शुक्रबार, वैशाख ७, २०८१

युरोपबाट ६० करोड चरा हराए

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन ५ गते २३:५९

वसन्त ऋतु मानिसहरुकालागि एक्दमै प्रिय हो । यो ऋतु चराका लागि झन स्वर्ग हो । चराप्रेमीका लागि झनै सुन्दर याम । चराका थरिथरिका गीत सुन्न पाइने याम हो यो । वन जंगल चराहरुका अनेकथरि भाकाले गुन्जिएर रमणिय पार्ने बेला । तर अब वसन्त ऋतु शान्त, झनै शान्त बन्दै जाने देखिएको छ ।

अक्टोबरको सुरुमा प्रकाशित एक अध्ययनअनुसार सन् १९८० देखि युरोपमा ६ मध्ये एउटा चरा हराएको छ। चार दशकमा विश्वभर यो संख्या १४ देखि १९ प्रतिशतले घटेको छ ।

गिरावट तथाकथित सामान्य प्रजाति भनेर चिनिनेहरुको बीच निकै ठूलो छ। रोयल सोसाइटी फर द प्रोटेक्शन अफ बर्ड्स (आरएसपीबी), बर्डलाइफ इन्टरनेशनल र चेक ओर्निथोलोजिकल सोसाइटीका वैज्ञानिकहरूका अनुसार कुल मिलाएर करिब ६० करोड प्रजनन गर्ने चराहरू हराइसकेका छन् ।

कुनै बेला सर्वव्यापी (कमन) रहेका प्रजातिहरू अब दुर्लभ भएका छन्। उदाहरणका लागि पहेंलो टिकटिके (येलो वाग्टेल) चराको संख्या नौ करोड ७० लाखले घटेको छ । सारौं प्रजाति (स्टारलिङ) सात करोड ५० लाख र भारद्वाज (स्काईलार्क) ६ करोड ८० लाख । हामीले जुन प्रजातिहरूको जुलुस जस्तै देख्ने गरेका थियौं छौं ति आकाशबाट गायब हुँदै छन् । सबैभन्दा प्रतीकात्मक घटना घरमा पाइने भँगेराको हो । यसले आफ्नो संख्याको आधा अर्थात् २४ करोड ७० लाख वटा गुमाएको छ ।

अन्वेषकहरूले युरोपेली आयोगका देशहरूमा मूल निवासी ३७८ प्रजातिका चराको तथ्यांक विश्लेषण गरेका थिए । सबैभन्दा बढी मारमा पर्ने कृषि भूमिसँग सम्बन्धित प्रजातिहरू छन् । रासायनिक खेतीले वास्तवमा तिनीहरूको खानाको स्रोत किराहरूनै हराएको छ । आहाराको स्रोत गुमेसँगै तीनको संख्या अप्रत्याशित रुपमा घटेको छ ।

“चराहरूले भर परेका ठाउँहरू मानिसहरूले नष्ट गरिरहेछन् । हामीलाई प्रकृति र जलवायु संकटहरूसित सँगै लड्नको लागि ठूलो, प्रभावकारि पहल चाहिन्छ” अध्ययनका प्रमुख लेखक वैज्ञानिक फियोना बर्न्सले द गार्जियन अखबारको लेखमा भनेकि छन् । यसको अर्थ प्रकृतिप्रति बढी सम्मान गर्ने कृषिको महत्वाकांक्षालाई तीव्र पार्नुपर्छ । प्रजाति र वनको संरक्षण र दिगो माछा मार्ने ढाँचाको स्थापनाका लागि काम गर्नुपर्छ । संरक्षित क्षेत्रहरू पनि द्रुत रूपमा विस्तार गर्नुपर्छ। »

“सामान्य वा पर्याप्त मात्रामा पाइने भनिएका चराहरू कम र झन् कम हुँदै गइरहेका छन् । मुख्यतया किन त्यसो भएको भने तिनीहरू निर्भर ठाउँहरू मानिसहरूद्वारा नष्ट पारिएका छन् । सरकारहरूले प्रकृति पुनर्स्थापनाका लागि कानुनी रूपमा बाध्यकारी लक्ष्यहरू बनाउनुपर्छ । दिगो संरक्षणकालागि नितिनियमहरु बनाउनुपर्छ र तिनको कार्यान्वयन हुनुपर्छ ।

“अन्यथा हाम्रो आफ्नै मानव प्रजातिका लागि परिणामहरू गम्भीर हुनेछन् । हाम्रो अध्ययन दुनियाँको आँखा खोलिदिने, जागृत गराउने आवाज हो” बर्डलाइफ युरोपको संरक्षण प्रमुख अन्ना स्टेनेभाले द गार्डियनमा जोड दिएकि छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक