सोमबार, साउन ३०, २०७९

खाना, भाषा र संस्कृति बचाउन सम्पदा ज्ञान बैक आवश्यक

डा.लक्ष्मीप्रसाद खतिवडा२०७९ असार ३० गते १३:२३

तपाईलाई स‌ंसारको कुनै कुनाको जानकारी चाहियो भने गुगलबाट डाउनलोड गर्न सक्नु होला । तर भाषा, संस्कृति, सम्पदा, सभ्यता डाउनलोड गरेर प्राप्त गर्न सक्नुहुन्न। हाम्रो भाषा र संस्कृति चाहिँ अन्धविश्वास अनि अङ्ग्रेजी भाषा र संस्कृतिचाहिँ विज्ञानसम्मत हो भन्ने मानसिकताले हाम्रा भाषाको ज्ञान पश्चिमी भाषिक परम्पराको छायामा परेको छ।

डा . लक्ष्मीप्रसाद खतिवडा

भाषा संस्कृतिको वाहन हो । आमाबाट प्राप्त गरेको भाषा त्यस भूमिको संस्कृति हो। हाम्रा गाउँघरका दोहोरी, सङ्गिनी हाक्पारे, साकेवा, देउसी, भैलो, व्रतकथा, पुराण र परम्पराका कथा भाषा हुन्। घाँस, दाउरा, मेलापातमा भोक, खुसी र विरहका कथाले भाषा बाँचेको हुन्छ। सम्पदाभित्र भाषा, साहित्य, संस्कृति, सभ्यता सबै पर्छन् । भाषा मर्दा सम्पदा मर्छ । पहिचान मर्छ।

खानाको भाषाको कुरा गर्दा अनादिकालदेखि नै खाना पकाउने र खाने चलन चल्दै आएको हो। हाम्रा पुर्खाले पहिले काँचो खाएको हुनसक्छ। आगोको अनुसन्धानले खाना पकाउन थालेको र खाद्य तेल र नुन पत्ता लागेपछि मात्र मानिसले खानाको स्वादमा विविधता ल्याएको हो। खाद्य मसलाको सुगन्धले त खानामा नयाँ आविष्कारहरूको शृङ्खला नै सुरु गर्यो।

खाद्य सम्पदालाई मानव सभ्यताको मूल अवधारणाको रूपमा परिकल्पना गर्न सकिन्छ। पाक भाषाशास्त्रले खाद्य उत्पादनहरू, भाँडाकुँडा र खाना पकाउने विधि, खाद्य व्यञ्जनहरू, खाने तरिका र खानासँग सम्बन्धित व्यवहार र विश्वासहरूको व्याख्या गर्दछ।

मानव संस्कृतिका मूर्त र अमूर्त विभाजन भएजस्तै खाने भाषा (फुड ल्याङ्ग्वेज) का पनि मूर्त (खाद्य सामग्री, खाना पकाउने भाँडाकुँडा र भौतिक सामग्री) र अमूर्त ( स्वाद, गन्ध, पकाउने विधि र खाने परम्पराहरू) गरी दुइ तहमा विभाजन गर्ने चलन छ। खाने संस्कृतिका यी दुई तत्त्वहरूले सांस्कृतिक मूल्य र मान्यताहरूमा योगदान गरेको छ। पाककला र यसको जातीय, राष्ट्रिय आयाम र पहिचानले स्थानीय सामाजिक सांस्कृतिक तत्वहरूलाई बलियोसँग जोड्दछ।

संसारभरका धेरै भाषा एवम् संस्कृतिमा खानेकुराको भाषा प्रयोग गर्ने तरिकामा फरक पाइन्छ। भाषाले विचार र संस्कृति सिर्जना गर्छ। ध्वनि र लिखित अभिव्यक्तिहरू प्रयोग गर्दछ। खाना मुखको माध्यमबाट शरीरमा प्रवेश गर्छ भने भाषा त्यही मुखबाट बाहिर निस्कन्छ। मानिसको जीवन पद्धति, रीतिरिवाज, रहनसहन, भेषभूषा, आहारविहार, लोकपरम्परा, धार्मिक अनुष्ठान, सामाजिक व्यवहार, शिक्षा, साहित्य सामाजिक सिर्जना हुन्। यिनले भाषा समृद्ध बनाएका हुन्छन्।

खाना र भाषा बीचको सम्बन्ध वर्णन भन्दा परको कुरा हो। विभिन्न भूगोल र संस्कृतिका मानिसहरू किन फरक किसिमका खाना खान्छन् ? किनभने मानिसले बालापनदेखि खाँदै आएको परिकारलाई सन्सारको अर्कै भूगोल र संस्कृतिमा गए पनि बिर्सिन सक्दैन। खाना र संस्कृतिको सम्बन्ध कति गहिरो हुँदो रहेछ भन्ने कुरा यसले पुष्टि गर्छ। खानेकुरा मानिसले सबभन्दा पहिले जिब्रोले होइन कानले पहिचान गर्छ। कानले खानाको स्वाद थाहा पाउँछ। आवाजले स्वादको शब्द बनाउँछ। शब्दले खानाको स्वाद बताउँछ। अनिमात्र जिब्राले स्वाद लिन्छ। खाना, भाषा र संस्कृति मिसाएर मानिसले खानाको स्वाद सिर्जना गर्छ।

खाना र भाषा बीचको सम्बन्ध पत्ता लगाउन प्रायोगिक भाषाविज्ञानको खानेकुराको भाषा (फुड ल्याङ्ग्वेज) बुझ्नुपर्छ। खाने भाषा (फुड ल्याङ्ग्वेज) को अध्ययनले खाना पकाउने, खाने, खानाको विज्ञापन गर्ने, खानाको प्रतिनिधित्व गर्ने शब्दहरू स्थानीय समुदाय र संस्कृतिका अन्तर्कथाको अध्ययन गर्छ। खानेकुरालाई मानिसले प्रकृतिबाट संस्कृतिमा सार्छ। प्रकृतिबाट संस्कृतिमा सर्ने प्रक्रियामा खाद्य वस्तुहरू, तिनीहरूको उत्पादन, खानाका नियमहरू स्थानीय संस्कृतिमा रूपान्तरण हुन्छन्। विभिन्न समुदायहरूमा खाने संस्कार वा संस्कृतिको प्रदर्शन हुन्छ। हामी पनि पर्यटक आकर्षित गर्न वा खानाको विज्ञापन गर्न खाद्य मेलाको आयोजना गर्छौँ। पाक भाषाविज्ञान (फुड लिन्ग्विस्टिक्स) को क्षेत्रले खानालाई पोषक तत्वका रूपमा मात्र नहेरेर यसलाई मानव जीवनको केन्द्रीय तत्त्वका रुपमा लिन्छ। भाषा भनेको खानाको अर्थ हस्तान्तरण गर्ने प्राथमिक साधन हो।

राष्ट्रको प्रत्येक भाषा, समुदायले आफ्नो भाषाको प्रयोग गर्नु सामान्य घटना होइन। एउटा भाषा मर्‍यो भने एउटा संस्कृति मर्छ। एउटा संस्कृति मर्‍यो भने एउटा सभ्यता मर्छ। तपाईलाई सन्सारको कुनै कुनाको जानकारी चाहियो भने गुगलबाट डाउनलोड गर्न सक्नु होला तर भाषा, संस्कृति, सम्पदा, सभ्यता डाउनलोड गरेर प्राप्त गर्न सक्नुहुन्न। हाम्रो भाषा र संस्कृति चाहिँ अन्धविश्वास अनि अङ्रेजी भाषा र संस्कृतिचाहिँ विज्ञानसम्मत हो भन्ने मानसिकताले हाम्रा भाषाको ज्ञान पश्चिमी भाषिक परम्पराको छाँयामा परेको छ।

स्थानीय जनजातिका भाषाहरू सयौं वा हजारौं वर्षको पर्यावरणीय अन्तरघुलनमा खारिँदै आएका स्थानीय सम्पत्ति हुन्। प्रत्येक समुदायमा मानिसको जीवन चक्र हुन्छ। जन्म, उपनयन वा शिक्षारम्भ, विवाह, मृत्यु, धार्मिक यज्ञ, पितृ यज्ञ जस्ता घटनाहरू त्यहीँको माटो, हावापानी, वनस्पतिसँग जोडिएका हुन्छन्। जीवन पद्धतिका यस्ता प्रथा खाना र भाषासँग सिधै जोडिएका हुन्छन्।

विश्वभरका विभिन्न खाना र संस्कृतिहरू स्थानीय माटो र वनस्पतिबाट प्रभावित हुन्छन्। हामीकहाँ १२५ किसिमका संस्कृति छन् भन्छौँ। कति लिखित र कति अलिखित होलान्। कतिपय संस्कृति मौखिक कथामा बाँचेका छन्। पर्यावरणसँग कसरी मिलेर जीवन चलाउने भन्ने कथाहरू तत् तत् भाषा र संस्कृतिका निधि हुन् जसले हामीलाई उक्त भूगोल र समुदायका जीवन पद्धतिबारे विश्वविद्यालयको भन्दा बढी ज्ञान दिनसक्छ। अर्थशास्त्र भनेको गाउँको मानिसलाई पैशा दिएर काम लगाउने शास्त्र होइन। वास्तविक अर्थशास्त्र भनेको त स्थानीय भूगोलका जनतालाई कसरी सक्रिय बनाउने र आफ्नो देशवासीलाई चाहिने खाना, कपडा र दबाइमा कसरी आत्मनिर्भर हुने भन्ने विधा हो।

संस्कृति भनेको सामाजिक अन्तर्क्रिया एवम् सामाजिक व्यवहारहरूका प्रतिमानहरूको समुच्चय हो। यसमा ज्ञान, विज्ञान, कला, आस्था, नैतिक मूल्य एवम् प्रथाहरू समाविष्ट हुन्छ्न्। संस्कृतिसँग हाम्रा मौलिक, धार्मिक परम्परा, चाडपर्व, सामाजिक, सांस्कृतिक सङ्घ, सङ्गठन, भाषा, नृत्य, सङ्गीत, वाद्यवादन, कला, वास्तुकला, धामीझाँक्री परम्परा, भूतप्रेत, चिकित्सा प्रणाली, आस्था, व्यवहार, जनश्रुति, किंवदन्ती, कथा र इतिहास जोडिएको हुन्छन्। रहनसहन, खानपान, गरगहना, वाद्यवादन, मठमन्दिर, पाटीपौवा, गुम्बा, स्तूप, भाषा, साहित्य, सङ्गीत, कला र सामाजिक व्यवहार हाम्रा सांस्कृतिक धरोहर हुन्। यी सम्पदाका आधारमा हाम्रो जातजातिको पहिचान स्थापित भएको छ। नेपाली समाजका खाना, खाद्यपदार्थ, सांस्कृतिक परम्परा, जीवन प्रणाली, धार्मिक आस्था, विश्वास र निष्ठाजस्ता कार्यहरू बाह्यभाषाबाट प्रभावित हुँदैछन्।

यस्तो प्रभावको उदाहरणमा नामकरण पद्धतिलाई लिन सकिन्छ। पश्चिमी अङ्ग्रेजी परम्परामा हेर्यौँ भने नामकरण गर्ने बलियो सांस्कृतिक आधार नभएर जेलाई पनि संस्कृति भनिदिने चलन छ । संस्कृति हरेक विधाको जननीका रूपमा पाइन्छ। कल्चर अर्थात् संस्कृति। कल्चरबाट उत्पत्ति भएका विधाहरूको नाम एग्रीकल्चर, एपिकल्चर, अक्वाकल्चर, हर्टिकल्चर, एभिकल्चर, कोकल्चर, काउन्टरकल्चर, इलेक्ट्रोकल्चर, फ्लोरिकल्चर, इन्टरकल्चर, मोनोकल्चर, म्याक्रोकल्चर, माइक्रोकल्चर, पर्माकल्चर, पोलिकल्चर, सबकल्चर, सिल्भिकल्चर, जुकल्चर चैँ विज्ञान सम्मत हुने अनि हाम्रा सामाजिक व्यवहारमा प्रयोग भई आएका खेतीबाली र घरपरिवारका नाम र प्रथाचाहिँ अन्धविश्वास कसरी हुन्छन्।

समाजमा व्यक्तिगत नामको छनौट गर्ने आधार स्थानीय भूगोल, भाषा, संस्कृति, खेती प्रणाली, खाने तरिका आदि हुन्। धेरैजसो धार्मिक, सांस्कृतिक, पौराणिक र किंबदन्तीका कथाहरूबाट पनि लिइएका हुन्छन्। अझ व्यक्तिगत नामकरण प्रणाली त नितान्त नृशास्त्रीय प्रकृयाबाट हुन्छ। जस्तो राई किरात समुदायका नामहरू हेर्यौँ भने सुम्निमा, मिहाङमा, लादिप्पा, साङकेन्मा, हेन्खामा, नाकुमाङ, सेलिमा, रुमिबुङमा जस्ता नामहरू मानवजाति विज्ञानका जीवन परिवेश बुझाउने नाम हुन्। यिनीहरू नाममात्र होइनन्। यिनीहरूको भाषिक सन्दर्भ मात्र होइन यी नामहरूले उक्त जातिको जीवनशैली बोकेको हुन्छ। यतिमात्र होइन यिनले त त्यहाँको माटो, नदीनाला, रूखविरुवा, कोठेबारी र मेलापातसँग जोडिएका गहिरा भावना बोकेको हुन्छ। आज यिनीहरु लोपको सँघारमा पुगेका छन्।

नेपाली खाना संस्कृतिकै कुरा लिउँ। नेपाली संस्कृतिमा चौरासी व्यञ्जन र छपन्न भोगका कुरा गरिन्छ। छपन्न भोगमा चन्द्रकला, कुराउनी, शूली, दधी, भात, दाल, चटनी, करी, सागलेदो, कोणिका, पूरी, खजुरी, अवलेह, वाटी, सिखरिणी, मुरब्बा, मधुर, कषाय, तिक्त, कटु पदार्थ, अम्लखट्टा पदार्थ, शक्करपारा, बिलाउनी, कटामरी, मालपुआ, जरीस्वारी, मेसूब, पापड, सीरा, मोहनथाल, ल्वाङपूरी, खुरमा, गहुँदलिया, पारिखा, लड़्ड़ू, दुधीरूप, खीर, घ्यू, मक्खन, मलाई, सख्खर, मोहनभोग, अचार, सूबत, मण्डका, फल, लस्सी, मठ्ठा, पान, सुपारी, अलैँची लगायतका परिकारहरू पर्दछन्। यी शब्दमात्र होइनन्। यिनले स्वाद, संस्कृति, चाडपर्व, रीतिरिवाज र आत्मीयता बोकेका छन्।

खाना एक सभ्यता हो जसले हामीलाई पुस्ता दरपुस्ताको संस्कृतिसँग जोड्दछ। खाना भनेको हाम्रो परम्परा, समुदाय र सम्पदामा भएको खाद्य प्रणालीसँग जोड्ने तरिका हो। खानाको अर्को सबैभन्दा महत्वपूर्ण पाटो छ। त्यो हो जैविक विविधताको संरक्षण। हाम्रा १२५ संस्कृतिका खाना, दवाइ, जडिबुटी आदिमा सयौँमात्र नभएर हजारौँ जडिबुटी र खाद्य वनस्पतिको पहिचान छ। हामी भने धान, मकै, गहुँ र आलुमा निर्भर छौँ भनेर विद्यालयको पाठ्यक्रममा राखिरहेका छौं। जैविक विविधता संरक्षण गर्ने नाममा हाम्रो जङ्गलसँगको सम्बन्ध खोसिएको छ। मातृभाषाहरूको जगेर्ना, आदिम लोकसंस्कार, संस्कृतिको संरक्षण र सम्बर्द्धनलाई कसरी निरन्तरता दिने भनेर गम्भीर ढङ्गले सोचिएकै छैन।

खानेकुरा, मसला, भाँडाकुँडा, खाद्य वनस्पति, प्राकृतिक खनिज, व्यक्ति नाम र भौगोलिक नाम सांस्कृतिक पृष्ठभूमिसँग जोडिएका हुन्छन् र यिनले सांस्कृतिक र भौगोलिक पहिचान बोकेको हुन्छ। बाजे बराजुका सयौँ हजारौँ पुस्तादेखि चलिआएका सांस्कृतिक नाम, भौगोलिक नाम र व्यक्ति नाम संरक्षण नगर्ने हो भने सूचना तथा सञ्चार प्रविधिको अर्थात् मोबाइलको फोर जी लागु भएको ११ वर्षमा १ तहको शाब्दिक पहिरो जान्छ। ११ वर्षमा १ तहका दरले ४ तहको शाब्दिक पहिरो जाँदा अर्थात ४४ वर्षमा नाम शब्द हराउँछन् वा विदेशी भाषाको प्रभावमा परेर अर्कै रूप धारण गर्छन्।

४-५ कक्षामा मातृभाषा पढाएर मात्र भाषाको संरक्षण हुने होइन। भाषालाई व्यवहारमा लागु गरियो भनेमात्र यसले दीर्घ जीवन पाउँछ। निश्चित भौगोलिक स्थानमा उत्पत्ति भएको वा कुनै क्षेत्र वा देशसँग मेल खाने उत्पादनहरूको एकस्व अधिकार हुन्छ। त्यसलाई स्थानीय भाषाका नामबाट भौगोलिक सङ्केतन (जियोग्राफिकल इन्डिकेसन) को विशेष चिन्ह दिएर प्याटेन्ट गराउनु पर्छ। भौगोलिक सङ्केतनलाई उत्पादनको स्रोतको सङ्केतनको रूपमा त्यस भूगोलको उत्पादनको विधि, त्यसका गुण, परम्परागत प्रचलनका विधिको वर्ण उल्लेख गरी एकस्व अधिकार दर्ता गराई राष्ट्रिय अभिलेख बनाएर राख्नुपर्छ। जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाइसराइ र सम्बन्ध विच्छेदको अभिलेख राखेजस्तै खाना, खाद्यसामग्री, खाद्यवनस्पति, खाद्य प्रविधि, मसलाजन्य वनस्पतिका साथै भौगोलिक, सांस्कृतिक र व्यक्ति नामसमेत मानकीकरण गरी कम्प्युटर सफ्टवेयर बनाइ प्रत्येक गाउँपालिका र नगरपालिकाको अभिलेख पुस्तिकामामा राख्नुपर्छ। भाषा तथा सम्पदा मानक बनाएर संस्कृति मन्त्रालय र विज्ञान प्रविधि मन्त्रालयको तहमा भाषा तथा सम्पदा ज्ञान बैँक स्थापना गरेर सांस्कृतिक पुनर्जागरणको योजना बनाएर काम गर्नुपर्छ। तबमात्र हाम्रा जाति जनजातिका भाषा र संस्कृतिको संरक्षण हुन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक