बिहीबार, वैशाख १३, २०८१

खडेरीमा पानी प्रतिबन्धित इटालियन शहरहरू

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असार २४ गते १४:३८

विश्वका सात आश्चर्य मध्ये एक पिसाको टावर । यो क्षेत्रमापनि पानी अभाव भएको छ ।

इटालीको ७० वर्षयताकै सबैभन्दा खराब खडेरीका कारण देशले पाँच उत्तरी क्षेत्रमा आपतकाल घोषणा गरेको छ ।

भेरोना र पिसा जस्ता लोकप्रिय शहरसहित धेरै नगरपालिकाहरूले पहिले नै पानीको राशन घोषणा गरिसकेका छन् ।

गत वर्षको तुलनामा यस पटक झण्डै ५० प्रतिशत कम वर्षा भएपछि देशमा तीव्र गर्मीको लहर आएकाले खडेरी परेको हो ।

खडेरीले गर्दा औसतभन्दा तीन गुणाको दरले जंगलमा आगलागी पनि निम्त्याइरहेको छ । इटालीको किसानहरूको राष्ट्रिय महासंघ कोल्डिरेट्टीका अनुसार २०२२ मा अहिलेसम्म प्रत्येक दुई दिनमा कम्तिमा एउटा आगलागि दर्ता भएको छ ।

ईटालीमा चरम गर्मीबाट अन्य विनाशकारी प्रभावहरू पनि परेका छन्। गत सोमबार, इटालियन आल्प्समा मार्मोलाडा हिमनदीको एक भाग भत्किँदा कम्तिमा सात जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री मारियो ड्राघीले यो परिणाम जलवायु परिवर्तनसँग जोडिएको बताए ।

इटालीमा ७० वर्षयताकै सबैभन्दा खराब खडेरी

चार महिना सम्म पानी नपरेपछि उत्तरी इटाली सन् १९५२ यताकै सबैभन्दा नराम्रो खडेरीसँग लडिरहेको छ । इटालीको सबैभन्दा लामो पो नदीमा पानीको स्तर यति कम छ कि त्यसले रेकर्ड बनाएको छ ।

हिउँ पग्लिएपछि बग्ने पानीनै नदीको स्रोत हो । बढ्दो तापक्रम र पहाडमा हिउँको कमीले स्थितिलाई थप संकटग्रस्त बनाएको छ।

उत्तरपश्चिममा आल्प्सदेखि पूर्वी तटमा एड्रियाटिक सागरसम्म फैलिएको विशाल जलमार्ग धेरै क्षेत्रहरूको लागि पानीको एक महत्त्वपूर्ण स्रोत हो। यसलाई पिउने पानी, बाली सिँचाइ र उत्तरी इटालीमा जलविद्युत उत्पादन गर्न प्रयोग गरिन्छ। गाईवस्तु पालनकालागि प्रयोग गरिने पानीपनि यसैबाट प्राप्त हुने हो ।

अन्य नदीहरु पनि सुक्दै गएका छन् । फ्लोरेन्सबाट बग्ने र धाराको पानी उपलब्ध गराउने अर्नो र रोम हुँदै बग्ने टाइबर दुवैको पानीको स्तर जुनको सामान्यभन्दा आधा थियो । माग्गियोर र गार्डा तालहरूमापनि यस वर्ष सामान्य भन्दा पानी कम भएको छ ।

पाँच क्षेत्रमा आपतकाल घोषणा

उत्तरी इटालीका पाँच क्षेत्रले आपतकाल घोषणा गरेका छन्। ति क्षेत्रमा पानीको अभावको सामना गर्न आपतकालीन कोषमा तीन करोड ६५ लाख युरो दिइएको छ।

पो उपत्यकाका १०० भन्दा बढी सहरहरूलाई खडेरीको समयमा पनि रातभरको पानी राशन गर्न भनिएको छ ।

विपत्तिको अवस्थामा रोम

विगत केही महिनामा देखि ४० देखि ५० प्रतिशतले कम बिजुली उत्पादन गर्ने जलविद्युत प्लान्टको बारेमा पनि चिन्ता बढ्दै गएको छ । इमिलिया रोमाग्ना क्षेत्रको पिआसेन्जामा रहेको एउटा प्लान्टले नदीको पानीको स्तर कम भएकाले अस्थायी रूपमा टर्बाइनहरू बन्द गर्न बाध्य भइसकेको छ ।

रोम वरपरको क्षेत्र लाजियोमा क्षेत्रीय शासकहरूले स्वतन्त्र रूपमा जुनमा विपत्तिको अवस्था घोषणा गरे ।

लाजियोले रोमबाट ३२ किलोमिटर उत्तरपश्चिममा रहेको लेक ब्रासियानो वरपरका धेरै नगरपालिकाहरूमा पानी जथाभाबी प्रयोगमा प्रतिबन्ध लगाएको छ । कार धुने, बगैंचामा पानी हाल्ने र बाहिरी आँगन क्षेत्रहरू सफा गर्न पानीको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

राजधानीमा खानेपानी बितरण बोर्डले पाइपमा प्रेसर कम गरिदिएको छ जसले खानेपानीको आपूर्ति ठप्प नबनाइकनै पानी आपूर्ति घटाउँछ ।

इटालीको पानी प्रतिबन्धको लागि यात्रा सल्लाह

खडेरीका कारण इटाली भ्रमणमा हाल कुनै प्रतिबन्ध नभएको तर यात्रुहरूले पानी राशन जस्ता आपतकालीन उपायहरूको लागि हेर्नुपर्ने सुझाव ट्राभल कम्पनी, स्थानिय अधिकारीहरुले दिएका छन् ।

भेरोना र पिसामा पिउने पानी पौडी पोखरीहरू भर्न, तरकारी बारेमा लगाउन, बगैंचा र खेल मैदानहरूमा हाल्न, कार धुने वा मानव आवश्यकताहरूको लागि नितान्त रूपमा आवश्यक नभएको कुनै पनि क्षेत्रमा प्रयोग गर्न पाइदैन । ३१ अगस्टसम्म पानीको रासन कायम रहनेछ । प्रतिबन्धहरू तोडेको फेला परेका व्यक्तिहरूलाई ५०० युरोसम्म जरिवाना हुन सक्छ ।

भेनेटो क्षेत्रको नगरपालिका भिल्लोर्बामा बासिन्दाहरूलाई बगैंचामा पानी हाल्न, कार धुन वा पौंडी पोखरीहरू बिहान ६ बजे देखि ११ बजेसम्म भर्न अनुमति छैन । यो प्रतिबन्ध ३० सेप्टेम्बरसम्म कायम रहने भनिएको छ ।

केही अन्य स्थानीय परिषदहरूले पनि झरना र वाटर पार्कहरूको लागि पानीको प्रयोगमा प्रतिबन्ध लगाउने विचार गरिरहेका छन्। मिलानमा सजावटी सार्वजनिक झरनाहरू बन्द गरिएको छ । पानीका छहराहरु सीमित गरिएको छ। इमिलिया रोमाग्ना र पिमोन्टेको छिमेकी नगरपालिकाहरूमापनि आपतकालिन अवस्था अन्तर्गत समान तरिका अपनाईएको छ ।

रोमका आपतकालीन उपायहरूले सन् २०१७ मा खडेरीको समयमा भएको जस्तै सार्वजनिक पिउने फोहोराहरू बन्द हुनसक्छ । यसको असर के भने धेरै मानिसहरूले प्लास्टिकका बोतलहरू किन्न सक्छन् जसले वातावरणिय प्रदुषण फैलाउनसक्छ । जसलाई सड्न सयौं वर्ष लाग्छ, प्रयोग भने एक मिनेटको लागि गरिन्छ।

इटालीको खडेरी कहिलेसम्म ?

खडेरी सहजै समाप्त हुने हाल सानो संकेत पनि देखिन्न ।किनभने इटालीको सबैभन्दा व्यस्त गर्मीको मौसम बल्ल सुरु भएको छ । थोरै वर्षा हुने र गर्मी अझै बढ्ने अनुमान गरिएको छ । पो नदीको पानीको सतह घट्ने क्रम पनि जारी छ । आउँदो हप्ताहरूमा लागू गरिने प्रतिबन्धहरू गर्मीको अन्त्यसम्म रहने सम्भावना छ।

तपाइँको प्रतिक्रिया