बिहीबार, वैशाख १३, २०८१

फ्रान्सद्वारा सिरियामा रहेको आइएस समूहका ५१ नागरिकलाई स्वदेश फिर्ता, १५१ अझै बाँकी

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार २२ गते १७:२५

Image source-washingtoninstitute.org

फ्रान्सले सिरिया स्थित आतंककारी समुह आइएसको शिविरमा रहेका आफ्ना ५१ नागरिकलाई स्वदेश फिर्ता गरेको छ ।

फ्रान्सेली अधिकारीहरूले मंगलबार सिरियाको पूर्व इस्लामिक स्टेट समूहद्वारा नियन्त्रित क्षेत्रहरूबाट ५१ महिला र बालबालिकालाई स्वदेश फिर्ता गरेको राष्ट्रिय प्रतिआतंकवाद अभियोजकको कार्यालयको एक विज्ञप्तिमा उल्लेख छ।

मार्च २०१९ मा आइएसको क्षेत्रीय पराजय पछि उत्तरपूर्वी सिरियाका शिविरहरूबाट फ्रान्समा महिला र बालबालिका एकै पटक फिर्ता गरेको यो सबैभन्दा ठूलो समुह हो । फ्रान्सले युरोपका अन्य कुनै पनि देशका नागरिक भन्दा बढी आफ्नो देशका नागरिक यस समूहमा सामेल हुन गएको भोगेको छ ।

एपी न्युजका अनुसार मंगलबारको समूहमा २२ देखि ३९ वर्षका १६ महिला र ३५ नाबालिगहरू थिए । तिमध्ये सात जना वयस्कको साथ बिना नै फ्रान्स आउँदैछन्। समूहका दुई जना महिला बाहेक सबै फ्रान्सेली नागरिक हुन् ।

बाह्र जना महिला आफ्ना छोराछोरी लिएर फर्किएका छन् र चार जना महिलाले पहिले नै आफ्ना छोराछोरी फिर्ता गर्न राजी भइसकेको अभियोजकको बयानमा उल्लेख छ ।

आठ जना महिलालाई सोधपुछका लागि हिरासतमा राखिएको छ भने अन्य आठ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । बच्चाहरूलाई भसाइ न्यायिक अदालतमा संलग्न बाल सुरक्षा सेवाहरूको हेरचाहमा राखिएको थियो ।

अभियोजकको बयान अनुसार ३५ नाबालिग मध्ये एक जनालाई आतंकवादी आपराधिक उद्यमको गतिविधिमा भाग लिएको शंकामा प्रहरी हिरासतमा राखिएको छ । नाबालिग छिट्टै १८ वर्ष पुग्ने बताईएको छ ।

धेरै युरोपेली देशहरूले आफ्नो मातृभूमिमा हिंसात्मक घटना गराउने डरले महिला र बालबालिकाहरूलाई फर्कन अनुमति दिन ढिलो गरेका छन् । सन् २०१५ को सुरुमा धेरै घातक आक्रमणहरू भोगे पछि त्यहाँबाट फिर्ता ल्याउन फ्रान्स अनिच्छुक देखिएको छ ।

फ्रान्सेली अधिकारीहरूले आईएससँग लड्ने वयस्क, पुरुष र महिलालाई अपराध गरेको अभियोगमा देशमा मुद्दा चलाउन आग्रह गरेका छन् । अधिकारीहरूले नागरिक र उनीहरूका बच्चाहरूलाई घटना हेरेर ब्यवहार गर्न र एक एक गर्दै फिर्ता ल्याउन पनि जोड दिएका छन् । यो लामो र जटिल प्रक्रिया हो जुन मानव अधिकार समूहहरूले बारम्बार आलोचना गर्दै आएको छ ।

गत डिसेम्बरमा सिरियाको रोज शिविरमा मधुमेह रोगी २८ वर्षीया फ्रान्सेली महिलाको मृत्यु भएको थियो । उनको ६ वर्षीया छोरी त्यहिं टुहुरो बनेकि थिईन् । उनको परिवारिक वकिलका अनुसार उनले सन् २०१९ देखि आफ्नो देशमा फिर्ता हुनको लागि अनुरोध गर्दै आएकि थिईन् ।

सिरिया र इराकको कुर्दिश नियन्त्रित शिविरमा थुनिएका महिला र बालबालिकालाई स्वदेश फिर्ता गर्न अभियान चलाउने परिवारको समूह युनाइटेड फेमिली कलेक्टिभको एक विज्ञप्ति अनुसार उक्त अनाथ बालिका मंगलबार स्वदेश फिर्ता भएका बालबालिकाको समूहमा थिइन् ।

युनाइटेड फेमिली कलेक्टिभले सरकारको स्वदेश फिर्ता गर्ने प्रयासको प्रशंसा गरेको छ । हिरासतका शिविरहरूमा अमानवीय र अपमानजनक जीवनयापनमा बालबालिका र आमाहरू फसेको भन्दै तिनलाई घर ल्याउने क्रम जारी राख्न फ्रान्सेली अधिकारीहरूलाई आग्रह गरेको छ ।

रोज क्याम्पमा अझै पनि १५० फ्रान्सेली बालबालिका र उनीहरूका आमाहरू फसेको उक्त समूहले जनाएको छ ।

“फ्रान्सले उनीहरूलाई सकेसम्म चाँडो स्वदेश फिर्ता गर्नुपर्छ र ढिलाइ नगरी हाम्रो इतिहासको यो लज्जास्पद अध्याय बन्द गर्नुपर्छ” समूहको विज्ञप्तिमा भनिएको छ ।

(स्रोत-एपी र फ्रंस २४)

तपाइँको प्रतिक्रिया