बिहीबार, वैशाख १३, २०८१

“हामीले उठाएको दोहोरो नागरिकताका मुद्दालाई अहिलेको संशोधन विधेयकले सम्वोधन गर्दैन” एनआरएनए संस्थापक थापा

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन ८ गते २१:२५

गत शुक्रवार नागरिकता ऐन- २०६३ को संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भए पछी खास गरेर गैर आवासीय नेपाली (एन आर एन) माझ तरंग फैलिएको छ । लामो समय देखि दोहोरो नागरिकता अथवा पुरानो नागरिकताको निरन्तरताका लागि संघर्ष गर्दै आइरहेका गैर आवासीय नेपालीमाझ पास भएको विधेयकलाई लिएर मिश्रित प्रतिकृया देखिएका छन । कतिले यसको स्वागत गरेका छन भने कतिले गैर आवासीय नेपालीको मनोभावना माथि नेपाल सरकारले भद्दा मजाक गरेको आरोप लगाएका छन । खासमा संशोधित विधेयकले विदेशी नागरिकता वाहक नेपालीहरुलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता दिने ब्यवस्था गर्ने छ । तर यसलाई नागरिकता भन्नु भन्दा पनि नेपाल सरकारले पहिले ब्यवस्था गरेको एनआरएनए कार्ड कै निरन्तरता भन्दा फरक पर्दैन । लामो समय देखि गैर आवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिनुपर्छ भनेर आवाज उठाउँदै आइरहेका संस्थाका संस्थापक मध्येका एक राम प्रताप थापालाई हामीले ‘अब त तपाईंहरुका माग पुरा भए होलान नि ?’ भनेर सोधेका थियौं । उनले यसलाई संविधानले ब्यवस्था गरेको भन्दा फरक ढंगले ऐन संशोधन गरिएको जनाए । प्रस्तुत छ थापा सँग नेपालप्लसले गरेको कुराकानी ।

यो संशोधन विधेयक जुन नेपालको संसदले पास गरेको छ त्यसलाई कसरी हेर्नु भएको छ ?

गैर आवाशीय नेपालीले आफ्नो नागरिकताको निरन्तरताका लागि लामो समय देखि निकै ठुलो संघर्ष गरेका छन । त्यसको तुलनामा यसलाई खासै ठुलो उपलब्धी भन्न मिल्दैन । तैपनि केहि नहुनु भन्दा पनि नेपाल सरकारले हाम्रा कुरा सुन्न थालेको छ । त्यो चाहिं महत्वपूर्ण कुरा हो । नागरिकताको निरन्तरताका लागि अझै संघर्ष गर्नुपर्ने भएको छ । अगाडिको बाटो धेरै संकटपूर्ण छ ।

तपाईंहरुले सधैं उठाइरहनु भएको दोहोरो नागरिकता अथवा नागरिकताको निरन्तरता भन्ने मुद्दालाई यो संशोधन विधेयकले संवोधन गर्छ कि गर्दैन ?

हामीले उठाएका दोहोरो नागरिकताका मुद्दाहरुलाई यसले पूर्ण रुपमा सम्वोधन गर्दैन । कस्तो भएको थियो भने पहिले हामीले दोहोरो नागरिकताको कुरा उठाएका थियौं । तर नेपाल सरकारका पदाधिकारीहरु र राजनीतिज्ञसँग कुरा हुँदा यो मिल्दैमिल्दैन भन्नुयो । हामी निरास भएका थियौं । त्यसपछी हामीले हाम्रा मुद्दाहरु अलिकती फेरेर पुरानै नागरिकताको निरन्तरता हुन दिनुस भन्यौं । अहिलेसम्म पनि त्यहि नै छ । यो विधेयकले हाम्रो यो अभियानमा अलिकति आशाको किरण देखाएको छ ।

संशोधन विधेयकमा खासमा के हुनुपर्ने थियो ?

तीन पुस्ते प्रावधान गलत छ । हाम्रा लागि छुट्टै परिभाषा गरिएको छ । त्यस्तो नहुनुपर्ने थियो । नेपाल सरकारले हाम्रा लागि छुट्टै प्रावधान राख्नुले शंका उत्पन्न भयो । हामीले त नेपाल र नेपालीका लागि उहि रुपमा सोच्छौं । देश प्रतिको हाम्रो मायाँ एक इन्ची पनि घटेको छैन । फेरि देशले हामीलाई किन भेदभाव गरेको ? तर म अब यस सम्बन्धी कानुन बनेर आउँदा गल्ती सच्चिन्छ भन्नेमा आशावादी छु ।

भनेपछी अहिलेको नेतृत्वले गतिलोसँग लबिङ गर्न सकेन ?

होइन त्यस्तो होइन । उहाँहरुले गरिरहनु भएको छ । ऐन संशोधनका लागि विधेयक आउनु पनि ठुलो कुरा हो । हामी नागरिकताको विषयमा एउटा खुड्किलो माथि चढेका छौं । यो सबैले गर्दा भएको हो । तर हामीले अब यसमा देखिएका त्रुटी सच्याउने तर्फ मिलेर अघि बढ्नु पर्दछ ।

यो गैर आवासीय नेपाली नागरिकता भनेर जुन आएको छ यो दोहोरो नागरिकता हो कि पुरानै नागरिकताको निरन्तरता हो ?

न त यो दोहोरो नागरिकता हो न यो पुरानो नागरिकता नै । यो खासमा अहिले केहि पनि होइन, यो उपल्लो खुड्किलो मात्र हो । तर हामीले गतिलोसँग लविङ गर्ने हो भने यसलाई दोहोरो नागरिकताको रुपमा रुपान्तरित गर्न सक्छौं ।

अहिले नेपालमा जुन राजनीतिक नेतृत्व छ र त्यसले जुन सोचका साथ काम गर्छ त्यसमा तपाईंहरुका मागलाई पूर्ण रुपमा सम्बोधन गर्लान भन्ने लाग्छ ?

हुँदैन, नयाँ पुस्ता नयाँँ सोच सहित नआउन्जेल म त्यस्तो कल्पना गर्न सक्दिन । गैर आवासीय नेपालीको हकमा कन्जुस्याँई गर्नुपर्ने कुनै कारण छैन । तर पनि उहाँहरुका के स्वार्थ छन मैले बुझ्दिन ।

यस अघि नेपाल सरकारले जारी गरेको गैर आवासीय नेपाली परिचय पत्र (एनआरएन कार्ड) र गैर आवासीय नागरिकतामा के फरक देख्नुभएको छ ?

अघिकारका हिसावले कार्ड र नागरिकतामा खासै फरक छैन । जुन आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारका कुराहरु सबै उस्तै हुन । त्यहि कार्डको प्रावधानलाई अहिले अलिकती पेन्टिङ मात्र गरेको हो ।

नागरिकता ऐन-२०६३ ले के भन्छ भने विदेशी नागरिकता लिएको कुनै नेपालीले विदेशी नागरिकता त्यागेको प्रमाण पेश गरेमा उसको पुरानो नागरिकता निरन्तर हुन्छ । अब नयाँँ संशोधित ऐन अनुसार के हुन्छ ?

अब यसमा पूर्ण रुपमा कुनै व्याख्या आएको छैन । कानुन बन्दा आउला । तर कुनै गैर आवासीय नागरिकता लिएको नेपालीले विदेशी नागरिकता त्यागेको खण्डमा पुरानै नागरिकता निरन्तर हुनुपर्ने हो । बंशजकै आधारमा पुरानै निरन्तर हुनुपर्दछ ।

तपाइँको प्रतिक्रिया