आइतबार, मंसिर ११, २०७९

दरबारमार्गलाई जर्मनीको माक्सिमिलियन स्ट्रिट बनाउने झाँक्रीको त्यो सपना

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असार १४ गते १८:४९

राम कुमारी झाँक्री

जर्मनीको म्युनिखमा एउटा निकै चर्चित स्ट्रीट छ- म्याक्सिमिलियन स्ट्रिट । बवेरियन राजा म्याक्सिमिलियन द्वित्तिय (सन १८४८-१८६४) ले त्यति बेलै यो स्ट्रिटको निर्माण गरेर आफ्नै नाममा यो बाटोको न्वारान गरेका थिए । जर्मनी भरी यो स्ट्रिटको विशेषता भनेको ब्यापारका लागि मात्र हो । लण्डनको अक्स्फोर्ड स्ट्रीट जस्तै ।

खासमा युरोपका यि दुई दुनियाँभरकै धनी बाटाहरु हुन । बाटोमा हरिया बुट्यान छैनन, अम्रेला स्ट्रिट जस्तो रंगीन छाताहरु झुण्डिएका छैनन । मात्र अग्ला पहेंला घरहरुले दिने छेउछाउको अलिकती शितल बाहेक यो स्ट्रिट उधुम सँग चर्को छ । तैपनी युरोप घुम्न आउने दुनियाँभरका धनीमानी थिग्रिने ठाउँँ यही हो । नेपालबाट घुम्न जानेहरु यो स्ट्रिटमा किन जान्छन र खोइ ? धेरै अघी सुजाता कोइराला पुगेकी थिइन । त्यसवाहेक को पुगे होला ? छैनन ।

महँगा रेस्टुरेन्ट, कपडा, घडी, जुत्ता, चप्पल, झोला र गरगहनाका ब्रान्डेड दोकानहरु धेरै नेपालीको औंकात भन्दा बाहिरका कुरा । तर त्यो साँझ रामकुमारी झाँक्री दिउँसो त्यही म्याक्सिमिलियन स्ट्रिटको चक्कर काटेर बेलुकाको खानाको बन्दोवस्त गरिएको रोजनहाइमर प्लाजको इत्रुको नेपाली रेष्टुरेन्टमा पुगेकी थिइन । यो अली पुरानो कुरा हो । झाँक्री नेपाली राजनीतिमा आक्रामक तरिकाले अघी बढिरहेकी थिइन ।

“यो केटीले पक्कै केही गर्छे” धेरै मान्छेहरुले भन्ने कुरा यहि थियो । उनी सांसद, मन्त्री वा पार्टीको कुनै पनि ठुलो ओहदामा थिइनन । तर तिनले जाँगर चलाएकी थिइन । हो कि क्या हो- गगन थापा र झाँक्री जस्ता दुई चार जना युवाहरुको आवाजलाई उचाल्न सक्ने हो भने देशले फड्को मार्न के बेर !

तिनी भर्खर कि कल्कलाउँदी नेतृ, आकाश छुने गरी धेरैले आशा गरेकी । सम्भव भए सम्मका नेपाली त्यहि इत्रुको रेष्टुरेन्टमा जम्मा भएका थिए । ‘दिनभरिको घुमाई मज्जाले पो थाकिएछ’ तिनी सुस्केरा काढ्दै कुर्सीमा बसिन ।

‘ओहो त्यो म्याक्सिमिलियन स्ट्रिट कती महँगो हो । त्यहाँ त किनमेल कै लागि दुनियाभरका धनी मान्छेहरुको भेला हुने रहेछ’ तिनले भनिन ‘हाम्रो दरवार मार्गलाई यस्तै किनमेल गन्तव्य बनाउन सक्ने हो भने कस्तो हुँदो हो !’

कोरोनाकाललाई छोड्ने हो भने जर्मनीको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रले लगभग १० प्रतिशतको योगदान गर्छ भने यहि क्षेत्रले करीव करिव ५४ लाख रोजगार सृजना गरेको छ जुन देशको कुल रोजगारीको लगभग १२ % हो । झाँक्रीले दिन भरको घुमघाम र केही पुस्तकालयहरुको अवलोकन पश्चात यि कुरा बुझेकी थिइन । साँझको खानाका लागि जम्मा भएका धेरैलाई के लागेको थियो भने झाँक्री प्रधानमन्त्री बनिन भने देश कस्तो बन्ला ?

खासमा भर्खर राजनीतिको पर्खालमा खुट्टा अड्याउने खोपिल्टो खनिरहेकी उनलाई देश कस्तो बनाउने भन्ने पत्तै थिएन । गुल्मीलाई बुटवल जस्तो बनाउने, बुटवललाई काठमाडौं जस्तो बनाउने । उनले बुझेको यही थियो । तर काठमाडौंलाई कस्तो बनाउने ? सोचमै थिएन । सुनेर भन्दा देखेर नै थाहा पाइन ।

‘खासमा काठमाडौंको बिकास मोडेल म्युनिख जस्तै हुनु पर्दछ’ तिनले भनिन ‘दरवार मार्ग मक्सिमिलियन स्ट्रिट जस्तै, रत्नपार्क लुड्विग पार्क जस्तै र न्युरोड मरियन प्लाज जस्तै ।’

कुन्नी कसले सोध्यो- ‘यही युगमा बन्ला त दिदी ‘?

‘किन नबन्नु, ईच्छा शक्ती भयो भने यो जस्तो बनाउन कतिबेर पो लाग्छ’ उनले भनिन ।

त्यहाँ उभिएका धेरैले त्यहि दिन रामकुमारी झाँक्री मन्त्री बनुन भनेर मनमनै भाकल पनि गरे । तिनको बाटो रोकिएन । ८ महिना २० दिन अघी मन्त्री बनिन । त्यो पनि शहरी बिकास मन्त्री । दरवार मार्गमा म्याक्सिमिलियन स्ट्रिटको खाका बसाल्न सक्ने मन्त्रीको कुर्सीमा पुगिन । यो ८ महिना २० दिनको समय दरवारमार्गमा म्याक्सिमिलियन स्ट्रिट झराल्न मिल्ने समय होइन । तर पनि उनले जाँदा जाँदै भनेकी छन- आफू शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू हो । यसको परिणाम विस्तारै देखिदै जाने छ । ९ महिनाको समय कुनै पनि मन्त्रीका लागि काम देखाउन मिल्ने समय होइन । तर आधा वर्षमै मन्त्री अथवा सरकार फेरिनु भनेको कुनै पनि देशको बिकासका ढोकाहरु खुल्न नसक्नु हो । विश्वको प्रजातान्त्रिक ईतिहासमा निकै ठूलो अध्ययन र अनुसन्धान पछी कुनै पनि निर्वाचित सरकारका लागि पाँच वर्षको समय तोकिएको हो । यो अवधिमा ठ्याक्कै कुनै परियोजना तयार भएर देखाउने अवस्थामा नपुगे पनि एउटा गतिलो खाका भने तयार हुन्छ र निर्वाचन पछी आउने सरकारले त्यसलाई निरन्तरता दिन सक्छ ।

नेपालमा ब्यवस्था प्रजातान्त्रिक भनिएको छ । पाँच वर्षमा चुनाव पनि हुन्छ । सरकार पनि बन्छन । तथापी कुनै पनि सरकारले आफ्नो पूर्ण अवधी पार गर्दैनन । राजनीतिमा धेरै ठूलो महत्काकांक्षा मिसिएको छ । हरेकलाई प्रधानमन्त्री बन्नु छ, मन्त्री बन्नु छ । यसले देश बन्ने कुरा गौंण बनेको छ ।

रामकुमारी झाँक्री किन मन्त्री बनाइन् र किन निकालिइन् ? उनलाई जत्तिको अरु कसैलाई थाहा छैन । तर ९ महिना नपुग्दै निकालिन्छु भन्ने कुरा उनले नसोचेको हुन सक्दछ । उनको महत्काकांक्षाले उनी मन्त्री बनिन् र अर्काको महत्वकांक्षाले निकालिइन् । देशका लागि सबै भन्दा ठूलो दुर्भाग्य यही हो । सम्पूर्ण प्रणाली कसै न कसैको महत्वाकांक्षामा चलेको छ ।

रामकुमारी झाँक्री रुँदै मन्त्रीको पदबाट हिंडिन् । केका आँसु थिए ति ? जसले जसरी पनि व्याख्या गर्न सक्दछ । उनलाई पदमा रही रहने भोक पनि हुनसक्दछ र कार्यकारी ठाँउमा पुगेर पनि काम गर्ने पर्याप्त समय नदिएको पिडा पनि हुन सक्दछ । जे भए पनि झाँक्रीको राजनीतिक चेत उम्रिएको त्यही मैदान हो जहाँँ तिसौं वर्ष देखी माधव नेपाल, केपी ओली, शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरुले सत्ता प्राप्तिका अनगिन्ती प्रपन्च बुनिरहेका हुन्थे । त्यो राजनीतिक शिक्षामा समाहित भएको मान्छेमा नयाँँ खालको चेत खुलेको होला भन्नु गलत हुने छ । आँसु बगाउँदै भर्‍याङ झरेकी झाँक्रीले अब चाल्ने कदम पनि त्यही हुनेछ जुन कदम अरुले चालेका थिए र उनलाई वहिर्गमनको बाटो देखाएका थिए । नेपाली राजनीतिको मुख्य समस्या यहि ।

यदि झाँक्रीका आँसु देशका लागि थिए भने अब उनले समात्ने बाटो राजनीतिक स्थायित्वका लागि हुनु पर्दछ । कम से कम एउटा मन्त्रीलाई पूर्ण काल काम गर्ने वातावरण बनाउने तर्फ हुनु पर्दछ । काम गर्नका लागि समय चाहिन्छ, सरकारी ढड्डामा नाम लेखाउन दुई दिन भए पुग्छ । यदि काम गर्ने वातावरण बनाउन तर्फ झाँक्री लागिन् भने कोठारिका नेताहरुको समर्थन जुटाएर राजनीति गर्ने माधव नेपाल, ओली, देउवा र झलनाथ खनालहरुले रातभरी बसेर बुनिने षड्यन्त्रका मैदानमा खुट्टा अड्याउन पाउँदैनन । तर ति आँसु पदका लागि मात्र थिए भने फेरी मन्त्री बन्ने अनगिन्ती बाटाहरु हुन सक्दछ । ति बाटाहरु जताबाट समाते पनि हुन सक्दछ । झाँक्रीले म्युनिखको त्यो माक्सिमिलियन स्ट्रिट बिर्सेंकी हुन सक्छिन तर रोजनहाइमर प्लाजको भित्र पट्टी उनलाई स्वागत गर्न उभिएका ति नेपालीले सम्झिरहेका छन । दरवार मार्ग, म्यासिमिलियन स्ट्रिट ।

तपाइँको प्रतिक्रिया