बिहीबार, वैशाख ६, २०८१

सिद्धान्त र व्यवहारिक राजनीति दुबैलाई सँगसँगै लानुपर्छ

विमलेन्द्र निधि २०७९ असार २९ गते २२:१६

विमलेन्द्र निधि

सबैभन्दा पहिला सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएकोमा पार्टी सभापति शेरबहादुरजीलाई बधाइ दिन चाहन्छु । आगामी संसद् र प्रदेशसभाको निर्वाचनको बेलासम्म सरकारको नेतृत्व गरिरहन सफलता पाउनु होस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।

नेपालमा लोकतन्त्र र नेपाली कांग्रेसका लागि कांग्रेस नेतृत्वमा वर्तमान गठबन्धनको सरकार रहनु स्वभाविक हो र यो आवश्यक पनि छ । त्यसका लागि हामी सबैको सहयोग रहनु पर्दछ ।

सभापति शेरबहादुरजीले स्थानीय तहको चुनाव गराउनु भयो– त्यो पनि एकै दिनमा । हाम्रो जस्तो भौगोलिक अवस्थाका कारण चरणबद्ध गराउनु पर्छ र एकै चरणमा संभव होला कि नहोला भन्ने आशंका भइरहेका बेला एकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न हुनु आफैंमा ठूलो राजनीतिक उपलब्धि हो । संविधानको सफल कार्यान्वयनको सवालमा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको प्रारम्भिक सफलताका लागि पनि यो एउटा प्रमाणको रूपमा रहेको म ठान्दछु ।

आगामी संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गतेका लागि निर्वाचन आयोगले सिफारिस गरेको सुनेका छौं । निर्धारित समयमा संसद् र प्रदेशको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा सफलतापूर्वक सम्पन्न होस् । त्यो पनि एकै चरणमा भयो भने राम्रो होला । त्यसमा सभापतिजीलाई मेरो सहयोग त हुन्छ नै, नेतृत्वमा रहेका अरु सबै साथीको पनि सहयोग रहोस् भन्ने म अनुरोध गर्दछु ।

गत स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै २९ पृष्ठको प्रतिवेदन तयार गरिएको रहेछ । मैले त्यसको प्रत्येक हरफ पढेको छु र केही कुरा अण्डरलाइन पनि गरेको छु । निर्वाचन परिचालन समितिका तर्फबाट जसले प्रतिवेदन प्रस्तुत गर्नु भएको छ, त्यो टिमको म प्रशंसा गर्न चाहन्छु । धेरै राम्रो र विश्लेषण गर्न सहयोग पुग्ने प्रतिवेदन तयार गर्नु भएको छ । यो प्रतिवेदनमा तथ्यांकलाई आधार बनाइएको छ, त्यो आफैंमा राम्रो कुरा हो ।

प्रतिवेदनले धैरै विषय छोएको छ । स्वतन्त्र उम्मेदवारहरूले पनि जितेका छन् । गत स्थानीय तहको चुनावमा कतिपयले कांग्रेसबाट टिकट नपाएर पनि जितेका छन् तर त्यसबारे प्रतिवेदनमा चर्चा गरिएको छैन । एउटा उपशीर्षकमा समेटेर त्यसलाई पनि नोटिसमा लिनु पर्दछ । वडा तहको सदस्य, अध्यक्ष, मेयर र उपमेयरमा पनि । जस्तै जनकपुर उपमहानगर पालिकामा मनोज साह, बर्दिवास नगरपालिकामा प्रह्लाद क्षेत्री । उहाँहरू नेपाली कांग्रेसकै साथीहरू हुनुहुन्छ तर स्वतन्त्र भएर जित्नु भएको छ । हाम्रै केन्द्रीय समितिमा हुनुहुन्छ, अतहर कमाल मुसलमान कपिलवस्तुबाट पहिला स्वतन्त्र जित्नु भएको । पछि हामीले नेपाली कांग्रेसमा ल्यायौं र सम्मानपूर्वक केन्द्रीय सदस्य बनाएका थियौं । त्यसकारण लोकतान्त्रिक जीवन र दलीय प्रणालीका लागि यस्ता कुरामा कांग्रेस उदार हुनुपर्छ । अर्को पार्टीबाट जितेकोलाई त आगामी निर्वाचनमा जित्नका लागि नेपाली कांग्रेसमा आउन आह्वान गर्छौं भने स्वतन्त्र भएर जितेका त पार्टीकै साथीहरू छन् तिनलाई पनि कांग्रेसको पूर्ववत अवस्थामा राख्ने नीति अबलम्बन गर्नैपर्दछ ।

थप के कुरा भन्न चाहन्छु भने पहिलो पार्टी बन्यो भनेर यो प्रतिवेदनमा आएको छ । यो तथ्य प्रमाण नै हो । यो हाम्रो उपलब्धि हो । सभापतिजीले पहिलो पार्टी बनाउँछु भन्नुभएको थियो, पहिलो पार्टी बनेको छ तर अब आगामी चुनावमा पहिलो पार्टी बनाउने उद्देश्यमा मात्र सीमित नहोऔं ।

यसका अलाबा जारी केन्द्रीय कार्य समितिको बैठकमा जति पनि प्रस्ताव र प्रतिवेदनहरू आएका छन् त्यसको म समर्थन गर्दछु । पछि केन्द्रीय कार्य समितिको बैठकको अन्त्यमा यसलाई जुन रूपमा पारित गरिन्छ त्यसमा मेरो समर्थन रहने छ भनेर प्रारम्भमै भन्न चाहन्छु ।

नेपाली कांग्रेसभन्दा बाहिरका र राजनीतिक क्षेत्रमा प्रत्यक्ष नलागेका लोकतन्त्रबादीहरू पनि ‘स्वतन्त्र रूपमा लड्दा त राम्रो पो हुँदो रहेछ’ भनेर हौसिने अवस्था भयो भने त्यो पनि दलीय प्रणाली र लोकतान्त्रिक प्रणालीका लागि राम्रो हुँदैन । त्यसकारण यी दुबै कुरालाई आगामी निर्वाचनमा टिकट वितरणको सम्बन्धमा विचार गर्नु पर्दछ ।

सरकारको स्थायित्वका लागि वर्तमान गठबन्धन निरन्तर चाहिन्छ नै तर आगामी निर्वाचनमा पनि यी दलहरूमा राम्ररी तालमेल होस् भन्ने म चाहन्छु । चुनाव जित्नका लागि तालमेल आवश्यक छ । आगामी चुुनावमा कांग्रेसलाई पहिलो मात्र होइन बहुमत ल्याउने पार्टी बनाऔं भन्ने उद्देश्य निर्धारण गरौं । त्यसका लागि कसरी चुनाबी तालमेल गर्नुपर्दछ त्यो किसिमले चुनावी तालमेल गरौं । अर्को कुरा टिकट वितरण यस्तो नहोस् कि स्थानीय चुनावमा जस्तो नेपाली कांग्रेसकै साथीहरू स्वतन्त्र रूपमा लड्न बाध्य होउन् । अथवा नेपाली कांग्रेसभन्दा बाहिरका र राजनीतिक क्षेत्रमा प्रत्यक्ष नलागेका लोकतन्त्रबादीहरू पनि ‘स्वतन्त्र रूपमा लड्दा त राम्रो पो हुँदो रहेछ’ भनेर हौसिने अवस्था भयो भने त्यो पनि दलीय प्रणाली र लोकतान्त्रिक प्रणालीका लागि राम्रो हुँदैन । त्यसकारण यी दुबै कुरालाई आगामी निर्वाचनमा टिकट वितरणको सम्बन्धमा विचार गर्नु पर्दछ ।

अब आगामी चुनावका लागि अरु दलसँग त तालमेल गर्ने गर्ने, नेपाली कांग्रेसभित्र पनि गर्नुपर्दछ । सभापतिजी, १४ औं महाधिवेशनमा तपाइँको खिलापमा म पनि सभापति पदमा उम्मेदवार भएको थिएँ । शेखरजी र प्रकाशमानजी पनि लड्नु भयो । रामचन्द्रजी, कृष्ण सिटौलाजी र शशांकजी लड्नु भएन । अब नेपाली कांग्रेसको आन्तरिक जीवनमा पावर सेन्टरहरू र सेटलाइट सेन्टरहरू छैनन् भनेर सोच्नु गलत हुन्छ । आँखा चिम्लेर त्यो हुँदै होइन भनेर रेगिस्तानको सुतुर्मुर्गको नीति अबलम्बन गरेर हुँदैन, सकिँदैन । यो वास्तविकतालाई स्वीकार्नु पर्दछ । आपसी तालमेलको रणनीति बनाउन सक्नु पर्दछ । गठबन्धनका दलमा तालमेल मात्र होइन, पार्टीभित्रको शक्ति केन्द्रहरूलाई पनि आपसमा कसरी मेलमिलाप गर्ने, कसरी एकताबद्ध गर्ने, पूर्ण रूपमा सकिएन भने अधिकतम कसरी गर्ने भनेर प्रयास गरिरहनुपर्छ । यसो गर्ने जिम्मेवारी तपाइँकै हो ।

तपाइँ १४ औं महाधिवेशनबाट निर्वाचित हुनु भएको छ । म तपाईको काममा सहयोग नै गर्छु । सबै केन्द्रीय समितिका सदस्यहरू, सबै शक्तिकेन्द्रहरू, सबै नेता उपनेताहरूलाई आपसी आन्तरिक जीवनमा पनि कसरी हामीले एकताबद्ध भएर अघि बढ्ने भन्नेतिर गम्भीर हुन म अग्रह गर्दछु । एकताबद्ध हुनुको अर्थ एउटै गीत गाउनु पर्छ भन्ने छैन । फरक गीत गाउँदैमा चिन्ता गर्नुपर्ने पनि छैन । फरक बोली, फरक टिप्पणी घरमा त हुन्छ भने लोकतान्त्रिक दलमा नहुने भन्ने कुरा छैन । यसलाई असहिष्णु भएर समस्याका रूपमा सोच्नु भएन ।

कांग्रेसको १४ औं महाधिवशेनका बेला हामीले नीति अधिवेशन गर्छौं भनेका थियौं । त्यसकारण नीति अधिवेशन धेरै टीका टिप्पणीको विषय भएको छ । नीति अधिवेशन गर्न ढिला भैसक्यो– समयमै गर्नुपर्छ ।

अहिले नेपालको अर्थतन्त्र, नेपालको राजनीति, भूराजनीतिक अवस्था र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमहरू जसरी विकसित हुँदैछन् त्यसबारे नेपाली कांग्रेस एउटा जिम्मेवार पार्टी भएकाले गम्भीर हुनुपर्दछ । नेपालको अगुवाई गर्ने पार्टी भएकाले कांग्रेसले नेपालको अर्थतन्त्रको बारेमा अति सूक्ष्म विश्लेषण गर्नु आवश्यक छ । रुस र युक्रेन युद्ध, श्रीलंकाको संकटपूर्ण अवस्था, पाकिस्तान र बंगलादेशको आर्थिक अवस्था र हाम्रो आफ्नै देशको अर्थमन्त्रालयको घटनाक्रम होस् या राष्ट्र बैंक होस् या राजस्व अनुसन्धान वा अन्तर्राष्ट्रिय व्यापार घाटाको अवस्था होस् यसबारे कांग्रेसमा बहस होस् । अर्थतन्त्रको संकटका बारेमा कांग्रेसले समग्रमा समीक्षा गर्नु आवश्यक छ । एउटा कार्यदल बनाएर अध्ययन गरी ठोस रणनीति तय गर्न पनि म आग्रह गर्दछु ।

अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि पार्टीमा घनिभूत तवरले छलफल गर्नु आवश्यक भैसकेको छ । भारतसँग हाम्रो देशको विशेष सम्बन्ध छ । चीनसँग हाम्रो मैत्रीपूर्ण सम्बन्ध छ । अमेरिका, जापान र युरोपसँगको सम्बन्ध पनि महत्त्वपूर्ण छ । संयुक्त राष्ट्रसंघप्रतिको प्रतिबद्धता अनि युक्रेनमा भएको हस्तक्षेप र म्यानमारको लोकतान्त्रिक संघर्षको कुरा पनि छ । यस्तै सार्कलाई हामीले बिर्सन थालेका छौं । यस्ता विषयबारे कांग्रेसले कस्तो नीति अपनाउने हो नयाँ ढंगले सोच्ने बेला भैसकेको छ । त्यसका लागि एउटा विज्ञ कार्यदल बनाएर तत्काल अघि बढ्नु पर्दछ ।

हामीले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणाली राम्रो प्रणाली हो । प्रजातान्त्रिक प्रणाली हो तर यसका बारेमा हाम्रै पार्टीको केन्द्रीय समितिमा टिकाटिप्पणी सुरु भएका छन् । यो बहस लोकतन्त्रका लागि, नेपाली कांग्रेसका लागि, र राजनीतिक स्थायित्वका लागि कति स्वस्थ छ ? यसले कस्तो वातावरण तयार गर्ला ?

यसबारे उठेका प्रश्नहरूकोे नेपाली कांग्रेसले नै सम्बोधन गर्नुपर्दछ । संघीयता, संसदीय लोकतन्त्र र मानव अधिकारका बारेमा अरु पार्टीहरूले जनतालाई प्रशिक्षित गर्दैनन् । त्यो काम नेपाली कांग्रेसकै काँधमा छ । त्यसकारण यसका लागि पनि कांग्रेस जिम्मेवार पार्टी रूपमा अगाडि बढ्नु पर्दछ ।

वर्तमान संविधानका धेरै धाराहरू कार्यान्वयन भएका छैनन् । संविधानको धाराले अँगालेको, अन्तर्निहित गरेको अनुसूचीमा भएका प्रदेश र स्थानीय तहको अधिकार अझै उसै छन् । त्यस अनुकूलका धेरै कानुन बनाउन बाँकी छन् । त्यतिमात्र होइन, केही कानुनहरू बनेको छ तर ती संविधान र संघीयताको मर्म विपरीत छन् भनेर बहस चलिरहेको छ । यस्ता बहसमा नेपाली कांग्रेसले अगुवाई गर्नुपर्दछ ।

अन्त्यमा, म जेलमा हुँदा जिमी कार्टरले लोकतन्त्र कुनै पनि देशको आन्तरिक मामला हुन सक्दैन भनेको कुरा सुन्दा मैले ताली बजाएको थिएँ । मलाई याद छ, त्यतिबेला वीपी लगायतका धेरै नेता प्रवासमा हुनुहुन्थ्यो । कुनै पनि देशमा प्रजातन्त्र पुनस्र्थापनका लागि आन्दोलन हुन्छ भने अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले साथ दिन्छन् भनेर हामीले खुसी व्यक्त गरेका थियौं । त्यो किनभने प्रजातन्त्र एउटा सर्वमान्य सिद्धान्त हो । म यसकारण यो कुरा गर्न चाहन्छु कि सिद्धान्त न आन्तरिक राजनीति हुन सक्छ, न अन्तर्राष्ट्रिय राजनीति । सिद्धान्त सिद्धान्त नै हो र यो जतिखेर पनि चाहिन्छ । चाहे विकासका लागि होस् वा राज्यको स्थायित्वका लागि । कसैले होइन, यो सिद्धान्तको राजनीति गर्ने बेला होइन, छैन र अब अहिले त्यो घडी सकियो भन्छ भने दलीय राजनीतिको सन्दर्भमा प्रश्न चिह्न लाग्छ । त्यसकारण म के भन्न चाहन्छु भने सिद्धान्त र व्यवहारिक राजनीति दुबैलाई सँगसँगै लिएर जानु पर्दछ । यी दुबैलाईसँगै लिएर जाने काम नेपालको राजनीतिक परिवेशमा नेपाली कांग्रेसकै हो । किनभने नेपालमा कांग्रेस नै एक मात्र प्रजातान्त्रिक पार्टी हो जसले सिद्धान्तको राजनीति गर्ने बेला होइन यो भनेर भन्नु हुँदैन । यस्ता कुराहरूमा कांग्रेस गम्भीर हुनु पर्दछ । सिद्धान्तमा स्पष्ट नभई कांग्रेस गन्तव्यमा पुग्न सक्दैन । त्यसकारण पनि नीति अधिवेशन तत्काल आवश्यक छ ।

कांग्रेस पार्टीलाई सांगठनिक रूपमा सक्रिय र चुस्त पार्न यसका नेताहरूको काम र जिम्मेवारी तोक्नुपर्ने, विभिन्न विभाग र समितिहरू गठन गर्नुपर्ने तथा भातृ तथा शुभेच्छुक संस्थाहरूको अधिवेशन, गठन र पुनर्गठन गर्नुपर्नेछ । यो काम गर्न ढिलो नगरौं । छिटै गरौं । पार्टीका सांगठनिक संरचनाहरूलाई पूर्णता दिएर त्यसलाई क्रियाशील बनाऔं र ती सबैलाई आगामी निर्वाचनतर्फ केन्द्रित गरेर परिचालन गर्ने हो भने आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो मात्र होइन बहुमतको पार्टी बन्छ ।

यतिबेला नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार कसरी बनाउने र देशलाई संघीय लोकतन्त्रको राजनीतिक स्थायित्व दिएर आर्थिक विकासको मार्गमा सफलता पूर्वक कसरी अगाडि बढाउने त्यसका लागि नै हाम्रो सम्पूर्ण नीति, रणनीति, कार्यनीति र कार्यदिशा निर्धारण हुनुपर्दछ । यसको पहिलो शर्त हाम्रो एकता र सम्पूर्ण शक्तिको परिचालन हो, त्यसमा मेरो सहयोग सभापतिलाई रहन्छ ।

(कांग्रेस केन्द्रीय समितिको (२०७९ साउन ३० बिहीबार) को बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य निधिद्वारा व्यक्त विचारमा आधारित)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया