बिहीबार, वैशाख १३, २०८१

पत्रकार सञ्जयको ‘पात्रहरु’ आउँदै

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असार २२ गते १०:४७

अनौपचारिक लेखनमा अलग नाम बनाएका पत्रकार एवं लेखक सञ्जय घिमिरेले आफ्नो जीवनयात्रामा जोडिएका पात्र, घटना र स्मृतिका बिशेष क्षण सम्झेर लेखेको गैर–आख्यान कृति ‘पात्रहरु’ प्रकाशनमा आउने भएको छ ।

आजभन्दा झण्डै ५० बर्षअघि कास्की देउराली, मुडुलीडाँडाबाट सुरु भएको एउटा जीवनको कथा हो यो । यो यात्रामा काठमाडौं हुँदै अमेरिकाको मेरिल्याण्ड, सानफ्रान्सिस्को र टेक्साससम्म पुग्दा पनि ‘सग्लो जीवन’ भन्नु केही छैन, कतै छैन । एउटा अमुर्त चित्रजस्तो सप्रसङ्ग व्याख्याले मात्रै यो यात्रा र जीवनलाई बुझाउन नसकिने अवस्था छ ।

सन्जय घिमिरे

यस बीचमा कति धेरै पात्रपात्राहरु आउँछन् र जान्छन्, कति भिन्न भूगोल र परिवेश अपनत्वमा जोडिन आइपुग्छन्,’ एक दशकयता अमेरिकाबासी बनेका लेखक घिमिरे भन्छन्‒ ‘यी सबै क्षणहरु कोही छोटै समयमा लामो सम्झनालाई रहन्छन्, कोही लामै समय रहेबसेपनि स्मरणबाट हराइहाल्छन् । जीवनमा जोडिएको यही अन्र्तबिरोध र अन्र्तसम्बन्धको मामलालाई अनौपचारिक ढङ्गमा लेख्ने प्रयास गरेको हुँ ।’

साउनको दोस्रो साताभित्र बजारमा आइसक्ने ‘पात्रहरु’ लाई प्रकाशन गृह सांग्रिलाका प्रबन्धक मणि शर्माले ‘बाँचिएको समयमाथि कवितात्मक भाषामा लेखिएको गैर‐आख्यान’ भनेर टिप्पणी गरेका छन् ।

दुइ दशकअघि हिमालय टाइम्स दैनिकबाट पत्रकारिता सुरु गरेका सञ्जय केही बर्ष च्यानल नेपालमा समाचार सम्पादक रहेका थिए । हाल उनी नेपालखबर अनलाइनको टेक्सासस्थित प्रतिनिधि हुन् ।

तपाइँको प्रतिक्रिया