शुक्रबार, वैशाख १४, २०८१

विवादको चंगुलमा एनआरएन बेलायत ! के हो विवादको चुरो ?

नेपालप्लस संवाददाता / बेलायत२०७९ असार २३ गते १९:०२

फाईल फोटो, एनआरएनए युकेका पदाधिकारीहरु निर्वाचनमा बिजयी भएपछि ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को जन्म बेलायतमा हो भनिन्छ । यहि संस्थाको जन्मदाता संस्था एनआरएनए बेलायतनै अहिले विवादै विवादको चंगुलमा फसेको छ । संस्थाको मूल घर संस्थापन पक्षमा रहने कि छुट्टिएर शेष घलेले निर्माण गरेको अर्को संस्थामा जाने भन्ने प्रमुख विवादले संस्थामा आरोप प्रत्यारोप चुलिएको छ ।

खासगरेर एनआरएनए बेलायत, एनआरएनए अमेरिका, एनआरएनए क्यानडा, एनआरएनए जापान लगायत आधा दर्जन भन्दा बढी देशमा संघको दशौं महाधिवेशन् पूर्वनै विवाद थियो । यो विवाद संस्थापन पक्ष र कुल आचार्यबिच चुलिएको थियो । आचार्य पक्षले संस्थापन पक्षसित विभिन्न पदमा भाग बण्डा गर्दै दशौं महाधिवेशनमा सहभागि भएपछि एनआरएनए अमेरिका, एनआरएनए जापान, एनआरएनए अष्ट्रिया लगायतका धेरै देशको विवाद तत्कालका लागि साम्य भयो । तर एनआरएनए बेलायतको विवाद भने यथावत रहेको थियो ।

दशौं महाधिवेशनमा एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहामगर सहभागि नभै शेष घलेले होटेल याक एण्ड यती होटेलमा डाकेको महाधिवेशनतिर लागे । यहिंबाट आफ्नै पक्ष अर्थात् कुल आचार्य पक्ष र एनआरएनए बेलायतको नेतृत्वबिचमा फाटो पर्‍यो । खासमा विवाद् यहिंबाट शुरु भएको हो ।

गत दशौं महाधिवेशनका बेला गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसीहरु) ले केन्द्रलाई बुझाउनुपर्ने सदस्यताबापतको रकमपनि तिर्नुपर्ने सहमति भएको थियो । दुई पक्षबिच भएको सहमति अनुसार एनआरएनए जापान, एनआरएनए अमेरिका, एनआरएनए क्यानडा लगायतका देशले ढिलै भएपनि उक्त रकम तिरे । तर एनआरएनए बेलायतले रकम तिर्न मानेन । बरु केन्द्रले दिएका निर्देशनहरुनै टेरपुच्छर लगाएन ।

तर दशौं महाधिवेशनमा सबै एनसिसीहरुलाई मिलाउने, विवाद साम्य पार्ने, एकता गराउने, मूल धारमै रहने बाचा र गरिएको सहमति अनुसार एनआरएनए बेलायतलाईपनि केन्द्रलाई बुझाउनुपर्ने रकम बुझाउन पटक पटक आग्रह गरियो । तर एनआरएनए बेलायतले टेरेन ।

एनआरएनए बेलायतमा स्पष्ठ रुपमा दुई खेमा देखियो- महासचिव खुशि लिम्बू र उपाध्यक्ष राम चन्द्र पोखरेलले केन्द्रलाई तिर्नुपर्ने सदस्यता बापतको रकम तिरेर मूल धारमै रहनुपर्ने अडान लिए । तर उता अध्यक्ष प्रेम गाहा मगरले भने त्यसलाई मानेनन् । त्यसपछि संस्थामा दुई पक्षबिच तानातान र खिचातानि शुरु भयो ।

उपाध्यक्ष पोखरेल खेमाले २२ जुनमा अध्यक्ष प्रेम गाहामगरमाथि आधा दर्जन आरोप लगाउँदै केन्द्रमा पत्राचार गर्‍यो । यो पक्षले आफ्नै तरिकाले बैठक डाक्यो, एनआरएनए बेलायतको ।

ति आरोपमा एनआरएनए युकेको बिधान अनुसार अध्यक्षले गतिबिधि नगरेको, अन्तर्राष्ट्रिय समन्वय परिषद अर्थात् केन्द्रप्रति जवाफदेहि नभएको, एनआरएनए युकेको कार्य समितिको निर्णय पालना गर्न ढिलाढुस्ति गरेको, संस्थाको हिसाबकिताब नबुझाएको लगायतका छन् ।

ति आरोपहरुमा फेरि प्रतिबाद गर्दै अध्यक्ष प्रेम गाहा मगरले जुन् २७ मा तीन पेज लामो बक्तब्य सार्वजनिक गरे । उनले पोख्रेल र लिम्बुका आरोप खण्डन मात्रै गरेनन् कि उपाध्यक्षमाथि एउटा गुट बनाएर एनआरएनए बेलायत फुटाउन खोजेको, महासचिव खुशि लिम्बु र उपाध्यक्ष पोख्रेलले दोहोरो भूमिका खेलेको, सूचना चुहावट गरेको, महासचिवले संस्थाको गोपनियता सार्वजनिक गरेको, उपाध्यक्षसित मिलेर कोषाध्यक्षले संघको हिसाबकिताब नबुझाएको लगायतका दर्जन जति आरोप लगाए ।

त्यति मात्रै होइन, गाहामगरले पोख्रेलमाथि एनआरएनए युकेलाई फुटाएर उपाध्यक्ष राम चन्द्र पोख्रेलको नेत्रित्वमा नयाँ एनसिसी बनाएर लैजाने दुस्साहस गरेको आरोपसमेत लगाएका छन् ।

प्रेम गाहामगरले महासचिव खुशि लिम्बुबाट हुने कुनैपनि पत्राचारलाई संस्थाको तर्फबाट मान्य नहुने भन्दै फेरि अर्को पत्राचार गरे । यसपछि विवाद झनै उत्कर्षमा पुग्यो । महासचिवमाथि अपहेलना गरेको, महासचिवको जिम्मेवारी र भूमिका अपहरित गरेको, महासचिवलाई मानहानी गरेको, अध्यक्षको शक्तिले दम्भ देखाएको, एकल निर्णय गर्न खोजेको, महासचिवलाई एक्ल्याउन खोजेको उनीहरुले अर्थ्याए । त्यसपछि अध्यक्ष गाहामगरका निर्णयलाई उपाध्यक्ष पोख्रेल र महासचिव लिम्बुले टक्कर दिन छोडेनन् ।

उता उपाध्यक्ष रामचन्द्र पोख्रेल र महासचिव खुशि लिम्बुले भने अध्यक्षले मनोमानि गरेको आरोप लगाउँदै पत्राचार र बैठक गरिरहेका छन् । एनसिसि बेलायतमा सर्वसम्मती वा बहुमतसमेत नपुर्‍याईकन अध्यक्ष गाहामगरले ६ अगष्ट विहान १० बजे वार्षिक साधारण सभा डाकेको आरोप उपाध्यक्ष र महासचिव पक्षको छ । अध्यक्ष प्रेम गाहामगरले २७ जुनमा जारि गरेको तीन पेज लामो स्पष्ठीकरणमा अध्यक्षका हिसाबले आफूसित विशेष अधिकार रहेको र सबै पदाधिकारीसित छलफल गर्नु नपर्ने आशय उल्लेख गरेका छन् ।

विवादको चुरो

बाहिरबाट हेर्दा यो विवाद अध्यक्ष, महासचिव र उपाध्यक्षको जस्तो देखिन्छ । किनभने बाहिर प्रचारप्रसार र विवादमा नाम बढी तिनैको मुछिएको छ । तर यो विवाद एनआरएनए बेलायत भित्र मात्रै सिमित छैन । विवाद देखिएका वा नाम पोलापोल गरेका ब्यक्तिहरुबिचमा गहिरो विवादपनि छैन । यो विवाद खासमा शेष घले पक्ष र संस्थापन पक्षबिचको शक्ति संघर्ष हो ।

अर्को तर्फ भन्ने हो भने एनआरएनए बेलायतको विवाद कूल आचार्य सितको रिस, आबेग, तुष र बदलाको भावना बिरुद्दपनि हो । गत महाधिवेशनमा कुल आचार्यले आफूहरुलाई धोका दिएर लुसुक्क संस्थापन पक्षसित भागबण्डा गर्न गएको आरोपको बदलापनि हो ।

घले पक्ष कुनैपनि हालतमा मुख्यगरि कुल आचार्य पक्षलाई सफल हुन दिने पक्षमा छैन । उनीहरु होटेल याक एण्ड यतीमा धोका दिएर लुसुक्क होटेल हिमालयमा सहमति गर्न पुगेको ‘धोका र रिस’ को बदला लिन चाहन्छन् ।

खास विवाद भनेकै यो संस्थापन तिर लाग्ने कि शेष घले पक्षमा जाने, कसले कुन पक्षलाई देखाइदिने, एनआरएनए बेलायत कसरि कब्जा गर्ने भन्ने शक्ति संघर्ष हो । महासचिव खुशि लिम्बु र उपाध्यक्ष राम चन्द्र पोख्रेल एनआरएनएलाई मूल घरमा राख्न चाहन्छन् भने अध्यक्ष प्रेम गाहा मगर शेष घले पक्षमा लैजान चाहन्छन् ।

करोडमाथि आँखा

एनआरएनए युकेले एनआरएनए केन्द्रलाई आफ्ना सदस्यहरुको सदस्यताबापत बुझाउनुपर्ने रकम करिब डेढ करोड रुपैयाँ छ । एनआरएनए युके धनी संस्थामा गनिन्छ । संस्थाले डेढ करोड रकम जम्मा गरेर राखेकालेपनि त्यो रकममा संस्थागत आँखा परेको छ । यो रकमबाट संस्थाले धेरै सामाजिक, संस्थागत कामम गर्न सक्छ । यहि रकम खर्च गरेर नेतृत्व स्थापित वा सफल हुनसक्छ । एनआरएनए युकेको खातामा रहेको यहि ठूलो धनराशीमा आँखा पर्नालेपनि विवाद सहजै मिल्ने र प्रेम गाहामगर पक्षले सहजै छोड्ने स्थिति नदेखिएको हो ।

दशौं महाधिवेशनका बेलानै एनआरएनए केन्द्रले एनआरएनए बेलायतलाई पटक पटक पत्राचार गर्दै आफ्ना सदस्यहरुले तिर्नुपर्ने बापतको सदस्यता रकम केन्द्रमा बुझाउन आग्रह गरेको थियो । तर एनआरएनए युकेले संस्थाद्वारा महाधिवेशन प्रतिनिधिका रुपमा पठाएका प्रतिनिधिहरुको सूची सदर नगरेसम्म एनआरएनए केन्द्रलाई बुझाउनुपर्ने सदस्यताबापतको दस्तुर ५६ हजार डलर नपठाउने भन्दै पत्राचार गरेको थियो ।

संवन्धित : आफ्ना प्रतिनिधिहरु सदर नगरेसम्म एनआरएनए युकेले बुझाउनुपर्ने ५६ हजार डलर केन्द्रलाई नपठाउने

किन मिलेन विवाद ?

दशौं महाधिवेशनमा तीन अध्यक्ष सहित दर्जनौं पदमा भागबण्डा हुँदा बिवादित सबै एनसिसीहरुलाई मिलाउने, एक बनाएर लैजाने न्भने सहमतिमा निर्वाचन नगरि भागवण्डा गरिएको थियो । सोहि सहमति अनुसार विवाद भएका एनसिसीको समस्या सुल्झाउन बिभिन्न केन्द्रिय नेत्रित्वले पहल गर्ने भनिएको थियो । सोहि सहमति अनुसार हाल केन्द्रिय अध्यक्ष बनेका र पहिलो छ महिने कार्यकालको अध्यक्ष कुल आचार्य छन् । एनआरएनए बेलायतको विवाद मिलाउने जिम्मा उनैलाई दिईएको हो । तर आचार्यले उक्त विवाद मिलाउने पहलकदमी लिन सकेका छैनन् । मिलाउनुको साटो एनआरएनए युकेमा विवाद झनै गहिरिएर गएको छ ।

गत दशौं महाधिवेशनमा आफूहरुलाई उचालेर लगेको, सामुहिक हित र निर्णयकालागि भनेर अन्तिमसम्म साथ दिएको तर अन्तिम समयमा सुटुक्क गएर पदको भागवण्डा गरेको, आफूहरुलाई धोका दिएको भन्दै प्रेम गाहा मगरले कुल आचार्य खेमा त्यागेका थिए । त्यसपछि कुल आचार्यलाई प्रेम गाहा मगरले पटक्कै वास्ता गरेका छैनन् । आचार्यसित दोहोरो वार्तासमेत नभएकाले एनआरएनए बेलायतको विवाद मिल्नु त परैको कुरो दोहोरो छलफलसमेत भएको छैन । प्रेम गाहा मगरले भने शेष घले पक्षमा निकटता राखेका छन् । अहिले एनआरएनए युकेमा देखिएको विवादपनि घले पक्षमा लाग्ने कि संस्थापन पक्षमा भन्नेनै हो ।

रमिता हेर्दै पदाधिकारी

केन्द्रिय अध्यक्षलाईनै एनआरएनए युकेको समस्या समाधान गर्न दिएकाले केन्द्रिय समिति, अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरु हेरेर बसिरहेका छन् । केन्द्रिय समिति, सचिवलाय दुबैले प्रेम गाहा मगर पहिले कुल आचार्य पक्षकै भएकालेपनि आचार्यले मिलाउन सक्छन् भन्ने आशा गरेका थिए ।

केन्द्रिय अध्यक्षको कर्मथलोनै बेलायत । त्यसपछि एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्मा त्यहिं । अर्का उपाध्यक्ष जयप्रकाश गुरुङ, उपमहासचिवद्वय राम शहरण सिम्खडा र बिनय अधिकारीको कार्यथलोपनि बेलायतनै हो । एनआरएनएका माथिल्लो तहमा बेलायतबाटै अध्यक्ष र उपाध्यक्ष सहित यति धेरै पदाधिकारी भएकालेपनि बाँकि पदाधिकारी, अभियन्ताहरुले केहि बोलेका छैनन् ।

‘अध्यक्ष सहित यति धेरै हस्ति भएपछि विवाद मिलाउलान् नी’ भन्दै ‘पर्ख र हेर’ को अवस्थामा अन्य पदाधिकारीहरु छन् । तर महाधिवेशन भएको तीन महिना बित्दापनि त्यो सकारात्मक सन्देश पाउनुको साटो एनआरएनए युकेको विवाद झनै छरपस्ट हुँदै गएको छ ।

केहि पदाधिकारीहरु भने ‘आफ्नै देशको विवाद मिलाउन सक्दा रहेछन् कि सक्दारहेनछन् हेरौंला नी’ भन्दै बसेकापनि छन् । अर्काथरिको भने ‘अध्यक्षनै बेलायत, पहिले आफ्नै गुटको भएपछि मिलाउनुपर्‍यो नी, हेरौं न अध्यक्षको खुबी’ भन्दै रमिते बनिरहनेपनि छन् ।

संवन्धित : आफ्ना प्रतिनिधिहरु सदर नगरेसम्म एनआरएनए युकेले बुझाउनुपर्ने ५६ हजार डलर केन्द्रलाई नपठाउने

तपाइँको प्रतिक्रिया