आइतबार, मंसिर ११, २०७९

आरक्षण नभएको भए मजस्ता कयौं महिला क्षमता हुँदाहुँदै पनि पछि परिन्थ्योः सुशीला अधिकारी, उपसचिव

तारा वाग्ले२०७९ असार १९ गते १०:२७

सुशीला अधिकारी, फोटो आइ एन एस

तारा वाग्ले

कुनैबेला पाटन क्याम्पसमा पढाउने उपसचिव सुशीला अधिकारी अहिले भने निजामती सेवामा रहेर देश र जनताको सेवामा खटिनुभएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत उपसचिव अधिकारीले १२ वर्षे सेवा अवधिमा आफ्नो जिम्मेवारी र वृत्तिविकास दुवैलाई समान तवरले अघि बढाउँदै आउनुभएको छ। जन्मघर भोजपुर भएपनि भक्तपुर कौशलटारको माटोसँग खेल्दै हुर्किनुभएको अधिकारीले कार्यक्षेत्र पनि काठमाडौँ उपत्यकालाई नै बनाउनुभयो।

नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण गरी शिक्षण पेशा अंगानु भएकी सुशीलाले भाइको सल्लाह र सहयोगले निजामती सेवामा होमिनुभएको हो । “भाग्यले जुराएपछि जे आँटे पनि पूरा हुने रहेछ” सुशीला भन्नुहुन्छ- “निजामती सेवामा आउँछु भन्ने लागेकै थिएन। एक पटक जाँच दिएर हेरौं न भन्ने लागेर केही महिना लोकसेवा आयोगको तयारी गरेको भाग्यकै साथ भन्नुपर्छ पहिलो पटकमै सफल भएँ ।”

यस क्षेत्रमा प्रवेश गरेपछि विभिन्न कार्यालयमा रहेर काम गर्दा बटुलेका अनुभवहरू उहाँले यसरी सुनाउनुहुन्छ।

भाइको करले निजामतीमा

मेरो बुवा शिक्षण पेशामा हुनुहुन्थ्यो। मेरो दिदी पनि स्कुल पढाउनुहुन्थ्यो। उहाँहरूको प्रेरणा र मार्गदर्शन अनुरूप म पनि शिक्षण पेशामै सक्रिय थिएँ। भक्तपुरको कौशलटारमा हुर्किएर त्यहीँकै स्कुलबाट एसएलसी सकेपछि मैले पढ्ने र पढाउने दुवै काम गरेँ। उच्च शिक्षा पनि पूरा भएपछि मैले पाटन क्याम्पसमा पढाउन थालेकी थिएँ। जीवनभर यही पेशामै रमाउँछु होला भन्ने लागेको थियो। किनभने मेरो श्रीमानले पनि स्कुल खोल्नुभएको छ। काठमाडौँमै हाम्रा दुईवटा स्कुल छन्। यता नआएको भए अहिले म तिनै स्कुलमा पढाइरहेकी हुन्थेँ होला।

निजामती सेवामा आउने सोच वा रुचि थिएन। मेरो भाइ भने २०६३ सालमै निजामती सेवामा आइसकेको थियो। मलाई पनि निजामतीमै आउनुपर्छ भनेर कर गरिरहन्थ्यो। तर मलाई भने पढाउँदा पनि रमाइलो लाग्ने भएकोले निजामती सेवामा खासै चासो थिएन। भाइले बारम्बार भनेपछि एकपटक परीक्षा त दिउँ भन्ने लाग्यो र लोकसेवाको तयारी गर्न थालें। भाइले मैले पढेका हरेक कुरा सोध्ने, नजानेको सिकाउने, लेख्ने तरिका बताउने तथा पढ्ने सामाग्री जुटाइदिने गरेको कारण म पहिलोपटकमै पास भएँ। ९ महिना सम्म निरन्तर तयारी गरेपछि २०६६ सालमा आखा अधिकृतबाट सेवा प्रवेश गरेकी हुँ। म प्रवेश गरेपछि मेरो भाइ भने निजामती सेवा छोडेर विदेश गयो। अहिलेसम्म उतै छ। भाइकै सहयोगले यस क्षेत्रमा आएकी मैले भने आफ्नो जिम्मेवारीको साथसाथै करियर पनि यहीँबाट विकास गर्दै लगे। शाखा अधिकृत भएको ७ वर्ष पछि २०७३ सालमा आन्तरिक प्रतियाोगिताबाट उपसचिव भएँ।

समावेशीबाट अधिकृत

मैले लोकसेवामा आउने सोच बनाउनु अघि नै निजामती सेवामा आरक्षणको व्यवस्था गरिएको थियो। धेरै भन्दा धेरै महिलालाई यस क्षेत्रमा ल्याउन र राज्यका हरेक तहमा महिलाको प्रतिनिधित्व बढाउन समावेशीको सिद्धान्त अवलम्बन गरिएको थियो। यही व्यवस्थाको कारण मलाई पनि निजामती सेवामा प्रवेश गर्न सहज भयो। म समावेशी कोटाबाट लोकसेवा आयोगको परीक्षामा सफल भएँ। मलगायत धेरै महिला यही माध्यमबाट निजामती सेवामा आएका छन्। महिलालाई आरक्षणको व्यवस्था नगरिएको भए म जस्ता कयौं महिला क्षमता हुँदाहुँदै पनि पछि परिन्थ्यो। पिछडिएका महिलालाई राज्यको मूलधारमा ल्याउन गरिएको समावेशीको व्यवस्थाकै कारण निजामती सेवामा महिलाको संख्या बढेको हो। यो व्यवस्थाको पुनरावलोकन गर्ने बेला भने भएको छ। आरक्षणको व्यवस्था निरन्तर राखेपनि एक जनाले एक पटक भन्दा बढि आरक्षणको उपयोग गर्न भने नपाउने व्यवस्था हुनुपर्छ। जहिलेपनि आरक्षणको उपयोग गर्न पाउनेहरूको कारण वास्तविक रूपमै पछि परेकाहरू पछि नै रहन्छन्। आरक्षणको व्यवस्था अहिल्यै हटाउनु भने हुँदैन तर पुनरावलोकन गर्न भने जरुरी छ।

बच्चालाई चाइल्ड केयर राखेर तालिममा

मेरा दुईजना छोराहरू छन्। म निजामती सेवामा आउँदा सानो बाबु दुई वर्षको थियो। मैलै लोकसेवा पास गरेपछि तालिम लिन जाँदा बच्चालाई वाल स्याहार केन्द्रमा राखेर गएकी थिएँ। एकल परिवार भएकोले बच्चा र परिवारको जिम्मेवारी र कार्यालयको उत्तरदायित्व सबै मिलाएर लैजानु चुनौतिपूर्ण नै थियो। तर हार नमानी काम गरेँ। सबैखाले जिम्मेवारी निर्वाह गरेँ। कार्यालयको काममा पनि कहिल्यै गुनासो आउने ठाउँ राखिन। आफूले गरेका काममा पनि सधैँ सन्तुष्ट नै रहेँ। काम गर्ने क्रममा केही गल्ती त हुन्थ्यो नै तर गल्ती सुधारेर अघि बढ्नु पर्छ। सरकारी सेवामा तुरुन्त नतिजा देखिने र एक्लै सबै काम सक्ने भन्ने हुँदैन। टिमवर्कमा आधारित काम भएकोले सहकर्मीहरूमा आपसी समन्वय हुनु पनि जरुरी छ। मैले आफ्ना सहकर्मीसँग समन्वय गरेर काम गरेको कारण धेरै कुरा सिक्ने अवसर पनि पाएकी छु।

काम सिक्ने मौका

लोकसेवा पास भएपछि पहिलोपटक मेरो पदस्थापन तत्कालीन उपत्यका नगर विकास समिति अहिलेको काठमाडौं विकास प्राधिकरणमा भयो। साढे दुई वर्ष त्यहाँ काम गर्दै सरकारी सेवाका धेरै काम सिक्ने तथा नीति, कार्यक्रम र दस्तावेजका बारेमा बुझ्ने अवसर पाएँ। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जस्ता निकायमा काम गरेँ। ति निकायहरूमा हुँदा पनि नीतिगत काममै बढि संलग्न भइयो। अख्तियारमा हुँदा उजुरी उपर छानविन गर्ने सम्मका काम गरियो। खासगरी सरकारी सम्पत्ति हिनामिना गरेका तथा नक्कली शैक्षिक योग्यता भएका उजुरीहरूमा छानविन गर्ने काममा संलग्न रहें। त्यहाँ हुँदा इमानदारीपूर्वक काम गरेको कदर स्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुरस्कार पनि पाएकी छु। काम गर्दा आफ्ना सिनियरबाट पाएको हौसला तथा पुरस्कारको कारण पनि काम गर्ने उत्प्रेररणा बढ्दो रहेछ। मलाई पनि सहकर्मी तथा सिनियरबाट पाएको सहयोग र सद्‍भावले काममा थप उर्जा मिलेको छ।

उपत्यका बाहिर सेवा गर्ने अभिलाषा

हुन त सरकारी सेवा सेवाग्राहीसँग प्रत्यक्ष जोडिने सेवा हो। यस सेवामा जनताको नजिक रहेर उनीहरूको माग र आवश्यकताको आधारमा सेवा गर्नुपर्छ। तर सबै प्रकारका जिम्मेवारीमा सेवाग्राही सँग मात्र जोडिएका हुँदैनन्। केही जिम्मेवारीहरू कर्मचारी प्रशासनसँग पनि सम्वद्ध हुन्छन्।

म हालसम्म जति जिम्मेवारीमा रहेँ, त्यहाँ सेवाग्राहीसँग बसेर काम गर्ने मौका मिलेको छैन। अर्को कुरा मैले अहिलेसम्म काठमाडौँ बाहिरका जिल्लामा पुगेर काम गर्ने अवसर पनि पाएकी छैन। सेवाग्राहीसँग प्रत्यक्ष जोडिएर काम गर्दाको अनुभव लिन र दुर्गम भेगमा पुगेर त्यहाँको वस्तुस्थिति अध्ययन गरी कार्य गर्न मन छ। अहिलेसम्म त आफ्नो पारिवारिक अवस्थाको कारण पनि अन्य जिल्लामा गएर काम गर्ने आँट आएको थिएन। कतिपय महिला कर्मचारीले सेवाग्राहीबाट विश्वास नपाएको त कतिपयले नयाँ अवसर र जिम्मेवारी नपाएको भन्नुहुन्छ। मैले भने हालसम्म त्यस्तो भोग्नु परेको छैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक