलीले आफ्नो प्रतिवेदनमा वैज्ञानिक ज्ञानको वर्तमान अवस्थालाई संक्षेपमा प्रस्तुत गरेको छ । मानिसले खाएको खाने कुरा भित्र जाने मार्गबाट निस्कने कणहरूले आन्द्राको माइक्रोबायोम (हामी जीवित रहनको लागि सूक्ष्म जीवहरूको विशाल समुहमा निर्भर हुन्छौं । माइक्रोबायोमले हामीलाई कीटाणुहरूबाट जोगाउँछ, ऊर्जामा परिणत गराउन खाना टुक्रा पार्छ र भिटामिनहरू उत्पादन गर्दछ) को संरचनामा परिवर्तन ल्याउँछ ।

माइक्रो प्लास्टिक्सले भ्रूणलाई असर गर्न सक्छ भन्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यी परिवर्तनहरू मोटोपना, मधुमेह र क्रोनिक कलेजो रोग जस्ता खाध्य पदार्थबाट शरिरको कोशिकामा हुने परिवर्तन संवन्धि रोगहरू (मेटाबोलिक डिजिज) सँग जोडिएका छन्।

“प्लास्टिकका कणहरूले स्थानीय जलन (इन्फ्लामेसन) र प्रतिरक्षा प्रतिक्रियालाइ उत्तेजित गर्न सक्छन्, र विशेष गरी नानोप्लास्टिकले क्यान्सरको बन्न संलग्न रासायनिक मार्गहरूलाई प्रेरित गरेको पाइएको छ” अध्ययनमा उल्लेख छ ।

शरीरमा प्लास्टिक कण जान नदिन के गर्न सकिन्छ ?

माईक्रोवेभमा हालेर खाना तताउँदा प्लास्टिकको कन्टेनरको सट्टा माटोका भाँडामा तताउने । तपाईंको घरमा हावा खेल्न दिने । त्यसको लागि घरमा भेन्टिलेटरहरु बनाउने ।

खाना खरिद गर्दा प्लास्टिकको भाँडामा राखिएका खाने कुरा सकेसम्म नकिन्ने । खाना बेर्दा प्लास्टिकमा नबेर्ने, नराख्ने । अध्ययनले चियाको सानो पाकेट (टि ब्याग) र पहिलेनै पकाएर राखिएको भातमा पनि प्लास्टिक कणहरू फेला पारेको छ।

फिल्टर गरिएको धाराको पानी पिउनु महत्त्वपूर्ण छ, किनकि यसले बोत्तलको पानीको तुलनामा भरिएका वा प्रवेश गरेका प्लास्टिकका कणहरू लगभग आधा गर्दछ ।

हामीले लुगा धुँदा पनि धेरै सिंथेटिक कणहरू निस्कन्छ । तपाईंको लुगा धुने मेसिन (यदि मेशिन प्रयोग गर्नुहुन्छ भने) मा रहेको फाइबर-क्याचिङ फिल्टरले माइक्रोप्लास्टिकलाई धुनबाट जोगाउन सक्छ । तर सिंथेटिक फाइबरलाई पूरै बेवास्ता गर्नु पनि महत्त्वपूर्ण छ र यसको सट्टा ऊन, रेशम र भाङ जस्ता प्राकृतिक सामग्रीहरू रोज्नु राम्रो हुन्छ ।

प्लास्टिकको प्रयोगमा एकल-प्रयोग नितिलाई अपनाउने वा प्लास्टिक प्रयोग सीमित गर्न खोज्ने नीतिहरू सधैं महत्त्वपूर्ण हुन्छ । अर्थात् एक पटक प्रयोग गरेको प्लास्टिकलाई फेरि प्रयोग नगर्ने विधि प्लास्टिक कण रोक्ने अर्को तरिका हो ।

तपाइँको प्रतिक्रिया