आइतबार, मंसिर ११, २०७९

भाषा पारिस्थितिकी : नेपाली शिक्षाले नछोएको पाटो

डा . लक्ष्मीप्रसाद खतिवडा२०७९ असार १७ गते १९:१०

डा . लक्ष्मीप्रसाद खतिवडा

भाषा भनेको के हो? वातावरणसँग भाषाको कस्तो सम्बन्ध हुन्छ ? भाषा र वातावरणबीचको अन्तरसम्बन्ध भनेको के हो? भाषा र पर्यावरणबीचको सम्बन्धले मानिसमा कस्तो प्रभाव पार्छ ? भाषा र वातावरण बीचको प्रभाव एकदिशात्मक (युनिडिरेक्सनल) वा द्विदिशात्मक (बाइडिरेक्सनल) हुन्छ ? २० औं शताब्दीको अन्त्य र २१ औं शताब्दीको सुरुमा यस्ता सम्बन्धको अध्ययनमा नयाँ ढोका खुलेको छ ।

मानव समाज र पारिस्थितिकी सन्दर्भमा अनुसन्धान गर्न पारिस्थितिकीय भाषा विज्ञानले धेरै ठूलो सहयोग पुर्‌याएको छ। भाषिक पर्यावरणशास्त्रले मानिस अन्य प्रजाति, वनस्पति र भौतिक वातावरणको विश्लेषण गरी मानव जीवन र दिगो विकासमा भाषिक भूमिकाको महत्व दर्शाएको छ। मानव समाजको पारिस्थितिक सन्दर्भ र व्यावहारिक परिणामलाई विचार गर्दै माइकल ह्यालिडेले १९९० को दशकमा भाषा विज्ञानलाई पारिस्थितिक प्रणालीसँग जोडेका छन्। भाषा र वातावरणबीचका अन्तरसम्बन्धलाई परिभाषित गर्दै पारिस्थितिक भाषा विज्ञानको उदय भएको हो। पछि धेरै भाषा शास्त्रीहरूले यसमा कलम चलाएका छन्।

पारिस्थितिकीय भाषा विज्ञानले भाषिक सिद्धान्तहरू विकास गर्नुका साथै मानिसहरूलाई समाजको अङ्गका रूपमा मात्र नहेरेर समग्र पारिस्थितिक प्रणालीहरूको अङ्गका रूपमा हेर्दछ। यस विधाले स्थानीय पर्यावरणमा मानिसले कसरी जीवन निर्वाह गर्दछ र पर्यावरण, भाषा र मानवबीच आपसी निर्भरता हुन्छ भन्ने कुरालाई सप्रमाण प्रस्तुत गर्दछ। जलवायु परिवर्तन, जैविक विविधता र यसको संरक्षण एवम् वातावरणीय न्याय जस्ता पारिस्थितिक मुद्दाहरूलाई सम्बोधन गर्न भाषा विज्ञान कसरी प्रयोग गर्न सकिन्छ भनेर यसले प्रकाश पार्दछ।

यस पृथ्वीमा हाम्रो जैविक औचित्य, हाम्रा भाषिक र व्यावहारिक सङ्केतहरू पर्यावरणसँग नकारात्मक सम्बन्ध राख्ने अवस्थातिर मोडिंदैछन् । अङ्ग्रेजी, स्पेनिसजस्ता प्रमुख भाषाहरू विश्वभर फैलिएपछि स्थानीय संस्कृतिहरूमा सम्मिलित वातावरणीय ज्ञान हराउँदै गएको छ। स्थानीय ज्ञान संरक्षणमा ध्यान नदिने हो भने वातावरणीय रूपमा मात्र होइन सांस्कृतिक, भाषिक, जैविक र प्रजातीय ज्ञान पनि यस संसारबाट विदा हुने निश्चित छ।

भाषिक सम्बन्ध भाषा र मानवबीच मात्र हुने होइन यो त जैविक विविधता, प्रजाति र जिउने कलासँग पनि सम्बन्धित हुन्छ। भाषिक पारिस्थितिकीको धारणाले सामाजिक, शैक्षिक, ऐतिहासिक र प्रकृतिलाई समेत सम्बोधन गर्दछ। जीवविज्ञान र पारिस्थितिकीय विज्ञानसँगै मानव जीवनका अन्य समस्याहरू जस्तै प्रकृतिसँग टाढिंदै गएको आधुनिक जीवन, बसाइँसराइ, वर्णसङ्कर उत्पादन प्रणाली (हाइब्रिडिटी) आदिले मानव समुदायलाई कता लाँदैछ र यसबाट कसरी बच्न सकिन्छ भनेर भाषा पारिस्थितिकीको धारणाले भाषा र सामाजिक परिवर्तनका व्यापक मुद्दाहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

भाषाको पारिस्थितिक विश्लेषण

भाषाको पारिस्थितिक विश्लेषणले हामी बाँचिरहेको विश्वका अन्तर्निहित कथाहरू दृश्यात्मक रूपमा प्रकट गर्दछ। सिद्धान्त नवीकरण, संज्ञानात्मक ज्ञान, पहिचान र प्रणालीगत भाषिक उपकरणहरूको क्षेत्रलाई आकर्षित गर्दछ। हामीले बाँचिरहेका जीवनका कथाहरू, व्यक्ति र समाजमा भएका संज्ञानात्मक संरचनाहरू जस्तै सामाजिक, व्यावहारिक, सांस्कृतिक र प्राकृतिक अनुभूतिहरू जसले हाम्रो पारिस्थितिक पहिचानलाई प्रभाव पार्छ तिनीहरूको उत्खनन हुनु जरुरी छ।

भाषाले स्थानीय समुदायका मूल्य र आदर्शहरू जोड्ने काम गर्दछ। भाषा सांस्कृतिक औजार पनि हो। जस्तै नेपाली गुन्द्रुक, सिन्की, छ्याङ, जिम्मु, छोयला संसारको अर्को कुनै भाषामा अनुवाद हुन सक्दैनन्। किनभने यी शब्दहरू नेपाली समाजका तत् तत् समुदायका निजी सम्पत्ति हुन्। यिनीहरूको प्राकृतिक स्वादभन्दा भाषिक र सांस्कृतिक स्वादले धेरै ठुलो मूल्य राख्दछ। समुदायमा सद्भाव निर्माण गर्छ र पहिचान दिन्छ।

संवन्धित : संस्कृतिको संरक्षण किन ?

मानिसहरूले एकअर्काप्रति कस्तो व्यवहार गर्छन्, अन्य जनावरहरू, बोटबिरुवाहरू, वनहरू, नदीहरू तालतलैया र वरिपरिको भौतिक वातावरणसँग कस्तो व्यवहार गर्छन्। स्थानीय भाषामा यस्ता अनगिन्ति कथाहरू हुन्छन्। ती अलिखित छन्। पर्यावरणीय दर्शन र मनोविज्ञान (इकोसोफी) ले मनोविश्लेषक, दार्शनिक, राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रलाई आकर्षण गर्न सक्यो भने मात्र समाजमा लुकेर बसेका यस्ता कथाहरू उजागर हुन्छन्। भाषिक पर्यावरणवादले सामाजिक र वातावरणीय क्षेत्रहरूको अन्तरसम्बन्ध राम्ररी बुझेर वातावरणवादी दृष्टिकोणले मानव (सांस्कृतिक) र गैरमानवीय (प्राकृतिक) प्रणालीहरूको द्वैतवादी पृथकीकरणबाट होइन मानव र प्रकृतिको अद्वैत दृष्टिकोण राख्दै नयाँ क्षेत्रको रूपमा परिकल्पना गर्दछ।

पारिस्थितिक प्रणालीको रक्षा गर्न वा पारिस्थितिकी संयन्त्रलाई क्षति पुर्‍याउने व्यवहारलाई प्रोत्साहन नदिने खालको इकोसोफी वा मनोदर्शन आजको आवश्यकता हो। पारिस्थितिक भाषा विज्ञानले विनाशकारी कथाहरूको होइन बाँच्नका लागि लाभदायक नयाँ कथाहरूको विकासमा टेवा दिन्छ।

पहिचान भनेको नाम, थर वा गोत्र होइन। पहिचान त मानिसहरूको स्थानीय संस्कृति, भाषा, लोककथा र आख्यान हो । संस्कृति, भाषा, बोली, कथा र इतिहास हुन्छ। भूमिमा पुर्खाको योगदान हुन्छ। विशेष समूह र समुदायकाे समाजमा अलग्गै स्थान हुन्छ । त्यही ती समूहहरूको पहिचान हो ।

भाषा, प्रजाति र जैविक विविधता

स्थानीय भाषाहरूको विविधता र जैविक विविधता बीच अन्तर्सम्बन्ध हुन्छ। यो सम्बन्ध परम्परादेखि नै स्थानीय भाषाहरूमा सङ्केतित (इन्कोडेड) भएर बसेको हुन्छ। यही भाषिक सङ्केतनले स्थानीय वातावरणमा सांस्कृतिक अनुकूलनता उत्पन्न गर्छ। यस धर्तीका जीवहरू आफ्नै अधिकारमा जीवित छैनन् र हुँदैनन् पनि। यिनीहरू त पर्यावरणको अधिकार क्षेत्रमा बाँचिरहेका प्राणी (मानिस) हुन्। भाषा र प्रजातिहरूसँग विशेष किसिमका समान गुणहरू हुन्छन् जस्तै लोपोन्मुख प्रजातिहरूको सङ्कट, लोपोन्मुख भाषाहरूको सङ्कट, वातावरणमा बाह्य प्रजातिको प्रभाव र स्थानीय भाषामा बाह्य भाषाको प्रभाव। आज भूमण्डलीकरणका शक्तिहरूले प्रभावशाली भाषा फैलाउन र स्थानीय भाषाहरूलाई प्रतिस्थापन गर्न लागिपरेको अवस्था छ। यसले स्थानीय संस्कृतिहरू र तिनीहरूका भाषाभित्र निहित महत्त्वपूर्ण परम्परागत पारिस्थितिक ज्ञान दुवैको नाश गर्दछन्।

आदिवासी जनजातिहरू जो सयौं पुस्तादेखि स्थानीय पर्यावरणसँग अत्यन्तै नजिक रहेर जीवनयापन गर्दै आएका छन्। स्थानीय पारिस्थितिकी संयन्त्रबारे उनीहरूकै भाषामा इन्कोड भएको विस्तृत ज्ञान हराइरहेको छ। भाषिक विविधतामा तीव्र गिरावट आइरहेको छ। आयातीत भाषाले स्थानीय भाषामा भएको बृहत ज्ञान कदापि ग्रहण गर्न सक्दैन जसरी अर्को हावापानीमा हुर्किएको वनस्पति वा प्राणी अन्य स्थानमा सारियो भने वातावरणीय प्रभावले हुर्किन सक्दैन। जसरी वातावरणले जीव र वनस्पतिलाई चयन र अनुकुलनका आधारमा भौतिक रूपमा अङ्गीकार गर्दछ त्यसरी नै भाषिक र सांस्कृतिक वातावरणले स्थानीय भाषाहरूमा अनुकूल विशेषताहरू ग्रहण गरेर मानिसलाई प्रकृतिसँग मिलेर बस्न सहयोग गर्दछ।

जीव र वनस्पतिको प्राकृतिक चयन जस्तै भाषा र बोलीलाई पनि त्यहींको हावापानी र वातावरणले आकार दिएको हुन्छ। अर्थात् भाषाहरू पनि तिनीहरूको वातावरणमा अन्तरक्रियात्मक प्रक्रियाद्वारा परिवर्तन परिमार्जन हुन्छन् जसले मानिसलाई त्यस स्थानको प्रकृतिसँग मिलेर बाँच्न सक्षम बनाउँछ।

नेपालका सन्दर्भमा कुरा गर्दा भौगोलिक विविधता र जैविक विविधता नेपालको सुन्दर पक्ष हो तर विकासका कामहरू दिगो विकासमा आधारित नभएकाले विभिन्न किसिमका समस्याहरू सामना गर्नुपरेको छ। दिगो विकाससँग जातीय विविधताको सीप, दक्षता, क्षमता जोडिएको हुन्छ। सीप, दक्षता, क्षमता भाषिक क्षमतासँग जोडिएका हुन्छन्। भाषाले संस्कृति झल्काउँछ। भाषाले खानासँगको सम्बन्धमा पनि प्रभाव पार्छ।

खाना, संस्कृति र भाषा

खानाको बारेमा कुरा गर्दा स्वाद, सन्तुष्टि र पौष्टिकताको कुरा सँगै आउँछ। हामी अहिले धान, गहुँ, मकै र आलु गरी चारवटा खाद्यान्नमा सीमित छौं। यी खानेकुराको अभावमा हामी भोकमरी लाग्यो भन्छौं। तर वास्तविकता यस्तो होइन। नेपालकै सन्दर्भमा कुरा गर्दा हामी कहाँ १२५ सांस्कृतिक समूहको नाम लिन्छौं। एक संस्कृतिबाट ५ खाद्यान्न लिने हो भने ६२५ खाद्यान्न हुन्छ। त्यसमध्ये ९० प्रतिशत खाद्यान्न वनस्पति दोहोरिए पनि ६२ थरिका खाद्य वनस्पतिको पहिचान हुन्छ। खाद्यान्नमा विविधता आउँछ। ती ती संस्कृतिका खानेकुरालाई राष्ट्रिय खानाको मान्यता दिने हो भने स्थानीय भाषा र संस्कृतिको रक्षाका साथै धान, मकै, गहुँ र आलुमाथिको खाद्य निर्भरता हट्छ। स्थानीय माटोसँग खानाको स्वाद जोडिएको हुन्छ भने स्थानीय संस्कृतिमा नैतिक मूल्य प्राप्त गरेको खानेकुराले आत्मिक सन्तुष्टि दिन्छ। पुर्खाको संझना गराउँछ। पिता पुर्खाको संझनाले परिवारमा सामञ्जस्य बढ्छ। वालवालिकाले संस्कृति अनुसारको स्वादलाई आफ्नो शरीरको रसायनसँग अनुकुलित बनाउँदै लान्छन्। त्यसै अनुसारको शारीरिक वृद्धि हुन्छ। कालान्तरमा त्यही खाना त्यस भूगोलको पहिचान बन्दछ। ‘नेशनल कुजिन’ भनेकै यही हो।

भाषा र खानाबीचका अन्तर्सम्बन्धले खानेकुरादेखि वातावरणीय संवादसम्म जोडेको हुन्छ। जस्तै विभिन्न अनुष्ठानमा मर्यादा र विनम्र कुराकानीदेखि अग्रजको आशीर्वाद र खाना पकाउने विधि, खाद्यसामग्रीमा विविधता जस्ता खाद्य गतिविधिहरूले सामाजिक स्वीकृति प्राप्त गर्दछ। खाद्य सामग्री उत्पादनसँग भाषा उत्पादन जोडिएको हुन्छ। खाद्यसामग्रीका स्थानीय नाम अन्नबाली, खेती र पशुपालन, भान्सामा खानेकुराको प्रशोधन सबै स्थानीय भाषामा सङ्केतन हुनाले स्थानीय समुदायमा खाना र भाषा आपसमा जोडिएका हुन्छन्।

भाषाले स्थानीय समुदायका मूल्य र आदर्शहरू जोड्ने काम गर्दछ। भाषा सांस्कृतिक औजार पनि हो। जस्तै नेपाली गुन्द्रुक, सिन्की, छ्याङ, जिम्मु, छोयला संसारको अर्को कुनै भाषामा अनुवाद हुन सक्दैनन्। किनभने यी शब्दहरू नेपाली समाजका तत् तत् समुदायका निजी सम्पत्ति हुन्। यिनीहरूको प्राकृतिक स्वादभन्दा भाषिक र सांस्कृतिक स्वादले धेरै ठूलो मूल्य राख्दछ। समुदायमा सद्भाव निर्माण गर्छ र पहिचान दिन्छ।

पर्यावरणको भाषिक सम्बन्ध

पारिस्थितिकीय भाषाविज्ञान भाषाको एक नयाँ शाखा हो जसले पारिस्थितिक वा पर्यावरणीय समस्याहरूको समाधानमा भाषाको भूमिकाको अन्वेषण गर्दछ। भाषाहरूले पारिस्थितिकीय प्रणालीको अवधारणा बोकेको हुन्छ जसले जैविक पारिस्थितिसँग सम्बन्धित अवधारणाहरूको विश्लेषण गर्दछ।

मानिसको जीवन पारिस्थितिकीय वातावरणसँग जोडिएको हुन्छ। पारिस्थितिकीय विज्ञान वा इकोलोजिकल साइन्सले पारिस्थितिक विश्लेषणका लागि भाषाको सहयोग लिनुपर्छ भन्ने मान्यता यस विधाको मूल तत्व हो। मानिसले उपभोग गर्ने वस्तु र भाषा एक अर्कासँग जोडिएको हुन्छ भन्ने विश्लेषण हो।

भाषा एक सामाजिक घटना हो। विभिन्न प्रकारको सूचना आदानप्रदानका लागि सामाजिक संरचना वा सामग्रीको रुपमा भाषाले विचार आदान प्रदान गर्छ। स्थानीय भाषामा त्यहाँका मौलिक, रैथाने ज्ञान लुकेको हुन्छ। भाषामा लुकेको वस्तुसँगको गहिराइ भाषाको बहसले छुन सकेन भने विचार आदान प्रदान सतही हुन्छ। जस्तो उँधौली, उँभौली, गुनिपुह्नी, माघी जस्ता विषयको कुरा गर्दा भाषाले बोकेको संस्कृति हस्तान्तरण हुन सकेन र खालि शब्दार्थ मात्र बुझ्ने भयो भने त्यस समाजको वातावरणसँग भिज्न सकिँदैन। संस्कृतिसँग नभिजी गरिएको संवादले नकारात्मक भाव सिर्जना गर्न सक्छ। अर्थात संवादमा पूर्वाग्रह मिसिएर सञ्चारले सही सन्दर्भ उजागर गर्न सक्दैन। मिडिया र पत्रकारबीचको सम्बन्ध, लेखक र पाठकबीचको सम्बन्ध जस्तै मानिस र वातावरण बीचको सम्बन्धमा आत्मीयपन हुँदैन।

पुर्खाले आफ्नो वरिपरिको वातावरणमा कसरी जीवन बिताएका थिए भन्ने कथाहरूको सन्दर्भले भाषाका तत्वहरु र पर्यावरणीय तत्वहरू बीचको सम्बन्ध जोड्न सकेन भने मानवीय व्यवहारको गहिराइ छुन सक्दैन। भाषा आयोग बनाउँदैमा तथा साना कक्षाहरुमा मातृ भाषा पढाउँदैमा स्थानीय भाषाको संरक्षण हुँदैन। स्थानीय भाषाको संरक्षण गर्न त बैँकमा पैसा राखेजस्तै स्थानीय वातावरण र संस्कृतिमा भएको ज्ञानलाई तत् तत् भाषामा पाठसङ्ग्रह (कर्पस) बनाएर राष्ट्रिय ज्ञान भण्डारमा राख्नुपर्छ। शिक्षामा दिगो विकास र भाषा पारिस्थितिकी पढाउनु पर्छ। भाषा पारिस्थितिकीको अवहेलना गरेर देश समृद्ध बनाउन सकिँदैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

संवन्धित : संस्कृतिको संरक्षण किन ?

तपाइँको प्रतिक्रिया

फेसबुक