शुक्रबार, वैशाख १४, २०८१

भूमि सम्बन्धि समस्या देखाएर राज्य दोहोन गर्ने प्रवृति

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन २ गते १७:०२

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिने बताएकी छन् । धनकुटा जिल्ला अन्तरर्गत साँगुरीगढि गाउँपालीका–५ (साविक डाँडाबजार गाविस वडा नम्बर ३ र ४) का २८ घरपरिवारलाई लालपुजा वितरण गर्ने कार्यक्रमका बोल्दै उनले अब भूमिसम्बन्धि समस्या छन् भन्ने दिनको अन्य गरिने बताइन् ।

वषौंदेखि भूमि सम्बन्धि समस्या देखाएर विभिन्न आयोग र संयन्त्र बनाएर राज्य दोहोन गर्ने स्थिति रहेको भन्दै उक्त प्रवृतिको छिट्टै अन्य गरिने उनको भनाइ थियो ।कार्यक्रममा उनले सिन्धुली जिल्लाको दुधौली नगरपालीकाका भूमिहिन दलितहरुलाई पहिलो पटक पुर्जा वितरण गरेर भूमि आयोगको कार्य शुरु गरेको स्मरण गरिन् ।

गैर सुकुम्बासीलाई भुमि उपलब्ध नगराउने तर्फ सरकार सचेत रहेको बताउँदै उनले आयोगका पदाधिकारीहरुलाई कुनै प्रभाव र दबाब बिना काम गर्न निर्देशन दिइन् । कोहि कसैले गैर सुकुम्वासीलाई पुर्जा दिने र लिने सोचेको भए त्यस्तो सपना सम्भव नहुने बताइन् ।

मन्त्री श्रेष्ठले २०२१ सालमा भूमी सुधार कार्यक्रम अन्तर्गत जग्गाको हदबन्दी लागु भएपछि जग्गा नापजाँचको थालनी भएको बताउँदै उनले भनिन्, “ २०२१ सालमा भूमी सुधार कार्यक्रम अन्तर्गत जग्गाको हदबन्दी लागु भएपछि त्यसबेलाको सिमित स्रोत, साधन र जनशक्तिका कारण सबै ठाउँमा जग्गा नापजाँच गर्ने स्थिति बनेन र त्यसलाई साना साना कित्ताहरुलाई एकै ठाउँमा राखेर ब्लकको रुपमा छुट्टयाइएको थियो । पछि जग्गा नाप्ने क्रममा धनकुटामा २०२९ साल माघ १५ गतेबाट शुरु भयो ।”

धनकुटामा जग्गाको एकसरो नापी २०३२ सालमा छुट्टयाइएको बताइन् । धनकुटामा २०७७ साल देखि पुःन नापजाँच गरेर आफ्नो कार्यकालमा जग्गा नापीको सम्पूर्ण कार्य सकिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले जग्गाको नापजाँच कार्य लक्ष्य निर्धारण गरेर हुने गरेको भएतापनि पूर्जा वितरण गर्ने कार्य प्राथमिकतामा पर्नेगरेको थिएन । त्यसमा चलखेलको गुनासो समेत आउने गरेको उनले बताइन् । त्यस्ता गुनासा सत्य नहुन भन्दै भूमिको नापी र लालपूर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेर आफूले काम गरेको उनको भनाई थियो । आफू मन्त्री भएपछि तल्लो तहका जनतालाई आफ्नो जग्गाको मालिक आफू नै बनाउन लागिपरेको बताइन् ।

उनले गाउँब्लकको समस्या पहिलो प्राथिमकतामा राखेर त्यस्ता समस्या निराकरण गर्न दिन रात र बिदा समेत नभनेर लागिपरेको बताइन् । आफु मन्त्री भएको एकमहिना नबित्दै लालपुर्जा वितरण गरेको स्मरण गर्दै उनले भनिन् , “म मन्त्री भएपछि करिब ४९ हजार लालपुर्जा वितरण भएको छ । गाउँब्लकको सम्पूर्ण नापी सकेर यही वर्षभित्र पुर्जा वितरण सक्ने कार्यमा लागेका छौं । यो कार्य मन्त्रालयका कर्मचारीले गर्नुभएको मेहनतले सम्भव भएको हो।”

त्यसक्रममा नापी विभागका कर्मचारीले शनिबार समेत नभनेर काम गरेर भूमि व्यवस्था मन्त्रायलमा सकारात्मक रिजल्ट निकालेको भन्दै प्रशंसा समेत गरिन् । उनले बजेटको अभावकाबीच अनिवार्य रुपमा यस किसिमको समस्या समाधान गर्न लागिपरेको बताइन् । आफ्नो शब्दकोषमा असम्भव भन्ने शब्द नरहेको भन्दै राम्रो काम गर्न स्वच्छ र दृढ इक्षाशक्ति र मन भए असम्भव नहुने बताइन् । उनले भूमिहिन दलितहरुको समस्या पनि छिट्टै निराकरण गरिने जानकारी दिइन् ।

राम्रो काम गर्नेलाई घेराबन्दि गर्ने प्रवृतीले देश बन्दैन

मन्त्री श्रेष्ठले आफु राष्ट्रहित र जनहितलाई प्रमुख ठानेर लागेको व्यक्ति भएको बताइन् । शनिबार धनकुटा जिल्लाको साँगुरीगढि गाउँपालीकामा दशकौं देखि कानुनी रुपले जमिनको मालिक बन्न बन्चित नागरिकहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यक्रममा जाँदा गरिएको अवरोधप्रति खेद व्यक्त गरिन् ।

उनले केहि मान्छेले डुल्न हिडेको भनेर कुप्रचार गर्दै गाडि रोकेर अवरोध गरेको प्रति लक्षित गर्दै भनिन्, “बिदाको दिन नभनी दिनरात मेहनत गरेर जनताको लागि सर्मपित भएर लागिपर्नेहरुई गलत प्रचार गरेर हतोत्साहित गर्ने संस्कृति र कुप्रचारमा रमाउने प्रवृतीले देश बन्दैन । झन राज्य असफल पार्ने प्रवृती हावी हुन्छ । त्यसमा सबै नागरिक सचेत बन्नुपर्छ ।”

आफू राज्यको स्रोत र साधन जोगाउने अभियानमा लागेको र यसमा सबै लाग्नुपर्ने बताउँदै उनले परिषदको बैठकमा इन्धन बचाउने पस्ताव आफूले राखेको बताईन् । आफूले एउटै रुट पर्ने कर्मचारीहरुले साधन सेयर गर्नुपर्ने, शनिबार सरकारी सम्पतीमा दुरुपयोग गरेर घुमफिर गर्ने कुरा रोक्ने लगायतका विषय मन्त्री परिषदको बैठकमा राखेको समेत बताइन् ।

संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्र अनुरुप आफ्नो काम सहि ढङ्गले अघि बढाउनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले संघियता सहि ढङ्गले कार्यान्वयन हुन नसकेको बताइन् । नेपालको संघियता संघियताको अन्तराष्ट्रिय अभ्यास अनुरुप नभएको भएपनि यसलाई अधिक्तम रुपमा कार्यान्वयनमा लैजान सबैले ध्यान दिनुपर्ने उनको भनाई छ ।

धनुकटा जिल्लामा गाउँ ब्लक क्षेत्रको विवरण

वि.सं.२०२९–१०–१५ सालबाट एकसरो नापी शुरु भई २०३२–१२–१५ सालमा सम्पन्न भएको थियो । एकसरो नापीको समयमा घनाबस्ती भएको र ससाना कित्ता जग्गाहरु भएको स्थानको जग्गाहरुलाई घेरी एउटै कित्ता नं दिई फिल्डवुकमा ब्लक लेखि छोडिएको गाउँ व्लकको नापनक्शा कार्यलाई २०७७ सालमा नापनक्शा शुरु गरिएको थियो। यस जिल्ला अन्तर्गत साविक डाँडाबजार गा.वि.स. वडा नं ३ र ९ हाल साँगुरीगढी गाउँपालिका वडा नं ५ को २८ जग्गधानी प्रमाणपूर्जा तयार त्यस्तै चैबिसे गाउँपालिका जम्मा ५५ जग्गाधनी प्रमाणपूर्जा तयार गरी करिब २ हेक्टर क्षेत्रफल रहेको गाउँब्लक क्षेत्रको नापनक्शा कार्य सम्पन्न भएको छ । जग्गा धनि दर्ता प्रमाणपूर्जा वितरण गर्न बाँकी रहेको जग्गाहरुको छिट्टै सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् ।

तपाइँको प्रतिक्रिया