शुक्रबार, वैशाख ७, २०८१

शुक्रवार देखि युरोपेली संघको अध्यक्षमा चेक गणतन्त्र, के छन् प्राथमिकता ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार १६ गते २१:२२

युरोपका २७ राष्ट्रको संगठन युरोपेली संघ (ईयु) को अध्यक्षता  शुक्रवार (जुलाई ०१) देखि चेक गणतन्त्रले गर्ने छ ।

यसको अध्यक्षता बिहिवारसम्म फ्रान्सले लिईरहेको छ । ईयुको नियम अनुसार प्रत्येक छ महिनामा ईयुको अध्यक्षता बदलिन्छ । प्रत्येक देशले  छ महिनाका दरले पालै पालो अध्यक्षता लिने प्रचलन छ ।

पछिल्लो पटक चेक गणतन्त्रले ईयु अध्यक्षता सन् २००९ को प्रारम्भमा सम्हालेको थियो । त्यो बेला युरोप विश्वव्यापी वित्तीय संकटबाट गुज्रिरहेको थियो । युरोपेली सार्वभौम ऋण संकटको संकेत देखापर्न थालेको थियो ।

शुक्रबार, १ जुलाईमा चेक गणतन्त्रले फेरि अर्को आपतकाल (रुस युक्रेन युद्द) को अवधिमा ईयुको अध्यक्षता लिँदै छ।

संकट व्यवस्थापनको अभ्यासमा चेक गणतन्त्रले युक्रेनको समर्थनमा क्षेत्रीय सहयोगलाई बलियो बनाउने, बढ्दो मुद्रास्फीति र चलिरहेको ऊर्जा संकटको लागि केही साझा समाधानहरू खोज्ने लक्ष्य राखेको छ ।

तर आलोचकहरुका अनुसार ३१ डिसेम्बरमा अध्यक्षताको कार्यकाल समाप्त हुँदा यी सङ्कटहरू झन् नराम्रोसित देखिनेछन् ।

गत वर्षको अन्त्यमा चेकमा गठबन्धन सरकार बनेको थियो । यो अघिल्लो चेक प्रशासनहरू भन्दा बढी ईयु समर्थक र पश्चिमतर्फ ढल्केको देखाउने वा पस्चिमलाई रुचाउने भनेर देखिन आफ्नो लगाव प्रमाणित गर्ने क्षण हो ।

“हाम्रो सरकारको प्राथमिक चासो भनेको समसामयिक आवश्यकताहरू र हाम्रा अगाडि रहेका चुनौतीहरूको लागि पर्याप्त रूपमा सफल पारेर अध्यक्षको कार्यभार पूरा गर्नु हो” सरकारका प्रेस प्रवक्ता भाक्लाभ स्मोल्काले युरोन्यूजलाई भने।

तर अघिल्लो चेक प्रशासनले नयाँ गठबन्धन सरकारको लागि उपलब्ध प्रेसिडेन्सीको बजेटलाई नाटकीय रूपमा कटौती गरेर गठबन्धन सरकारले पुरा गर्न खोजेका तयारीहरूलाई मद्दत गरेन ।

चेक गणतन्त्रले ईयु अध्यक्षको लागतको लागि लगभग पाँच करोड ६० लाख युरो  हस्तान्तरण गर्नुपर्‍यो । सन् २००९ मा १५ करोड युरो भन्दा बढी थियो ।

प्रधानमन्त्री पेट्र फियालाले आफ्नो सरकारले यसमा नौ करोड ३० लाख युरो बढाउनको लागि केही थप कोषहरू फेला पारेको हालै घोषणा गरे। तर अध्यक्षता गरेको टोलीमा पैसाको समस्याले योजना सफल पार्नकालागि भर्ती र योजनामा समस्या उत्पन्न गरेको छ ।

चेक परराष्ट्र मन्त्रालयका एक अधिकारीले नाम नखुलाउन आग्रह गर्दै तयारी राम्रो हुन सक्ने अवस्था रहँदारहँदैपनि कतिपय चीजहरू हतारमा निर्णय गरिएको बताएका छन् ।

युक्रेनमा पैसा र हतियार बढाउने चाहना

चेक गणतन्त्र आफ्नो अध्यक्षताको कालमा युक्रेनमा ईयुको अधिक पैसा र हतियार बढाउन चाहन्छ ।

चेक सरकारले १५ जुनमा आफ्नो पाँच बुँदे नीतिको रूपरेखा घोषणा गर्‍यो । “यो युद्धको अध्यक्षता हुनेछ, वा आशा छ कि युद्ध पछिको अध्यक्ष जस्तो हुनेछ” इयुका लागि चेक स्थायी प्रतिनिधि एडिता हर्डाले स्थानीय मेडियालाई बताइन् ।

प्रागमा रहेको थिंक ट्याङ्क, अन्तर्राष्ट्रिय मामिलाहरूको संघकी इभाना कारास्कोभा युक्रेनको युद्ध ईयु एजेन्डामा हावी हुने अनुमान गर्छिन् ।

“युक्रेनलाई सैन्य र राजनीतिक दुवै मोर्चामा कडा समर्थन गर्ने देशको रूपमा चेक गणतन्त्रले रूसी आक्रमणको बहसमा महत्त्वपूर्ण आवाजको प्रतिनिधित्व गर्ने” उनले उल्लेख गरिन्।

चेक विदेशमन्त्री जान लिपाभ्स्कीले गत हप्ता वाचा गरे- हाम्रो देशले युक्रेनलाई सैन्य र भौतिक सहायता जारी राख्नेछ । हामी युक्रेनको अखण्डतालाई दृढतापूर्वक समर्थन गर्न जारी राख्नेछौं ।”

गत हप्ता युक्रेनलाई ईयु उम्मेद्वारको सदस्यता प्रदान गरेपछि चेक गणतन्त्रको काम अलि सजिलो बनाइएको थियो जुन यसले इयु अध्यक्ष पदको घोषणा लक्ष्यहरू मध्येको एक हो । अब यसको काम त्यो प्रक्रियालाई अगाडि बढाउने हो ।

तर, शुरुका महिनाहरूमा देखिएको युरोपेली एकता रुसले युक्रेनमा आक्रमण गरेपछि विचलित हुन थालेको देखिएको छ । त्यसपछि यो काम कठिन देखिएको छ ।

किनभने जर्मनी जस्ता केही देशहरूले युक्रेनलाई सैन्य समर्थन गर्न पर्याप्त काम गरिरहेका छन् कि छैनन् भन्ने विषयमा चर्को बहस भइरहेको छ । रुसी ग्यास आयात स्वीकार गर्ने वा नगर्ने भन्नेबिचपनि विवाद चर्किएको छ । ईयु देशहरुबिच दुई पक्षमा ध्रुविकरण बढीरहेकोपनि बताइएको छ ।

विश्लेषकहरू चेक रिपब्लिकले कम ध्रुवीकरणका मुद्दाहरूलाई प्राथमिकता दिने बताउँछन् ।

“सरकारले गठबन्धनहरू सिर्जना गर्ने र ईयु सहमति जुटाउन सहजकर्ताको रूपमा काम गर्ने आवश्यकता बुझेको छ” कारास्कोभाले भनिन्।

यसले ईयु भित्र युक्रेनी शरणार्थीहरूका लागि थप न्यायोचित र दिगो नीति अगाडि सार्ने छ।

“ईयुले अभूतपूर्व रुपमा रहेको शरणार्थी लहरलाई राम्रोसित सम्झौतामा पुर्‍याउन सबै कदम चाल्नैपर्छ” चेक इयु प्रेसिडेंसी मिसनको ब्याख्या प्रस्तावमा उल्लेख छ “यसका लागि सबै उपलब्ध स्रोत र विशेषज्ञताको परिचालनका साथै तिनीहरूको सम्भावित उपयोग आवश्यक हुने छ ।”

दोस्रो कार्य भनेको युद्ध समाप्त भएपछि युक्रेनको पुनर्निर्माणमा वार्तालाई अगाडि बढाउनु हो ।

यो गाह्रो हुनसक्ने विश्लेषकहरूको भनाई छ । बहसहरू ईयु देशहरूले कति योगदान गर्नुपर्छ र पैसा कसरी खर्च गर्ने भन्नेमा केन्द्रित हुनेछन् । ईयु आफ्नो मितव्ययीता अपनाउने भन्ने पक्षधर र खर्च गर्ने भन्ने सदस्यहरू बीच एक पटक फेरि विभाजित हुन सक्छ ।

चेक विदेश मन्त्रालयका एक अधिकारीले पनि युक्रेनको युद्द शान्त भएपछि पुनर्निर्माणमा कसलाई सहभागी हुन दिने भन्ने विषयमा लडाइँ हुने अनुमान गरेका छन् ।

चेक प्रेसिडेन्सीको मिशनमा उल्लेख ब्याख्याले स्पष्ट रूपमा बताउँछ- स्वतन्त्र संसारभरिबाट वित्तीय स्रोतहरू आवश्यक पर्नेछ ।

त्यसलाई केहि विश्लेषकहरूले विदेशी लगानीमा विश्वको सबैभन्दा ठूलो योगदानकर्ता चीनको सन्दर्भको रूपमा व्याख्या गरेका छन् ।

बेइजिङसँगको चेक गणतन्त्रको सम्बन्ध हालैका वर्षहरूमा खस्किएको छ । किनभने ताइवानसँगको सम्बन्धमा चेकले सुधार गरेको छ । त्यसले गर्दा चीनसितको संवन्ध टाढिएको छ । चीनले युक्रेनमा युद्धपछिको पुनर्निर्माणको प्रमुख लगानीकर्ता बनेर युरोप भित्र लाभ उठाउने प्रयास गर्दैन भन्ने सुनिश्चितता चेकले चाहेको छ भन्ने अनुमान र आरोपहरुपनि लागेका छन् ।

चेक सरकारका प्रवक्ताले यस विषयमा टिप्पणी गरेका भने छैनन् ।

सीमा परिवर्तन र ऊर्जा स्वतन्त्रता

“रुस-युक्रेनको युद्धको परिणाम स्वरूप इयु अध्यक्षको रूपमा चेक गणतन्त्रको दोस्रो प्राथमिकता ऊर्जा संकट समाधानकालागि हुनेछ” युरोपेली विश्वविद्यालय संस्थानका प्राध्यापक फिलिप कोस्टेल्काले भने।

“यो रूसबाट ऊर्जाको क्षेत्रमा स्वतन्त्र हुन र कार्बनडाईअक्साईड उत्सर्जन सीमित गर्ने साझा आधार खोज्ने बारे हो” उनले भने।

चेक पर्यावरण मन्त्री अन्ना हुबाकोभाले जुन २० मा “ऊर्जा स्वतन्त्रता, जलवायु तटस्थता, लचिलो परिदृश्य” शीर्षकमा एक भाषणमा आफ्ना लक्ष्यहरू राखेकि थिईन् ।

त्यसो त, चेक गणतन्त्रको भारलाई अलिकति सहज त्यो बेला बनाइदियो जब युरोपेली परिषदले २८ जुनमा ईयुको वातावरणीय केन्द्रविन्दु ‘फिट फर ५५’ नीतिका दुई मुख्य सामान्य दृष्टिकोणहरूमा सहमति जनायो ।

यसले सन् २०३० सम्ममा समग्र ऊर्जा मिश्रणमा नवीकरणीय स्रोतहरूबाट ऊर्जाको ४० प्रतिशत ईयुस्तरको लक्ष्य हासिल गर्ने भन्नेमा सहमति अज्नायो । साथै युरोप-व्यापी अर्थतन्त्रका निश्चित क्षेत्रहरूमा नवीकरणीय ऊर्जाको एकीकरण बढाउने प्रतिबद्धतामा पनि सहमति जनायो।

“फिट फर ५५’ ले  कार्बनडाई अक्साईडको मात्रा घटाउने आधार बनाउँछ” चेक सरकारको अध्यक्ष उम्मेदवारीको कथनमा भनिएको छ “यद्यपि, चेक प्रेसिडेन्सीले विशेष गरी मुख्यत छोटो अवधिको उद्देश्यको पूर्ण कार्यान्वयनमा ध्यान केन्द्रित गर्नेछ ।”

यद्यपि कार्यक्रमका केही नीतिहरू चेक प्रेसिडेन्सी सुरु हुनुभन्दा केही दिन अघि युरोपेली काउन्सिलले स्वीकार गरिसकेका थिए । एउटा अत्यावश्यक प्रावधान मार्फत् आणविक र प्राकृतिक ग्यासलाई हरित लगानीको रूपमा लेबल गर्न युरोपेली संसदको स्वीकृति सुरक्षित गरिने छ ।

यसबारे जुलाईमा बहस हुने सम्भावना छ । चेक गणतन्त्र वर्षौंदेखि आणविक ऊर्जाको मुख्य समर्थकहरू मध्ये एक हो।

के ईयु अध्यक्षले चेकलाई घरेलु मद्दत गर्न सक्छ ?

चेक गणतन्त्रमा दुई मुख्य प्राथमिकता माथिनै उल्लेख भए । चेक सरकारका अनुसार, अन्य तीन प्राथमिकताहरू “युरोपको रक्षा क्षमता र साइबरस्पेस सुरक्षालाई सुदृढ पार्नु हुनेछ । युरोपेली अर्थव्यवस्थाको रणनीतिक लचिलोपन र लोकतान्त्रिक संस्थाहरूको लचिलोपन दुबैलाई ध्यान दिनुपर्ने छ ।

चेक गणतन्त्रको लागि ईयू अध्यक्षको रूपमा यसको दोस्रो कार्यकाल छ महिनामा ठूलै परिवर्तन गरिहाल्ने भन्दापनि बढी प्रतीकात्मक छ । त्यसैले ईयुमा ठूलो परिवर्तन भन्दापनि  सामान्य रुपको प्रतिक्रिया सरकारका प्रवक्ताले दिएका छन् “इयुको पूर्ण सदस्यता र संयुक्त युरोपेली संघ चेक गणतन्त्रको रणनीतिक हित हो” सरकारका प्रेस प्रवक्ता स्मोल्काले भनेका छन् ।

“ईयू सदस्यताको लागि धन्यवाद दिन चाहन्छ । किनकि चेक गणतन्त्रले आफ्नो अन्तर्राष्ट्रिय स्थिति बलियो बनाएको छ र यसको सुरक्षा बढाएको छ” उनले थपे ।

“हामीले यो पनि बिर्सनु हुँदैन कि हाम्रो विदेश नीति लोकतान्त्रिक मूल्यहरूद्वारा परिभाषित गरिएको छ जसमा युरोपेली संघको स्थापना भएको थियो । युरोपेली नीति, त्यसैले, घरेलु नीतिको अभिन्न अंग हो र हामी यसमा भयंकर जोड दिन्छौं । ”

युरोपेली संघ (ईयु) सन् १९५८ मा गठन भएको हो । यसको पहिलो अध्यक्षता बेल्जियमले गरेको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक