शनिबार, वैशाख ८, २०८१

तेजपुरमा छत्रेटोपी ‘जापी’ को रजगज

कमलराज भट्टराई२०७९ साउन ७ गते ६:०९

कमलराज भट्टराई

२०७९ साल बैशाख २ गते (अप्रिल १५) का दिन हामी सबैलाई तेजपुुरबाट प्रकाशित हुने देशवार्ता साप्ताहिकको नेपाली संस्करणले ३२औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित सम्मान कार्यक्रममा सहभागी हुन तिम्तो दियो । त्यता जानुपर्ने हुनाले बिहानै उठेर नित्य कर्मपछि सामानहरु मिलाएर ठीक पार्‍यौँ । हामीले त्यहाँबाट बिहान आठ बजे हिँड्नुपर्ने हुनाले केही समय घुमघाम गर्न बाहिर निस्कियौँ । केही परसम्म घुमेर फर्कदै गर्दा पानी पर्न थाल्यो। छेवैको चिया पसलमा पसेर ओत लाग्यौँ । पानी परीरहेकोले चिया पिउँदै गफ गर्दै गर्दा अर्का एकजना अपरिचित व्यक्ति ओत लाग्न आइपुगे । हाम्रो परिचय लिएपछि उनले आफ्नो नाम सूर्यकुमार खतिवडा बताए । उनी त्यहि गाउँका बासिन्दा रहेछन् । स्थानीय विद्यालयका शिक्षक । हामीले एक पटक चिया पिइसकेको भए तापनि पुनः आग्रह गरेर चिया र बिस्कुट खुवाए । पहिले हामीले खाएको चिया खाजाकोसमेत पैसा उनैले तिरे । अतिथीहरुलाई हाम्रो ठाउँमा पैसा तिराउने चलन नै छैन भनेर कुरा सुन्नै मानेनन् ।

बाहिर पानी परिरहेकै थियो । उनले भने, “यतातिर विहु पर्वको बेला पानी परेन भने अशुभ मानिन्छ । जति पानी पर्‍यो त्यति नै शुभ हुन्छ । हाम्रो आसाममा बिहुको बेला पर्ने पानीलाई वर्दोइशीला भन्ने चलन छ । बर्दोइशीला बिहुको बेला छुट्टी मनाउन माइत जान्छिन् र पछि धेरै कोसेली लिएर फर्किन्छिन् ।” त्यहाँ बढो अनौठो मान्यता रहेछ ।

वर्षाद सुरु हुनुभन्दा पहिले पश्चिमी वायुको प्रभावले पूर्वतिर बहने हावापानीलाई वर्दोइशीला पूर्व माइती गएको र पूर्वबाट मनसुन सुरु हुनुलाई वर्दोइशीला माइतबाट कोसेली लिएर आएको भनिंदो रहेछ । प्रकृतिलाई पनि सम्मान गर्ने कति राम्रो परम्परा रहेछ । पानी रहे पछि हामी वासस्थानमा आएर तेजपुर जान तयार भयौँ ।

विहानको हाम्रो भोजनको व्यवस्था अञ्जन बास्कोटा भाइको आग्रहमा यहाँबाट २० किलोमिटर जति टाढा तेजपूरतर्फ जाने सहायक बाटाले भेट्ने समरदलनी भन्ने ठाउँमा भाइकै घरमा गर्नुभएको थियो । हामी यताबाट जाने दशजना र विश्वनाथ कलेजको कार्यक्रममा सहभागी हुनु भएका चन्द्रमणि उपाध्याय, ज्ञान बहादुर क्षेत्री, पूर्ण कुमार शर्मा, छत्रमान सुब्बा समेत चौध जना थियौँ । दुइओटा गाडीमा सवार भएर गाउँको बाटो रमाइला दृश्यहरु हेर्दै जाँदा बाटो कटेको पत्तै पाएनौं । हामी एउटा भव्य मन्दिरको छेउमा पुग्यौँ । त्यहाँको मन्दिरलाई नागशंकर मन्दिर भनिंदो रहेछ । धेरै फराकिलो ठाउँमा भव्य मन्दिर रहेछ । छेउमा धेरै फराकिलो करिब यहाँको एक विघा जति जमीन ओगटेको पोखरी रहेछ । यो पोखरीमा कछुवा संरक्षण गरिएको रहेछ । मन्दिर दर्शन गरेर हामी पोखरी हेर्न गयौँ ।

मान्छे छेउछाउ गएपछि सयौँको संख्यामा कछुवाहरु किनारतिर आउँदा रहेछन् । छत्रमान सुब्बाले मलाई बाटा छेउतर्फ लगेर प्लास्टिकमा बन्द गरेका दुई पोका सिद्रा (सुकाएका माछा) किन्नुभयो । त्यो लिएर हामी पोखरी छेउमा पुग्दा कछुवाहरु किनाराभरि आइसकेका थिए । हामीले लगेको कोसेलीको प्याकेट खोलेर पानीमा छरिदिनासाथ एकै छिनमा खाइसके । त्यो मन्दिरमा फूलपाति प्रसादभन्दा बढी सिद्रानै बिक्री हुँदो रहेछ कछुवाका लागि । अहिलेसम्म मैले घुमेका र देखेका ठाउँहरुमा यति धेरै संख्यामा कछुवा देखेको पहिलो पटक हो । अरु ठाउँहरु होलान् तर मैले घुम्न देख्न पाएको छैन । यतातिरका सिमसारतिर अलिअलि पाइन्छ, तर संरक्षण गरिएको छैन । सरकारले तोकेका आरक्षण र राष्ट्रिय निकुञ्जतिर मात्रै सुरक्षित छन् ।

वर्षाद सुरु हुनुभन्दा पहिले पश्चिमी वायुको प्रभावले पूर्वतिर बहने हावापानीलाई वर्दोइशीला पूर्व माइती गएको र पूर्वबाट मनसुन सुरु हुनुलाई वर्दोइशीला माइतबाट कोसेली लिएर आएको भनिंदो रहेछ ।

यहाँ नेपालमा पनि इलाम जिल्लाको सदरमूकाम इलाम बजारबाट सोह्र कि.मि. उत्तर पूर्वमा पर्ने डाँडाको टुप्पोमा एउटा पोखरी छ । त्यसलाई माइपोखरी भनिन्छ । यो पोखरी नौ वटा कुना भएको र जंगल भित्र भएकाले एकै ठाउँबाट सबैतिर देख्न सकिँदैन । वरिपरि परिक्रमा गर्नका लागि पैदल मार्ग बनाइएको छ । बिचबिचमा पूजा गर्ने स्थान र पोखरीको पूर्वि किनाराको डाँडामा मन्दिरहरु छन् । यहाँको विशेषता भनेको सुनौलौ रंगका माछाहरु नै हो । एकै रंगका सुनौला माछाहरु प्राकृतिक रुपमै संरक्षित छन् । त्यो ठाउँमा लेकाली जडिबुटी उद्यान पनि बनाइएको छ । मैले आसामको त्यो ठाउँमा देखेको कछुवा (कूर्म) संरक्षण बाट बढी प्रभावित भएर यता भएको भिन्न प्रकारको दृश्य देखाउन खोजेको मात्र हो ।

मन्दिर दर्शन पछि हामी अञ्जन बास्कोटाको घरमा पुग्दा वहाँका पितामाता र सम्पूर्ण परिवार हाम्रो स्वागतार्थ प्रतीक्षारत हुनु हुँदो रहेछ । हामी पुग्नासाथ यथोचित आसन ग्रहण गराएर त्यस क्षेत्रको विशेष सम्मान प्रकट गर्ने गम्छा लगाई दिएर सम्मान गर्नु भयो । एक आपसमा परिचय गर्ने गराउने क्रममा थाहा भयो, अञ्जन भाइका पिताजी पनि शिक्षण पेशा बाटै निवृत्त हुनुभएको रहेछ । वहाँहरु केही वर्ष अगाडि यता काठमाडौँतिर आउँदा डा. गोविन्द राज भट्टराईको किर्तिपुरस्थित घरमा पनि पुग्नु भएको रहेछ ।

गाउँको बीचमा रहेको सुन्दर घर खेतीपाती, गाई पालन पूर्ण गृहस्त परिवार सबै शिक्षित । हामीलाई विशिष्ट प्रकारको सात्विक भोजन गराउनु भयो । भोजन पछि त्यहाँको विशेष पर्व मनाउने दिन भएकोले चाड मनाइरहेका छिमेकी रन्जन गगोइको नृत्य टोलीलाई घरमै बोलाएर विहु नृत्य देखाउनु भयो । गायन र नृत्य हेर्दाहेर्दै प्रफुल्लित भएर विजय हितान सरले ढोल लिएर बजाउँदै नाच्न थाल्दा डा. कुमार कोइराला सर पनि मन थाम्न नसकेर एकछिन नाच्नु भयो । त्यहाँको रीति अनुसार हामी सबैले नृत्य टोलीलाई सम्मान जनाएर विदा गर्‍यौँ ।

विहू पर्व यतातिर तिहारमा खेलिने देउसी भैली जस्तै रहेछ । घरघरमा गएर गाउँदै नाच्दै गर्ने र दिएको दान दक्षिणा लिएर आशिर्वाद दिने चलन रहेछ । यताको देउसी भैलीमा जस्तै नाङ्लोमा फलफूल चामल पैसा राख्ने, दियो बाल्दै आगनको बीचमा राखेपछि जमीनमा घुँडा मारेर दण्डवत मुद्रामा आशीष थाप्नु पर्दो रहेछ । नृत्य टोलीले गाउँदै नाच्दै घुमेर आशीष दिने चलन रहेछ ।

हामीले तेजपुरमा हुने कार्यक्रममा एक बजे उपस्थित हुनुपर्ने हुँदा गाडिमा सवार भएर त्यसतर्फ लाग्यौँ । एकछिन ग्रामीण सुन्दरता हेर्दै हिँडेपछि मुख्य सडकमा पुगिएछ । हाम्रो गाडी अघि हिँडेको हुँदा पछि आउने गाडी पर्खिनुपर्ने भयो । एउटा ठूलो वृक्षको छहारीमा रोकिएर त्यहाँ बेच्न राखिएका खरबुजा किनेर खाँदै गर्दा पछि आउने टोलीका सदस्यहरु पनि आइपुग्नु भयो ।

जापी यतातिर घाम र पानीबाट बच्न बाँसको चोयाले बुनेर भोर्लो, सखुवा आदिका पातले छापेको सानो नङ्लो आकारको छत्रेटोपी (जापी) हो । तर त्यहाँ सम्मान गर्न बनाईने जापी बाँसको चोयाले बुनेर विभिन्न रंगिविरंगी कपडाले बुट्टा भरेर बनाइएको साँच्चै सुन्दर हुँदो रहेछ ।

बाटामा वरपर देखिने दृश्य, खोला नाला हेर्दै गफ गर्दै गयौँ । बाटाका ससाना बजारहरुमा पनि भव्य मञ्च बनाएर विहुपर्व मनाइँदै थियो । महिलाहरु सबैले एकै रंगका स्थानीय हस्तकलाबाटै निर्मित वस्त्र धारण गरेर नाच्दा सरस्वतीकै रुपमा देखिन्थे । त्यहाँ स्थानीयहरुले मनाउने सबै चाड पर्व, भेषभुषा, भाषा र रहनसहन सबै नदीहरु मिलेर एकाकार भएझैं अन्य समुदायहरु एकाकार भएका हुनाले छुट्याउनै नसकिने । कस्तो अद्भूत सामाजिक सद्भाव निर्माण भएको । विहुपर्व वर्षमा तीन पटक मनाइँदो रहेछ । बैशाख, कार्तिक र माघमा । बैशाखमा मनाइने विहुलाई रङ्गाली विहु भनिदो रहेछ र त्यो नै सबैभन्दा महत्वपूर्ण रहेछ । कार्तिकमा मनाइने विहुलाई कात्ति कङ्गाली विहु र माघमा मनाइने विहुलाई भोगाली भनिंदो रहेछ ।

उत्तरी भारत, नेपाल र पूर्वोत्तर भारतीय प्रान्तमा बसोबास गर्ने आदिवासीहरुले मान्ने मनाउने चाड पर्व रीति रिवाजहरु भाषा र संस्कृतिले थोरै भिन्न देखिएपनि प्रायः एकै समयमा मनाउने चलन हेर्दा यो कसरी सम्भव भयो होला अध्ययन र खोजकै विषय हो जस्तो लाग्छ । त्यहाँ विहु पर्व मनाई रहँदा यता राजवंशीकोच समुदायले सिरुवा पावनी भनेर मनाइ रहेका हुन्छन् । यहाँ झापा र मोरंगमा मात्र बसोबास गर्ने धिमाल जातिले पनि वैशाख दुई गते नै सुरु गरेर असार दुईगते सम्म विभिन्न स्थानमा रहेका ग्रामथान र महाराजा मन्दिर भनेर चिनिने पूजा स्थलमा पूजा गर्ने र बलि दिने कार्य गरेर समापन गर्ने जात्री पर्व हेर्दा उस्तै लाग्छ ।

हामी कार्यक्रम सुरु हुनुभन्दा आधा घण्टा पहिले तेजपुर बजार पुग्यौँ । हामीलाई तेजपुर बस बिसाउनी छेउकै होटल एनसीमा बस्ने व्यवस्था मिलाइएको रहेछ । आ–आफ्ना निर्धारित कोठाहरुमा सामान राखेर एकै छिन आराम गर्‍यौँ । यसै मौकामा चन्द्रमणि सरले अञ्जन बास्कोटाको छिमेकी रञ्जन गगोइ परिवारले प्रसादको रुपमा दिएको विहु पर्व विशेषमा चामलको पीठाबाट बनाइने परिकार पीठा ल्याउनु भएको रहेछ । त्यसको पनि स्वाद लिने अवसर मिल्यो ।

कार्यक्रम सुरु हुने निर्धारित समयमा हामी कार्यक्रम स्थल असम साहित्य सभा भवनमा पुग्यौँ । ज्ञान बहादुर छेत्रीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि प्रा. गोविन्दराज भट्टराईलाई आसन ग्रहण गराई अन्य सम्पूर्ण अतिथि गणहरुलाई यथोचित आसन ग्रहण गराएर कार्यक्रम सुभारम्भ गरिएको थियो । चन्द्रमणि उपाध्यायको वैदिक स्वस्ति वाचनबाट उद्घाटन पछि ज्ञानबहादुर पत्नी मनमाया देवीको गायन टोलीले नेपाली भाषामा तयार पारिएको विहु गीत गाएर अतिथिहरुको स्वागत गरिएको थियो । त्यसपछि सम्मान कार्यक्रम सुरु भयो । माथि नै भनिसकिएको छ, यो कार्यक्रम देशवार्ता साप्ताहिक पत्रिका (अखबार) आयोजना गरेको भनेर ।

सर्वप्रथम देशर्वाताका अध्यक्ष सुभास विश्वासबाट प्रमुख अतिथिलाई गम्छा र जापी लगाई सम्मान गरेपछि क्रमश हामी यताबाट जाने टोली सदस्यलाई त्यसैगरी गम्छा र जापीले सम्मान गरियो । त्यहाँ विशेष कार्यक्रमका अतिथिहरुलाई जापी लगाई दिएर सम्मान गर्ने चलन रहेछ । जापी यतातिर घाम र पानीबाट बच्न बाँसको चोयाले बुनेर भोर्लो, सखुवा आदिका पातले छापेको सानो नङ्लो आकारको छत्रेटोपी (जापी) हो । तर त्यहाँ सम्मान गर्न बनाईने जापी बाँसको चोयाले बुनेर विभिन्न रंगिविरंगी कपडाले बुट्टा भरेर बनाइएको साँच्चै सुन्दर हुँदो रहेछ । पत्रिकासँग सम्बन्धित सम्पादक, प्रकाशक, सम्वाददाता, वितरक आदि सबैलाई सम्मान गरियो ।

उत्तरी भारत, नेपाल र पूर्वोत्तर भारतीय प्रान्तमा बसोबास गर्ने आदिवासीहरुले मान्ने मनाउने चाड पर्व रीति रिवाजहरु भाषा र संस्कृतिले थोरै भिन्न देखिएपनि प्रायः एकै समयमा मनाउने चलन हेर्दा यो कसरी सम्भव भयो होला अध्ययन र खोजकै विषय हो जस्तो लाग्छ ।

देशवार्ताका प्रधान सम्पादक कुष्माखर उपाध्यायले पत्रिकालाई यो अवस्थासम्म ल्याइपुर्याउन ठूलो भूमिका खेल्नुभएको रहेछ । सुरुमा यो पत्रिका नेपाली भाषा मात्रै प्रकाशित हुँदै आएकोमा तीन वर्ष अघिदेखि असमिया भाषामा पनि मुद्रण हुन थालेको रहेछ । यस पत्रिकाको प्रकाशन र सम्बर्धनमा प्रमुख भूमिका निर्वाह गर्नुहुने विष्णुशास्त्रिले यहिबाट प्रकाशित हुने असाम काण्डारी र देशवार्ताको असमिया संस्करण दुबैको सम्पादन गर्नुहुँदो रहेछ । यस सम्मान कार्यक्रमको प्रमुख आयोजकको जिम्मेबारी उहाँले नै पाउनुभएको हुँदा हामीलाई उहाँले नै निमन्त्रणा पठाउनु भएको थियो । त्यसदिन तेजपुर क्षेत्रबाट प्रकाशित हुने पत्रिका र देशवार्ताको नेपाली संस्करणले यताबाट जाने हामी सबै अतिथिहरुको छोटो परिचय सहितको नामावली प्रकाशति गरी विहुको उपलक्ष्यमा शुभकामना समेत दिइएको थियो ।

सम्मान कार्यक्रम सकिएपछि प्रमुख अतिथिको मन्तव्य पछि पत्रिकाका प्रमुख सञ्चालक सुभास विश्वासले आफ्नो मन्तव्य राख्ने क्रममा देशवार्ताले सुरुका निकै वर्षसम्म नेपाली भाषा र साहित्यको सम्बर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र त्यस अवधिमा थुप्रै लेखक कविहरु जन्माएको इतिहास सुनाउनुभयो । तर हालका वर्षहरुमा डिजिटल मिडियाले पाठकहरुलाई त्यतातिर ध्यानाकर्षण गराएकाले पत्रिका किनेर पढ्ने पाठक नभएर प्रकाशन बन्द गर्नुपर्ने अवस्थामा पुगेको भनेर दुःख व्यक्त गर्नुहुँदा हामी स्रोतालाई पनि नमीठो लाग्यो । यस कुराले मेरो मन अशान्त भएर बेलुका ज्ञान बहादुर छेत्री सरको आवासमा भएको सानो जमघटमा बोल्ने क्रममा प्रश्न राखेपछि चन्द्रमणि उपाध्यायले मेरो जिज्ञासा मेटाइदिनु भएको थियो ।

सम्मान कार्यक्रम सकिएपछि कृतिहरु आदान प्रदान गरियो । सामान्य चिया पान पछि हामी बासस्थानमा आएर केहीबेर विश्राम पछि नजिकै रहेको ब्रह्मपुत्र किनारको गणेशघाट घुम्न गयौँ । घाट आसपासका सबै ठाउँमा पौराणिक कालका असुर राजा वाणासुरको राज्य कालका अवशेषहरु सुरक्षित राखिएका रहेछन् । हाम्रो टोलीलाई ज्ञान बहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, छत्रमान सुब्बा अञ्जन बास्कोटा सरहरुले सबै कुरा देखाउँदै चिनाउँदै लानुभयो । त्यहाँ वाणासुर पुत्री उषाको बगैँचा….उषाकी सखी चित्र लेखाले बसेर चित्र बनाउने आसन, वाणासुरले बनाएका मन्दिर, किल्ला, हरिहर (शिव र कृष्ण) सेनाका बीच युद्ध भएको स्थान भनेर सानो अग्निगढ भन्ने पर्वतमा युद्ध झल्किने शैनिकका युद्धरत मूर्तिहरु बनाइएका रहेछन् ।

हालका वर्षहरुमा डिजिटल मिडियाले पाठकहरुलाई त्यतातिर ध्यानाकर्षण गराएकाले पत्रिका किनेर पढ्ने पाठक नभएर प्रकाशन बन्द गर्नुपर्ने अवस्थामा पुगेको भनेर दुःख व्यक्त गर्नुहुँदा हामी स्रोतालाई पनि नमीठो लाग्यो ।

शिवपुराण, रुद्रसंहिता युद्ध खण्डको एकाउन्न अध्यायको श्लोक १० देखि १६ सम्म वर्णन गरिएअनुसार कस्यप र दितीका जेष्ठा पुत्र हिरण्य कस्यपु— प्रल्हाद–विरोचन–वलीका पुत्र वाणासुर सम्मले राज्य गरेको र वाणासुरले उषा पुत्रलाई राज्यको उत्तराधिकार दिएको कुरा अध्याय ५६ को सत्रौँ स्लोकमा उल्लेख गरिएको छ । शोणितपुर शिवपुराण र भागवतमा वर्णित प्राचीन पौराणिक नामबाटै जिल्लाको नाम राखिएको रहेछ । अग्निगढ पर्वत मालाले प्राकृतिक तट बन्धको काम गरेकाले तेजपुरको शहरी क्षेत्र बाढीबाट सुरक्षित रहेछ ।

गणेशघाटमा बसेर ब्रम्हपुत्रको विस्तिर्णरुप र साँझपख पारि टाढाको धुमिल हरियाली देखिने बूढा छपडि र विश्वनाथ घाटबाट पारिपट्टि देखिने काजीरंगा आरक्षको हरियो फाँटकोे सुन्दरता वर्णन गर्न धेरै समय लाग्न सक्छ । घाट छोडेर पाइला अघि बढ्न नमानेपनि समयले घण्टि बजाए पछि फर्केर आउनुपर्‍यो । तन, मन र समयको संयोजन मिले फेरि हेर्न पाइएला ।

हामी घाट घुमेर वासस्थान आइपुग्नै लाग्दा ज्ञान बहादुर छेत्री सरले वहाँको आवासमा आयोजना गरेको चियापान समारोहमा त्यहाँ उपस्थित सबैलाई जान आग्रह गर्नुभयो । हाम्रो दशजनाको टोली बाहेक चन्द्रमणि उपाध्याय, छत्रमान सुब्बा, अञ्जन बास्कोटा समेत तेह्रजना त्यस तर्फ गयौँ ।

ज्ञान बहादुर सरको घरमा पुग्दा त्यहाँको तयारी देखेर हामी चकित भयौँ । अघिल्लो दिन वैशाख एक गते डा. गोविन्दराज भट्टराईको जन्मदिन परेको कुरा फेसबुकले हल्ला फिजाएकोले वहाँहरुले थाहा पाएर जन्मोत्सव मनाउन पुरै तयारीसाथ बस्नु भएको रहेछ । ज्ञान बहादुर पत्नी हाम्री बहिनी मनमाया देवि अबेरसम्मै सभाहलमै हुनुहुन्थ्यो । कति बेला घरमा पुगेर सेलरोटी पुरी तरकारी अचार विविध प्रकारका खाद्य परिकार र फलफूलका साथै टेवलमा गोविन्दराज भट्टराईको नाम अंकित ठूलो केक सजाएर राखिएको रहेछ । बडो रमाइलो वातावरणमा जन्मोत्सव मनाएर सबैले परिकार ग्रहण गरी छत्रमान सुब्बाको अध्यक्षतामा कार्यक्रमको सुरु भयो ।

त्यहाँ वाणासुर पुत्री उषाको बगैँचा….उषाकी सखी चित्र लेखाले बसेर चित्र बनाउने आसन, वाणासुरले बनाएका मन्दिर, किल्ला, हरिहर (शिव र कृष्ण) सेनाका बीच युद्ध भएको स्थान भनेर सानो अग्निगढ भन्ने पर्वतमा युद्ध झल्किने शैनिकका युद्धरत मूर्तिहरु बनाइएका रहेछन् ।

सर्वप्रथम ज्ञान बहादुर क्षेत्री र मनमायाका पुत्र सन्तोष रावतद्वारा लिखित “एन फ्रेकं को देशमा” नामक पुस्तकको प्रा.डा. अञ्जना वस्तीबाट विमोचन गरी कार्यक्रमको समीक्षा सुरु भयो । सबैले पालैपालो बोल्नैपर्ने हुनाले आ–आफ्ना अनुभव सुनायौँ । घर मुलीले बोल्ने क्रममा गोविन्द सर यहाँ आएकै मौकामा जन्मोत्सव मनाउन पाउनु हाम्रो अहोभाग्य हो । यतिका अतिथिबीच जन्मोत्सव मनाउने अवसर पाउनु भनेको हाम्रालागि न भूतो न भविष्यति भनेर अति गौरवान्वित भएको घोषणा गर्नुभयो । प्रमुख अतिथिले पनि यसरी आफ्नो जन्मोत्सव औपचारिक रुपमा मनाएको यसअघि आफ्नो अनुभव नरहेको हुँदा यस आयोजनाबाट अवर्णनीय हर्ष र आनन्द लागेको विचार व्यक्त गर्नुभयो ।

अन्त्यमा गम्भिर मुद्रामा वस्नु भएको यस समारोहका अध्यक्ष छत्रमान सुब्बाले समापन वक्तव्य दिने पालो आयो । उहाँ बोल्दा बोल्दै भावुक बनेर बोली नै अवरुद्ध भएछ । अश्रुपूर्ण नेत्र बेला बेला अर्कापट्टी फर्केर रुमालले सफागर्दै आफ्नो वक्तव्य टुङ्ग्याउनु भयो । उता विजय हितानको हालत पनि उस्तै रहेछ । कार्यक्रम सम्पन्न भएपछि पुनः एक पटक चिया पिएर हामी यताबाट जाने सबैलाई चियाका प्याकेट र भाइ सन्तोस रावतद्वारा लिखित “एन फ्रेकं को देशमा”, भन्ने किताब एक एक प्रति दिएर विदा गर्नु भयो ।

राती नौ बजेको थियो । उता ज्ञान बहादुर सरको घरमा चियापान मात्र भनिएकोले सबै अतिथिका लागि होटलमा खाना तयार गर्न लगाईएको रहेछ । त्यता जानैपर्ने भएर होटलतिर गयौँ । छ सात जनाले भित्र गएर खाना खानुभयो । चन्द्रमणि उपाध्याय र म बाहिरै बसेर पारिवारिक र अन्य विविध विषयमा गफगाफ गर्‍यौँ । खाना खाइसक्दा रातको दश बजिसकेको थियो । वासस्थानमा आउँदा खाना खान नजाने जति सुतिसक्नु भएको रहेछ । खाना खाएर आउनेहरु पनि सुत्न जानुभयो ।

हाम्रो गुवाहाटीतिर फर्कने टिकट विहान ५ः३० को थियो । विहान उठेर तयारि गर्नै लाग्दा हाम्रो गाडी आएर होटल अगाडी रोकियो । हतारहतार झोलाहरु बाहिर ल्याएर गाडीमा राखेपछि पन्ध्र मिनेटजति समय बच्यो र नजिकैको चियापसलमा सबैजना सँगै बसेर चिया खाइसक्दा गाडीले हिँड्ने संकेत दियो । हामीलाई गाडीमा चढाएर विदाईका हात हल्लाउँदै गर्दा गाडीले गति लियो । उहाँहरु भावुक भएर हात हल्लाइरहनुभएको थियो । चार दिन अघि देखि घरद्वार त्यागेर कार्यक्रम सफल पार्न र अतिथिहरुको स्वागत सत्कारमा अहोरात्र खट्नुहुने ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, अञ्जन बास्कोटा, छत्रमान सुब्बा ज्यूहरुप्रति आभार व्यक्त गर्दै हामी तेजपुरबाट विदा भयौं । पर पुगेर पछि फर्केर हेर्दा उहाँहरु हामीतिरै फर्केर हात हल्लाइरहनुभएको थियो ।
दमक १, झापा ।

तपाइँको प्रतिक्रिया