बिहीबार, वैशाख १३, २०८१

युरोपको करिब आधा भाग खडेरीको चपेटामा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार ६ गते २१:४०

Image Source-blog.frontiersin.org

युरोपेली आयोग (ईयु) का २७ देश मध्ये यसका लगभग आधा भाग खडेरीको चपेटामा पुगेको एक रिपोर्टले देखाएको छ ।

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रद्वारा यहि महिना तयार पारिएको रिपोर्टका अनुसार ईयु को लगभग ४६ प्रतिशत भाग खडेरीको स्तरमा रहेको छ भने ११ प्रतिशत उच्च सतर्कता अपनाउनुपर्ने स्तरमा पुगेको छ ।

आयोगले फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटालीमा पानीको अभाव र गर्मीका कारण बाली उत्पादनमा कमी आउने र त्यसले खाध्य संकट निम्त्याउन सक्ने चेतावनी समेत दिएको छ ।

खडेरीले इटालीको कृषि उत्पादनको ठूलो प्रतिशतलाई खतरामा पारेको छ । देशको कृषिअभियन्ताहरुले लगभग आधा इटालियन फार्महरू खडेरी र उच्च तापक्रमले नष्ट भएको र बालीहरू जोखिममा परेको दाबी गरेका छन् । यो वर्षको खडेरीले तीन अर्ब युरोभन्दा बढीको क्षति भएको उनीहरुको अनुमान छ ।

इटालीले ७० वर्षयताकै सबैभन्दा खराब खडेरीका कारण धेरै क्षेत्रमा आपतकाल घोषणा गरेको छ ।

खडेरीका कारण जलविद्युत र थर्मोइलेक्ट्रिक पावर कम वा बन्द गर्नुपर्ने भएकाले ऊर्जा उत्पादनमा पनि प्रभाव पारेको छ ।

पछिल्लो समयमा डढेलो बढ्दै गएपनि आगलागि सुरक्षा सेवाहरूमा सरकारी खर्च गत शताब्दीको अन्त्यमा भएको बराबर नै रहेको बताइएको छ ।

ईयुको आधिकारिक तथ्याङ्क एजेन्सी युरोस्टेटका अनुसार युरोपेली संघका २७ सदस्य राष्ट्रहरूले सन् २०१९ मा आगलागि सुरक्षा सेवामा ३० अर्ब ९० करोड युरो खर्च गरेका थिए । त्यसपछिको तथ्यांक अझै उपलब्ध छैन ।

“युरोपको एठूलो भाग हाल चेतावनी दिनुपर्ने र खडेरीको उच्च सतर्क स्तरमा परेको छ । यो या त माटोको आर्द्रताको कमी वा वनस्पतिको तनाव र यसको संयोजनसँग सम्बन्धित छ” रिपोर्टमा भनिएको छ ।

प्रारम्भिक गर्मीको लहरका साथै वर्षाको अभावका कारण धेरै देशहरूमा गम्भीर सुख्खा अवस्था भएको छ । युरोपभरि, गम्भीर खडेरी विस्तार भएको र त्यो बिग्रँदै गएको रिपोर्टमा उल्लेख छ ।

धेरै युरोपेली देशहरूले यस हप्ता चरम तापक्रमको सामना गर्नु परेको छ । गत हप्ता देखि विशेष गरी फ्रान्स, स्पेन, ईटाली र पोर्चुगलका जङ्गलमा लागेको डढेलोको सामना गर्ने क्रममा यो प्रतिवेदन जारी गरिएको हो ।

“जलवायु परिवर्तनले संसारमा गम्भीर खडेरी र डढेलोको जोखिम बढाउँछ” नौलो प्रविधि, संस्कृति शिक्षा र युवाहरूको लागि अनुसन्धान आयुक्त मारिया गेब्रियलले उल्लेख गरेकि छन् ।

यो ईयु स्तरमा कुल सरकारी खर्चको करिब शुन्य दशमलव पाँच प्रतिशत रहेको र सन् २००१ देखि स्थिर रहेको तथ्यांक युरोस्टाटले सार्वजनिक गरेको छ ।

यद्यपि, सबै ईयु देशले अग्नी नियन्त्रणकालागि समान खर्च गर्दैनन् । ईईएका अनुसार बुल्गेरियाले आफ्नो कुल खर्चको लगभग शुन्य दशमलव ९ प्रतिशत र डेनमार्कले मात्र शुन्य दशमलव एक प्रतिशत खर्च गर्छ ।

परम्परागत रूपमा डढेलोबाट सबैभन्दा बढी प्रभावित भूमध्यसागरीय सदस्य राष्ट्रहरू मध्ये फ्रान्सले ईयुको औसत शुन्य दशमलव पाँच, ग्रीसले शुन्य दशमलव ६ तथा स्पेन, इटाली र पोर्चुगलले शुन्य दशमलव चार प्रतिशत भन्दा कम खर्च गर्छन् ।

युरोपेली वातावरण एजेन्सी (ईईए) का अनुसार युरोपेली आयोगले क्रोएशिया, फ्रान्स, ग्रीस, इटाली, स्पेन, स्वीडेन र अन्य सदस्य राष्ट्रहरूको आपतकालिन अवस्थामा सहयोग गर्न १२ अग्नी नियन्त्रण गर्ने विमान र १ हेलिकप्टर तत्कालै उपलब्ध गराउन आर्थिक बजेट बिनियोजन गरेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया