आइतबार, मंसिर ११, २०७९

सूचनाका बेनामी स्रोतः पत्रकार भ्रममा पर्ने भय

ध्रुवहरि अधिकारी२०७९ असार २७ गते ९:४१

असार २१ गते मङ्गलवार बिहान राजधानीका केही अखबारमा सन्‌सनीखेज भन्न मिल्ने समाचार निस्केको थियो। भएछ के भने अघिल्लो दिन अर्थात् सोमवार बिहान लैनचौरस्थित् भारतीय दूतावासमा उनीहरूकै एक सुरक्षाकर्मीको ज्यान गएछ। पहरेदारीमा खटिएकै बखत ३२ वर्षीय दीपक सिंहको आफ्नै साथमा रहेको बन्दूक पड्केर लागेको गोलीबाट मृत्यु भएको कुरो उल्लेख छ। यसबारे दूतावासले गराउने छानबीनको नतीजा सार्वजनिक नहोउञ्जेल उनले आत्महत्या गरेको मान्नुपर्ने समाचारको सङ्केत छ। उनी उत्तराखण्ड राज्यका बासिन्दा रहेछन्।

यस घटनाबारे समाचार प्रवाह गर्ने अखबारहरूमध्ये नेपालीमा छापिने एउटा पत्रिकाले नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार के सी ले ‘कुनै जानकारी नभएको बताए’ भनेर लेख्यो। तर यस वाक्यको लगत्तैपछिको बेहोरामा के सी ले यसो भनेको देखिन्छः “एउटा शव पोष्टमार्टम गर्न भन्दै दूतावासबाट अनुरोध आएको हो। त्यसपछि हामीले शव लिएर शिक्षण अस्पताल लग्यौं। अहिले शव अस्पतालमै छ। त्यस बाहेक हामीलाई अरू केही जानकारी छैन।” लेखाइमा ढङ्ग नपुगेको कुरो एकातिर छ तापनि यस वाक्यबाट घटनाबारे धेरथोर जानकारी पाइन्छ। प्रष्टै छ, ‘कुनै जानकारी नभएको’ भन्ने के सी कै शुरूको भनाइ पछिल्लो कथनसँग मेल खाँदैन !

यसमा रहस्यमय कोण के छ भने यस अखबारले भारतीय दूतावासभित्रको घटनाको बेहोरा लेख्दा दूतावासका प्रवक्ता वा अन्य कुनै परिचय खुल्ने भारतीय कर्मचारीको कतै उल्लेख गरेको छैन। दुई ठाउँमा ‘स्रोत’ को जिकिरसम्म गरेको छः एक ठाउँमा ‘स्रोतका अनुसार’ र पुछारमा ‘स्रोतले भन्यो’ भनेर । परन्तु ‘स्रोत’ कुनै व्यक्ति थियो वा कुनै औपचारिक सूचना वा अन्य कुनै लिखत थियो त्यसको चर्चा नै नगरीकन खालि ‘स्रोत’ मात्र लेखिदिनाले सन्देह लाग्ने ठाउँ रहन गयो। भन्नै परेन, यसो गर्दा समाचारको विश्वसनीयता स्थापित हुन सकेन। हो, सोमवारको घटना पनि अघिपछि सुनिने आत्महत्याकै जस्तो हुनसक्छ, तर समाचार जसरी प्रस्तुत भएको छ त्यसले पाठकको मनमा शङ्का चाहिं रहिरहने भयो। आत्महत्या थियो वा अरू नै केही ?

समाचार लेख्ने संवाददाता र त्यसलाई प्रकाशनको अनुमति दिने सम्पादक दुबैथरीले यस मामिलामा पर्याप्त ध्यान पुर्‍याएको देखिएन। नेपालमा रहेको विदेशी कूटनीतिक नियोगको हाताभित्र भएको ज्यानसम्बन्धी घटनाबारे समाचार लेख्दा जुन स्तरको सावधानी अपनाउनु पर्ने हो त्यो अपनाएको देखिंदैन। त्यति मात्र हैन, समाचार-लेखक नेपाल प्रहरीबाहेक अन्य कतै कसैको चिनारी नखुलोस् भनेर ढाकछोप गर्नतिर लागेको पो हो कि भन्ने अवस्था आयो।

पत्यारलाग्दो स्रोत

पत्रकारिताका हरेक विद्यार्थीले बुझेको कुरो हो, पत्रकारले प्रत्यक्ष देखेर आँकडा, विवरण आदि बटुलेको स्थितिमा बाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाको लागि उसँग पत्यारलाग्ने स्रोत हुनुपर्छ र उसले त्यसको उल्लेख समाचारमा गर्नैपर्छ। ‘नाम नखुलाउने शर्तमा’ दिएको सूचना सकेसम्म प्रयोग गर्नु हुँदैन। अपवादको अवस्था बेग्लै हो। र, यस्तो अपवादको अवस्था हरेक दिन वा हरेक घटना अथवा घटना-विकासमा पर्दैन, परेको हुँदैन। मूल कुरो हो–समाचार पाठकको लागि लेखिन्छ; सूचना श्रोता र दर्शकका लागि प्रवाह गरिने सेवा हो। सेवा समाचारमा उल्लेख हुने संस्था वा व्यक्ति विशेषको लागि लेखिने होइन; हुने गर्दैन। तसर्थ तिनको बचाउमा पत्रकार अघिसर्नु उचित हुँदैन।

दूतावासकै प्रसङ्ग केलाउने क्रम जारी राखौं। मङ्गलवारकै एउटा अङ्ग्रेजी अखबारले भने सुरक्षाकर्मीको निधनबारे समाचार छाप्दा “दूतावासका स्रोतहरू” को हवाला दिएको देखिन्छ। यसमा दूतावासकै स्रोत (र एकभन्दा बढी स्रोत) को चर्चा छ। तसर्थ भन्नैपर्छ, यो तुलनात्मक रूपमा बढी विश्वसनीय आधार हो यद्यपि दूतावासका अन्य प्रचार सामग्री (विद्यालय भवन उद्घाटन आदि) मा उदारताका साथ देखापर्न रुचाउने प्रवक्तालाई यस मामिलामा भने उद्धृत गरिएको छैन। किन होला ? बुझ्न सकिएन। जे होस्, यस अङ्ग्रेजी छापाले चर्चित समाचारमा भारतका अनलाइन माध्यममा देखिएका विवरणहरूलाई पनि जानकारीमा लिएको छ। र, मर्ने सुरक्षाकर्मी अवसाद (डिप्रेसन) मा थिए भनेको छ। र, थप्छः जे भए तापनि मृतकले आत्महत्या नै गरेका हुन् भन्ने कुरो स्वतन्त्र ढङ्गले पुष्टि हुन सकेन । यस क्रममा संवाददाताले दूतावासको एक स्रोतसँग प्रत्यक्ष कुराकानी समेत गरेको देखिन्छ। तर यहाँ पनि त्यो ‘स्रोत’को नाम/दर्जा केही खुलाइएको छैन। बरू यहाँछैउ पनि नेपाल प्रहरीका अधिकृतको के सी कै हवाला दिएर लेखिएको छः–विदेशी दूतावासको हाताभित्रको घटना हुनाले यसमा हामीले अनुसन्धान गर्ने प्रश्न नै उठेन।’

सञ्चारकर्मीहरू आफैंले यस चर्चित समाचारको समीक्षा गरेमा त्रुटि-गल्ती ठम्याउन सक्नेछन्। भारतीय दूतावासमा भएको घटनामा त्यहाँका प्रवक्ता वा अन्य जिम्मेवार अधिकृतको भनाइ नआईकन समाचारको विश्वसनीयता कायम हुन सक्दछ र ? किमार्थ सक्दैन। परिचय नखुलाउने व्यक्तिलाई ‘स्रोत’ भनेर जनाई अनि त्यसै स्रोतलाई जिम्मेवारीबाट पन्छिन दिन मिल्छ ? उसलाई पन्छिन दिने हो भने त्यसको भार पनि सञ्चारकर्मी आफैंले बोक्नुपर्छ। किनभने सतही जानकारी बटुलेर पाठक-श्रोता-दर्शकलाई अल्मल्याउने बाटो सजिलो त होला तर त्यसले पत्रकारको पेशागत दायित्व पूरा भएको मान्न दिंदैन। पेशा अर्कै छ, खालि बसीबिञालो गर्न मात्र पत्रकारिता गरेको हो भन्नेहरूको विषय भने बेग्लै हो।

‘भारतीय दूतावासका सुरक्षाकर्मी मृत अवस्थामा ’ जनाउने शीर्षक लामो पारेर छाप्ने अर्को अङ्ग्रेजी दैनिकले दिएको पेटबोलीमा परेको बेहोरा भने तुलनात्मक रूपले छोटो छ। र, यस अखबारले पनि सूचना प्रवाह गर्ने ‘स्रोत’हरूलाई अज्ञात स्थानमै राखेको छ। उद्धरणचिह्नभित्र स्रोतका बोली त पाइन्छन् तर बोल्ने मानिस को हुन्, कतै खुल्दैन। ढाकछोपका यस्ता प्रयत्नले पाठकलाई वस्तुस्थितिको यथार्थ जानकारी पाउन पटक्कै मद्दत गर्दैनन्। हो, बरू यस छापाले पुछारमा सन् २००५ को जनवरीमा दूतावासमै भएको यस्तो अर्को घटनाको थप जानकारी दिएर पाठकहरूलाई गुन लगाएको छ। १७ वर्षअघिको त्यस घटनामा दुईजना सुरक्षाकर्मी मारिएका थिए र एकजना घाइते भएका थिए। त्यतिखेर त्यस दुर्घटनालाई “आकस्मिक रूपमा गोली चलेको” (एक्सीडेण्टल फायरिङ्) घटना मात्र भनिएको रहेछ, तर त्यसबारे अरू बेहोरा सार्वजनिक गरिएको रहेनछ। अर्थात् शङ्का गर्नमिल्ने ठाउँ छोडिएको रहेछ।

बेनामीको प्रचलन

सुनिन्छ, अख्तियारले बेला-बेलामा बेनामी उजुरीउपर पनि अनुसन्धानको सिलसिला अघि बढाउँछ। तर त्यस्ता बेनामी उजुरीको आधारमा हुने छानबीन भरपर्दा हुँदैनन्। किनभने बेनामी उजुरी गर्ने मानिसले आफू जिम्मेवार ठाउँमा उभ्याउन चाहेको हुँदैन। प्रायशः अर्कालाई भरिया बनाएर लाभ (कमीसन,पुरस्कार आदि) उठाउने दाउमा मात्र रहेको हुन्छ। उजुरी झूटो ठहरे कसले उसलाई पक्डिने र कारबाही गर्ने ? त्यसैले बेनामी शिकायतजस्तै गुमनाम स्रोतलाई सचेत र जिम्मेवार पत्रकारले महत्व दिंदैन; दिनु हुँदैन। किनभने नाम उल्लेख नगराउने शर्तमा बाँधेर दिइने सूचना बेनामी उजुरीजस्तै हो। टेक्ने,समाउने दह्रो ठाउँ कतै हुँदैन।

संयोग भन्नुप-यो, गए साता नै (१६ असार-३० जून) अमेरिकी पत्रिका ‘न्यूयोर्क टाइम्स’ मा समाचारमा प्रयोग गरिने सूचनाका स्रोतहरूकै बारेमा एउटा लेख प्रकाशित भएको देखियो। त्यस लेखमा आचारसंहिता एवं स्तरसम्बन्धी फाँट हेर्ने सम्पादक फील कोर्बेट (Phil Corbett) ले परिचय खुलाउन नमान्ने स्रोतहरूले दिएका सूचना भरपर्दा नहुने हुँदा जोखिम जहाँको तहीँ रहने प्रचलित मान्यतालाई औंल्याएका छन्। उनले यसबारेका कारक, कारण र मानकहरूको चर्चा गरेका छन्। अनुभवी सम्म्पादक कोर्बेटका यी ठम्याइहरूबाट देश-विदेशका सबै सञ्चारकर्मीले लाभ उठाउन सक्छन्। नेपालका, विशेषगरी अङ्ग्रेजी माध्यममा काम गर्ने, समाचारदाता र सम्पादकहरू पनि लाभान्वित हुन सक्छन्। पेशागत मान्यताप्रति प्रतिबद्ध विश्वका अन्य पत्रकार सरह कोर्बेटले पनि सहकर्मीहरूलाई बेनाम, अनाम,गुमनाम,नामरहित रहन रुचाउने स्रोतहरूको उपयोग सकभर नगर्ने सल्लाह दिएका छन्। उनी भन्छन्ः

आफूलाई बेनामी राख्ने शर्तमा…
आफ्नो नाम नखुलाइदिने कबुल गराउँदै…
यस्ता विषयवस्तुबारे प्राय जानकार रहने व्यक्तिहरूका अनुसार…

यस्ता पदावली गाँसेर लेखिएका समाचार-विवरण पाठकहरूले समय-समयमा पढेका हुन्छन्। तर यसको तात्पर्य के हो त ? यसको सोझो अर्थ हो–समाचारमा परेका सूचनाका सूत्रहरू सार्वजनिक रूपमा चिनिन चाहँदैनन्। कसैलाई चर्चामा आउन मन नलाग्ने, कसैलाई व्यक्तिगत असुरक्षा हुने भय, कसैलाई जागिर जाने डर, कसैलाई सामाजिक बहिष्कृत होइन्छ कि भन्ने त्रास आदि, इत्यादि। यस्तो परिस्थितिमा सञ्चारकर्मीले त्यस्ता अनाम रहन चाहने स्रोतले दिने सूचना ग्रहण गर्ने कि नगर्ने ?

सम्पादकीय नीति

यसमा स्थापित सञ्चारगृहहरूले आफ्नो संस्थामा कामगर्ने सबैले पालना गर्नुपर्ने निर्देशिका बनाएका हुन्छन्। र, अधिकांशले बेनामी तवरमा प्राप्त सूचनाको सामान्यतः प्रयोग नगर्ने नीति नै अपनाएका हुन्छन्। असामान्य अवस्थामा भने त्यस्तो सूचना लिन र प्रयोग गर्न मार्गदर्शन दिइएको हुन्छ। त्यस्तो अवस्था कुन हो त ? त्यस्तो अवस्था सार्वजनिक सरोकारको विषयमा खास प्रकारको सूचना उपलब्ध हुँदा र त्यही सूचना

अन्य कुनै माध्यमबाट तत्काल हासिल हुन नसक्दा आइपर्छ। जस्तो, कुनै देशमा सरकारको तख्तापलट हुन लागेको छ र त्यसको अग्रीम जानकारी कुनै सुरक्षा निकायको कुनै खास पदाधिकारीलाई मात्र छ भने त्यस व्यक्तिले ‘परिचय नखुलाउने शर्तमा’ दिएको सूचना प्रयोग गर्न मिल्छ। तर यसो गर्दा पनि पर्याप्त सावधानी अपनाउनु पर्छ। किनभने प्रकाशित खबर कदाचित् झूटो हुन गएमा त्यसले पत्रकारको मात्र होइन, पत्रिकाकै विश्वसनीयता समाप्त पारिदिन्छ। त्यसैले समाचारमा परिचय नखुलाए तापनि स्रोत व्यक्तिलाई संवाददाता र उसको लेखोट जाँच्ने सम्पादकले चिनेकै हुनुपर्छ। स्रोत हुने व्यक्तिले गोप्य सूचना सशर्त चुहाउनुको अभिप्रायः के हुनसक्छ त्यसबारे पनि सञ्चारकर्मी सावधान हुनुपर्छ। पाएको सूचना आवश्यक परे अन्य सूत्रहरूबाट पुष्टि गराउन सकिन्छ, सकिंदैन त्यसको पनि लेखाजोखा गर्नुपर्छ।

कोर्बेटको रायमा, बेनामी स्रोत हुन इच्छुक व्यक्तिसँग सञ्चारकर्मीले थालनीमै कठोर (निर्मम) हुनुपर्छ; शङ्कालु बनेर प्रश्नमाथि प्रश्न गर्नैपर्छ। मुख्य कुरो, बेनामी स्रोतको प्रयोग आक्कलझुक्कलमा मात्र गर्ने हो; नियमित गर्ने होइन। यस पक्षमा हचुवा वा हलुका हुन कुनै हालतमा हुँदैन।

पत्रकारिताका ४५ वर्षमा मैले धेरै समय समाचार सङ्कलन र लेखनमा बिताएको छु। देशभित्र गोरखापत्र र देशबाहिरका माध्यममा बीबीसी,रोयटर्स, इण्टर प्रेस सर्विस (आईपीएस्) जस्ता माध्यममा कार्यरत रहने र पत्रकारिताका मान्यताबारे सिक्ने अवसर पाएँ। सिकेका कुराहरूको आधारमा भन्न सक्छुः स्रोत नखुलेका समाचारको विश्वसनीयता हुँदैन । तसर्थ बेनामी स्रोतहरूले दिने सूचना प्रयोग गर्नुअघि पत्रकारहरूले हदैसम्मको सावधानी अपनाउनु पर्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया