शुक्रबार, वैशाख ७, २०८१

पश्चिमी युरोपमा अत्यधिक गर्मी, डरलाग्दो डढेलोसितको लडाई जारि

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २ गते १९:१३

 

दक्षिणपश्चिम युरोपभरि घातक जंगली आगो निम्त्याउने गर्मीको लहरले यस हप्ताको सुरुमै फ्रान्स र बेलायतमा तापक्रमको रेकर्ड तोड्ने तयारी गरेको छ । अत्यधिक गर्मी बढ्नाले पश्चिमी युरोप गर्मीको “हट स्पट” भएको वैज्ञानिकहरूको चेतावनीलाई पुष्टि गरेको छ ।

फ्रान्सले सोमबार पश्चिमी यूरोपमा फैलिरहेको गर्मीको लहरको शिखर चढिरहेको छ । अत्यधिक गर्मीले गर्दा दक्षिणपश्चिमी गिरोन्डे क्षेत्र र इबेरियन प्रायद्वीपमा विनाशकारी डढेलो अझै निभाउन सकिएको छैन ।

यसै बीच बेलायतमा पहिलो पटक तापमान ४० डिग्री सेल्सियस मा पुग्ने पूर्वानुमान गरिएको छ । “जीवनको लागि जोखिम” भन्दै मौसम सेवा विभागले चेतावनी दिएको छ ‘ सोमबार बेलायतमा सबैभन्दा तातो दिन हुने छ ।’

मौसमविद्हरूले भनेका छन् -चरम गर्मीको पछिल्लो रेकर्डले सन् २००३ को सहनै नसकिने गर्मीको रेकर्डलाई तोड्न सक्छ । त्यो बेलाको गर्मी फ्रान्समा मात्र १५,००० गरि कूल ७०,००० जनाको मृत्युको लागि दोषी ठहराइएको थियो । त्यसलाई कीर्तिमान तातो लहर समेत भन्ने गरिएको छ । र यो वर्षको गर्मी त्यो वर्षकोसित मेल खाने वा अझ बढी हुनसक्ने चेतावनी दिईएको छ ।

अहिले आएको गर्मीको लहर यो वर्षकै दोस्रो हो । यहि वर्षको जुन महिनामापनि असाधारण गर्मी बढेर दक्षिण युरोपलाई बेस्सरि उमालेको थियो । त्यसले ईटालीमा ७० वर्ष यताकै सबैभन्दा ठूलो खडेरि निम्त्यायो ।

नेचर नामक वैज्ञानिक जर्नलमा प्रकाशित हालैको अध्ययनअनुसार पश्चिमी युरोपमा विश्वका अन्य भागहरूको तुलनामा चरम मौसमका यस्ता घटनाहरू असमान दरमा बढ्दै गएका छन्।

विगत चार दशकहरूमा तीव्र गर्मीको लामो समयसम्म फ्रिक्वेन्सी र तीव्रता दुवैमा वृद्धि भएको अध्ययनले पत्ता लगाएको छ जसले पश्चिमी युरोपलाई वैज्ञानिकहरूले गर्मीको लहरलाई “हट स्पट” भनेर वर्णन गरेका छन् ।

त्यस्ता परिवर्तनहरू अमेरिकाको क्यालिफोर्निया सहित उत्तरी गोलार्धमा अन्य ठाउँहरू भन्दा तीन देखि चार गुणा छिटो भइरहेको छ । अमेरिकाको कालिफोर्निया गर्मीकोको “हट स्पट” बनेको छ । त्यहाँ र उत्तरी गोलार्धमा कडा गर्मी, खडेरी र बारम्बार डढेलोको पुनराब्रित्ति भैरहेको छ ।

चर्को तातो र आगोको ज्वाला

पश्चिमी युरोपको पछिल्लो गर्मीको लहर पोर्चुगल र स्पेनलाई धक्का दिएपछि सोमबार उत्तरपूर्वी क्षेत्रतिर सरेको छ, जहाँ गत हप्ता असाधारण तापक्रम रेकर्ड गरिएको थियो ।

उत्तरी पोर्चुगलको पिन्हाओ सहरले बिहीबार ४७ डिग्री सेल्सियसको तापक्रम रिपोर्ट गरेको छ जुन जुलाई महिनाको रेकर्ड हो । राजधानी लिस्बनमा तापमान ४१ डिग्री सेल्सियस नाघेको छ ।

केही दिनदेखि सुक्खा ग्रामीण इलाकामा फैलिएको डढेलोले दुई जनाको ज्यान लियो । र १३,५०० हेक्टर जङ्गल नष्ट गरेपछि सोमबार देशका अधिकांश भागमा डढेलोको उच्च सतर्कता बढाइएको छ ।

दक्षिणपश्चिम युरोपको जंगलमा लागेको डढेलो झन बढ्यो

छिमेकी स्पेनमा अग्नी नियन्त्रकहरूले आइतवार अन्डालुसियाको दक्षिणी क्षेत्रको २,००० हेक्टर जङ्गल र झाडीहरू नष्ट गर्ने जङ्गलमा लागेको आगोलाई नियन्त्रण गर्न सफल भए । तर उत्तरपश्चिमी प्रान्त जामोरामा अर्को डढेलोसँग लड्दै गर्दा एक अग्नी नियन्त्रकको मृत्यु भयो ।

सामोस टापुमा आगो निभाउने क्रममा हेलिकप्टर समुद्रमा दुर्घटनाग्रस्त हुँदा गत हप्ता पनि ग्रीसमा दुई अग्निनियन्त्रकको मृत्यु भएको थियो ।

फ्रान्सको गिरोन्डेमा, तातो हावाले फैलाएको डढेलोले पहिले नै १३,००० हेक्टर भन्दा बढी वन नष्ट गरिसकेको छ र १६,००० छुट्टी मनाउन गएका ब्यक्तिहरूलाई सुरक्षित स्थलतर्फ सार्न बाध्य पारेको छ ।

अधिकारीहरूले सोमबार थप पानीको बम हान्ने विमान (वाटर बम्बिङ प्लेन) र १,५०० अग्नि नियन्त्रहरुमा २०० अग्नि नियन्त्रक थपे जसले डढेलो नियन्त्रण गर्न रात दिन संघर्ष गरिरहेका छन्।

“केही दक्षिणपश्चिमी क्षेत्रहरूमा यो गर्मीले सर्वनाश पार्ने छ” मौसमविद फ्रंस्वा गुरान्डले एएफपीलाई भने ।

अहिलेको तातो लहरले सन् २००३ को दर्दनाक “क्यानिक्युल” (हिटवेभ) को सम्झनाहरूलाई पुनर्जीवित गरिदिएको छ । त्यो बेला फ्रान्सेली जंगलको ६१,५०० हेक्टर भन्दा बढी धुवाँ र आगोले ध्वस्त पारेको थियो भने पोर्चुगलको ४० प्रतिशत जंगली रुखविरुवा भएको क्षेत्र (वुडल्याण्ड्स) लाई भस्म पारेको थियो।

‘मानवीय प्रभाव’

हालको गर्मीको लहरले १९ वर्ष पहिले भोगिएको तापक्रम रेकर्डलाई चकनाचूर गर्ने देखिन्छ । बेलायतमा समेत मौसम विभागले असाधारण गर्मीको लागि आफ्नो पहिलो “रेड अलर्ट” जारी गरेको छ ।

“हामीले आशा गरेका थियौं कि हामी यस अवस्थामा पुग्नै सक्दैनौं । तर पहिलो पटक हामीले बेलायतमा ४० डिग्री सेल्सियस भन्दा बढीको पूर्वानुमान गर्दैछौं” मौसम विभागका वैज्ञानिक निकोस क्रिस्टिडिसले भने । उनले अहिलेको उच्च तापले स्वस्थ मानिसहरूलाई पनि जोखिममा पार्ने चेतावनी दिए ।

“भर्खरैको एक अध्ययनमा हामीले फेला पारेका छौं कि बेलायतमा अत्यधिक तातो दिनको सम्भावना बढ्दै गएको छ र यो शताब्दी भरि त्यहि भैरहने छ” मानव-प्रेरित जलवायु परिवर्तन र आगामी वर्षहरूमा तातो लहरहरू हुने सम्भावनाबीचको प्रत्यक्ष सम्बन्धलाई औंल्याउँदै क्रिस्टिडिसले एसोसिएटेड प्रेसलाई भने ।

४० डिग्री सेल्सियससम्म पुग्ने जोखिम “मानव प्रभावबाट प्रभावित नहुने प्राकृतिक वातावरणको तुलनामा हालको मौसममा दस गुणा बढी हुनसक्छ” उनले थपे ।

‘जलवायु परिवर्तनको संकेत’: बेलायत, फ्रान्स सर्वाधिक तातो दिनकालागि तयार

चर्को गर्मी पहिले अपवाद बन्थ्यो, अब सामान्य बन्न थालेको छ । वैज्ञानिकहरूले चेतावनी दिएका छन् ‘हाम्रो जीवनशैली र अर्थतन्त्रलाई बदलिएको मौसमको ढाँचामा अनुकूलन गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिनुपर्छ ।’

गत महिना, फ्रान्सको सरकारले देशका शहरहरूलाई पुनः हरित बनाउन र विश्वबयपी तापक्रमको प्रभावलाई कम गर्न मद्दत गर्ने उद्देश्यले ५० करोड युरो कोषको सुरुवात गरेको घोषणा गर्‍यो ।

अग्नि नियन्त्रक संयन्त्रलाई बलियो बनाउनु त्यसको अर्को प्राथमिकता हो । फ्रान्सको फायर सर्भिसका प्रमुख ग्रेगोरी एलियोनले ति एकाइहरू पहिले नै पातलो भएर फैलिएको बताएका छन् । “अबको योजनाले एकै समयमा धेरै ठूला आगोको प्रकोपको घटनामा प्रभावकारि हस्तक्षेप गराउनु हो ।”

जलवायु परिवर्तनका कारण उत्पन्न विभिन्न चुनौतीहरूको सामना गर्न फ्रान्सले प्रति वर्ष कम्तिमा दुई अर्ब ३० करोड युरो लगानी गर्नुपर्ने पेरिसमा रहेको इन्स्टिच्युट फर क्लाइमेट इकोनोमिक्स (इ४के) ले जुनमा एउटा प्रतिवेदनमा उल्लेख गरेको छ । यो देश बारम्बार आउने तातो लहर, आगलागी र बाढीको सामना गर्न असक्षम रहेको उक्त संस्थाले उल्लेख गरेको छ ।

विश्वको सबैभन्दा तातो शहर

 

Photo Source-UNHCR

पाकिस्तान र यसका २२ करोड बासिन्दाहरू जलवायु आपतकालको अग्रपंक्तिमा छन् । यिनलाई आगोकै ज्वाला जस्तो गर्मीको लहरहरूले पिरोलेको छ। यो देशको जाकोबाबाद शहर संसारको सबैभन्दा तातो सहरहरू मध्ये एक हो ।

पाकिस्तानी सहरमा केही वर्षयता उच्च तापक्रम रेकर्ड गरिएको छ। तर यस वर्ष मे महिनाको पछिल्लो गर्मीको लहरका क्रममा यो शहरमा ५१ डिग्री सेल्सियससम्म पुग्यो जुन अहिलेसम्मकै उच्च रेकर्ड हो । चरम गरिबीमा बाँचिरहेका स्थानीय बासिन्दाले चर्को गर्मीको सामना गर्नुपर्‍यो ।

तपाइँको प्रतिक्रिया

फेसबुक