आइतबार, मंसिर ११, २०७९

लघुकथा : त्यो अतीत

धनराज गिरी२०७९ असार २० गते ११:२०

“नमस्कार, ओहो मधु, आज यति धेरै वर्षपछि कसरी सम्झना आयो यो उपादेयता सक्किएको मान्छेको ? ” पच्चीस वर्षपछि एक चेलीले सम्झिनु,अचम्म।

“गुरुदेव, आज नेपाल प्लसमा एउटा कथा हेरेपछि जिउ चिसो भयो। त्यो अतीतले झस्कायो। हजुर नभएको भए मेरो हालत पनि त मालतीको जस्तै हुने थियो नि! म टुहुरीलाई नयाँ जीवन दिएको हजुरले नै हो। मेरो भगवानले मलाई जोगाएको हो। कसरी बिर्सिने गुरुदेव ! हजुरहरूलाई सन्चै छ ? गुरुमालाई नमन ! अनुज अनुजाहरूको खबर के छ ?”

“त्यो अतीत” हो, त्यो अतीतले प्रोफेसरलाई पनि तान्यो । मधु १३ वर्षकी, टुहुरी । जमिन्दारको घरमा गृहसहायक । एक शनिवार, काम विशेषले जमिन्दारको घरमा गएको थियो प्रोफेसर । घर सुनसान, तर एक आर्तनाद, “नाइँ नाइँ, दादा, नाइँ नाइँ ” एकोहोरो । प्रोफेसरले असजिलो अनुभूत गर्यो ।

सन्जोग, ढोका खुला थियो । सरासर कोठामा गयो । २५ वर्षको जमिन्दारपुत्र वीरेन्द्रलाल खत्री, पूरा कीचक, मधु सैरन्ध्री !

सामुन्नेमा गुरु देखेपछि वीरे लज्जित भएर टाप ! मधु आएर प्रोफेसरको काखमा । घर लिएर आयो प्रोफेसरले मधुलाई । परिवारले साथ दियो । विशेष साथ प्रोफेसरपुत्री कल्याणीको। मधुलाई स्कूल भर्ना गरियो । सरासर एम ए सम्म ।

मधु अहिले कलेजमा उपप्राध्यापक, जीवनसाथी “छविनारायण सापकोटा” ऊ पनि गुरु । दुई छोरी । इज्जतदार जीवन । “मधु, आशीर्वाद मेरी छोरी ! मालतीको कथा पढेर म पनि भावुक भएको नि !

दुनियाँ पापी छ छोरी, अर्थ र यौनको मामिलामा कसको के भर ! त्यता कस्तो छ ? नातिनीहरू ? छविबाबु?”

“सबै राम्रो छ हजुरको आशीर्वादले। हजुर नेपाल आएपछि घर आउनुपर्छ,हाम्रो। ”

“हुन्छ छोरी। अहिले म बिदा हुन्छु है।”

“हस् बुवा,दर्शन! ”

” सौभाग्यवती भव पुत्री!”

प्रोफेसरको मनमा फेरि पनि “मालती, मलाई माफ गर !” घुम्यो ।

तपाइँको प्रतिक्रिया