सोमबार, साउन ३०, २०७९

कोटावासीको रामचन्द्र पौडेललाई प्रश्न : हामीलाई आकाश देख्न किन दिएनौ ?

नेपालप्लस संवाददाता / कोटा, तनहुँ२०७९ असार २० गते १०:५९

रामचन्द्र पौडेलले राजनिति गर्ने कोटा गाउँको झलक

बहुदलिय ब्यवस्थाको पुनर्वहाली (२०४६) पश्चात नेपालको सत्ता राजनीति र त्यसको वरिपरि सबै भन्दा बढी कोही बसेको छ भने ति हुन शेरबहादुर देउवा र रामचन्द्र पौडेल । देउवालाई छैठौं पटक प्रधानमन्त्री हुने भुत सवार छ भने रामचन्द्र पौडेललाई राष्ट्रपती बन्ने रहर जागेको छ । दुबै जनाको उमेर उस्तै उस्तै हो । महत्वकांक्षा पनि उस्तै छन । दुबैका दिमागमा पद प्राप्ती र सत्ताभोगको उस्तै खालको तरंग चलिरहन्छ । राजनीति गरेर सत्तामा पुगेपछी देश कस्तो बनाउनु पर्छ वा आफूले देशका लागि के योगदान दिनु पर्छ भन्ने दुबै जनालाई थाहा छैन । तै पनि उदेक लाग्दो गरी यिनिहरुले चुनाव जितिरहेका हुन्छन । उनिहरुलाई नै लाग्दो हो, हामीले किन चुनाव जित्छौ ?

देउवाले देशको लागि केही नगरे पनि डडेल्धुराको विकासमा उनको महत्वपूर्ण योगदान रहेको जानकारहरु बताउँछन । तर पौडेलले जिल्ला त के आफ्नो क्षेत्रमा समेत निकै ज्यादाती गरेका छन । २७ वर्ष सम्म सत्ता र सत्ताको वरिपरि रहेको मान्छेले आफूले पटक पटक जितेको जिल्लाका गाउँ र त्यहाँका जनताको उन्नतिका लागि एउटा पनि काम गरेन भन्दा पक्कै पनि मान मर्दन नहोला । किनभने त्यो गाउँ, जुना गाउँ ३० वर्ष अघि जस्तो थियो अहिले पनि उस्तै छ ।

तनहुँँको दक्षिणमा रहेको छ कोटा । पहिले यो गाउँ विकास समिती थियो । देशमा नगरपालिका बनाउने लहर चले पछी यसलाई देवघाट नगरपालिकामा गभिएको छ । वडा नम्बर १ । हिसाव गर्ने हो भने कोटाबाट नवलपुरको गैंडाकोट झर्न १५ किलोमिटर मात्र पर्दछ । तर सुविधाको हिसावले हेर्ने हो भने यो एक दिनको बाटो हो । कोटामा लगभग ३५ सय जनसंख्या छ र सबै स्थानिय कृषि र पशुपालनमा आवद्द छन । तर यहाँँको कृषि उत्पादनले बजार पाँदैन । केहि वर्ष अघी देखी स्थानियले जंगलका मसिना खोल्सा खोल्सी खोस्रेर खेतसम्म पानी पुर्‍याए, तरकारी खेती शुरु भयो । तरकारीले बजार पाएन । तरकारी लिन दासढुङ्गा देखी देवघाट पसेका मोटरहरु कोटासम्म पुग्न सकेनन, बाटैबाट फर्किए । लाखौंको तरकारी बारीमै कुहियो । त्यति धेरै तरकारी डोकोमा बोकेर नारायणघाट ओराल्नु सम्भव नै थिएन । आफ्ना पसीना उदेकलाग्दो गरी विलाएको स्थानियले टुलु टुलु हेरे ।

रामचन्द्र पौडेलले कोटालाई युरोप बनाइदिन्छु भनेर केहि नगरेको गुनासो पोख्दै स्थानियबासी

रामचन्द्र पौडेलले यो जिल्लाको २७ वर्ष प्रतिनिधित्व गरे । यो विचमा उनी जम्मा जम्मी दुई पटक कोटा पुगेका छन । पहिलो पटक उनी २०५४ सालमा पुगेका थिए भने त्यसको २० वर्ष पछी उनी २०७४ मा त्यहाँ पुगे । त्यस बाहेक रामचन्द्र पौडेलले कहिल्यै कोटा टेकेका छैनन । कोटा खासमा भन्दा कुनै बेला तनहुँको बन्दरगाह थियो । काली गण्डकी तरेर १५ किलोमिटरको पैदाल दुरी पार गरेपछी भित्री मधेसको समथर भुमिमा पुग्न सकिन्थ्यो । त्यहिंबाट ब्यापारिहरुले भारत तथा पुर्वी नेपालबाट आउने सामानलाई डोकोमा बोकाएर कोटासम्म पुर्‍याउँथे र त्यहि सामान जिल्ला भरी छरिन्थ्यो ।

रामचन्द्र पौडेल

काठमाडौं पोखरा जोडीने बाटोले मुर्त रुप पाए पछी दमौलीले तनहुँको कारोवार सम्हाल्यो, कोटा जहाँको त्यहीं छोडियो । उत्तरमा अजङ्गको कोटथामा पहाड, दक्षिणपट्टी तराई छेक्ने मौला कालिकाको नेटो र बिचमा गहिरो गरी बग्ने काली नदी । नदीको उत्तर कोटथाम पहाडको पैतलासम्म फैलिएको समथर भुमी- कोटा । के हुँदैन कोटामा ! तपाईं जानुभयो भने देख्न सक्नुहुन्छ एउटै याममा दर्जनौं खालका तरकारी, स्थानीय जातका केराका घारीहरु, लटरम्म फलेका आँप, बेसीमा लह लह झुल्दै गरेका धानका खेत । तर कुनै पनि उत्पादनले बजार पाउँदैन । जिल्लाको सदरमुकाम दमौली पुग्न दस घण्टा उकालोर ओरालो हिंड्नु पर्दछ । कल्पना गर्नुस डोकोमा बोकेर कति उत्पादनले बजार भेट्टाउला । कोटाको जमीन यस्तो जमीन हो जहाँँ विना सिंचाई पनि आधा जिल्ला पाल्न सक्ने खाध्यानन र फलफुल उत्पादन हुन्छ । सिंचाई हुँदो हो त कस्तो हुँदो हो ।

२०७४ सालको निर्वाचनमा भोट माग्न आएका रामचन्द्र पौडेलसँग सडक र सिंचाईका लागि स्थानियले रोइ कराई गरे । गाउँमा कालिकाटार सिंचाईको योजना पर्‍यो । अलिकती काम पनि शुरु भयो । तर बजेट पुगेन काम रोकियो । स्थानियका आँसुले भिजेका दर्जनौं निवेदनहरु पौडेल निवास बोहराटार पनि पुगे, तर कतै सुनुवाई भएन । गत स्थानिय निर्वाचनमा प्रधानमन्त्री पत्नी आराजु राणाले डडेल्धुरामा भाषण गर्दै भनेकी थिइन- कांग्रेसले नजितेको ठाउँमा बजेट रोक्का हुन्छ । ठीक त्यस्तै भएको छ कोटामा । पौडेलले बजेट रोक्ने घोषणा त गरेका थिएनन, तै पनि कोटाको उन्नतीका लागि कहिल्यै विकाशको गतिलो बजेट परेन ।

२६ वर्ष अघि भोट माग्दै आएका पौडेलले कोटाको गाउँ भेलामा प्रतिवद्दता ब्यक्त गरेको कुरा सम्झिंदै स्थानिय शम्शेर बहादुर गुरुङ (५५) भन्छन- “कोटालाई युरोप बनाइदिने भन्नु भएको थियो । धेरैले सोधे युरोप कस्तो छ ? बाटोघाटो, बिजुली, कलकारखाना, रोजगारी आदी आदी । म पनि खुशी भएको थिएँ । अब त आफैं बुढो हुन लागियो । कोटा युरोप त के नेपाल पनि बन्न सकेन ।”

स्थानियवासीकै पहलमा बल्ल एउटा बाटो खोस्रिईंदै कोटामा

यो गाउँ भरतपुर महानगर पालिकाको नजिकै भएर पनि तनहुँ जिल्लाको सबै भन्दा दुर्गाम गाउँ हुनुको सास्ती भोगिरहेको छ । किन कसैले चासो देखाएन गाउँको विकासमा ? गुरुङ भन्छन “त्यो चुनावमा यहाँँका सबैले कांग्रेसलाई भोट हालेका हुन । वर्षौं सम्म हाम्रा प्रतिनिधि फर्केर आएनन ।”

अरु चुनावमा जनताले अरु पार्टीलाई भोट दिए । जिल्ला र केन्द्रमा कांग्रेसको प्रतिनिधित्व छ । वडामा एमालेले जितेको छ । एमालेको वडा भनेर पनि बजेट पारिएको छैन । ०७४ साल पछी वडा वडामा पक्की बाटो र विजुलीको नारा उर्लेको शम्शेर बहादुरले पनि सुनेका हुन । कोटामै केहि गरौं भनेर बसेका उनले स्थानियको सहयोगमा कोटाकै गोपिटारमा गोपिटार होमस्टे शुरु गरे । करोडौं खर्च भए होला गोपिटार होमस्टे बनाउन । गतिलो बाटो नभएकाले मान्छे आउँदैन । यसले दुई वटा कुरा नोक्सान भएको छ । पहिलो त प्रकृतीप्रेमीहरुले बाटो अभावका कारण काली गण्डकीको तिरमा वर देखी पर सम्म फैलिएको यो सुन्दर ठाउँँ हेर्न पाएका छैनन । अर्को पाहुनालाई स्वागत गर्न करोडौं खर्च गरेर बनाइएका यस्ता संरचना अलपत्र परेका छन ।

कोटामा अर्को कुरा पनि छ । राजनीतिक रुपले हेर्दा यो ठाउँमा गोबिन्दराज जोशीको समुह बलियो छ । शक्तिमा रामचन्द्र पौडेल छन । दुईजनाको लडाईंमा कोटा बासी थिचिएका छन । पूर्वमा मुख्य सडक जोडीने गरी दासढुङ्गा पुल बनेको छ । फाट्टफुट्ट गाडीहरु देवघाटसम्म पस्छन । कोटासम्म उकालीन गाह्रो छ । भन्न त मुख्य सडक जोडीनेगरी यो बाटो कोटा, बैदी, कोटदरवार हुँदै दमौली निस्किने भनिएको छ । कतै कतै डोजर पनि चलेको हो । अहिले काम रोकिएको छ । राजनीति गर्ने हरुले यो बाटो पिच हुन्छ भनेकै १० वर्ष भन्दा बढी भयो, तर बाटोमा एक ढाकर गिटी खसेका छैनन ।

स्थानिय तिलबहादुर गुरुङ भन्छन- “मैले मेरो जीवनमा यस्ता आश्वासन धेरै सुनें । अब पत्यार लाग्दैन । कम से काम मैले मेरो जुनिमा यहाँँ पिच बाटो देख्न पाउने छैन ।”

स्थानिय सरकारसँग अहिले यो बाटोलाई पिच गर्न सक्ने कुनै योजना छैन । गण्डकी प्रदेशले अलिकती बजेट हालेर झारा टारेको छ । तिलबहादुरले भने जस्तै कोटाको विकास देख्न धेरै जुनिहरु पर्खिनुपर्नेछ ।

कोटामा यहि बाटोपनि कहिले पुरा हुन्छ टुंगो छैन

हामी पैदाल हिड्दै जाँदा देवघाट नपा वडा नम्बर १ कि वडा सदस्य मनमायाँ गुरुङ भेटिइन् । उनको पीर पनि उस्तै छ । नगर सभामा रोइकाराइ गरिन् ।

“पालिकाको बजेट कतिनै हुन्छ र । माथि हाम्रो कुरा सुनुवाई हुँदैन” नेपालप्लस सँग उनले भनिन ।

तनहुँले प्रजातन्त्र प्राप्ती पछी दुइजना केन्द्रिय नेता पायो । रामचन्द्र पौडेल र गोविन्दराज जोशी । यिनिहरुको केन्द्रिय दवदवा हेर्दा यस्तो लाग्दथ्यो, यो जिल्लाको कायापलट हुने छ । तर केही भएन । दुई जनाको लडाईंमा जिल्लावासी पिसिए । लडाईंमा पौडेलले जोशीलाई भित्तामा पुर्‍याए । केन्द्रमा बर्चस्व भएका एक्लो महारथी पौडेल नै हुन । तर जिल्लामा उनको पकड शुन्यको बराबर छ । कसैले पौडेललाई ‘जिल्लाको लागि के गर्‍यौ ?’ भनेर सोध्यो भने उनी नाजवाफ हुनेछन । तै पनि पौडेलको राजनीति महत्वकांक्षा घटेको छैन । राष्ट्रपती बन्ने आकांक्षा लिएर उनी शेरबहादुरको हजुरिमा छन ।

हामीले बाटोमा भेट हुने धेरै स्थानियलाई सोध्दै हिड्यौं ‘अब रामचन्द्र पौडेललाई भोट दिने कि नदिने ?’ धेरैको जवाफ थियो “अझै पनि उनी कसरी चुनाव लड्लान र । यदी उनी आए भने हामीले धेरै प्रश्न लेखेर राखेका छौ। । पटक पटक सोध्नु छ- हामीलाई आकाश देख्न किन दिएनौ रामचन्द्र पौडेल ?

तपाइँको प्रतिक्रिया

फेसबुक