मंगलबार, वैशाख ४, २०८१

रूस-युक्रेन युद्धको भाष्य

ईन्द्र क्षेत्री२०७९ असार २९ गते ९:३५

इन्द्र बहादुर क्षेत्री

प्रोफेसर जोन मर्सहाइमर भन्छन्-“विश्व शान्तिको प्रमूख चुनौति चीन हो,रूस होइन । पश्चिमले रूसलाइ साथमा लिएर चिनको सामना गर्नुपर्छ । यसको लागि रूसको सुरक्षा चासोलाइ सम्वोधन गर्नुपर्दछ । नेटोलाइ पूर्वतर्फ विस्तार गर्नुहुँदैन । यसले रूसलाइ उत्तेजित बनाउँछ । वास्तवमा शीत युद्धको अन्त्यसँगै नेटोको उपादेयता पनि सकिएको छ।” मर्सहाइमर र उहाँजस्तै विश्वभरिका वर्तमान विरोधी बिचारक (एण्टी करेण्ट थिङ्क ट्याङ्क) हरू यसै सिद्धान्तको वरिपरि रहेर युद्धको भाष्य निर्माण र प्रसारण गरिरहेका छन् । तर वास्तविकता परम्परागत रूपमा चलिआएको दुइ ध्रुवीय कथा भन्दा फरक हुन सक्दछ ।

जर्मनी र फ्रान्स मर्सहाइमरहरूको सिद्धान्तमा २० वर्ष अलमलिए । स्रोयडर, मर्केल, सार्कोजी र म्याक्रोनहरूलाइ यहि सिद्धान्त सत्य हो जस्तो लाग्यो र रूसलाइ एक पछि अर्को कन्सेसन दिँदै गए । उनिहरूले युरोपलाइ बेफिक्री ढङ्गले रसियन इन्धनमा अत्यधिक निर्भर मात्र गराएनन् कि पुटीनका अनुचित हर्कतहरूलाइ प्रश्रय पनि दिँदै गए । चेचेन्यामा २००२ मा गरेको नरसंहार, २००८ मा जर्जियामा गरेको हमला,२०१४ मा गरेको क्राइमियाको एनेक्सेसन, ०१५ मा सिरियामा मच्चाएको नरसंहार र हाल सेण्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा परिचालित वाग्नर लडाकुहरूलाइ झिना-मसिना कुरा भनेर आँखा चिम्लिए । पुटीनलाइ नचिढाउने ध्येयले जोर्जिया र युक्रेनले नेटोमा प्रवेश गर्न गरेको प्रयासलाइ जर्मनी र फ्रान्सले रोकिदिए ।

रूसले सन् ०१४ देखि युक्रेनको पूर्वी भाग डोनबासमा पृथकतावादी पैदा गरेर सैन्य घुसपैठ गरेको कुरालाइ नजर अन्दाज मात्र गरेनन, मानवाधिकार हननको हवाला दिएर उल्टो युक्रेनलाइ ठुङ्ने प्रयास गरे । यतिसम्म कि अमेरिकाले समय-समयमा पुटीनको कुनियत प्रति सजग बनाउँदै गर्दा “ट्रान्स एटलाण्टिक एलायन्सबाट अलग्गिने र युरोपको अलग्गै सुरक्षा गठबन्धन बनाउने” सम्मको धम्की दिन भ्याए । बदलामा ट्रम्पले स्पष्टै शब्दमा भनिदिए-‘तिम्रो रक्षा तिमि नै गर, अमेरिकाले खर्च गर्दैन”।

ट्रम्पले चुनाव जितेको भए शायद यो वाचा पूरा गर्थे भन्ने कुरा उनको ट्रयाक रेकर्डले देखाउँछ । उनले युरोपमा रहेका अधिकांश सैनिक बेसहरूलाइ एशिया प्यासिफिकमा परिवर्तन गरेका थिए । विश्व स्वास्थ्य संगठन, पेरिस क्लाइमेट एग्रीमेण्ट, युनेस्को, इरान न्युक्लीयर डील र विश्व खाध्य कार्यक्रमबाट अमेरिकालाइ निकालिसकेका थिए । अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने निर्णय पनि उनैले गरेका हुन् वाइडेनले त्यो निर्णयको कार्यान्वयन मात्र गरेका हुन् । वास्तवमै अमेरिका नेटोबाट बाहिरिएको अवस्थामा युरोपको अस्तित्व डाँवाडोल हुने तथ्य रूसको युक्रेन माथिको चढाइले पुष्टि गरेको छ । त्यो खतरा हाललाइ टरेर गएकोमा सन्तोष गरौँ ।

रुस-युक्रेन युद्धको मूल ध्येय, जरो र स्वार्थ भनेको एक भाषा, एक नश्ल र एक धर्म सहितको रूसी साम्राज्यको पुनर्उत्थान गर्नु र त्यसको एकल नेतामा भ्लादिमिर पुटीनलाइ स्थापित गर्नु हो । यस अभियानको पहिलो शिकार युक्रेन बनेको छ । पुटीनले युक्रेनमा जिते भने क्रमशः पूर्व सोभियत गणराज्यहरू र त्यसपछि रूसी एम्पाएरका भू-भागहरू उनको कोपभाजनमा पर्ने छन् । यो खतरा महसूस गरेर नै फिनल्याण्ड र स्वेडेन दगुरेर नेटोमा प्रवेश गरेका हुन् ।

ट्रम्पको कार्यकाल सकिँदा नसकिँदै नेटोको औचित्य माथि नै प्रश्न उठिसकेको थियो । नेटोको अस्तित्व सङ्कटमा परेको र यसलाइ लिएर युरोपीयन युनियन विभाजित रहेको वास्तविकता पुटीनलाइ थाहा थिएन भनेर कल्पना गर्न सकिँदैन । उनि यसमा स्पष्टै थिए भलै यो उनकै लागि प्रत्युत्पादक भएको कुरा धरातलीय यथार्थले देखायो । पुटीनले युक्रेन माथि हमला नगरेको भए आफैँ विघटनको सँघारमा पुगेको ट्रान्स एटलाण्टीक गठबन्धनको पुनरूत्थान र विस्तारको कुनै गुञ्जायस नै थिएन । यस्तो स्थितिमा नेटोको विस्तारलाइ काउण्टर दिनको लागि एउटा सम्प्रभू देशमाथि हमला भएको भन्ने मानेर चल्नु आफैँमा तर्कसँगत देखिँदैन ।

तर फ्रान्स र जर्मनी गत २४ फेब्रुअरीमा रूसले युक्रेन माथि अतिक्रमण गरिसक्दा पनि त्यसको जिम्मेवार नेटो हो,युक्रेन हो वा रूस हो ? भन्नेमा अन्यौल्ग्रस्त नै थिए । यिनिहरूको भ्रमको पर्दा त्यतिबेला मात्रै च्यातियो जतिबेला जेलेन्स्कीले रूसको मागलाइ सम्वोधन गर्दै पठाएको “युद्ध विरामको शर्तमा १-युक्रेनले नेटोमा सहभागी नहुने,२-डोनवासको बारेमा वार्ता गर्ने र ३-क्राइमियाको बारेमा सम्झौता गर्न सकिने” प्रस्तावलाइ पुटीनले खारेज गरिदिए । त्यसपछि मात्र म्याक्रोनले पुटीनसँगका वार्ता प्रयास त्यागिदिए ।

गत महिना इटलीका प्रधानमन्त्रीलाइ साथमा लिएर राष्ट्रपति म्याक्रोन र चान्सलर स्कोल्ज कीभ पुगेर जेलेन्स्कीसँग ऐक्यवद्धता जनाए । स्वेडेन र फिनल्याण्डको नेटो प्रवेशमा रूस प्रतिकृया विहिन हुनुले पनि युक्रेन अतिक्रमणको कारण नेटो होइन भन्ने थप स्पष्ट हुन्छ ।
रूस एकल धर्म (रसियन अर्थोडक्स),एकल जाति (नोर्डिक स्लाभ), एकल भाषा (रूसी) र एकल नेतृत्व (त्जार,कम्युनिष्ट र पुटीन) को जगमा खडा भएको र हुर्केको साम्राज्य हो । यिनै संरचनाको बलमा पहिले जारहरूले र पछि मार्क्सवादको बलमा स्टालिनले रूसको सिमा र प्रभूत्व विस्तार गरे जो १९९१ सम्म कायम रह्यो ।

स्रोयडर, मर्केल, सार्कोजी र म्याक्रोनहरूले युरोपलाइ बेफिक्री ढङ्गले रसियन इन्धनमा अत्यधिक निर्भर मात्र गराएनन् कि पुटीनका अनुचित हर्कतहरूलाइ प्रश्रय पनि दिँदै गए ।

युरोपीयनहरू सोभियत सँघ ढलेको र रूसी सत्ताबाट कम्युनिष्ट हटेको सन्दर्भलाइ “प्रजातान्त्रीकरण” भएको भ्रममा रूमल्लिइरहे जवकि यो घटनालाइ भ्लादिमिर पुटीनले त्रासदी र अपमानजनक घटनाको रूपमा ग्रहण गरेको कुरा प्रष्ट पारिसकेका थिए । रूसमा विपक्षीहरू माथि निरन्तर भैरहेको दमन र सफायाका घटनाक्रमहरूले युरोपलाइ होइन पुटीनलाइ सही सावित गर्दछन् । पुटीन राजमा विपक्षी नेता अलेक्सी नावाल्नी, मिखाइल् खोर्दोकोव्स्की, गेरी कास्पारोभ, लुवोभ सोबोलहरू कोहि कारवास र कोहि प्रवासमा रहेका छन् । देश-बिदेशमा हत्या गराइएका बिपक्षी नेताहरूको त लेखाजोखा नै हुन छाडिसकेको छ ।

माथिल्लो तहमा परिवर्तन हुँदैमा समाजको चरित्र एकाएक बदलिँदैन भन्ने कुरामा युरोपीयनहरूले ध्यान दिएनन् वा सस्तो इन्धनको लोभमा बुझ पचाए, उनै जानुन । रूसी समाजले बोरिस यल्त्सिनको उथल-पुथलपूर्ण कार्यकालका ९ वर्ष बाहेक प्रजातन्त्र र स्वतन्त्रताको उपभोग गर्न पाएकै छैन । कैयौं पल्ट साम्राज्यवादी आक्रमणलाइ परास्त गरेको रसियन एम्पाएर र सोभियतकालका गौरव-गाथा बाहेक अरू सुन्न र पढ्न नपाएको, नरूचाएको र प्रजातन्त्रलाइ पश्चिमा प्रोपोगाण्डा, षड्यन्त्र हो भन्ने बुझेको मनोविज्ञानमा परिवर्तन ल्याउन लामो समय र ठूलो यत्नको जरूरत पर्छ । दुर्भाग्यवश त्यो समय र अवसर रूसी जनताले कहिल्यै पाएनन् । फलतः रूसी समाज दमन, निङ्कुशता र तानाशाहीलाइ नीयति ठानेर त्यसैमा अभ्यस्त बन्यो । रूसले पुनःनिर्माण र खुलापनको ढोका उघार्ने गोर्वाचोवलाइ सहन सकेन । प्रजातन्त्र र स्वतन्त्रतालाइ सँस्थागत गर्न कसिएका यल्त्सिनलाइ पश्चिमाको पिठ्ठू गद्दार भनेर डाम्यो । ठीक यहि माइण्ड सेट हो जसमा राष्ट्रवादको भ्याक्सिन लगाइदिए पछि फाँसीवादको जन्म हुन्छ ।

उहिले हिटलर, मुसोलिनीहरूले यहि गरेका थिए, अहिले पुटीनले गरे । उनि न त मार्क्सवादी हुन् न त प्रजातन्त्रवादी । उनि विशुद्ध रूपले फाँसिवादी तानाशाह हुन् । उनलाइ रोक्ने न त पार्टी छ न त संसद छ । संसद, पार्टी, क्याबिनेट सबै उनका भारदारी सभा मात्र हुन् । उनले देशलाइ बिल्क एनिमल फार्ममा तब्दील गर्ने दिशामा कुनै कसर बाँकी राखेका छैनन् ।

कैयौं पल्ट साम्राज्यवादी आक्रमणलाइ परास्त गरेको रसियन एम्पाएर र सोभियतकालका गौरव-गाथा बाहेक अरू सुन्न र पढ्न नपाएको, नरूचाएको र प्रजातन्त्रलाइ पश्चिमा प्रोपोगाण्डा, षड्यन्त्र हो भन्ने बुझेको मनोविज्ञानमा परिवर्तन ल्याउन लामो समय र ठूलो यत्नको जरूरत पर्छ । दुर्भाग्यवश त्यो समय र अवसर रूसी जनताले कहिल्यै पाएनन् ।

इन्धनको बदलामा पश्चिमले हुरलेको अथाह आम्दानी र सोभियत सँघले थुपारिदिएको संहारकारी हतियारको दम्भले उनिमा सके रूसी एम्पायर वापस खडा गर्ने, नभए सोभियतकालको भू-भाग कब्जा गर्ने, सोभियत वैभव फिर्ता ल्याउने र त्जार इभान भयङ्कर, रानी क्याथ्रिन द ग्रेट, त्जार पीटर द ग्रेट र स्टालिनको लहरमा आफ्नो तस्वीर झुण्ड्याउने ख्वाब जागृत भएको छ । पुटीनको यहि भयानक ख्वाब नै रूस-युक्रेन युद्धको एक मात्र कारण रहेकोमा दुइमत छैन ।

दुनियाँमा सबैभन्दा धेरै आणविक हतियार भण्डार भएको देशले सानो छिमेकी र रक्षात्मक गठजोडलाइ सुरक्षा थ्रेट देख्नुको कुनै तर्क र तात्पर्य भेटिँदैन । यो युद्धको मूल ध्येय, जरो र स्वार्थ भनेको एक भाषा, एक नश्ल र एक धर्म सहितको रूसी साम्राज्यको पुनर्उत्थान गर्नु र त्यसको एकल नेतामा भ्लादिमिर पुटीनलाइ स्थापित गर्नु हो । यस अभियानको पहिलो शिकार युक्रेन बनेको छ । पुटीनले युक्रेनमा जिते भने क्रमशः पूर्व सोभियत गणराज्यहरू र त्यसपछि रूसी एम्पाएरका भू-भागहरू उनको कोपभाजनमा पर्ने छन् । यो खतरा महसूस गरेर नै फिनल्याण्ड र स्वेडेन दगुरेर नेटोमा प्रवेश गरेका हुन् । धर्मराएको ट्रान्स एटलाण्टीक एलायन्सको पुनरोदय र युरोपीयन युनियनको अभूतपूर्व एकता देखिनु यसैको परिणाम हो । प्यारालल युनिभर्सको कल्पना गर्ने र कथ्य कथ्ने स्टेरियो टाइप प्रोफेसर मर्शहाइमर र संसारभरिका स्टालीनपन्थीहरूको बैचारिक प्रस्तावनालाइ भ्लादिमिर पुटीनले रद्दीको टोकरीमा मिल्काइदिएका छन् ।

तपाइँको प्रतिक्रिया