शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए अमेरिका हप्तौं देखि दुई चिरा, केन्द्रिय समितिनै अनिर्णयको बन्दी

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन ४ गते ०:१७

अमेरिका यस्तो ठाउँ हो जहाँ नेपालमा भन्दा बढी राजनिति हुन्छ, नेपाली समुदायमा । त्यहाँ पहिले देखिनै गैर आवासीय नेपाली संघ (एनआरएनए) मा दुई वटा समुह थिए । एक से एक नेता छन् । कसैले कसैलाइ टेर्दैन । सबैले आफूलाई महान नेता ठान्छन् । तिनको एक एक समूह छ । ति आफ्ना आफ्ना पक्षको आफ्नो आफ्नो डम्फू छ । लय र स्वर हेर्दैनन् तिनले । आफ्नो समुहकालागि डम्फू बजाउँछन् । जतिनै कर्कश धुन भएपनि आफ्नो पक्षको छ भने तिनले सारा शक्ति खर्चिएर ‘आहा कति मिठो, यस्तो धुन त जिन्दगीमा सुनिएकै थिएन’ भन्दै प्रशंसा गर्छन् । आफ्नो गुटको होइन भने नारायण गोपालको स्वरलाईपनि कागको कर्कश आवाजसित तुलना गरिदिन्छन् ।

पहिले अर्थात् दशौं महाधिवेशनको आसपासमा कुल आचार्यले बुद्धि सागर सुवेदीहरुलाई बोकेर हिंडे । अध्यक्ष बनाउने बेलापनि सबै सहयोग गरे । केन्द्रकालागि अध्यक्ष बन्न लागेका र एउटा शक्तिको खम्बा बनेकाले कुल आचार्यले साथ दिएपछि जेपनि गर्न सकिन्छ । हामीलाई अरु आइसिसी वा केन्द्रका कुनैपनि पदाधिकारी वा केन्द्रिय समितिले केनै गर्न सक्छ र भन्ने अहमता बढेर आयो, सुवेदीमा ।

त्यहि हठ र दम्भका कारण केन्द्रिय समितिलाई सदस्यता बापतको रकम पठाउन पटक पटक पत्राचार गर्दापनि एनआरएनए अमेरिकाले पठाएन । त्यसपछि एनआरएनए केन्द्रिय समितिको ८२ औं बैठकमा एउटा निर्णय गरियो- केन्द्रलाई सदस्यता बापत तिर्नुपर्ने रकम नतिर्ने वा केन्द्रको निति नियम, निर्देशन, बिधान केहिपनि पालना नगर्ने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) हरुलाई कारवाहि गर्ने । केन्द्रिय आबद्दताबाट हटाएर अर्को एनसिसी गठन गर्ने ।

अप्रिल २३ मा बसेको एनआरएनए अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरु (आइसीसीको ओवी) बैठकले पन्जिकृत सदस्यहरूको शुल्क बुझाउन बाँकी रहेका एनआरएनए एनसीसीहरुले अप्रिल ३० तारिक अगाडि शुल्क बुझाउउनुपर्ने निर्णय गरेको थियो । उक्त मितिसम्म सदस्यताको रकम नबुझाएमा खारेज हुन्छ भन्ने किटानीकासाथ केन्द्रले पत्राचार गर्‍यो । यो निर्णय अध्यक्ष कुमार पन्तको पहलमा भएको थियो । तर तत्कालै कार्यान्वयनमा आएन । उनी आफ्नो कार्यकाल सकिएपछि संस्थामा छोडेर हिंडे ।

एनआरएनए केन्द्रिय समितिको ८२ औं बैठकको निर्णय अनुसार पैसा तिर्नुपर्ने समय सक्कियो । तैपनि एनआरएनए अमेरिकाले केन्द्रलाई तिर्नुपर्ने रकम तिरेन । त्यसपछि एनआरएनए अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक प्रकाश सापकोटाले एनआरएनए अमेरिकाले केन्द्रको ८२ औं बैठकको निर्णय अनुसार एनआरएनए अमेरिका खारेज भएको भन्दै कृष्ण लामिछानेको नेतृत्वमा नयाँ कमिटि गठन गरिदिए ।

नयाँ कमिटी गठन गर्दा एनआरएनए अमेरिकाको अध्यक्ष पदमा पराजित अर्जुन बन्जाडे, कृष्ण लामिछानेसहित महासचिव गौरिराज जोशी, वर्तमान कोषाध्यक्ष सुनील शाह सबै नयाँ कमिटि गठनकै पक्षमा थिए ।

एनआरएनए अध्यक्ष कुल आचार्य, एनआरएनए अध्यक्ष रबीना थापा, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदी र कांग्रेस नेता विश्वप्रकाश शर्मा एनआरएनए अमेरिकाको वार्षिक साधारण सभामा ।

एनआरएनए अमेरिकाका अध्यक्ष सिपी पौडेल पक्षले टेक्सासको डल्लासमा आयोजना गरेको कार्यक्रम उद्घाटन गर्दै पूर्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डे

एनआरएनए अमेरिकामा अब दुई वटा कमिटी बनेको र झन विवाद चुलिएपछि उपाध्यक्ष महेश श्रेष्ठले त्यसलाई मिलाउन पहलकदमी लिन खोजे । द्वन्दलाई कम गर्ने भन्दै श्रेष्ठको प्रवेश भयो । तर जब महेश श्रेष्ठको प्रवेश भयो उनले एनआरएनए अमेरिकालाई सदस्यता बापतको रकम पठाउन लगाए । त्यो बेला अन्तर्राष्ट्रिय कार्यकारि सचिवालयले एक हप्तामा पैसा पठाउन लगाउने भन्ने निर्णय गरेको थियो । महेश श्रेष्ठले सोहि अनुसार पहलकदमी लिए । एनआरएनए अमेरिकाले आफ्ना सदस्यहरुबापत केन्द्रलाई बुझाउनुपर्ने करिब एक लाख डलर वैशाख १६ गते शुक्रवार भुक्तानी गरिदियो ।

अन्तर्राष्ट्रिय सचिवालयले भनेको समयभित्र पैसा त पठाए । तर त्यो रकम पठाउनु भन्दा करिब एक हप्ता अघिनै एनआरएनए अमेरिका पूनर्गठन गरिसकेका थिए प्रकाश सापकोटा पक्षले ।

त्यसपछि नेपाली कांग्रेसका स्थानिय नेता हरिबोल भण्डारी लगायतका केहि मिलेर कृष्ण लामिछानेलाई संस्थापन पक्ष बुद्धि सागर सुबेदी सित सहमति गराए । मिलेर जाने भन्दै बिभिन्न बुँदामा सहमति त गरियो तर त्यो सहमति दुबै पक्षले पालना गरेनन् । आलेटाले गर्दै अल्झाएर राखियो ।

कृष्ण लामिछानेसित जे सहमति गरिएको थियो, त्यो संस्थापन पक्षले पालना गरेन । त्यसमा असन्तुस्ट पक्षलाई मिलाउने भनिएको थियो । नेतृत्वमा केहि ब्यक्तिलाई लैजाने वा थप गरिने भनिएको थियो । ति सहमति पालना नगरेपछि ‘यो सहमतिको पक्षमा म छैन’ भन्दै कृष्ण लामिछानेपनि पूर्ववत अवस्थामा फर्किए ।

तर यताको कमिटी त बनिसकेको थियो । कृष्ण लामिछानेले उता सहमति गरेपछि यता कार्य समिति बसेर सिपी पौडेललाई कार्यबाहक अध्यक्ष बनाए । यता सिपी पौडेल अध्यक्ष रहेको र उता बुद्धि सागर सुबेदी अध्यक्ष रहेको दुबै पक्षको छुट्टाछुट्टै भेला आयोजना गरियो ।

३ र ४ जुलाईमा नर्थ क्यारोलिनामा संस्थापन पक्षले वार्षिक साधारण सभा गर्‍यो । यसको उद्घाटनकलागि अध्यक्ष कुल आचार्यले कांग्रेस महासचिव विश्व प्रकाश शर्मालाई निम्त्याए । यता सोहि दिन उक्त भेलालाइ असहमति गर्दै अमेरिकाको टेक्सासस्थित डल्लासमा छुट्टै भेला आयोजना गर्‍यो, अध्यक्ष सिपी पौडेल पक्षले । यसमा पूर्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डेलाई प्रमुख अतिथि बनाइयो ।

शर्मालाई नेपालबाट निम्ता गरियो भने पाण्डे उतै अमेरिकामै भएको मौका छोपेर निम्ता गरियो । एनआरएनए दर्ता भएको मन्त्रालय र पूर्व परराष्ट्र मन्त्री भएकाले कांग्रेस नेताका रुपमा मात्रै सिमित विश्व प्रकाश शर्माको भन्दा बढी उचाई पाण्डेको उपस्थितिले बढाउने देखेर पाण्डेलाई निम्ता गर्‍यो सिपी पौडेल पक्षले ।

कार्यक्रम हलमा भब्यताकासाथ आयोजना गरियो । एनआरएनए युवा उपाध्यक्ष रोशन थापाले सिपी पौडेल पक्षलाई बधाई दिए । उता महासचिव गौरिराज जोशी र डा. केशव पौडेलले बुद्धि सागर सुबेदी पक्षलाई शुभकामना दिए ।

एनआरएनएको अन्तर्राष्ट्रिय सचिवालयका तीन फरक पात्रले फरक फरक कार्यक्रममा शुभकामना दिएको चौतर्फि फैलियो । कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा रएमालेका तर्फबाट पूर्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले एनआरएनए अमेरिकाको भेलाका नाममा दुई वटा कार्यक्रममा प्रमुख अतिथि बनेको देख्दा झनै धेरैलाई गाईजात्रा जस्तो लाग्यो । धेरैमा भ्रम स्रिजना भयो – एनआरएनए अमेरिका फुटेको हो ? भएको के हो ? किन एकै दिन दुई वटा कार्यक्रम ? किन कांग्रेस र एमालेका नेता प्रमुख अतिथि ?

पहिले सबै मिलेर एनआरएनए अमेरिका पूनर्गठन गर्ने सहमति गरे । क्षेत्रिय संयोजक प्रकाश सापकोटालाई साथ दिए । पछि आफैंले सहमति दिएको समितिलाई आलोचना र अनादार गर्न नैतिकतालेपनि दिने कुरो भएन । त्यसैले उता बुद्धि सागर सुबेदी पक्षमा लाग्नेलाईपनि बिरोध गरिहाल्न मुस्किल पर्‍यो ।

जे होस् एनआरएनए अमेरिकाका नाममा सन्चालित दुई संस्था मध्ये आधिकारिक कुन हो भन्ने पक्षमा केन्द्रनै स्पष्ठ छैन । केन्द्रले स्पष्ठ रुपमा भन्न सकेकै छैन । किनभने केन्द्रनै यसमा फसेको छ । केन्द्रिय पदाधिकारीनै औपचारिक कार्यक्रममै दुईतिर बाँडिएका थिए ।  त्यसैले तत्कालकालागि एनआरएनए अमेरिकाका नाममा दुईवटा संस्था समानान्तररुपमा चलिरहेकै छन् । समग्र संस्था अनिर्णयको बन्दि बनिरहेको छ ।

झर्ला र खाउँला भन्ने पक्षमा घले पक्ष

यहि विवाद र दुई वटा एनआरएनए अमेरिकाको हालत देखेपछि शेष घले पक्षले एउटा समितिलाई आफ्नो पक्षमा पार्न दाउ हेरेर बसिरहेको छ । बुद्धि सागर सुबेदी संस्थापन पक्ष भएको र दशौं महाधिवेशनमा आफूलाइ धोका दिएकाले बुद्धि सागर सुबेदीका पक्षमा उनीहरु उति सकारात्मक छैनन् । त्यसैले घले पक्ष सिपी पौडेल पक्षलाई आफ्नो संस्थातिर तान्न सकिन्छ कि भनेर बसेको छ । उनीहरुले पौडेल पक्षका केहि अभियन्तासित वार्तापनि जारि राखेका छन् ।

समाधान कसरि होला ?

समसस्या के भने एनआरएनएको दशौं महाधिवेशनका क्रममा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीलाई धेरैनै उचालेको वा साथ दिएकाले केन्द्रिय अध्यक्ष कुल आचार्यले खासै कुनै विषयमा दबाब दिन सक्ने अवस्था छैन । अन्य अध्यक्षले हस्तक्षेप गरिहाल्न सक्ने स्थितिपनि छैन । किनकि एनआरएनएको पहिलो छ महिनाकोलागि कार्यकारी अध्यक्ष कुल आचार्य हुन् । आचार्यको कार्यकारी हैशियतमा अरुले हस्तक्षेप गरिहाल्नपनि सक्दैनन् । उनको कार्यकाल हेरौं न त भनेर बस्न चाहनेको संख्या झन धेरै छ ।

खासमा कुनै पनि संस्था, सरकारमा संस्थापन पक्ष लचिलो हुनुपर्ने हो । वार्ता र सहमतिको प्रयास संस्थापन पक्षले बढी गर्नुपर्ने हो, बिद्रोही पक्षले होइन । तर एनआरएनए अमेरिकाको विषयमा संस्थापन पक्ष त्यो अवस्थामा देखिन्न, बरु पेलेर जाने मनशायमा देखिन्छ । किनभने संस्थापन पक्षले वार्ता र सहमतिकालागि आधिकारिक रुपमा प्रयास, प्रस्ताव हालसम्म गरेको सार्वजनिक भएको छैन ।

त्यसैले यो समस्या कसरि समाधान गर्ने त ? धेरैका आँखा उपाध्यक्ष महेश श्रेष्ठतिर सोझिएका छन् । दशौं महाधिवेशनमा सफल वार्ताकारको मुख्य भूमिका खेलेका, दुबै पक्षसित निकट र सौहार्दपूर्ण संवन्ध बनाएका भनिएका र अगामी अध्यक्षको प्रत्याशीका रुपमा दाबी गरेकाले महेश श्रेष्ठले के कसरि मिलाउँछन् भनेर धेरैले हेरिरहेका छन् ।

(यस अघि यस समाचारमा एमालेका तर्फबाट परराष्ट्र मन्त्री बनेका महेन्द्र पाण्डे हुनुपर्नेमा कांग्रेसका तर्फबाट बनेका हुनगएकोमा भुल सुधार गरिएको छ-संपादक)

तपाइँको प्रतिक्रिया