शुक्रबार, चैत १६, २०८०

फ्रान्समा ६९ प्रतिशतले मूल्य बढेपछि बारीमै कुहिन लागे फलफूल

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन ४ गते २१:५४

रुस-युक्रेन युद्दले गर्दा फ्रान्समा फलफूलको मूल्य ६९ प्रतिशतले बढेपछि फलफूल बारीमै कुहिन थालेका छन् ।

रुस-युक्रेन युद्द र कोरोना महामारीका कारण मुद्रा स्फिति र फलफूलको मूल्यमा अत्यधिक वृद्धि भएको भन्दै फ्रान्सेलीहरुले फलफूल किन्न छोडेपछि बारीमै कुहिन थालेको हो ।

केहि महिनादेखि फलफूल र तरकारीको मूल्य बढ्दै गएपछि क्रय शक्तिले धान्न गाह्रो परेको भन्दै धेरै फ्रान्सेलीहरूले आफ्नो फलफूल र तरकारीहरूको खपत धेरै कम गरेको बताएका छन् ।

ई लक्लेर्क अब्जरभेटोरी फर न्यु कनजुम्सन कोलागि ईप्सोस संस्थाद्वारा गरिएको अध्ययन अनुसार १० मध्ये ७ फ्रान्सेलीहरू अर्थात् ६९ प्रतिशतले धेरै महँगो भएका कारण फलफूल र तरकारी बिना जिवन चलाउन लागेका छन् ।

“कम आय भएका परिवारहरू सबैभन्दा बढी प्रभावित छन् । तिनीहरूमध्ये ८१ प्रतिशत नियमित रूपमा फलफूल र तरकारीहरूबाट वञ्चित हुन्छन् किनभने तिनीहरूसित फलफूल् र तरकारी किन्ने क्षमरा छैन । तीनले आफ्नो आहारलाई अन्य खाद्य उत्पादनहरूद्वारा पूरा गरिरहेका छन्” इपसोसको रिपोर्टमा उल्लेख छ ।

संवन्धित : कामदारको अभावले बेलायतका किसान बाली फ्याँक्न बाध्य

फ्रान्स १ टेलिभिजनको एक रिपोर्ट अनुसार किसानहरुले फलफूल र सागसब्जीको उपभोग एक्कासि घटाईदिएकाले माग नभएपछि किसानहरु खेतबारीमा टिप्नै गएनन् र ति बारीमै कुहिएका छन् ।

“फलफूल र तरकारीको माग आउला आउला भनेर बसियो । तर आएन । माग नआएपछि टिप्नै जानु परेन । कुर्दाकुर्दै बारीमै कुहिए । अघिल्लो सालको मूल्यमा दिन्छौं भन्दापनि बिक्रि नभएपछि बारीमै कुहिएको हेरेर बस्नुपर्‍यो’ ग्रनोब्लका एक किसानको भनाई फ्रान्स १ टिभीले उल्लेख गरेको छ ।

फ्रान्सको लियोन शहरको बजारमा अवलोकन गर्दा ग्राहकहरूको लागि, ताजा फलफूल र तरकारीहरू कहिलेकाहीं अभूतपूर्व महँगो मूल्यमा पुगेको गुनासो गरिएको छ ।

फ्रान्समा स्वस्थ रहनाकालागि हरेक दिन पाँच थरीका सागसब्जी र पाँच थरीकै फलफूल अनिवार्य रुपमा खानुपर्ने जनस्वास्थ्य अधिकारीहरूले सिफारिस गरेका छन् । तर सरकार र जनस्वास्थ्यकर्मीले यस्तो सुझाव दिएपनि मानिसहरुमा त्यो नियम पुर्‍याउन आर्थिक क्षमता नभएको इप्सोसले उल्लेख गरेको छ ।

नागरिकहरुले मूल्य बढेका कारण अन्य कम अत्यावश्यक खर्चहरू घटाउने र खानाको बजेटलाई प्राथमिकता दिन थालेको रिपोर्टमा उल्लेख गरिएको छ । 

अर्को महिना फेरि मूल्य वृद्धि ?

कम सन्तुलित आहाराले धेरै परिवारमा स्वास्थ्य खतरा ल्याउने भन्दै ग्रामीण परिवार संघले फलफूल र तरकारी जाँच गर्न र तिनलाई सहयोग गर्न आह्वान गरेको छ ।

“ठूलो असुरक्षिततामा रहेका परिवारहरूका लागि प्रति व्यक्ति प्रति महिना ६० युरो दिनुपर्छ । त्यसले उनीहरूलाई राम्रो स्वास्थ्यको लागि राम्रो गुणस्तरका उत्पादनहरू किन्न मद्दत गर्दछ” उपभोक्ता बचाउ संघका अध्यक्ष गाइलेन ब्रोहानले टिभीसितको अन्तर्क्रियामा भनेका छन् ।

अहिलेनै खाध्यान्न, फलफूल र सागसब्जीमाथि भएको मूल्य वृद्धिले ग्राहकहरु आत्तिएका बेला फ्रान्समा अर्को महिना फेरि मूल वृद्धि हुने आँकलन गरिएको छ । इन्सी भन्ने संस्थाले गरेको अध्ययन अनुसार जून २०२१ को तुलनामा आगामी महिना फेरि मुद्रा स्फिति हुने अपेक्षा गरिएको छ । त्यसले फलफूल र सागसब्जीको ब्यापारमा झनै समस्या पार्ने उल्लेख छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक