सोमबार, साउन ३०, २०७९

पुरुष माथिको यौन हिंसा– पत्याउँदैन समाज

दुर्गा रानामगर / पोखरा२०७९ असार १६ गते १३:१०

Image source-behaveatwork.com

पोखराका ३१ वर्षीय अमित बराल नेपालका प्रसिद्ध फेसन डिजाइनर हुनुहुन्छ । नेपालका टप मोडलदेखि चलचित्रसम्म धेरैका लागि फेसन डिजाइनरको रूपमा उहाँले काम गर्नुभएको छ । उहाँ यस क्षेत्रमा रमाउनुहुन्छ । तर बेलाबखत उहाँमाथि भएका यौन हिंसाका घटनाले उहाँ यस क्षेत्रमा असुरक्षित पनि महसुस गर्नुहुन्छ । फेसन डिजाइनको सुरुवातको समयमा एक चलचित्र निर्देशकसँगको पहिलो भेटमा हात मिलाउँदा (ह्यान्ड सेक) उहाँले आफ्नो शरीर चिसो भएर आएको महसुस गर्नुभयो । सामान्य हात मिलाइ र त्यस निर्देशकको हात मिलाइमा फरक थियो । निर्देशकले उहाँलाई खराब आशयले हात मिलाएको बरालले महसुस गरेकै कारण प्रतिक्रियाविहीन भएर उहाँ अन्यौलमा पर्नुभयो । बराल भन्नुहुन्छ– “अरुले यो घटना सुन्दा पक्कै नर्मल ह्याण्ड सेक त हो भन्ने लाग्ला । तर मलाई यो घटना सम्झिदा पनि गाह्रो हुन्छ किनकी त्यो उहाँले त्यतिबेला मलाई मोलेस्ट गर्नुभएको हो ।”

त्यस पश्चात उहाँलाई एक नेपाली चलचित्रको फेसन डिजाइनका लागि अफर गरिएको समयमा निर्देशकले सिधै यौन प्रस्ताव गरेको स्मरण पनि छ । “मेरो करियरको पहिलो चलचित्र थियो । मैले अरु नराम्रो सोचिन । तर डिरेक्टरले मलाई के दिन्छौ तिमीले अब भन्नुभयो । पछि कतै रात बिताउँ भन्ने प्रस्ताव राख्नु भयो ।”

बरालले यसपछि लगातार धेरै पटक यौन हिंसाको घटना भोग्नुभयो । क्लबमा जाँदा होस् वा फिल्डमा नयाँ मान्छेहरू भेट्दा होस् उहाँलाई लगातार यस्तो घटना भइरह्यो । उहाँले भन्नुभयो– “म एक केटा भएको कारणले यो घटना बाहिर ल्याउन सकिन । अझै पनि मान्छेहरूलाई केटामाथि हुने यस्ता घटना अचम्म र असम्भव जस्तो लाग्छ । मैले भने पनि कसैले पत्याउदैनन् जस्तो लाग्छ । तर यौन हिंसाले महिला र पुरुष भन्दैन ।”

आफ्ना छोराछोरीलाई राम्रो बोर्डिङ स्कुल हालेको छु भनेर मात्र हुँदैन हरेक दिन बच्चालाई उसको बारेमा सोध्नुपर्छ । उनीहरूलाई दुर्यवहारका बारेमा भन्नुपर्छ । अहिलेको यस घटनाले पनि बालिकालाई मात्र होइन बालकलाई पनि यस्ता यौन दुराचारीहरूबाट उत्तिकै सुरक्षित राख्नुपर्छ ।

फेसन डिजाइनर बरालले भन्नुभएको जस्तै महिलामाथिका यौन हिंसाका घटना सामान्य रूपमा बाहिर आए जसरी पुरुषमाथिको यौन हिंसाका घटना बाहिर आउँदैनन् । घटना आए पनि समाजले पत्याउदैन भन्ने डर हुन्छ।

“छोरीहरूलाई यौन दुव्र्यवहार हुन्छ भनेर भनिरहँदा छोरीप्रति अभिभावक, शिक्षक सबै सचेत हुनुहुन्छ । तर दूर्ब्यवहार छोरालाई पनि हुन सक्छ भन्ने सचेतना नहुँदा घटनाहरू बाहिर आउन सजिलो हुँदैन । छोराहरूलाई मैले यो घटना बाहिर ल्याए के होला भन्ने हुन्छ ।”

हालै कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको एक विद्यालयका बालकहरूमाथि भएको यौन दुर्व्यवहारको घटना बाहिर आएको छ। विद्यालयका संस्थापक रामचन्द्र शाहीले धेरै समयदेखि बालकहरूलाई अप्राकृतिक यौन क्रियाकलाप गर्न बाध्य पारेका रहेछन् । आरोपित लाहाचोकमा सामाजिक प्रतिष्ठा कमाएका व्यक्ति पनि हुन् । घटना बाहिर आउँदा सुरुमा सबैले बालकहरू कसैबाट परिचालित भएर आरोप लगाएका हुन् भन्ने थियो । ‘बालकलाई पनि यस्तो हुन्छ र’ भन्ने प्रश्न भएकै कारण घटनालाई गुपचुप विद्यालय भित्र नै मिलाउने प्रयास पनि गरियो । एकपछि अर्को बालक आफू माथि यौन हिंसा भएको भनि बाहिर निस्किए र विद्यालय नै बन्द गर्नुपर्ने स्थिति आइसकेपछि भने घटना प्रहरीसम्म पुग्यो ।

माछापुच्छ्रे गाउँपालिका ४ का वडा अध्यक्ष मधुसुधन अधिकारीले भन्नुभयो– “गाउँका एकदमै सन्त व्यक्ति भएकाले बालकहरूले यी कुरा बाहिर ल्याउदा कसैको उक्साहटमा बोलेका हुन् कि भन्ने थियो– हामीलाई । त्यसैले पनि वार्ताको प्रयास भएको थियो । तर एक पछि अर्को गर्दै धेरै बालकहरू बाहिर आएपछि घटना भएको रहेछ भन्ने भयो । घटना दुखद् छ ।”

विद्यालयमा अध्ययनरत तथा त्यहाँबाट एसएलसी दिएर गइसकेका छात्रहरूले संस्थापक शाहीले दुर्व्यवहार गरेको बताएका छन् । कास्की प्रहरीमा भने ४ जना बालकले शाही विरुद्ध संयुक्त लिखित जाहेरी दिएका छन् । विद्यालयको कार्यालय कोठादेखि सुनसान ठाउँमा शाहीले जर्बजस्ती अप्राकृतिक यौन क्रियाकलाप गर्न लगाएको आरोप बालकहरूले लगाएका छन् । हाल अनुसन्धानका लागि यौन दुराचारीको आरोप लागेका रामचन्द्र शाही थुनामा छन् । कास्की प्रहरी प्रवक्ता सुन्दरप्रसाद तिवारीका अनुसार यस घटनालाई प्राथमिकता राखेर प्रहरीले अनुसन्धान बढाइएको छ । उहाँले भन्नुभयो– “बालबालिकाको विषय भएकाले हामी संवेदनशील छौं र प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छौ।”

राष्ट्रिय बाल अधिकार परिषदका गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्ले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै मिडियाले बाल दूर्ब्यवहारको घटनासम्बन्धी समाचार बनाउँदा संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “अहिले हाम्रो मुख्य सरोकार भनेको बालकहरूको युट्युबमा आइरहेको अन्तरवार्ता प्रति छ । अनुहार नदेखाएर मात्र हुँदैन, बारम्बर यसबारेमा प्रश्न सोधिरहँदा बालकहरूमा नकरात्मक मनोवैज्ञानिक असर पर्न सक्छ।”

बच्चालाई राम्रो बोर्डिङ स्कुल हालेको छु भनेर मात्र हुँदैन, हरेक दिन बच्चालाई उसको बारेमा सोध्नुपर्छ । उनीहरूलाई दुर्व्यवहारका बारेमा भन्नुपर्छ ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था कोपिला नेपालका निर्देशक बिना सिलवालले बालबालिकाले सबैभन्दा सुरक्षित महसुस गर्ने ठाउँ घर र विद्यालयमा भए पनि दुवै ठाउँमा बालबालिका सुरक्षित नरहेको बताउनुभयो । बाल दूर्ब्यवहार अक्षम्य अपराध भएको बताउँदै सिलवालले डर त्रास देखाएर बालकमाथि भएको यस्तो घटना अमानवीय भएको बताउनुभयो ।

सिलवालले भन्नुभयो– “छोरीहरूलाई यौन दुव्र्यवहार हुन्छ भनेर भनिरहँदा छोरीप्रति अभिभावक, शिक्षक सबै सचेत हुनुहुन्छ । तर दूर्ब्यवहार छोरालाई पनि हुन सक्छ भन्ने सचेतना नहुँदा घटनाहरू बाहिर आउन सजिलो हुँदैन । छोराहरूलाई मैले यो घटना बाहिर ल्याए के होला भन्ने हुन्छ ।” उहाँले अप्राकृतिक भएका कारणले नै बालकलाई हुने यौन दूर्ब्यवहारको घटना समाजले नपत्याउने र नबुझ्ने गरेको बताउनुभयो ।

पोखराकी सलिजा श्रेष्ठलाई सानैमा आफन्तबाट यौन दूर्ब्यवहार भयो । त्यतिबेला आफूलाई के भएको हो भन्नेबारे उहाँलाई थाहा थिएन । पछि हुर्कंदै गएपछि बल्ल आफू माथि यौन दूर्ब्यवहार भएको रहेछ भन्ने कुरा श्रेष्ठले बुझ्नुभयो । इन्टेरियर डिजाइनर समेत रहनुभएको श्रेष्ठ अहिले बाल यौन दुर्व्यवहार विरुद्ध आवाज उठाउँदै आउनुभएको छ । सलिजाले महिलामात्र नभएर पुरुषमाथि हुने यौन हिंसाको घटनाप्रति पनि संवेदनशील हुनुपर्ने बताउनुभयो ।

सलिजाले भन्नुभयो– “महिलाका लागि यौन हिंसा भयो भनेर बाहिर आउनु जति सामान्य बनेको छ त्यति नै असामान्य पुरुषलाई यौन हिंसा भयो भन्नु भएको छ ।”

उहाँले बाल यौन दुर्व्यवहारबाट बालबालिकालाई बचाउन अभिभावककै भूमिका मुख्य हुने बताउनुभयो । “बच्चालाई राम्रो बोर्डिङ स्कुल हालेको छु भनेर मात्र हुँदैन, हरेक दिन बच्चालाई उसको बारेमा सोध्नुपर्छ । उनीहरूलाई दुर्व्यवहारका बारेमा भन्नुपर्छ । अहिलेको यस घटनाले पनि बालिकालाई मात्र होइन बालकलाई पनि यस्ता यौन दुराचारीहरूबाट उत्तिकै सुरक्षित राख्नुपर्छ भन्ने सन्देश दिएको छ ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक