मंगलबार, वैशाख ११, २०८१

युरोपेली आयोगद्वारा युक्रेनलाई ५० करोड युरो थप सहयोग, रुसी सुनमाथि प्रतिबन्ध लगाइने !

नेपालप्लस संवाददाता / बेल्जियम२०७९ साउन ३ गते १:३१

युक्रेनमाथि रुसको हमलालाई मथ्थर पार्ने प्रयासस्वरुप युरोपेली युनियन (ईयू) का विदेश मामिला मन्त्रीहरूले युक्रेनलाई थप ५० करोड युरो दिन सहमत भएका छन् ।

ईयुको विदेश नीति प्रमुख जोसेप बोरेलले सदस्य राष्ट्रहरूलाई मस्को विरुद्धको प्रतिबन्धहरू माफ नगर्न आग्रह गरेका छन् ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान लगायतका केही युरोपेली नेताहरूले मस्को विरुद्ध उठाएका उपायहरूले रुसलाई भन्दा ईयूलाई बढी चोट पुर्‍याएको बताएपछि उनले यस्तो भनाई सार्वजनिक गरेका हुन् ।

“म पक्का छु कि पुटिन लोकतान्त्रिक थकानमा पर्दैछन्, म पक्का छु। कुनै पनि युरोपेली समाजले थकान सहन सक्दैन” बोरेलले सोमबार ब्रसेल्समा पत्रकारहरूलाई भने ।

“युरोपेली समाज र युरोपेली संघका सदस्य राष्ट्रको सरकारहरूले उनीहरू आफूले लिएका निर्णयहरूको पछाडि उभिन जारी राख्नुपर्छ” उनले थपे “उनीहरूले रूसी अर्थतन्त्रमा प्रतिबन्धित उपायहरू लिने निर्णयहरू गरे र उनीहरू यसमा अडिग रहनुपर्छ ।”

युरोपको ऊर्जा सङ्कट जारी रहँदा र मूल्यहरूले आकाश छुँदै जाँदा केही सरकारहरू युक्रेनलाई मद्दत गर्न थप पैसा खर्च गर्न हिचकिचाईरहेका छन् ।

तर युक्रेनका लागि ईयूका राजदूत, माट्टी मासिकासले युद्धले देशको अर्थतन्त्रलाई कमजोर पार्दै गएकाले पहिलेभन्दा अहिले पैसाको आवश्यकता रहेको बताए ।

“युक्रेनले आफ्नो मासिक बजेट अन्तर पाँच अर्ब युरोमा उल्लेख गरेको छ । विभिन्न स्रोतहरूबाट आउने अन्तर्राष्ट्रिय वित्तीय सहायताले त्यो अन्तरलाई पूरा गर्न अझै पर्याप्त छैन” मासिकासले भने।

“र नौ अर्ब युरो म्याक्रो-वित्तीय सहायता पाउनकालागि ईयु सदस्य राष्ट्रहरू बीचको छलफल अझ छिटो अगाडि बढ्नेछ भन्ने म केवल मेरो आशा व्यक्त गर्न सक्छु” उनले थपे ।

ब्रसेल्सले पहिले नै युक्रेनलाई नौ अर्ब युरो सहयोग गर्ने निर्णय गरिसकेको छ । पहिलो एक अर्ब यहि महिना हस्तान्तरण गर्ने सम्भावना छ । बाँकी रकम वितरणको लागि सम्झौता हुन भने बाँकी छ ।

ईयु विदेश मामिला मन्त्रीहरूले पनि प्रतिबन्धहरूको नयाँ चरणको रूपमा रूसबाट सुनको आयातमा प्रतिबन्ध लगाउने प्रस्तावमाथि छलफल गरे । उनीहरुले पहिले स्वीकृत गरेका छ वटा प्याकेजलाई सुध्रिढ गर्ने लक्ष्य पनि राखेका छन् ।

रुसले उर्जा पछि सबैभन्दा ठूलो निर्यात सुनको गर्दै आएको छ ।

बोरेलका अनुसार ईयु रुसी मामिलामा एकजुट रहनु आवश्यक छ र मस्को विरुद्धको प्रतिबन्धले काम गर्नेछ भन्ने विश्वास गर्नु आवश्यक छ । यद्यपि यसको प्रभाव युद्धको मैदानमा तुरुन्तै देखा पर्दैन ।

“युक्रेनलाई थप हतियार चाहिन्छ” उनले भने “हामी त्यो उपलब्ध गराउने छौं। युद्ध जारी रहनेछ ।”

रुसी तेलमाथिको प्रतिबन्धहरूदेखि मौद्रिक उपायहरू सम्मका उपायहरू प्रतिउत्पादक थिए र त्यसले रूसलाई भन्दा ईयूलाई बढी हानि पुर्‍याएको छ भन्ने आलोचकहरुको भनाईमापनि बोरेलले चुनौती दिए ।

“के प्रतिबन्धहरू प्रभावकारी छन् ? भन्ने बारे ठूलो बहस छ । के प्रतिबन्धहरूले हामीलाई रुसलाई भन्दा बढी असर गरिरहेको छ ? बोरेलले भने “केही युरोपेली नेताहरूले भनेका छन् कि प्रतिबन्ध एक त्रुटि थियो, गल्ती थियो ।”

“उनीहरुको आँखा छैन ? तिनीहरूले ग्राफहरू हेर्दैनन् ? तिनीहरू तथ्याङ्कलाई विचार गर्दैनन्” उनले आर्थिक तथ्याङ्कहरूलाई औंल्याउँदै भने “रूसमा प्रभाव इयुमा भन्दा ठूलो परेको छ ।”

गत हप्ता चर्को राष्ट्रवादी धारका हंगेरीका प्रधानमन्त्री ओर्बानले दावी गरेका थिए- “ईयूले आफ्नो खुट्टोमा बन्चरो हानेको मात्रै छैन प्रतिबन्धका ६ वटा प्याकेजले आफ्नै फोक्सोमा गोलीसमेत हानेको छ ।”

ईयुले परिस्थितिहरूसँग संघर्ष गरिरहेको छ, किनभने रूस विरुद्ध लगाएका प्रतिबन्धहरूले बढ्दो मुद्रास्फीति, उर्जाको गहिरिंदो संकट र खाद्य लागतहरू महामारीको निरन्तर प्रभावको साथसाथै बढाएको छ ।

ती सबै समस्याले ईयुको आर्थिक दृष्टिकोणलाई पहिले नै कमजोर पारेको छ ।

(ब्रसेल्स न्युज र एएफपीकोसहित)

तपाइँको प्रतिक्रिया