आइतबार, मंसिर ११, २०७९

विश्वप्रकाशको रामरमिताले एनआरएनएमा फेरि नुनचुक

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असार २६ गते ९:१८

देब्रेबाट पहिलो, दोस्रो र तेस्रो र चौथोमामा क्रमश एनआरएनए अध्यक्ष कुल आचार्य, एनआरएनए अध्यक्ष रबीना थापा, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दी सुबेदी र कांग्रेस नेता विश्वप्रकाश शर्मा एनआरएनए अमेरिकाको वार्षिक साधारण सभामामा ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको वार्षिक साधारण सभा भर्खरै मात्र सकिएको छ । साधारण सभा सकिए पनि त्यहाँका स्थानिय समस्याहरु सकिएका छैनन । पुराना स्थानिय मतभेदहरु केन्द्रमा पुगेको एक वर्ष भएको छ । तै पनि केन्द्रिय पदाधिकारीहरु त्यहाँको विवाद मत्थर गराउने प्रयासमा खासै प्रभावकारी भूमिका खेल्न सफल भएका छैनन । विवादको मुल जड जसले जे भने पनि राजनीती नै हो, त्यो पनि नेपालको राजनिती जुन एनआरएनएको रक्त कोशिकाहरुमा निसन्देह बगिरहेको छ । संस्थामा लामो समय काम गरेका र भविष्यमा काम गर्न सक्ने धेरै मान्छे हरु अलग भए । निसन्देह भन्नु पर्दछ त्यसको कारण राजनीति नै हो ।

एनआरएनको ईतिहासमै नेपाली राजनीतिले खैलाबैला मच्चाएको पछिल्लो वर्षलाई सुधार गरेर जान सकिने बाटो बनाउनुपर्नेमा संस्था उही पुरानो लयमा हिंड्ने संकेत देखाएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा एनआरएन अमेरिकाको वार्षिक साधारण सभामा आमन्त्रित गरिए । शर्मा मात्रै किन नेपाली राजनीतिक पार्टीहरुका हरेक तह र तप्काका नेताहरुसँग गैर आवासीय संघले सुमधुर संबन्ध राख्नु पर्दछ । भेटघाट र छलफलहरु निरन्तर भैरहनु पर्दछ । किनभने गैर आवाशिय नेपालीका अधिकांश मुद्दाहरु नेपालसँगै जोडीएका छन । उनिहरुसँगको छलफल, भेटघाट र सहकार्य विना हाम्रा कुनै पनि मुद्दाहरुले सहज प्रस्थानको बाटो भेटउँदैनन ।

तर नेपाली कांग्रेसका महामन्त्री शर्मालाई अमेरिकाको वार्षिक साधारण सभामा लगिएको प्रती संस्थाका कतीपय ब्यक्तिहरुले असन्तुष्टी ब्यक्त गरेका छन । संघका केन्द्रिय उपाध्यक्ष डा हेमराज शर्माले सामाजिक संजालमा लेखेका छन- एनआरएनए र राजनितिक बिच सम्बन्ध सुमधुर हुनुपर्छ तर एनआरएनएलाई आफ्नो अनुकुलका दल र गुट विशेषका नेताहरुलाई प्रमोट गर्ने थलो बनाउने काम अस्वीकार्य छ । यस्ता गतिविधि रोकिनु पर्दछ ।

शर्मा निकै पुरानो एउटा कार्यक्रमाको प्रसंग उठाउँदै भन्छन- सन् २००९ मा पोर्चुगलको राजधानी लिस्बनमा एनआरएनएको क्षेत्रीय बैठक भएको थियो । त्यतिबेला शेर बहादुर देउवा अन्य कामको लागि लिस्बनमा हुनु हुँदो रहेछ । उहाँलाई कार्यक्रममा अतिथिको रुपमा बोलाउने वा नबोलाउने विषयमा छलफल भयो । त्यति बेला अध्यक्ष डा. उपेन्द्र महतो, महासचिव भिम उदास र प्रवक्ता डा. जुगल भुर्तेल हुनुहुन्थ्यो । एउटा दलको नेतालाई मात्र कार्यक्रममा बोलाउँदा बिवाद उत्पन्न हुन्छ कि भन्ने डर थियो – उहाँहरुलाई । अन्त्यमा, कार्यक्रममा बोलाउने तर बोलाउन पर्ने कारण बारे स्पष्टिकरण दिने निर्णय भयो । उदघाटन कार्यक्रममा डा. भुर्तेलले ‘संयोगवश लिस्बनमा रहनु भएका देउवालाई पूर्व प्रधानमन्त्रीको हैसियतले प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिन्छ’ भन्ने उद्घोष गर्नु भयो । यसको मतलव भने त्यतिबेलाकोको एनआरएन नेतृत्व नेपालका राजनीतिक दलहरु प्रती निकै सजग थियो भन्ने हो ।

तर त्यतिबेला र अहिले संघको रफ्तार उस्तै भए पनि मुद्दाहरु बढेका छन । तिनको सहज निकास र कार्यन्वयनका लागि हरेक पार्टीका नेताहरुसँग खुल्ला अथवा गोप्य छलफल हुनु स्वभविक हो । त्यसकारण विश्वप्रकाश शर्माको अमेरिका यात्रा कुनैपनि कोणबाट गलत देखिन्न । बोलाउनेहरुले राजनीतिक दलका नेताहरुलाई गैर आवासीय नेपालीहरुको फाईदाको लागि छाती ठोकेर बोलाउन पाउँछन । बोलाउनु पनि पर्दछ । यदि नेपालका राजनीतिक दलका नेताहरुसँगको सम्बन्ध मधुर हुन सकेन भने हाम्रा धेरै मुद्दाहरु विच बाटोमा विलिन हुँदै जाने छन ।

अहिले नेपाल सरकार नागरिकता विधेयकको चक्करमा घुमिरहेको छ । त्यसमा हाम्रा मुद्दाहरु छन । ति मुद्दाहरु गैर आवासीय नेपालीका आफ्नो मातृभूमीसँग जोडीनेकी नजोडीने भन्ने हो । दुई दशक अघिको आवाजलाई पुरा गर्ने अथवा नगर्ने भन्ने कुरा विधेयकको कुनै धाराले निर्णय गर्ने भए पनि हाम्रो अडान त्यो धारालाई मुखाकार गर्नु नै हो । त्यसैले अहिलेको अवस्थामा राजनीतिक दलहरु अथवा त्यसका नेताहरुले गर्ने ‘लविङ’ ले महत्वपूर्ण भूमिका राख्छ । शर्माको अमेरिका यात्राले हाम्रा यस्ता मुद्दाहरुमा समर्थक भूमिका निर्वाह गर्न सक्ला भन्ने आशा गरौं ।

तथापी गैर आवाशिय नेपाली संघ भित्रको आलो पाटो भनेको अर्कै छ । धेरैले बिर्सिसके होलान । सम्झिन सक्नेहरुका लागि गत वर्षको असार देखी फागुन सम्मको अवधि स्मरण गर्ने हो भने धेरै कुरा छर्लंङ्ग हुन्छ । अधिवेशन शुरु नहुँदै देखि परराष्ट्र मन्त्रालयका दर्जनौं मुद्दा, नेपालका राजनीतिक दलका नेताहरुले संघका अभियन्ताको काँधमा हात राखेर संस्थाको पुरै ईतिहास विलय गराउन तर्फ सोझिएका घटना माथिका घटनाहरु कम्ता दर्दनाक थिएनन । नेपाली राजनीतिक दलका नेताहरु बरु आफ्नो पार्टीको अधिवेशनमा त्यसरी लागेनन् जसरी गैरआवाशिय नेपाली संघको महाधिवेशनमा अनेक गुटहरु पैदा गरेर होमिए । त्यतीबेला कांग्रेसका महमन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा ७ असोज २०७८ मा बसेको बैठकले कांग्रेस आबद्ध विदेशस्थित सबै नेपाली जनसर्म्पक समितिलाई आचार्यको समूहलाई जिताउन निर्देशन सहितको परिपत्र जारी गर्‍यो । कांग्रेसले एनआरएनको लागि क्षेत्र हेर्ने गरी केन्द्रीय नेताहरु समेत समेत तोक्यो ।

युरोप क्षेत्रको लागि तत्कालिन सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य गगन थापा, एसिया क्षेत्रको लागि केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशी, अमेरिका क्षेत्रका लागि केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, अफ्रिका र मध्यपूर्वका लागि केन्द्रीय सदस्य एवं नेपाली जनसर्म्पक समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मा तथा ओसियाना क्षेत्रका लागि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी दियो । पार्टीहरु कुनै पनि पछी परेनन, गैर आवाशिय संघमा आफ्नो वर्चस्व बढाउन । माओवादी निकट जनप्रगतिशील मञ्चले आचार्यलाई समर्थन गर्नु भन्दै पार्टीमा लबिङ गर्‍यो ।

६ असोज २०७८ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले एनआरएनको नेतृत्व चयनका लागि निर्देशिका नै बनाएको थियो । ‘गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय (वैष्विक) सम्मेलन छिट्टै सम्पन्न हुन गइरहेकोमा उक्त सम्मेलनलाई विधिसम्मत एवं उद्देश्यमूलक ढंगले सफल पार्न प्रवास समन्वय समिति र त्यसमार्फत संगठनहरुले सकारात्मक भूमिका खेल्नेछ’, अध्यक्ष दाहालद्वारा पठाइएको परिपत्रमा लेखिएको थियो । उनले आफ्ना विदेशस्थित संगठनहरुलाई नेपालको सरकारमा रहेको गठवन्धन अनुसार नै गैर आवाशिय नेपाली संघमा गठवन्धन गर्न निर्देशन दिएका थिए । एमालेले पनि गोप्य रुपमा बद्री केसीलाई जिताउन पत्राचार गरिरहेको भनियो । अझ प्रधानमन्त्री शेरबहादुर देउवाले लण्डनमा भएको एउटा कार्यक्रममा अध्यक्षका प्रत्याशी कुल आचार्यलाई जिताउन सार्वजनिक अपिल नै गरे ।

यिनै घटनाहरु पछी संघको दलिय संलग्नता अझ बढी सतहमा आयो । प्रधानमन्त्री पत्नी आरजु राणाले निकै पछी सम्म संघ भित्र चलखेल गरिरहिन । उनले परराष्ट्र मन्त्रालयलाई आफ्नो प्रभावमा पारेर यो संघलाई उठ्नै नसक्ने गरी थला पारिन । तत्काली अध्यक्ष कुमार पन्तले सार्वजनिक रुपमै भने- लडाईं आरजु राणाको ‘इन्ट्रेष्ट’ का विरुद्दमा हो ।

यिनै र यस्तै हस्तक्षेपका कारण एनआरएनले अदालतको चक्कर पनि काट्नु पर्‍यो । यसमा धेरै दोष नेपाली कांग्रेस र नेपाली कांग्रेसका नेताहरुको नै थियो । आधा वर्ष संघमा उदण्ड मच्चाएर तिनै नेताहरुले एनआरएन मिलाएको जस लिए । कतिपय अनौपचारिक कुराकानीमा उनिहरु भन्ने गर्दछन- हामीले नमिलाएको भए एनआरएनए टुक्रिने थियो । यो भनेको कांग्रेसका नेताहरुले आफूहरुलाई गैर आवाशिय नेपाली संघको केन्द्रमा राखिरहने नियोजित चाल हो । त्यसकारण कुनै पनि नेताहरुलाई खास गरेर नेपाली कांग्रेसका नेताहरुलाई आफ्ना कार्यक्रममा सहभागि गराउनुपूर्व हरेक अभियन्ताहरुले भर्खरै बितेको त्यो अवधी सम्झिन जरुरी छ । कांग्रेसका नेताहरुले माफी नमागेसम्म तपाईंहरुले तिनिहरुलाई कसरी आफ्नो मन्च दिन सक्नुहुन्छ ? त्यसकारण विश्वप्रकाशको सहभागिता विशुद्द गुटगत हो, संस्थालाई निरन्तर रुपमा नेपाली राजनीतिमुखी बनाइरहने षड्यन्त्र हो । बुद्दी सुबेदीहरुले गैर आवाशिय नेपाली संघ छोडेर जनसंपर्क समितिमा राजनीति गर्न शुरु गर्नुपर्छ अब । किनभने फेरिपनि कुनै राजनीतिक दलका नेताहरुलाई ठाउँ दिनुभनेको कुनै गैर राजनीतिक संस्था सकिनु हो । विश्वप्रकाशले आफैं बुझ्नुपर्ने हो, आफ्नो हप्तादिने अमेरिकाको राम रमिताले गैर आवाशिय नेपाली संघका खाटाबस्न लागेका घाउमा पुन: नुन चुक दलिएको छ भन्ने ।

तपाइँको प्रतिक्रिया