बिहीबार, वैशाख १३, २०८१

रोहिंग्या शरणार्थीको कथा : काठमाडौं शरणार्थीको केन्द्र बन्दै

यशाेदा भण्डारी२०७९ असार २४ गते १८:२०

जस्ताले बारेको टहरोमा स–साना कोठा । एउटै कोठामा ६ देखि ८ जनाको परिवार । चार रोपनी भिरालो जमिन भाडा लिएर बनाइएको जस्ताको टहरोमा बालबालिका, वृद्धवृद्धा, वयस्क गरी ४०० सदस्य अटाएका छन् । बर्खाको समयमा आएको पानीले टहराभित्र बाढी पसेर उठिबास लाउँछ। तर यो टहराबाट बाहिर चिहाउन पनि डराउनुपर्ने अवस्था छ । किनकी उनीहरू देश गुमाएका शरणार्थी हुन् ।

बुढानीलकण्ठ नगरपालिका वडा नं। १० स्थित कपनमा बसोबास गर्दै आएका अल्पसंख्यक रोहिंग्या शरणार्थी यो शिविरमा बस्न थालेको झण्डै एक दशक भएको छ । सन् २०१३ मा म्यान्मारबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउन भागेर भारतको भूमि हुँदै नेपाल पसेका उनीहरू अहिले काठमाडौंको कपनमा रैथाने जस्तै बनिसकेका छन् । नेपाल आइपुगेका ती रोहिंग्याको न कुनै देशको नागरिक हुनुको पहिचान छ न शरणार्थीको परिचय पाएका छन् ।

नेपालले अहिलेसम्म औपचारिक रूपमा भुटान र तिब्बती शरणार्थीलाई मात्र मान्यता दिएको छ । सरकारी तथ्यांकले भने अहिले नेपालमा १० देशका २० हजार भन्दा बढी शरणार्थी रहेको देखाउँछ । त्यसमध्ये म्यान्मारका रोहिंग्यासहित आठ देशका शरणार्थी अवैध हुन् । म्यानमार, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, यमन, इराक, इरान, श्रीलंका मात्र हैन नेपालमा सोमालिया लगायत हरेक वर्ष द्वन्द्वग्रस्त देशका शरणार्थी थुप्रिरहेका छन् । अधिकांश शरणार्थी भारत हुँदै सडकमार्गबाट नेपाल पसेका हुन् । त्यसैको एउटा हिस्सा हुन्, रोहिंग्या ।

नेपालले अहिलेसम्म औपचारिक रूपमा भुटान र तिब्बती शरणार्थीलाई मात्र मान्यता दिएको छ । सरकारी तथ्यांकले भने अहिले नेपालमा १० देशका २० हजार भन्दा बढी शरणार्थी रहेको देखाउँछ । त्यसमध्ये म्यान्मारका रोहिंग्यासहित आठ देशका शरणार्थी अवैध हुन् । म्यानमार, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, यमन, इराक, इरान, श्रीलंका मात्र हैन नेपालमा सोमालियाका हरेक वर्ष द्वन्द्वग्रस्त देशका शरणार्थी थुप्रिरहेका छन् ।

म्यान्मारमा राजनीतिक तथा साम्प्रदायिक हिंसा भड्किएपछि एकसरो लुगाको भरमा देश छाडेर भागेका धेरै रोहिग्यासँग मेरो देश म्यान्मार हो भन्ने प्रमाणसम्म छैन । लामो समय नेपालमा शरणार्थीको जीवन बिताइरहेका जाफर आलम नेपाली भाषामा पोख्त छन् । प्रहरीले दुई दिनभित्र ठाउँ छोडेर नगए आतंकवाद सम्बन्धी मुद्दा लगाउने चेतावनी दिएपछि आलमले आफू र आफ्नो परिवारका केही सदस्यको ज्यान जोगाउन थातथलो छाडेका थिए । भारत हुँदै सजिलै नेपाल पसेका आलम सहितको ११ जनाको समूह धार्मिक हिसाबले मुस्लिम भएकै आधारमा काठमाडौं आएपछि घण्टाघरस्थित जामे मस्जिदको सम्पर्कमा पुग्यो ।

सुरुमा जामे मस्जिदले नि:शुल्क भोजन र संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले परिचयपत्र सँगै प्रतिपरिवार मासिक चार हजार रूपैयाँ दिने गरेको थियो । नेपालको बसाइ सुरक्षित् देखिएपछि आलमले देश छाडेर बंगलादेश पसेका परिवारका सदस्य र आफन्तलाई पनि नेपाल नै बोलाए । एक कान दुई कान मैदान भनेजस्तै सुरुमा ११ जना आएर आश्रय लिएको कपनमा अहिले सयौं रोहिंग्या छन् । कपनको राम मन्दिर नजिकै जग्गा भाडामा लिएर टहरो बनाएका छन् । “यहाँ अहिले चार सय भन्दा बढी शरणार्थी बस्छन्” मोहमद सलिमले बताए ।

अहिले मुस्लिम शरणार्थीको संख्या ह्वात्तै बढेपछि युएनएचसीआरले सुविधा कटौती गरेको छ । नेपाल सरकारले शरणार्थीको मान्यता दिएको छैन । जग्गा भाडामा दिने व्यक्तिले पनि जमिनको भाडा बढाएर ठाउँ खाली गर्न खोजिरहेका छन् ।

रोहिंग्याहरूको नेपाल सम्बन्ध

नेपालीमा एउटा भनाइ नै छ, बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै । यसले बर्मा र नेपालका बीचमा परापूर्वकालदेखि नै नागरिकस्तरको सम्बन्ध थियो भन्ने प्रष्ट हुन्छ । त्यही बर्मा अर्थात् हालको म्यान्मार । झण्डै डेढ सय वर्षअघि राणाहरूको थिचोमिचो, त्यसपछिको विश्वयुद्ध अनि व्यापार र तीर्थयात्राका क्रममा धेरै नेपाली बर्मा पुगेका थिए । नेपाल भित्रको दु:खले बर्मा भासिएका तिनै नेपालीको एउटा लहरो अहिलेको शरणार्थी समस्यासँग जोडिएको छ । दोस्रो विश्वयुद्धमा भारतीय सेना हुँदै बेलायती सेना भएर पछि बर्मा पुगेका थुप्रै नेपाली भाषीको संगतबाट जाफर आलम र मोहम्मद सलिमले बर्मा मै रहँदा नेपाली भाषा सिकेका रहेछन् । उनीहरूको दाबी अनुसार बर्मा अर्थात् म्यान्मारमा डेढदेखि २ लाख नेपाली भाषी नागरिक छन् । बर्मामा नेपाली भाषा र संस्कृति प्रवर्धनमा अखिल म्यान्मा हिन्दू संघले सन् १९८२ देखि नै काम गरिरहेको उनी बताउँछन् । हिन्दू धर्मावलम्बीसँगै हुर्किएकाले पनि उनीहरूलाई कपनको यो शिविरमा बस्न समस्या परेको छैन ।

म्यान्मारबाट भारत पसेपछि भारतीयहरूले नेपालको मेचिनगरमा बर्माबाट आएका हजारौं बर्मेलीको बस्ति छ भन्दै नेपाल पठाएका रहेछन् । तर जाफर आलम र मोहम्मद सलिमले नेतृत्व गरेको रोहिंग्या शरणार्थीको टोली मेचीनगर नगरपालिका १० स्थित बर्मेली टोल नभई काठमाडौं आइपुग्यो । तत्कालीन राजा महेन्द्रले मेचीनगरमा बर्मेली टोल बनाएर देश फर्किन आह्वान गरेपछि आफ्नो पुर्खा बसेको ठाउँ हेर्न फर्किएका धेरै बर्मेली मेचीनगर मै बसेका थिए । तर बर्मेली टोलमा हैन रोहिंग्या शरणार्थीको लस्कर सोझै काठमाडौं आयो । “बर्मेली नेपालीबीच नङ र मासुजस्तै सम्बन्ध छ, त्यसैले हामी नेपाल आएका हौं” आलम भन्छन् “पितृभूमि नेपाल भएपनि मातृभूमि म्यान्मार नै हो ।”

सन् २००७ मा म्यान्मारमा साम्प्रदायिक हिंसा भड्कियो । बलत्कारको घटनालाई जातीय रङ दिएर अल्पसङ्ख्यक रोहिंग्या मुसलमान समुदायलाई तारो बनाउन थालेपछि अल्पसंख्यक मुस्लिम समुदायका जाफर आलमहरूले देश छाडेका हुन् । सन् २०१२ मा म्यानमारमा रोहिंग्या संकट उत्कर्षमा पुग्न थालेपछि आबु ताकर, जाफर आलम र मोहम्मद सलिम पहिलोपटक नेपाल आएका थिए । यस बीचमा उनीहरूकै पदचाप पछ्याउँदै सयौं रोहिंग्या सुरक्षा खोज्दै नेपाल पसे । राज्य पक्षबाट भएको दमन सहन नसकेर नेपाल आइपुगेका अधिकांश रोहिंग्याको कथा दर्दनाक छ । म्यान्मारमा अल्पसंख्यक मुसलमानहरूको बस्ति जलाएर सेनाले डोजर चलाइसकेको छ । न अहिले यी शरणार्थी थातथलो फर्किन सक्ने अवस्थामा छन् न नेपाल बसाइ नै सुखद बन्दै छ ।

आबु ताकर भन्छन्– “रोहिंग्या बस्तिहरू जलाइएको छ । हजारौंलाई सेनाले हाम्रै अगाडि मारेको छ । बलत्कारको घटना सम्झिनै सकिन्न । हजारौंं परिवार छिन्नभिन्न भएको छ । कति बेपत्ता छन्, हिसाब नै छैन । त्यही हिंसा र ज्यादती झलझल्ती सम्झिएर हामी यहाँ भोकभोकै बाँचिरहेका छौं ।”

सन् २०१२ मा म्यानमारबाट बगंलादेश, भारत हुँदै काठमाडौं आइपुग्दा आबु ताकर र जाफरसहित ३ परिवारका जम्मा ११ जना सदस्य थिए । नेपाल–भारत सीमा बन्द भएकै बेला म्यानमारबाट १४ जना रोहिंग्या शरणार्थी काठमाडौं आइपुगेको घटना सार्वजनीक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मानव बेचबिखनमा संलग्न रहेको भन्दै म्यानमारका नूर अमिन र सोफिक आलम तथा बंगलादेशी नागरिक आजमत अलीलाई पक्रेको थियो । उनीहरू अहिले पनि नेपालको जेल मै छन् तर त्यही गिरोहको सहारामा नेपाल आइपुगेका आलमहरूको शिविरमा अहिले रोहिंग्याको सङ्ख्या बढेर ४ सय पुगेको छ ।

आबु ताकर भन्छन्– “सबैभन्दा पहिले ज्यान जोगाउन भन्दै देश छाडेर हिड्यौं । अहिले पुन: म्यान्मार फर्किए सेनाले आतंकवाद सम्बन्धी मुद्दा लगाउने धम्की दिएको छ ।”

यूएनएचसीआरले सहयोग गर्न छाडेपछि उनीहरू शहरी शरणार्थीको मान्यता दिनुपर्ने भन्दै केही दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन् । जबकी राष्ट्र संघीय शरणार्थी सम्बन्धी महासन्धिमा हस्ताक्षर नगरेको मुलुक नेपालमा अहिले तिब्बती, भुटानी, म्यानमार, पाकिस्तान, अफगानिस्तान, इरान, श्रीलंका, बगलादेश, इराक, यमन तथा सोमालियासम्मका सहरी शरणार्थी भेटिएका छन् । नेपालमा शरणार्थी सम्बन्धी कानुन नै नबनेको अवस्थामा तिब्बत्ती र भुटानी बाहेकका शरणर्थीलाई नेपालले कुनै हैसियत नदिएको हो । तर यूएनएचसिआरले शरणार्थीको मान्यता दिएर सुरुमा रोहिंग्यासहित १० वटै मुलुकका शहरी शरणार्थीलाई भत्ता अथवा परिचय पत्र दिएर तेस्रो मुलुक लैजानेसम्मको भूमिका खेलिरहेको छ ।

मानव तस्करको जालोमा परेर नेपाल आइपुगेका रोहिंग्याहरू सुरुमा कपनमा २ आना जग्गा भाडामा लिएर बसेका थिए । सन् २०१६ मा म्यान्मारमा पुन: जातीय हिंसा भड्किएपछि शरणार्थीको संख्या बढ्यो । उनीहरूले आपसमा मिलेर थप जमिन भाडामा लिएर अस्थायी शिविर बनाए । तर पाँच वर्षका लागि भाडामा लिएको जग्गाको सम्झौता एक महिनापछि सकिंदै छ । उनीहरू लुकी लुकी सस्तो ज्यालामा श्रम गर्दै गुजारा चलाइरहेका छन् । किनकी, अवैध रूपमा बसोबास गर्दै आएका रोहिंग्याहरूलाई नेपाल सरकारले काम गर्ने अनुमति दिएको छैन ।

“पेट र परिवार पाल्नै पर्छ । जमिनको भाडा तिर्नै पर्छ । हामी लुकीछिपी ज्याला मजदुरी गरेर बाँचेका छौं” शरणार्थी मोहमद सलिम बताउँछन् ।

रोहिंग्याको माग

काठमाडौंमा रहेका रोहिंग्या शरणार्थीहरू अहिले ११ बुँदे मागसहित आन्दोलनमा छन् । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चआयोग (युएनएचसीआर) को नेपाल कार्यालयबाहिर पहिलो पटक असार १३ गते उनीहरूले प्रहरीको अवरोध चिर्दै सामूहिक प्रदर्शन गरे । संयुक्त राष्ट्रसंघको सन् १९४८ को मानव अधिकार सम्बन्धी घोषणाले प्रत्याभूत गरेको मौलिक अधिकार सुनिश्चित हुनुपर्ने उनीहरूको मुख्य माग छ । शरणार्थी बालबालिकालाई निजी विद्यालयमा पढ्ने व्यवस्था मिलाई दिन र शरणार्थीलाई काम गर्न पाउने कागजपत्र दिन उनीहरूले माग गरिरहेका छन्।

शरणार्थी मोहमद सलिम भन्छन्– “नेपाल सरकारले हामीलाई शरणार्थीका रूपमा स्वीकार गरोस् । आधारभूत आवश्यकता व्यवस्थापन गर्न नसके नेपालले भुटानी शरणार्थीलाई जस्तै तेस्रो देशमा पुन:स्थापना हुने वातावरण मिलाई दिन माग गरेका छौं ।”

अर्का शरणार्थी माहेमद अमिन भन्छन्– “तर प्रहरीले हामीलाई धरपकड मात्रै गरिरहेको छ ।”

बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको म्यान्मार सरकारले पुस्तौंपुस्ता म्यान्मारमै बसेका अल्पसंख्यक रोहिंग्या मुसलमानलाई निशाना बनाएर बंगलादेशबाट आएको ‘बंगाली’ भन्दै अमानवीय व्यवहार गरेर लखेटेको शरणार्थीहरू दाबी गर्छन् । रोहिंग्या समुदायका धेरै सदस्यले म्यान्मारमा सन् १९८२ देखि नागरिकता समेत पाएका छैनन् ।

शहरी शरणार्थीको केन्द्र बन्दै नेपाल

नेपालको अध्यागमन कानुनअनुसार अवैध रूपमा नेपाल आएका विदेशी नागरिकलाई जुन देशको हो त्यही देशमा निष्कासन गर्नुपर्छ । यस बाहेक अर्को कानुन नेपालमा छैन । तिब्बती शरणार्थीलाई भने नेपाल, भारत र चीनबीचको ‘भद्र सहमति’ अनुसार भारत निष्कासन गरिन्छ ।

नेपालमा खुला सिमाना दुरूपयोग गर्दै भारत हुँदै विभिन्न ११ देशका शरणार्थी आइसकेका छन् । यसरी अवैध शरणार्थीको संख्या बढ्दा सुरक्षा चुनौती समेत थपिइरहेको नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्तमल्ल ठकुरी बताउनुहुन्छ । शरणार्थीहरू सानो लोभमा पनि प्रयोग हुनसक्ने र कुनै आतंकवादी समूहले आपराधिक गतिविधिमा उनीहरूलाई दुरूपयोग गर्न सक्ने मल्लको आशंका छ ।

उहाँले गएको वर्ष भारतले ७५ औं राष्ट्रिय स्वतन्त्रता दिवस मनाउँदा रोहिंग्या शरणार्थीलाई प्रयोग गरेर दिल्लीमा हमला गर्न लागिएको भन्दै विशेष सुरक्षा सतर्कता अपनाएको प्रसङ्ग जोड्नुभयो ।

उनीहरूको आर्थिक अवस्था कमजोर हुन्छ । मान्यता नपाएका शरणार्थीको कुनै परिचय पनि हुँदैन । त्यसैले उनीहरू दुरूपयोग हुन सक्छन् । मल्लका अनुसार नेपालमा अहिले तिव्वती र भुटानीबाहेक अधिकांश मुस्लिम समुदायका शहरी शरणार्थी छन् ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छाडेर हिँडेका धेरै शरणार्थी भारत हुँदै नेपाल पस्न सक्ने उच्च जोखिम यथावत छ । मल्लले भन्नुभयो “सीमामा सधैं कडाइ गर्नुपर्छ । युएनएचसिआरले तयार पारेको विवरण अनुसार नेपालमा अहिले तीन सय ८७ जना मात्रै रोहिंग्या शरणार्थी छन् । अफ्गानी र द्वन्द्वग्रस्त मुलुकबाट आई नेपालमा लुकेर बस्नेको संख्या पनि बढ्दो छ । काठमाडौं तेस्रो मुलुक भाग्न खोज्ने शहरी शरणार्थीको ट्रान्जिट केन्द्र बन्दैछ ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया