सोमबार, साउन ३०, २०७९

कथा: मालती, मलाई माफ नगर

श्रीरामसिंह बस्नेत२०७९ असार १९ गते १०:५६

श्रीराम सिं बस्नेत

अचानक आज मालतीसँग जम्काभेट भयो नेपालगञ्ज अस्पतालमा । तीस वर्षअघि बर्दियाको कोठियाघाटमा उसलाई पहिलो पटक भेट्दा म जति उत्तेजित थिएँ, त्यसको ठीक विपरीत आज उसलाई देख्दा म शिथिल भएको छु । मेरो सम्पूर्ण शरीर गलेको छ । तीन दशकअघि ऊसँग बिताएका क्षण अहिले मेरो मानसपटलमा एक–एक गरी दोहोरिन थालेका छन् । त्यसैले म बेचैन भएको छु । आत्मग्लानीले छट्पटिएको छु ।

यो उही मालती हो जसको कुमारीत्व तीस वर्षअघि मैले नै पहिलोपटक भङ्ग गरिदिएको थिएँ कोठियाघाट किनारको झोपडी बस्तीमा । त्यतिखेर ऊ भरखर नवयौवनमा प्रवेश गरेकी थिई । उसलाई यौन क्रियाकलापबारे केही जानकारी थिएन। त्यसैले म अर्थात् उसको यौवनको बोहनी गर्ने पहिलो ग्राहकसँग ऊ निकै डराएकी थिई । डराएकी मात्र होइन, उसले त्यतिखेर मेरो खुट्टा समातेर रोएकी थिई, उसलाई केही नगरियोस् भनेर ।  तर म त्यतिखेर एउटी किशोरीको अक्षत योनिको पहिलो उपभोक्ता बन्ने सौभाग्य पाएकामा यति उत्तेजित थिएँ कि उसका बिलौनाले मलाई पगाल्न सकेका थिएनन् । बिलौना गरिरहेकी मालती मेरा लागि हत्तपत्त नपाइने आकर्षक खेलौना मात्र भइरहेकी थिई ।
मलाई उसका आँसुले भन्दा ती आँसु बगिरहेका उसका पोटिला गालाले लोभ्याइरहेको थियो । भर्खर उक्सन लागेका उसका छातीमा मैले प्रचुर कामुकता पाइरहेको थिएँ । यसअघि यही कोठियाघाट र अन्यत्र मैले धेरै केटीका बैँसालु शरीरलाई नोटका आडमा उपभोग गरिसकेको थिएँ तर मालतीसँगको पहिलो भेट जत्तिको उत्तेजक अरुसँग कहिल्यै भएन । किनकि ती अरु पेसेवर भइसकेका थिए ।

करिब आधा घण्टाको बिलौनापछि पनि मेरो धारणामा कुनै परिवर्तनको लक्षण नपाएपछि र कोठा बाहिरबाट हप्काइ आएपछि अन्तत: मालतीले आत्मसमर्पण गरेकी थिई । त्यसपछि एउटा बलात्कार गरी उसको जाँघ रक्ताम्यपारेर उसलाई पीडाकै अवस्थामा छाडी म विजयी भएको गर्व र असीम सन्तुष्टि लिएर त्यहाँबाट फर्किएको थिएँ । यसका लागि मैले मालती र त्यहाँ रहेका ऊभन्दा पुराना चार–पाँचवटी केटीका साझा ‘फुपू’लाई राम्रै रकम बुझाएको थिएँ । फुपू पनि दङ्ग परेकी थिई । म फर्कने बेलामा भन्दै थिई– ‘‘आउँदै गर्नुस् है हजुर, मालतीमाथि त अब हजुरकै हक लाग्छ ।’’

त्यस रात त्यहाँबाट फर्कदा ममा यौनसन्तुष्टिको भन्दा पनि अक्षत् योनिभोगको सन्तुष्टि बढी थियो । त्यो मेरा लागि सर्वथा नौलो अनुभूति थियो ।
त्यसपछि पनि म कोठियाघाटकी फुपूको त्यस अखडामा बराबर जान्थेँ । मेरो पहिलो रोजाई मालती नै हुन्थी । ऊ उपलब्ध नभएमात्र अरु हुन्थे । थाहा छैन, मपछिका दोस्रो, तेस्रो ग्राहक को को भए मालतीका । तर विस्तारै ऊ पनि अरु केटीसरह व्यावसायिक हुँदै गई । पहिलो पटक त्यसरी रोएर उत्पात गरेकी मालतीले पछिपछि आफैँ मेरा लुगा खोलिदिएर मलाई नङ्ग्याउन पनि हिच्किचाइन ।

एकपटक मैले उसलाई सोधें– ‘‘पहिलोचोटि तिमी किन त्यसरी रोएकी?’’ ऊ केही बोलिन, निहुरिइरही मात्र । फेरि दोहोर्‍याएर सोधें । उसले टाउको उठाएर मेरो आँखामा हेरी र भनी– ‘‘म यस नरकमा बसेर यस्तो काम गर्न चाहन्नथेँ ।’’
मैले सोधेँ– ‘‘त्यसो भए यो ठाउँमा किन आएकी थियौ त ?’’

–‘‘म आफैँ आएकी थिएँ त ?’’

–‘‘कसले ल्याएको थियो ?’’

त्यसपछि मालतीले आफ्ना विगतका काला दिनका पाना पल्टाइदिई मेरो सामु । बर्दियाको एक गाउँमा बस्ने उसको बाबु ऊ सानो छँदा नै रुखबाट खसेर मरेको, त्यसपछि उसकी आमालाई अर्कै लोग्नेमान्छेले लगेको, अनि उसकी आमाले पेट बोकेकी र पछि मरेको बच्चा जन्माएकी र त्यसको भोलिपल्ट ऊ पनि मरेकी । केही समयपछि उसकी आमाको त्यस लोग्नेमान्छेले उसलाई कोठियाघाटकी आफूले पहिले कहिल्यै नचिनेकी त्यो सबैकी फुपू कहाँ ल्याएर छाडिदिएको आदि ।

आज धेरै वर्षपछि मालतीलाई अचानक अस्पतालमा रोगी र जीर्ण अवस्थामा देखेँ । उसको अनुहार ओइलाए पनि चिउँडोको कालो कोठी उस्तै रहेछ । उसलाई देखेर मेरो मन नराम्रोसँग अमिलो भएको छ । ऊसँग बिताएका सबै क्षण अहिले म झल्झली सम्झिरहेको छु, सिनेमाका दृश्यजस्तै । अहिले एउटै निष्कर्षमा पुगेको छु– मालतीलाई बेश्या मैले नै बनाएको थिएँ । उसको कुमारीत्व भङ्ग गर्ने बेलामा मैले ऊप्रति अलिकति पनि दया र विवेक राखेको भए म उसलाई त्यस नरकबाट उद्धार गर्न सक्थेँ । मैले चाहेको भए त्यतिखेर मेरो जागिर, ओहदा, आर्थिक क्षमता एउटी असहाय किशोरीलाई उद्धार गर्न नसक्ने अवस्थाको थिएन । तर ममा त्यो विवेक त्यतिखेर कहिल्यै आएन । अहिले केही विवेक आएको छ तर धेरै ढिलो भइसकेको छ । म अहिले दीर्घरोगी भएको छु । अहिले जागिर, ओहदा, रवाफ, सम्पन्नता, मोजमस्ती सबैले मेरो साथ छाडिसकेका छन् ।

उमेरले उकालो चढिसकेको छ, अनि जिन्दगी ओरालो झरिरहेको छ । अब कुनै युवतीलाई खेलौना बनाएर खेल्ने सामर्थ्य छैन । कुनै मालतीको कुमारीत्व भङ्ग गर्ने आँट मसँग छैन अब । खुट्टा राम्रोसँग टेक्न सक्दिन । मुखबाट बोलीभन्दा खोकी बढी निस्कन्छ । सायद मेरै बानी–व्यवहारले होला, मेरो परिवारसमेत मबाट टाढिएको छ । अचम्म लाग्छ अहिले, के म त्यही व्यक्ति हुँ, जो तरुनीभनेपछि हुरुक्कै हुने र प्रत्येक शारीरिक संसर्गपछि खेलको विजेता खेलाडीले जस्तो गर्वले छाती फुलाउने ?

अहिले सायद म र मालती समान स्तरमा छौँ । त्यसैले होला ऊ र म दुवैजना एउटै अस्पतालमा डाक्टरलाई जँचाउन पालो पर्खेर बसिरहेका छौँ । मलाई अहिले डर लागिरहेछ, कतै मालतीले चिन्ने पो हो कि ? यदि उसले मलाई चिनी भने म भन्नेछु– ‘‘मालती मलाई माफ नगर, म तिम्रो अपराधी हुँ ।’’

बस्नेत वाटिका, वनस्थली, काठमाडौं
[email protected]

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक