सोमबार, साउन ३०, २०७९

महिलाको प्रतिनिधित्व बढाउन आरक्षण हैन क्षमता विकासः लक्ष्मीकुमारी बस्नेत, सहसचिव

तारा वाग्ले२०७९ असार २६ गते ९:५५

तारा वाग्ले

सुर्खेतको वीरेन्द्रनगरबाट बैङ्कर बन्ने सपनामा काठमाडौँ छिर्नुभएकी महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा कार्यरत सहसचिव लक्ष्मीकुमारी बस्नेतको यात्रा अन्ततः लोकसेवा आयोगको परीक्षातर्फ मोडियो। वीरेन्द्रनगरको सामान्य परिवारमा जन्मनुभएकी बस्नेतको स्नातकतह सम्मको पढाई पनि आफ्नै जन्मथलोबाट पूरा भयो। किसान बुबाको प्रेरणाले शिक्षा र व्यक्तित्व विकासमा राम्रो सफलता पाउनुभएको छ लक्ष्मीकुमारीले। उहाँका दुई दाजुभाइ र पाँच दिदीबहीनीले पनि विभिन्न क्षेत्रमा आफ्नो बेग्लै छवि स्थापित गर्नुभएको छ। काठमाडौँ आएर व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएकी लक्ष्मीकुमारीले स्नातक सम्मको अध्ययन सकेपछि आफैँले पढेको वीरेन्द्र बहुमुखी क्याम्पसमा शिक्षण पेशमा सक्रिय रहनुभयो। कहिले बैंकमा करियर बनाउने त कहिले शिक्षण पेशा अँगाल्ने कि भन्नेमा उहाँको घुमिरहेको हुन्थ्यो। बुबाको जोड पछि निजामती सेवामा करियर बनाउने दृढसङ्कल्पका साथ २०६३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएकी लक्ष्मीकुमारीले १२ वर्ष त सहसचिव पदमै छ। यस क्रममा उहाँले बटुलेका अनुभव उहाँकै शब्दमाः

सरकारी शिक्षकको नियुक्तिपत्र लिइन

मेरो बुबाले आफू कृषिपेशामा आश्रित भएपनि म लगायत हामी सबै दाजुभाइ दिदीबहीनी राम्रो पढेर सरकारी जागिर खानुपर्छ भनेर पढ्नको लागि प्रेरित गरिरहनुहुन्थ्यो। फलस्वरुप हामी सबैले राम्रो पढेका थियौं। मैले त आइ कममा जिल्ला नै टप गरेकी थिएँ। व्यवस्थापन विषय पढेको हुँदा मेरो रुचि बैंकमा काम गर्ने थियो। पढिरहेकै बेला एक फाइनान्स कम्पनीमा काम गरेकी थिएँ तर सधैँ यही क्षेत्रमा काम गर्छु भनेर विश्वस्त भने थिइन। बुबाको इच्छा निजामतीमा गइदिए हुन्थ्यो भन्ने थियो। मलाई सानैदेखि जागिर खाने रहर पनि थियो। रहर पूरा गर्न मैले सुर्खेत बहुमुखी क्यापसमा पढ्दापढ्दै सरकारी शिक्षकको लागि परीक्षा दिएँ। नाम पनि निस्कियो। तर नियुक्तिपत्र लिन गइन। किनभने मैले पहिला पढाइ पूरा गरोस् भन्ने मेरो बुबा चाहना थियो। बुबाको त्यो चाहना विपरित जान मनले दिएन। अनि मैले सरकारी शिक्षकको नियुक्ति लिनै नगईकन थप पढ्नको लागि काठमाडौँ आएँ। होस्टलमा बसेर त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन सकेर पुनः आफ्नो जन्मथलो सुर्खेतमै फर्किएँ। त्यहाँ गइसकेपछि मैले आफैले पढेको क्याम्पसमा पढाएँ।

कलेज पढाउन छोडेर लोकसेवा लडेँ

क्याम्पस पढाइरहेको बेला लोकसेवा आयोगको विज्ञापन खुल्यो। घरपरिवारको सल्लाहमा परीक्षा दिने निर्णय गरेँ। पढाउँदै पढ्दै गर्दा परिक्षाको तयारी राम्रो हुन सकेको थिएन। प्रवेश परिक्षामा भने नाम निस्केको थियो। त्यसबेला एकपटक प्रवेश परीक्षामा नाम निस्केपछि ३ पटकसम्म मूल परीक्षामा भाग लिन पाइन्थ्यो। दोस्रोपटक सम्म नाम ननिस्किएपछि तेस्रोपटकमा बढिनै मेहनत गरेँ। यही नै अन्तिम हो नाम ननिकाली सुखै छैन भन्ने संकल्पको साथ पढाउने जागिर छोडेर काठमाडौँ आई लोकसेवाको तयारीमा मात्र केन्द्रित भएँ। फलस्वरुप २०६३ सालमा शाखा अधिकृत भएँ। पहिलो पोस्टिङ भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको थियो। त्यहाँ चार महिना काम गरेपछि मैले शहरी विकास मन्त्रालयमा रहेर काम गरेँ। यस क्रममा निजामती सेवाका विभिन्न कार्यप्रकृया तथा कार्यशैलीको बारेमा बुझ्ने अवसर पाएँ।

खुला प्रतियोगिताबाट सहसचिव

शाखा अधिकृत भैसकेपछि वृत्तिकासको लालसाले झन् घच्घच्याउन थाल्यो। लोकसेवाको पढाई जारी नै थियो। शाखा अधिकृतको रुपमा ४ वर्ष काम गरेपछि सहसचिव भएँ। २०६६ मा उपसचिवका लिखितमा नाम निकालेँ। तर अन्तर्वार्ता बिग्रिएका कारण सिफारिस हुन सकिन। २०७६ सालमा सहसचिवको पनि जाँच दिएकी थिएँ। सहसचिवमा भने लिखित र अन्तर्वार्ता दुवैमा नाम निस्कियो २०६७ साल सहसचिवमा सिफारिस भई तत्कालीन शान्ति मन्त्रालयमा खटिएँ। पढ्ने र जागिर खाने तिर मात्र फोकस भएकोले मेरो विवाह पनि सहसचिव भएपछि मात्र भयो। महिलालाई आफ्नो वृत्तिविकास पारिवारिक तथा सामाजिक जिम्मेवारी सँगसँगै लाग्नुपर्ने बाध्यता छ। दोहोरो तेहरो जिम्मेवारी व्यवस्थापन गरेर अघि बढ्नु सहज त पक्कै थिएन। तर सफल भएर नै छोड्छु भन्ने अठोटका साथ लागेपछि अवश्य सफल भइन्छ।

पारिवारिक र पेशागत जिम्मेवारी सँगसँगै

महिलालाई आफ्नो दायित्व पूरा गर्ने क्रममा अनेकौं संघर्ष र चुनौतीको सामना गर्नुपर्छ। आफूलाई योग्य र अब्बल सावित गर्न बारम्बार परीक्षा दिइरहनुपर्छ। बच्चा छ, पारिवारिक जिम्मेवारीले जेलिएकी छु, बन्धनमा छु भन्ने हो भने कहिल्यै अघि बढ्न सकिँदैन। समस्याहरू त आउँछन् जान्छन्। आफैँले व्यवस्थापन गर्दै जानुपर्छ। विभिन्न चुनौतीका माझ मैले सहसचिवको दायित्व पूरा गर्ने तथा नौ वर्षको एक छोराको हेरविचार शिक्षादीक्षा जस्ता कर्तव्यहरू पूरा गर्दै आएकी छु। बच्चा सानो छ भनेर कहिल्यै घर व्यवहारमा अल्झेर बसिन। मेरो बच्चा ७ महिनाको हुँदा एकपटक तालिमको लागि विदेश जाने अवसर आएको थियो। बच्चालाई परिवारको जिम्मामा छोडेर ७ दिनको लागि विदेश पनि गएकी थिएँ। मिल्ने ठाउँसम्म त आफू जाँदा बच्चालाई पनि सँगै लान्थेँ। परिवारमा पनि सहयोग गर्ने सासूससुरा तथा आफन्त हुनुहुन्छ। श्रीमानले पनि हरेक चरणमा साथ दिनुभएको छ। मेरो श्रीमान गैरसरकारी क्षेत्रमा कार्यरत हुनुहुन्छ। आफूभित्रका इच्छाशक्ति र परिवारको सहयोगको कारण मैले जुन क्षेत्रमा हात हालै प्राय सबै क्षेत्रमा सफलता पाउँदै पनि गएँ। महिलालाई सफल हुन परिवारको सहयोग हुनु पनि उल्टिनै आवश्यक छ जति एक महिलाभित्र क्षमता र इच्छाशक्ति हुन्छ।

बच्चा लिएर कर्णाली प्रदेशको सेवामा

सरकारले २०७६ सालमा सिनियर सहसचिवले अनिवार्य रुपमा प्रदेशमा गएर कम्तीमा एक वर्ष सेवा गर्नुपर्ने नीति ल्याएको थियो। सो अनुरूप मलाई कर्णाली प्रदेशमा खटाइयो। मेरो बच्चा छ मलाई मिल्दैन भनेर सुगम ठाउँमै मिलाउन सक्ने अवसर पनि पाएकी थिएँ तर मलाई आफू कुनै पनि कोणबाट सो जिम्मेवारीको लागि असमर्थ छु भन्ने लागेन र म ६ वर्षको बच्चालाई साथै लिएर कर्णाली प्रदेशको मुख्यमन्त्रीको कार्यलयमा एक वर्ष सम्म सेवा गरेँ। कोभिडको बेला थियो। बच्चालाई अनलाइन माध्यमबाट पढाएँ। सरकारी सेवामा प्रवेश गरेपछि केही राम्रो गर्छु भन्ने सोचिरहेको बेला यस्तो अवसर आएपछि मैले कुनैपनि कुरासँग सम्झौता नगरी आफूलाई कार्यक्षेत्रमा अब्बल बनाउँदै लगेँ। प्रदेशमा काम गर्दा निकै रमाइलो अनुभव भयो। आफू जन्मेहुर्के तिरकै ठाउँ भएपनि सबै जिल्ला घुम्ने र त्यहाँको अवस्थाबारे बुझ्ने अवसर पाएकी थिइन। त्यहाँ काम गर्दा धेरैजसो रहरहरू पनि पूरा भए। हामीले कर्णालीमा उमेर नपुग्दै छोरीको बिहे गरिदिने प्रचलनमा सुधार ल्याउन विभिन्न कार्यक्रम गर्यौँ। यस्ता कार्यक्रम मध्ये छोरी बचत खाता सुरक्षा जीवन भरीको भन्ने अभियान सञ्चालन गर्यौँ। यो कार्यक्रम अहिलेपनि जारी छ। यसबाट कर्णालीका धेरै छोरीहरूको जीवन बदलिएको छ। यस्तो देख्दा निकै आनन्दको अनुभूति हुन्छ।

सम्वाद र सहकार्य

सहसचिव भएपछि तत्कालीन शान्ति मन्त्रालयको द्वन्द्व व्यवस्थापन महाशाखामा कार्यरत थिएँ। त्यहाँ हुँदा द्वन्द्वरत पक्षसँग निरन्तर संवाद र समन्वय गर्ने, शान्ति सम्झौता कार्यान्वयन गराउने जस्ता प्रकृयामा सहभागी भएँ। देशभरका विभिन्न शान्ति समितिहरू मार्फत दातृ निकाय, नागरिक समाज, राजनीतिक तथा गैरसरकारी संस्थाको प्रतिनिधिसँग रहेर काम गर्ने अवसर मिल्यो। द्वन्द्वरत पक्षलाई शान्ति प्रकृयामा ल्याउन वार्ता गर्ने तथा देशभर शान्ति स्थापना गर्ने काममा सहकार्य र समन्वय गर्ने क्रममा सँगालेका अनुभवहरू पनि निकै रमाइला छन्।

सरकारी सेवामा सुधार जरुरी

निजामती सेवा सिस्टममै चल्ने पेशा भएकोले केही प्रकृयागत झन्झट हुनु त स्वभाविकै हो तर नेपालको निजामती सेवामा भने बढि नै ढिलासुस्ती हुने गरेको गुनासो सुनिन्छ। प्रक्रिया पूरा गर्ने नाममा भएका ढिलासुस्ती कारण सेवाग्राहीले सास्ती वेहोर्नुपरेको छ। कर तिर्नु सेवाग्राहीको कर्तव्य हो भने कर तिर्ने प्रक्रिया सहज र चुस्त बनाइदिनु सरकारको दायित्व हो। सरकारले सेवा प्रवाहमा सुधार गर्ने हो भने सेवाग्राहीले पनि सरकारी सेवाप्रति विश्वास र सम्मान गर्छ। सरकारले जेष्ठ नागरिकको सहजताको लागि वृद्धभत्ताको व्यवस्था गरेको छ तर त्यही भत्ता लिनको लागि दिनभरको सास्ती खेपेर सदरमुकाम जानुपर्ने अवस्था छ। सरकारले त नागरिकरको घरदैलोमै सेवा पुर्याउनुपर्ने हो तर यसो हुन सकेको छैन। सरकारी सेवा लिन जानु एक सजाय जस्तो भएको छ। यस्तो अवस्थामा जति नै राम्रो सेवा दिन्छु भनेपनि सेवाग्रहीलाई सन्तुष्ट पार्न सकिदैन। कर्मचारीको सेवामा गुणस्तरियता देखिन सेवा प्रवाहकका प्रक्रिया पनि चुस्त र सहज हुनुपर्छ।

आरक्षण हैन क्षमता विकास

आरक्षणको व्यवस्था गरेपछि महिलाहरु विस्तारै यो क्षेत्रमा आउन थालेका छन्। महिलालाई राज्यको निकायमा पुर्याउने माध्याम आरक्षण त हो तर यसकै भरमा मात्र महिलाको प्रतिनिधित्व बढेको भने होइन। आरक्षणको व्यवस्था नआउँदै पनि कयौं महिलाहरूले यो क्षेत्रमा आफ्नो पकड बनाउन सफल भएका थिए। आरक्षणले सँख्यातमक रुपमा महिलाको उपस्थिति बढाएको त पक्कै छ तर निर्यायक तहमा र गहन जिम्मेवारीको ठाउँमा भने अझै पुग्न सकेका छैनन्। निर्णायक तहमा पुग्न जो कोहीको पनि क्षमता र कार्यकुशलता हुनैपर्छ। अझै महिलाले त आफ्नो क्षमता प्रमाणित गरेपछि मात्र त्यस्ता अवसर पाउन सक्छन्। महिलाले आफूलाई अब्बल सावित गर्न पुरुषले भन्दा बढि नै मेहनत गर्नुपर्छ। हरेक पाइलामा परीक्षा दिनुपर्छ। योग्यताको कसीमा जाँचिनुपर्छ। पितृसतात्मक सोच र प्रवृति भएको हाम्रो समाजमा आरक्षणले मात्र महिलाको सहभागिता बढ्न सक्दैन। साना तहबाट महिलालाई यस क्षेत्रमा प्रवेश गराउन केही समयकोले लागि आरक्षणको व्यवस्था गरेपनि निर्णयक तहमा महिलाको उपस्थिति बढाउन क्षमता विकासका कार्यक्रम ल्याउनेतर्फ ध्यान दिनुपर्छ।

(समावेशी लोकतन्त्र सार्थक बनाउन अर्थपूर्ण रूपमा महिला सहभागिता सबै क्षेत्रमा हुनु आवश्यक छ। अझ मुलुकको सार्वजनिक प्रशासनमा समावेशीकरणको ज्यादै महत्व छ । पछिल्लो समय नेपालको निजामती सेवामा महिलाको उपस्थिति केवल सामान्य कर्मचारीका रूपमा मात्र नभई प्रशासनको नेतृत्व तहमा पनि देखा पर्दै गएको सकारात्मक अवस्था छ। हामी सार्वजनिक प्रशासनमा महिलाहरूको प्रभावकारी हैसियतका पक्षधर हौं। त्यसैले हामी प्रशासनको नेतृत्व तहमा पुग्दै गरेका राष्ट्रसेवक महिला कर्मचारीहरूलाई हरेक साताको शनिवार यस स्तम्भमार्फत प्रस्तुत गरिरहेका छौं– सम्पादक) ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक