आइतबार, मंसिर ११, २०७९

मस्कोका पण्डितजीको ब्यवशायीमा फेरिएको चोला

थानेस्वर सापकोटा२०७९ साउन ६ गते १२:४८

सौराहाको होटेल हर्मिटेजमा ऋषी प्रसाद रिजाल

त्यो जेठको अन्तिम साता थियो, पानी परेको छैन अझै । हामी दिनभरि नारायणीको छेउछाउमा कतै सुस्ताएर साँझ पर्नु अल्ली अघि सौराहा हिंडेका थियौं । चार दिन अघि जीवा लामिछानेले त्यतै भेट्ने निधो गरेका थिए । तै पनि फेरी फोन गरेर पक्का गरियो । “अँ ५ बजे सौराहाको हेर्मिटेज होटलमा भेटौं न” लामिछानेले पुरानो निम्तोलाई फेरि पक्का गरे ।

हामीले उनलाई कहिल्यै पनि भेटेका छैनौं । तथापी सामाजिक संजालले निकै नजिक बनाएको छ जस्तो लाग्छ । लामिछानेका लेखिनुपर्ने कुनै कुरा छन जस्तो लाग्दैन । उनका बारेमा थाहा भएसम्मका सबै कुरा संचार माध्यमले लेखिसकेका छन । थोरै रहलपहल जे थिए उनले आफैं कितावका रुपमा बाहिर ल्याएका छन । यो साँझ मात्र भेटघाट हो ।

अहिले पुर्व पश्चिम राजामार्ग स्तरोन्नतीको काम चलेको छ । तीन वर्ष अघि देखी चलेको हो तर कतै पनि कुनै काम ठिकठाक भएको छैन । गर्मी र जेठको धुपले आक्रान्त चितवन-नवलपुर भत्काएको राजामार्गबाट उड्ने धुलोले छपक्कै छोपिएको हुन्छ । कहिले बनिसक्ला यो बाटो ? प्राय: सबै यात्रु र स्थानियले पटक पटक सोधिरहने प्रश्न हो यो । तथापी जवाफ कसैले दिंदैन । किनभने कहिले बनिसक्छ भन्ने कुरा बाटो बनाउने जिम्मा लिएको चाइनिज कम्पनीलाई समेत थाहा छैन । यदी यो बाटोको रफ्तार यस्तै रह्यो भने या त यो बाटो कहिल्यै बन्दैन या कम्तिमा पनि अझै पन्ध्र वर्ष लाग्छ ।

धेरै मुस्किलले टिकौलीको जंगल कटियो । बरु सौराहा जाने बाटो अली राम्रो छ । एक डेढ किलोमिटरको कच्ची सडकलाई छोड्ने हो भने सबै बाटो पिच छ । चैते धान काटेर सुस्ताएका छेउछाउका खेतहरु रमणिय देखिन्छ्न । टाँडी देखी मुन्तिर लागे पछी देखिने स्थानिय स्वाद उस्तै छ । सडकका छेउछाउ चर्दै गरेका मसिना सुँगुरका पाठा, बाटो बिर्सिएर मुख्य सडकमा अत्तालिएका हाँसका चल्ला, दिनभरि वस्तुभाउ चराएर फर्कदै गरेका गोठालाहरुको सुसेली सबै उस्तै छन ।

हामी टिकौली कट्दा देखी नै अगाडि गाडीहरुको जाम लागेको थियो । के भएको हो अत्तोपत्तो थिएन । ‘टाँडीसम्म नै पुरै जाम छ’ साइकल चलाऊँदै आएको एक जनाले भन्यो र उ टिकौली तर्फ हुइँकियो । हामीले जेनतेन अली परसम्म गाडी पुर्‍यायौं । यताबाट जाने गाडी यतै फर्किंदै थिए । ‘टाँडी चोकमा मान्छे हानेछ, खै आज राती सम्म जाम खुल्ला जस्तो छैन’एक जना कारवाहकले बतायो र उपनि आएको बाटो फर्क्यो ।

हामीले टाँडी नपुग्दै सौराहा तिर झर्ने बाटो छ कि भनेर सोधखोज गर्‍यौं । एउटा बाटो रहेछ । त्यहाँसम्म बन्दकर्ताहरु आएका छैनन होला । पिपलकोबाटो नेरबाट ओरालिनु भयो भने पुग्नुहुन्छ- एक जना स्थानिय रमितेले बताए अनुसार नै हामी त्यो जामको बिच बिचबाट गाडी छिराएर चोक नेर पुग्यौं ।

डरलाग्दो भयो- एउटा तन्नेरी आयो, बडेमानको दाउरो बोकेर । धन्नै गाडी फुटालेन । गाडी चलाइरहेको रामचन्द्र सापकोटाले ‘हामी त्यहाँ तलको मिलन दाईकोमा जान लागेको’ भन्यो । “को मिलन ? गीत गाउने मिलन दाई ?” त्यो केटाले सोध्यो । हामीले ‘अँ उसैकोमा जान लागेको’ भनेर बल्ल बल्ल फुत्क्यौं ।

त्यो गाडी रामचन्द्र सापकोटाले अस्ती भर्खर किनेको हो । ५० लाख जती तिरेको हुन सक्छ । यो गाडीलाई ति ठिटाहरुले झर्‍यामझुरुम पारेको भए हामीले कहाँँ गएर उजुरी गर्ने ? कसलाई भन्ने ? जसलाई जे मन लाग्यो त्यही कसरी गर्न पाईन्छ ?

हामीले त्यो हुल दंगामा एउटा पनि प्रहरी देखेनौं । धेरै पछी सम्म मेरा खुट्टा थर थर कामिरहे ।

सौराहा पुग्दा ६ बज्नै लागेको थियो । हामी ढिला भयौµ भन्ने भयो । जीवा पनि त्यही जाममा परेर ढिला भएछन । पछि उनले फोनमा सुनाए । हामीले केहीबेर हेर्मिटेज होटलको बाहिर बसेर उनलाई पर्ख्यौं ।

होटल सँगै टाँसिएको रापती धमिलो थियो । यो वर्षा यस्तै हो । पहिले पहिले यो रापती माथि सम्मै उक्लिन्थ्यो रे । आजभोलि त्यस्तो छैन । रापतीलाई जाली ढुङ्गाका ड्यामले थिचेर इत्रुको बनाएका छन मान्छेले । अब कसैलाई धावा बोल्न नसक्ने भएको रहेछ यो नदी । मान्छेहरुले जितेछन यसलाई ।

हेर्मिटेज होटल सम्भवत सौराहमै राम्रो होटल होला । तर हामीले साँझभरी बस्दा एउटा पनि पाहुना देखेनौं । माथि रेष्टुरेन्टमा दुई जना ठिटाहरु भेटिए । तिनिहरुले नै पाहुनाको सेवा गर्ने रहेछन ।

‘भाई जिन टोनिक पाईन्छ ?’ मैले सोधें । ति केटाहरुले आपसमा हेराहेर गरेर भने- छैन दाजु । हामी बाहिर निस्क्यौं र त्यही रापतीलाई हेर्न थाल्यौं । बहुलाएको रापती मनमोहक लाग्छ मलाई । मान्छेहरुले यसरी नै निचोर्दै गए भने एक दिन यो नदी पारी जंगलमा देखिने बडाबडा रुखको टुप्पोसम्म पुग्ने छ ।

अली अघि उतापट्टिको स्विमिङ पुलको सफाइ गर्ने एक जना अधवैंसे हाम्रो अघिल्तिर देखापरे । होचो कद र लामो टुप्पी पालेका ति ब्यक्ती हाम्रो अघिल्तिर टुप्लुक्क आइपुगे । “जीवा दाईले भन्नु भएको तपाईंहरु हो” ? हामीले मुन्टो हल्लायौं । हेर्मिटेज होटलका मालिक यिनै होलान भनेर हामीलाई कुनै पनि कोणबाट लागेन । हाफ गन्जी र जाँगे लगाएर लन्ठ्याङ लन्ठ्याङ घुमिरहने यस्तो मान्छे कसरी यत्रो होटलको साहु हुन सक्छ ? हुन किन नसक्ने ? अर्को मनले तुरुन्तै जवाफ दियो । तर हामीले मान्छेको कद काँठी हेरेर धारणा बनाउछौं । सम्पन्न हुँदैमा सधैंभरी टिलिक्क टल्किनु पर्छ भन्ने छैन । यिनै थिए हेर्मिटेज होटलका मालिक ऋषी प्रसाद रिजाल ।

“तपाईंहरु एक्कैछिन बस्दै गर्नुस, मेरो थोरै जग्गाको लफडा छ मिलाएर आउछु” उनी अर्को तर्फ हान्निए । अघि फोनमा जीवा लामिछानेले भनेका थिए- हेर्मिटेज होटल मेरो साथीको हो त्यहीं गफ गरेर बसौला नि । हुन्न र ?

हामीले ‘हुन्छ’ भनेका थियौं । रिजाललाई देखे पछी मेरो मनमा यि मान्छे जीवा लामिछानेको साथी कसरी बने भनेर निकै बेर छटपटी भैरह्यो । पछी हाम्रो बसाईँमा लामिछानेले भने “सात बिघा जमीनमा बनेको यो होटल ऋषीजीको हो । हामी पहिले मस्कोमा सँगै बसेको । अहिले उहाँसँग यो होटल, काठमाडौंमा घर जग्गा, चितवनमै घर जग्गा गरेर अरबौंको सम्पत्ति छ । यो भन्दा बाहेक उहाँको सफलताको कहानी भने झन रोचक र मन लोभ्याउने हुन सक्दछ ।”

के कहानी ? धादिङका ऋषी प्रसाद रिजाल भर्खर ७ कक्षा पास गरेर ८ मा पुगेका थिए । घर परिवारको गरिवी र अभाव थामीनसक्नु थियो । मनमा लहड चल्यो, भारत हान्निए । जीवनमा संघर्ष त जन्मने वित्तिकै शुरु भएको थियो । यिनले पछाडि फर्केर हेरेनन् । कहिले कसको घरमा भाँडा माझे कहिले कसकोमा खाना पकाए । पछील्लो समय उनले एक जना सरदार कहाँँ काम पाएका थिए । केही समय काम गरे ६ सय भारतीय रुपियाँमा । उसैले भन्यो- म सँग मस्को जाम म तँलाई २ हजार आइसी दिन्छु ।

“सरदारको मस्कोमा सुनको ब्यापार थियो । मलाई दिल्लीमा खाना पकाउनु वा मस्कोमा खाना पकाउनु खासै फरक थिएन । बरु मस्कोमा पैसा धेरै थियो । मैले धेरै सोच्दै नसोची हुन्छ भनें” ऋषीले सुनाए ।

सन् १९९५ को जाडो याम । उनीहरु मस्को उत्रिंदा शहर पुरै हिउँले छोपिएको थियो । उनलाई आकाश र धरती जोडिए जस्तो लाग्यो- यह कहाँँ आ गए हम ? ठ्याक्कै त्यस्तै – संघर्ष जताततै छ । उनले करिव दुई वर्ष ति सरदार कहाँ काम गरे । सरदारको ब्यापार चलेन, फर्किने भयो । हिंड्ने बेलामा ऋषीलाई सोध्यो- तिमी यहाँँ बस्न चाहन्छौ भने बस । म फर्किन्छु । ऋषीले मस्को बस्ने निधो गरे । त्यहीँबाट शुरु भयो जिन्दगीको उकालो यात्रा ।

“के गर्ने भन्ने त थाहा थिएन । तर केही गर्नैपर्छ भन्ने चाँही भयो” उनले भने “त्यसपछी मैले कलिङ् कार्डको ब्यापार थालें । ब्यापार त के भन्नु म झोलामा कार्ड हालेर घर घरमा बेच्न जान्थें । मस्कोको नेपाली समुदायमा ॠषि केले पनि चिनिन थाले भने उनी उतिबेला पनि यसरी नै टुप्पी पाल्थे र घर बाहिर निस्किंदा टिका लगाएर निस्किन्थे । यिनै गेटअपले उनलाई नेपाली पण्डित बनाएको थियो । कार्डको ब्यापार फस्टाएको थियो भने पण्डितजीको नामले यिनी मस्कोभरी चिनिएका थिए ।

हेर्दा साँच्चिकै पण्डित जस्ता देखिने यिनलाई पण्डित्याईंको कुनै ज्ञान भने थिएन । यिनकै गेटअपमा जीवा लामिछने पनि झुक्किए । “घर सर्ने बेलामा पूजाका लागि हामीले बोलायौं । उहाँले नाइ पनि भन्न सक्नु भएन । तर विजोग रहेछ । संस्कृत पढ्न पनि नआउने । बरु मैले अली जानेको थिएँ ।”

“मैले भनें- तपाईंलाई पण्डित्याईँ नआउने रहेछ । यदी गर्ने हो भने नेपालबाट पण्डित नै बोलाएर यो काम गर्नु भनें” लामिछाने सुनाए ।

ऋषीले नेपालबाट पण्डित बोलाएर केही समय पण्डित्याईँको ब्यापार पनि गरे । यो ब्यापार केही समय चल्यो । तर कार्डको ब्यापार भने धेरै पछीसम्म चलिरह्यो, जहिले सम्म भाईवर र स्काइप आएनन । यस्ता इन्टरनेटका सुबिधाले कार्ड्को ब्यापार सकियो । उनी अन्ततिर लागे । बाटो देखाउने उनै जीवा लामिछाने थिए । नेपालमा लगानी भित्र्याउने जीवाको अभियानमा ऋषी पनि सँगै हिंडे । अहिले जीवा लामिछानेको हरेक कम्पनीका यिनी पनि साझेदार हुन ।

“यि मान्छे शुरु देखी नै ईमान्दार लाग्यो मलाई । त्यसैले पनि मैले हरेक मोडमा बाटो देखाउने काम गरें” जीवा शुरुदेखिनै उनको सरलता सम्झिन्छन् ।

यो होटल कसरी भयो ? हाम्रो प्रश्नमा ऋषीले भने- मैले कसैलाई उहीं मस्कोमा केही पैसा सापटी दिएको थिएँ । फिर्ता गर्ने सम्भव भएन, मेरो जग्गा र होटल लिनुस भन्नु भयो । जीवा दाइको सल्लाह मैं म होटल ब्यवशायी बनें ।

कोरोना र त्यस पछी पनि यहाँँको ब्यापार ब्यवसाय सुस्ताएकै छ । अझै उठ्न सकेको छैन । उता छेउमा बसेका लामिछानेले विदेशको आफ्नो अनुभव उनलाई सुनाइरहेका छन- ब्यापारमा धेरै विकल्प रहिरहन्छ । समय जस्तो चल्छ ब्यापारलाई पनि त्यसरी नै ढाल्दै लैजानु पर्दछ । ऋषिले टाउको हल्लाए ।

कस्तो लाग्छ भारतमा खाना पकाउन हिंडेको त्यो आफ्नो किशोरकाल सम्झिदा ? “म त भगवान प्रती अनुग्रहित भएको छु । इमान्दारीपूर्वक मेहनत गर्ने हो भने यो संसारमा के छैन र ?’ उनले भने ।

तपाइँको प्रतिक्रिया