आइतबार, मंसिर ११, २०७९

जलस्रोतमा धनी देश नेपालले किन पानीको अभाव झेलीरहेको छ ?

शेरल तान२०७९ असार २२ गते १८:२८

सिङ्गापुर नेपालमा झैं पानीको समस्या बेहोरिरहेको मुलुक हो। सिङ्गापुरको प्राकृतिक जलस्रोतमा पहुँच छैन तर नेपालमा भने प्रशस्त नदीहरू छन्। यहाँ हिमालयबाट हिमनदीहरू पग्लिएर प्रवाह भएको पानी र वर्षाले बढाउने जमिनमुनिको पानीको सतह पनि उपलब्ध छ। मैले भर्खरै काठमाडौंको यात्राको क्रममा पत्ता लगाए जस्तै नेपालको जलस्रोत तीव्र सहरीकरण, प्रदूषण र जलवायु परिवर्तनबाट खतरामा परेको छ। यस्तो समस्याले अहिले धेरै अन्य शहरहरूलाई पनि सताएको छ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपीसीसी) ले फेब्रुअरी (२०२२) मा चेतावनी दिएको थियो। उक्त चेतावनीमा भनिएको थियो– पानीको अभाव, जसले यस अघिदेखि नै हरेक वर्ष कुनै न कुनै बिन्दुमा विश्वको आधा जनसंख्यालाई पिरोलेको छ, वर्षाको अनिश्चित ढाँचाले बाढी वा खडेरी जस्ता चरम घटनाहरूका कारण अझै प्रतिकूल हुनसक्छ।

यस्तो सुख्खा अवस्थाले कृषि र जलविद्युत् आयोजनाबाट हुने ऊर्जा उत्पादनमा नकारात्मक असर पार्न सक्ने प्रतिवेदनले औंल्याएको छ। अहिले नेपालका संस्थाहरूले सिङ्गापुरका अन्वेषकहरूलगायत विभिन्न साझेदारहरूसँग मिलेर देशको जलस्रोत संरक्षण गर्न मद्दत गरिरहेका छन्।

पानीको सुरक्षामा खतरा

काठमाडौं उपत्यकाबाट बग्ने प्रसिद्ध बाग्मती नदीलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरूले पूज्दछन् किनभने यसको पानी पवित्र मानिन्छ।

धेरै हिन्दू मन्दिरहरू यसको किनारमा अवस्थित छन्, र हिन्दूहरूलाई नदीको किनारमा दाहसंस्कार पनि गरिन्छ । तर अहिले उक्त नदी सन् १९७० को दशकको भन्दा धेरै खराब अवस्थामा छ।

यस महिनाको सुरुमा (जुन) नदीको भ्रमण गर्दा यसको जीवन आधारका रूपमा रहेको खोलामा जल सतह घटेर गतिहीन भैसकेको छ। नदी धमिलो एवं मैलो पानी, प्लास्टिक तथा कपडाका टुक्रा लगायत फोहोरले भरिएको देखिन्छ।

प्रदूषणको कारण ?

कंक्रिट, गलैंचालगायत उद्योगले त्यहाँ उत्पन्न फोहोर नदीमा फाल्ने र घरपरिवारले पनि फोहोर पानीमा फाल्ने गरेको स्वतन्त्र जलवायु परिवर्तन तथा जलाधार विज्ञ मधुकर उपाध्याय बताउँछन्।

६८ वर्षीय उपाध्याले सम्झिए– ‘त्यतिबेला, फोहोर व्यवस्थापन गर्ने कुनै नियम थिएन, र मानिसहरूले सोचेका थिए कि हामीसँग पर्याप्त पानी छ, त्यसैले हामीले सबै चीज सफा गर्न सक्छौं – यो सोचाइ त्यतिबेला एकप्रकारले सत्य पनि थियो किनभने जनसंख्या त्यति धेरै थिएन।”

नदीको पानीमा नमूना जाँच गर्दा ‘नदीका केही भागहरूको पानी मानव कोशिकाहरूका लागि अत्यधिक विषाक्त छ; र त्यहाँ एन्टिबायोटिक सहित औषधिजन्य स्रावको असामान्य मात्रा छ जसले एन्टिबायोटिक प्रतिरोधी क्षमता बढाउन सक्छ भन्ने पत्ता लगाएको छ ।

खोलामा लुगा धुने र नुहाउने गरेका उपाध्यायले १९६० र ७० को दशकमा काठमाडौं उपत्यकामा नगरमा खानेपानीको राम्रो व्यवस्था नभएकाले नदी नै मानिसको जीवनको महत्वपूर्ण हिस्सा भएको बताए।

सन् १९९० को दशकमा नेपालमा द्रुत सहरीकरण युगको आगमन भयो । तर सन् २०११ सम्म ठोस र औद्योगिक फोहोर फाल्न निषेध गर्ने नियमहरू लागू भएनन्। त्यतिबेला पनि यो कुरालाई धेरै बेवास्ता गरिएको थियो।

अहिले पनि काठमाडौंमा बस्दै आएका उपाध्यायले अहिले कठोर नियमले मानिसको मानसिकता परिवर्तन गर्न मद्दत गरिरहेको बताए।

नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीको नानयाङ वातावरण र पानी अनुसन्धान संस्थान (नेउरी) द्वारा नदीको पानीमा नमूना जाँच गर्दा ‘नदीका केही भागहरूको पानी मानव कोशिकाहरूका लागि अत्यधिक विषाक्त छ; र त्यहाँ एन्टिबायोटिक सहित औषधिजन्य स्रावको असामान्य मात्रा छ जसले एन्टिबायोटिक प्रतिरोधी क्षमता बढाउन सक्छ भन्ने पत्ता लगाएको छ’, नेउरीका कार्यकारी निर्देशक शेन स्नाइडरले भने– ‘तर यो औषधी उत्सर्जनको स्रोत अज्ञात रहेको छ’।

जलाधार विज्ञ उपाध्याले भने “बाग्मती नदीले प्रदूषणहरूलाई हटाउने र प्राकृतिक रूपमा सफा हुने क्षमता गुमाएको छ।”

एक त बागमती नदीमा अहिले जलाधार घट्दै गएको छ। नदीको वहाब क्षेत्र आसपासमा खुला भूभाग मासिँदै गएकाले वर्षालाई जमिनको सहतमुनि भूमिगत पानीमा पुर्‍याएर बाग्मती जस्ता नदीमा पानीको स्रोत कम हुँदै गएको छ ।

उपाध्याले भने– ‘जति–जति वर्षाको पानी जमिनमुनि जम्मा हुन्छ, जलाधार क्षेत्र त्यति नै सम्पन्न हुन्छ । किनभने यसले सुख्खा मौसममा बागमतीजस्ता नदीहरूलाई पानी प्रदान गर्न सक्दछ’।

उपत्यकामा तीव्र सहरीकरणले गर्दा विगत ४० वर्षमा उपत्यकाको ८० प्रतिशत भुइँ सडक र भवनमा प्रयोग भएको कंक्रिटले बन्द गरेको छ, जसले गर्दा वर्षाको पानी जमिनमा छिर्न असम्भव भएको उनले बताए।

उनले भने ‘वर्षाको पानी संकलन गरी भूमिगत जल सिर्जनामा योगदान दिने परम्परागत पोखरी लगायतका संरचना पनि अव्यवस्थित सहरीकरणका कारण मासिँदै गएका छन्।”

त्यसैगरी जलवायु परिवर्तनका कारण नेपालमा वर्षाको मात्रा पनि अनिश्चित बन्दै गएको छ।

नेपालमा दिगो विकास र वातावरणीय न्यायका लागि काम गर्ने गैरसरकारी संस्था प्रकृति रिसोर्स सेन्टरका कार्यकारी निर्देशक जलवायु परिवर्तन विज्ञ राजु पण्डित क्षेत्रीले मनसुनको समयमा वर्षा बढी हुने गरेको बताए। यो मौसम सामान्यतया जुनको पहिलो हप्तामा सुरु भएर सेप्टेम्बरको सुरुसम्म लगभग तीन महिनासम्म रहन्छ।

‘अहिले के भइरहेको छ भने प्राय: एकै दिनमा धेरै ठूलो पानी पर्छ । तर हप्ताको बाँकी समयमा मौसम सुख्खा हुन्छ’ क्षेत्रीले भने । साताभरी नियमित पानी पर्नुपर्नेमा त्यसको विपरीत भइरहेको छ।

गत वर्ष अगस्टमा प्रकाशित आईपीसीसीको अर्को प्रतिवेदनले पानीको जीवन चक्र सघन हुँदै गइरहेको छ र ग्रहमा तापक्रम वृद्धि हुँदै जाँदा थप सघन हुँदै जानेछ भनेर चेतावनी दिएको थियो। यसको मतलब भविष्यमा तापमान वृद्धिसँगै चरम वर्षा र चरम सुख्खाको अवस्था आउन सक्छ।

प्रतिवेदन अनुसार भारी वर्षाले पनि थप विनाशकारी प्रभावहरू निम्त्याउन सक्दछ। जस्तै, किसानहरूमा बाली नोक्सान र देशका विभिन्न क्षेत्रमा पहिरो र बाढी आउन सक्छ। साथै, कुनै समयमा वर्षाको कमी हुनसक्छ, जबकि कुनै समयमा अत्यधिक वर्षाका कारण विनाशकारी परिणामहरू निम्त्याउन सक्छ।

समाधान

सिङ्गापुरले उसले सामना गर्दै आएको पानी अभावको समस्या समाधानका लागि महँगो पूर्वाधार निर्माण गरेको छ । उदाहरणका लागि, उपयोग गरिसकिएको पानी प्रशोधन तथा निर्मलीकरण र समुद्रको पानी शुद्धीकरण प्लान्टलाई लिन सकिन्छ । तर विज्ञहरू भन्छन्- यस्ता उपायहरू नेपालका लागि त्यति उपयुक्त नहुन सक्छन् । किनभने ती जलवायु परिवर्तनसँग अनुकूल हुँदैनन्।

उदाहरणका लागि, नेपाल सरकारको पहलमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजना निर्माण गर्न दुई दशकभन्दा बढी समय लागेको थियो, जुन मेलम्ची नदीबाट दैनिक करिब १७ करोड लिटर स्वच्छ पानी २६ किलोमिटर लामो सुरुङमार्फत काठमाडौंसम्म पुर्‍याउने गरी डिजाइन गरिएको थियो।

यसले काठमाडौंको दैनिक खानेपानीको मागको आधाभन्दा कम हिस्सालाई सम्बोधन गर्छ । तर यो सञ्चालन गरिएको केही महिना पछि नै अप्रत्याशित रूपमा भएको भारी वर्षाका कारण पहिरोले गत वर्ष जुन १५ मा पानी आउने सुरुङमा ठूलो क्षति पुर्‍यायो। यस्तै घटना हुन नदिन यस वर्ष मनसुनअघि नै सुरुङमार्ग बन्द गरिएको थियो ।

३५ अर्ब रुपैयाँ लागतको यो आयोजनाले अहिले धेरै अनिश्चितताको सामना गर्नु परेको छ । खासगरी २० वर्ष बितिसक्दा पनि यो जलवायु परिवर्तनसँग राम्ररी अनुकूलन नभएको उपाध्यायले बताए।

‘अहिले, जलवायु परिवर्तनका कारण धेरै चरम मौसमी घटनाहरू भइरहेका छन्, हामीलाई थाहा छैन कि यो आयोजनाको भविष्य के हुन्छ र यो अझै दीर्घकालीन रूपमा व्यवहारिक छ कि छैन भने हामीलाई थाहा नै छैन’ उनले थपे।

उपाध्यायले यसको सट्टामा प्रकृतिसँग सकेसम्म नजिकबाट काम गर्ने सरल, साना उपायहरू प्रस्ताव गरेका छन्।

उदाहरणका लागि, जलाधारको निश्चित क्षेत्रहरूमा वर्षाको पानीलाई थुनेर साना पोखरीहरू बनाउनाले पानीलाई जमिनमा पुन: प्रवेश गर्न र भू–जल भण्डारलाई बढावाको अनुमति दिन्छ।

काठमाडौंको पूर्वमा पर्ने काभ्रे जिल्लाका कतिपय गाउँहरूमा एकीकृत पर्वतीय विकास केन्द्रले भूकम्पपछि केही मुहानहरू सुक्न थालेपछि यस्तो परीक्षण गरेको हो।

नेपालको दक्षिणी तराईको नवलपरासी जिल्लामा, सिंगापुरको नेउरी टोलीले त्यहाँका स्थानीय संस्थाहरूसँगको साझेदारीमा दुई माध्यमिक विद्यालयहरूमा पानी फिल्टर गर्ने प्रणाली स्थापना गर्‍यो, जसले त्यहाँको खानेपानीबाट आर्सेनिक हटाउन मदत गर्‍यो।

उपाध्यायले अझ महत्वपूर्ण कुरा पनि गरेका छन्– काठमाडौं उपत्यकाका नदी र सहायक नदीहरूको संरक्षण र पुनर्पस्थापना गर्न अझ धेरै काम गर्ने आशा राखेका छन्, ताकि तिनीहरूले बाग्मतीको जस्तो अवस्था भोग्न नपरोस्।

“हामीले हाम्रो भू–जल सतहबाट पानी निकाल्न हाम्रा नदीहरू संरक्षण गर्नुपर्छ, जसले हामीलाई जीवित राख्नेछन्। यदि सबै समाप्त भयो भने हामीले पानी कहाँबाट ल्याउने ?’

जलवायु परिवर्तन र तीव्र रूपमा घटिरहेको स्रोतलाई सम्बोधन गर्न हाम्रो पहल प्राय: अल्पकालीन र राजनीतिक प्रकृतिको हुन्छ; ठूला परियोजनामा संलग्न हुँदा यसमा निहीत जटिल प्रक्रिया र यससँग जोडिएका विभिन्न प्राकृतिक स्रोतहरूको प्रभावलाई पहिचान गर्न असफल हुने गरेका छौं। यो हाम्रो लागि निकै महँगो पर्न सक्छ र असावधानीले अनुकुलन प्रतिकूलतातर्फ डोर्‍याउन सक्छ।

‘हाम्रो पानीको सुरक्षाको लागि थप दीर्घकालीन समाधान र जलवायु अनुकूलनसम्बन्धी विकल्पहरूमा विचार गर्नुपर्दछ’ उनले अगाडि भने।

(द स्टेर्सटायम्समा प्रकाशित आलेखलाई मनोजराज रेग्मीले भावानुवाद गरेका हुन् । श्रोत: आइएनएस-स्वतन्त्र समाचार)

तपाइँको प्रतिक्रिया