मंगलबार, वैशाख ४, २०८१

युरोपेली युनियन सम्झौताको विरोधमा म्यासेडोनियामा दर्जनौं प्रहरी घाइते

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार २२ गते १९:५७

फोटो-बोरिस ग्र्दनोस्कि / एपी

उत्तरी म्यासेडोनिया युरोपेली युनियनमा सामेल हुने सहमतिको विरोधमा बुधवार भएको प्रदर्शनका क्रममा प्रहरीले ४७ अधिकारी घाइते भएको जनाएको छ ।

उत्तरी म्यासेडोनिया सम्मिलत हुने विषयलाई बुल्गेरियाले आपत्ति जनाउँदै आएको थियो । त्यस आपत्ति हटाउने उद्देश्यले फ्रान्सेली प्रस्तावलाई लिएर सप्ताहन्तदेखि स्कोप्जे शहरमा हजारौं मानिसहरूले रातभर प्रदर्शन गर्दै आएका छन् ।

मुख्य आन्दोलनबाट बाहिर निस्किएका अधिकांश युवाहरूको समूहले संसद भवनमा ढुंगा, छड, अण्डा र ककटेल भरेका बोत्तलले हानेपछि प्रहरीहरु घाइते भएका हुन् ।

झडपपछि मंगलबार ११ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री दिमितार कोभासेभस्कीले प्रहरीमाथि भएको आक्रमणको निन्दा गर्दै हिंसालाई न्यायोचित हुन नसक्ने बताए।

उत्तरी म्यासेडोनियाका गृहमन्त्री ओलिभर स्पासोभस्कीले अस्पतालमा घाइते प्रहरी अधिकारीहरूलाई भेट्न गएका बेला घटनाको अनुसन्धान भइरहेको पुष्टि गरेका छन् ।

“हामी सबैलाई राम्रोसँग थाहा छ, विरोधको पछाडि को छ र कसले उनीहरूलाई उक्साएको छ” स्पासोभस्कीले भने “अपराधीहरूले सम्भवतः कडा भन्दा कडा सजायको सामना गर्नेछन् ।”

बुल्गेरियालाई ईयु सदस्यको रूपमा नयाँ सदस्ता दिंदा भिटोको अधिकार छ । उत्तरी म्यासेडोनियाले औपचारिक रूपमा यसको भाषा बुल्गेरियन मूलको भनेर मान्यता दिन चाहन्छ।

बुल्गेरियाले देशमा बुल्गेरियन अल्पसंख्यकलाई मान्यता दिन र बुल्गेरिया विरुद्ध घृणा फैलाउने शब्दावली, संवोधनलाई खारेज गर्न थप कदम चाल्न पनि आह्वान गरेको छ ।

उत्तरी म्यासेडोनियाको मुख्य विपक्षी पार्टी भि एम आर ओ-डिपिएमएनई लगायत धेरैजसोको भनाइ ति मागहरू स्वीकार गर्दा उनीहरूको राष्ट्रिय पहिचानलाई कमजोर बनाउँछ र बुल्गेरियाको पक्षमा हुन्छ ।

उत्तरी म्यासेडोनियाका राष्ट्रपति स्टेभो पेन्डारोव्स्की र सरकारले प्रस्तावित फ्रान्सेली सम्झौतालाई समर्थन गरेको छ जसमा जातीय बुल्गेरियन अल्पसंख्यकको अस्तित्वलाई संवैधानिक रूपमा स्वीकार गरिएको छ ।

उक्त प्रस्तावमाथि छानबिनकालागि समिति गठन गर्न सांसदहरुको बैठक बिहीबार बस्ने भएको छ ।

उत्तरी म्यासेडोनिया १७ वर्षदेखि ईयू सदस्यताका लागि उम्मेदवार रहेको छ । देशले सन् २०२० मा ईयुमा सम्मिलित हुनकालागि वार्ता सुरु गर्न हरियो संकेत पाएको थियो । तर वार्ता सुरु गर्न कुनै मिति हालसम्म तोकिएको छैन।

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले मंगलबार उत्तरी म्यासेडोनियालाई फ्रान्सले प्रस्ताव गरेको समाधानको सम्झौतालाई समर्थन गर्न आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक