सोमबार, साउन ३०, २०७९

सगरमाथामा अनुसन्धान स्टेसनः नेपालको रियलटाइम अपलोड, चीनले पनि सूचना देला त ?

फ्रेडी विल्कीन्सन२०७९ असार १३ गते १८:४०

यो वसन्तमा सगरमाथा शिखर आरोहण सम्पन्न गर्नै लाग्दा पर्वतारोहीहरूलाई एउटा नयाँ आकृतिले स्वागत गर्‍यो: वैज्ञानिक उपकरणहरू जडित सात फिट अग्लो यो आकृति चट्टानी सतहमा राखिएको छ । यो २९,०३२ फिट अग्लो सगरमाथाको शिखरबाट ठाडो १३० फिट मात्र तल पट्टी रहेको छ, जहाँ शिखरको अर्को भाग पट्टी चीनतर्फ समान दूरीमा अर्को मौसम स्टेसन देखिन्छ ।

सगरमाथा चढ्ने दुई लोकप्रिय बाटोमा राखिएको यो जडान स्वचालित मौसम स्टेसनहरूका दुई नेटवर्कको सबैभन्दा उचाइमा रहेको चौकी पनि हो ।

सगरमाथा भएका कारण त्यहाँ विवाद हुनु कुनै अचम्मको कुरा होइन, यो विवाद पनि त्यति धेरै अगाडिको कुरा होइन, यहाँ कसले गर्व गर्ने भनेर विवाद खडा भयो। सगरमाथाका दुईतिर भएका स्टेसन मध्ये चीनतिर भएको अग्लो भनेर चिनियाँले आफ्नो राष्ट्रको सानका रूपमा दाबी गरे भने नेपालले पनि आफूतिर भएको अग्लो भनेर दाबी गरे। शायद यो विवादमा गिनिज वर्ल्ड रेकर्डको टोलीले अनुसन्धान गरेर समाधान देला ।

तर यहाँ त्यो भन्दा पनि ठूला मुद्दाहरूका कुरा छन् । दुनियाँको सर्वोच्च शिखरमा यो मानव पूर्वाधारको निर्माणसँगै सगरमाथामा जलवायु परिवर्तनसम्बन्धी हाम्रो समझ एउटा मोडमा पुगेको छ ।

तेश्रो ध्रुव पनि भनिने पृथ्वीमा सबैभन्दा अग्लो यो हिमाल उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्र बाहिर हिउँको सबैभन्दा ठूलो आवरणमध्ये एक हो । यसको हिउँले १० भन्दा बढी नदी प्रणालीलाई पोषित गर्दछ र विश्वका लगभग दुई अर्ब मानिसहरूलाई पानी दिन्छ, अर्थात दुनियाँको कूल जनसङ्ख्याको लगभग एक चौथाईलाई।

जब यी हिमनदीहरू हराउँछन्, नेपाल र चीनको बीचको सहयोग यस दुर्गम र निषेधित क्षेत्रमा तापक्रम वृद्धिको दर, मात्रा र प्रभावलाई बुझ्न महत्वपूर्ण हुनेछ। चीनले सगरमाथाको आफ्नोतर्फको भागमा विदेशीहरूलाई स्वागत गर्न त्यति साह्रो रूचि देखाउँदैन, सन् २०२० मा कोभिड महामारी शुरु भएपछि विदेशी पर्वतारोहीहरूको लागि चीन पट्टीको भूभागबाट आरोहण बन्द छ । तर शोधकर्ताहरूले यसमा दुवै देशले सहकार्य गर्ने आशा गरेका छन् ।

यो तेश्रो ध्रुवमा तापक्रम वृद्धि विश्वव्यापी तापक्रम वृद्धि दरभन्दा दोब्बर रहेको छ र विशेष गरी विगत ६० वर्षमा यो उल्लेख्य रूपमा वृद्धि भैरहेको छ । यी अग्ला पहाडमा २००० वर्ष यताकै सबैभन्दा गर्मी यो शताब्दीमा भयो, त्यसै कारणले यो क्षेत्र जलवायु प्रकोपलाई रोक्नको लागि अनुसन्धानका लागि महत्त्वपूर्ण आधारक्षेत्र हो।

यसै वर्ष जलवायुसम्बन्धी महत्वपूर्ण अध्ययनले सगरमाथाको आसपासको क्षेत्रमा हिउँको दुई तिहाइ हिस्सा सन् २१०० सम्म पग्लेर जानेछ भन्ने चेतावनी दिएको छ । यद्यपि अध्ययनले उल्लेख गरेअनुसार, यस क्षेत्रबाट आएको जलवायु तथ्याङ्कमा उल्लेख्य ‘सूचनाको अभाव’ रहेको छ । यो अधिक उचाइ भएको वातावरणमा हरेक वर्ष हिउँ माथि हिउँ जम्मा भइरहन्छ । यस कठिन भूभागमा भरपर्दो भूभौतिकी तथ्यांक संकलन गर्न पक्कै पनि कठिन छ । तर हालैका दशकहरूमा वैज्ञानिकहरूको बढ्दो सङ्ख्याले चुनौती थपेको छ। सन् २०१९ को वसन्तमा, नेशनल जियोग्राफी सोसाइटीले नेपाल सरकार र घडी निर्माता रोलेक्ससँग सहकार्य गर्दै विश्वभरका विश्वविद्यालय र संस्थाहरूका ३० भन्दा बढी धेरै थरी विषयका वैज्ञानिकहरूको आरोहणको आयोजना गर्न मद्दत गर्यो । म त्यो अभियानको सदस्य थिए र यो टोलीले तयार गर्ने अभिलेखका लागि मद्दत गरेको थिएँ ।

हाम्रो प्रतिबद्धता र अन्यबाट टोलीले गरेका नयाँ खोजीबाट एक आश्चर्यजनक तस्बिर प्राप्त भएको छ ।

उदाहरणका लागि: सगरमाथाको सर्वोच्च हिमनदी साउथ कोलबाट २६,००० फिटभन्दा माथिको उचाइबाट निकालिएको हिउँको ढिक्काले सतहमा रहेको हिउँ लगभग २,००० वर्ष पुरानो भएको देखाएको छ। यसको अर्थ हो त्यहाँ त्यसपछि धेरै हिउँ जम्मा भयो, जुन १८० फिटको उचाइसमेत अग्लिएर बस्यो तर पछि हरायो । सगरमाथामा आरोहण गर्नेहरूको भीडले पनि ठूलो नकारात्मक प्रभाव पारेको देखिन्छ । हिउँको नमूनाहरूले पर्वतमा लगभग सबै बाटोमा माइक्रोप्लास्टिक भेटिएको स्पष्ट भयो र सगरमाथाबाट हिउँ तथा पानीको नमूनाहरू पीएफएसले (औद्योगिक एवं उपभोग्य उत्पादनहरूमा व्यापक रूपमा प्रयोग हुने रासायनिक पदार्थ लामो समयसम्म रहन्छ। ) भरिएका थिए ।

सगरमाथाको उत्तरतर्फ चीनका उच्च उचाइमा पुगेका वैज्ञानिकहरूले पनि उल्लेखनीय उपलब्धि हासिल गरेका छन् ।

वर्षौँसम्म उनीहरूले यस क्षेत्रको एक व्यापक जलवायु इतिहास संकलन गरेका छन् । वास्तवमा, सगरमाथा जलवायु वैज्ञानिकहरूमध्ये सबैभन्दा अनुभवी सम्भवत: चीनको राज्य कुञ्जी प्रयोगशाला क्रायोस्फेरिक विज्ञानका शिचाङ काङ हुन् । डा. काङले सन् १९९७ मा सगरमाथा क्षेत्रमा काम गर्न थालेका थिए र २१ हजार ३ सय फिटभन्दा माथि ११ वटा वैज्ञानिक आरोहण गरिसकेका छन् । चिनियाँहरू तिनीहरूका पश्चिमा समकक्षीहरू भन्दा ‘धेरै समय टिक्न सक्ने’ खालका छन्, नेशनल जियोग्राफिक अभियानमा संलग्न मेन विश्वविद्यालयका ग्लेसियोलोजिस्ट पाल मेवेस्कीले भने । डा. काङ उनैका चेला हुन ।

चिनियाँ मौसम स्टेसनहरू अनुसन्धानको एक पाटो मात्र हुन् । गएको वसन्तमा यस क्षेत्रमा २७० भन्दा बढी अनुसन्धानकर्ताहरूले अध्ययन गरेका थिए ।

हिमालमा हुने परिवर्तनको गतिलाई जोड दिँदै नेपालले गत साता आफ्नो सगरमाथा आधार शिविर खुम्बु ग्लेशियरको १७,६०० फिटमा रहेको स्थानलाई पहाडको ६५० देखि १,३०० फिट तल्लो नयाँ स्थानमा सार्ने घोषणा गरेको थियो । सयौँ पर्वतारोहीहरूले आराम गर्न, उचाइमा अभ्यस्त हुन र आरोहणको लागि तयारी गर्न आधार शिविर प्रयोग गर्छन् । तर अन्वेषकहरूले हिमनदी चाँडो अस्थिर भइरहेकाले अब यसको सतहमा शिविर बस्न उपयुक्त नभएको बताएका छन्।

नेपाल परियोजना आफ्नो अनुसन्धान तथ्याङ्क रियल टायम अपलोड गर्छ । चिनियाँहरूले त्यसो गर्दछन् वा गर्दैनन् भन्नेचाहिँ अस्पष्ट छ । डा. मेवेस्की भने चीनले विश्वको उच्चतम् उचाइमा परिवर्तन हुने जलवायुको बारेमा आफ्नो अनुसन्धानका सूचना बाँड्ने कुरामा आशावादी छन् ।

यसमा डा. क्लाउड लोरियस एउटा उदाहरण हुन। हिम चट्टानका संरक्षक सन्त मानिने डा. लोरियसले वैज्ञानिक खोजका लागि आपसी सहयोग कति महत्वपूर्ण छ भनेर देखाए । विश्वव्यापी तापमान वृद्धिको बारेमा उनको सन् २०१५ को असाधारण वृत्तचित्र ‘आइस एन्ड द स्काई’ मा डा. लोरियसले सन् १९८० को दशकमा दक्षिण भू–चुम्बकीय ध्रुव नजिकैको सोभियत संघको बेस रहेको भोस्तोकमा आफूले गरेको खोजी अभियानको बारेमा कुरा गरेका छन् ।

त्यतिबेलाको खोजी अभियानका बारेमा उनले भने “विश्वको सबैभन्दा दुर्गम क्षेत्रमा शीत युद्धको बीचमा सोभियत संघको बेसमा फ्रान्सेली अनुसन्धानकर्ताहरूका लागि अमेरिकी लजिस्टिक प्रबन्ध गरिएको थियो। ” उनको लागि यो “विज्ञान राजनीतिक विभाजन भन्दा माथि छ भन्ने ठूलो प्रमाण हो ।” सगरमाथाका मामिलामा पनि डा. क्लाउड लोरियसको यो भावनाले जित्ने छ भन्ने आशा गरौँ ।

प्रस्तुतिः मनोजराज रेग्मी

(द न्युयोर्क टायम्समा प्रकाशित फ्रेडी विल्कीन्सनको आलेखको भावानुवाद । श्रोत: आइएनएस-स्वतन्त्र समाचार)

तपाइँको प्रतिक्रिया

फेसबुक