आइतबार, मंसिर ११, २०७९

फूलहरुको तानातानमा माहुरी

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन ११ गते १४:४३

‘सर्भाईबल अफ द फिटेस्ट’ । वैज्ञानिक चार्ल्स डार्विनले जीवनको विकासलाई निरन्तरता दिने प्राकृतिक चयनलाई अन्तर्निहित शंयन्त्र (मेकानिजम) को रूपमा ‘सर्बाईबल अफ द फिटेस्ट’ अस्तित्वको अवधारणालाई लोकप्रिय बनाए । वातावरणमा राम्रोसँग उपयुक्त जीन भएका जीवहरू बाँच्नको लागि चयन गरिन्छ र तिनीहरूलाई अर्को पुस्तामा हस्तान्तरण गरिन्छ ।

बदलिंदो परिस्थिति अनुसारपनि जो त्यसमा मिल्दै, बानी पर्दै वा घुलमिल हुँदै जानसक्छ, जसले आफ्नो जिन सुरक्षित राख्न सक्छ र त्यसलाई अर्को पुस्तामा सार्न सक्छ वा त्यो जिन लिन सक्छ त्यो जिव बाँच्छ । जो सक्दैन उसको अस्तित्व समाप्त हुन्छ ।अस्तित्वकालागि यो डार्बिनको प्रमुख मन्त्र, भनाई वा सिद्दान्त थियो । तर अहिले के डार्बिनको त्यो अस्तित्व अप्रत्याशित मोडमा आईपुगेको हो ?

अमेरिकाको प्रिन्सटन युनिभर्सिटी र स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (ईटीएच), जुरिचको अनुसन्धान सहयोगले जब परागसेचनकर्ताहरू (माहुरी, पुतलीहरू, भँवरा) को संख्या घट्दै जान्छ तब बिरुवाहरुले घट्दो जनसंख्याको बिचमा आफूतिर आकर्षित गर्न प्रतिस्पर्धा गर्छन् भन्ने पत्ता लगाएको छ । बिरुवाहरुले माहुरी, पूतली, भँवरा, कमालकुट्टी र अन्य कीराहरूको संख्या घटेकोपनि थाह पाउँछन् । संख्यामा आएको गिरावटसँगै प्रजातिको विविधतामा समग्ररुपमा आउने कमीपनि थाह पाउँछन् ।

यो पारिस्थितिक सिद्धान्तको आधारमा अगाडि बढ्छ जसले परागसेचनकर्ताको प्रतिस्पर्धा जस्ता वातावरणीय दबाबहरूले बोटबिरुवाहरू बीच अनुकूल हुनुलाई बढावा दिन्छ, प्रजातिहरूलाई कम होइन, थप विविध बनाउँदछ ।

अनुसन्धान टोलीले घाँसको मैदानमा पाँच वार्षिक फूल फुल्ने बिरुवा प्रजातिहरू (पप्पी, कर्नफ्लावर र वाईल्ड फेनेल) रोपे । बिस्तारै बिस्तारै बिरुवाको घनत्व परिवर्तन गर्दै एक अर्काको बिरुवाहरूको नजिकै रोपे । रोप्दा नजिक कति बिरुवा छन् भन्नेपनि हेरे ।

रोपिएका विरुवाका केही खण्डहरू परागसेचनकर्ताको सामान्य स्तरको सम्पर्कमा आएका थिए । अर्थात् ति परागसेचनकर्ताले सजिलै पहुँच गर्ने वा पुग्ने क्षेत्रमा थिए । यस अवस्थामा माहुरीहरू (हनीबी, भम्बल बी, सोलिटरी बी), बारुला र पुतलीहरूद्वारा सजिलै भेटिने अवस्थामा थियो । अन्य खण्डहरू यस्ता थिए जहाँ रोपिएका विरुवालाई परागसेचन गराउन अतिरिक्त सहयोगी हात चाहिन्थ्यो । वा मानव सहयोग चाहिन्थ्यो । मानिसहरूले शारीरिक रूपमा अतिरिक्त पराग स्थानान्तरण गरिदिए ।

अन्वेषकहरूले के पत्ता लगाए भने बिरुवाहरूले माहुरी, झिंगा र पुतलीहरू (मानव सहायता बिना) लाई आकर्षित गर्नुपर्दा वा तिनको ध्यान तान्नकालागि प्रतिस्पर्धा गरेको अवस्थामा विरुवाको संख्या वृद्धि र विविधतामा ठूलो गिरावट आएको थियो ।

आफ्नो अस्तित्व कायम रहन बिरुवाकालागिपनि निस्चित संख्या चाहिन्छ । सफल संख्याको रूपमा बाँच्नको लागि बिरुवाहरूले विशिष्ट भिन्नताहरू विकास गर्छन् । ति विरुवाहरुसित त्यस्तो प्रणाली हुन्छ जसले आफ्नो सन्तुलन कायम गर्न अन्य बिरुवाहरूको अद्वितीय अनुकूलन वा घुलमिल हुने क्षमता, गुणसँग अन्तर्क्रिया गर्दछन् ।

जब त्यो सन्तुलन बाधित हुन्छ, जब परागसेचनकर्ताको संख्याहरू घट्छ त्यसमा असन्तुलन पैदा हुन्छ । उदाहरणका लागि त्यो असन्तुलनले दुर्लभ प्रजातिहरूको खर्च, लगानी र बलिदानमा सामान्य प्रजातिहरूलाई समर्थन गर्छ ।

यसका कारणहरू धेरै छन् । ति जटिलपनि छन् । तर परागसेचनकर्ताहरुद्वारा परागकण उठाउन र फैलाउने सहजतामा भर पर्छ । धेरै सामान्य प्रजातिहरूको संख्या पहिलेनै बढ्नुलेपनि फरक पार्छ । परागसेचनकर्ताहरु कति हुन्छन् त फूलमा जाने त्यसलेपनि फरक पार्छ । परागसेचनकर्ताको संख्या कम भएपछि ति स्वत: फूलमा कम पुग्छन् । फूलले सामान्य परागकण प्राप्त गर्ने सम्भावनाका कारकहरूमा माथि उल्लेखित कारणहरु जिम्मेवार छन् ।

“जलवायु परिवर्तन, बासस्थान परिमार्जन र कीटनाशक वस्तुहरुको अत्यधिक प्रयोगले परागसेचनकर्ताको संख्यामा आएको गिरावट प्रमुख चालक मानिन्छन्” यस अध्ययनका लेखकहरू मध्ये एक अमेरिकाको वाशिंगटन विश्वविद्यालयका अनुसन्धान वैज्ञानिक र इन्जिनियर डा क्रिस्टोफर जोन्सन भन्छन् “बिरुवाहरूका लागि प्रतिस्पर्धात्मक खेल मैदान परिवर्तन भएको हुनसक्छ जसले गर्दा केही बिरुवाका प्रजातिहरू लोप हुन्छन्”।

त्यसमा केही महत्त्वपूर्ण प्रभावहरू छन् । हामीले यस परिवर्तन, यस संयन्त्र र सेटिङमा पारिस्थितिक विकासलाई कसरी बुझ्छौं भनेर मात्र पुग्दैन कि बढ्दो विश्वव्यापी जनसंख्यालाई खुवाउनको लागि गरिने प्रयास र कारक पनि हो ।

“बढ्दो विश्व जनसंख्याको लागि खाद्य सुरक्षा महत्वपूर्ण छ जसले बोटबिरुवा र परागसेचनकर्ताको समुदायहरूमा बढ्दो दबाब पनि दिन्छ । त्यसैले यो बिरुवा-परागसेचनकर्ता समुदायहरूलाई राम्रोसँग बुझ्न र विश्वव्यापी रूपमा तिनीहरूलाई संरक्षणको काम गर्नु महत्त्वपूर्ण छ” जोनसन बताउँछन् ।

भविष्यमा, हामीसँग ईन्जिनियर गरिएको (मानवले विकास गरेको) परागसेचनकर्ताहरू हुनसक्छ, जस्तै “रोबोबिज (रोबर्ट रुपको माहुरी, वा रोबर्टले चलाउने माहुरी)” जसले बिरुवाहरूलाई विविधता र तिसंख्या कायम राख्न मद्दत गर्न सक्छ । तर अहिलेको लागि यो प्राकृतिक परागसेचनकर्ताहरूको संरक्षणमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।

जोन्सन भन्छन् “कीट परागसेचनकर्ताहरू वास्तवमै महत्वपूर्ण छन् । तिनीहरूको काम साँच्चै राम्रो छ । त्यसैले त्यहाँ स्वस्थ र विविध बिरुवा-परागसेचनकर्ता समुदायहरूको विकल्प छैन ।”

तपाईहरुले ध्यान दिनुपर्ने कुरो छ- यदि तपाईसित अलिकतिपनि जग्गाको चोक्टो, करेसाबारी, बगैंचा बनाउने माटो, जमिन छ भने त्यत्तिकै नछोड्नुस् । फूल, रुखविरुवा लगाइहाल्नुस् । सकेसम्म धेरै प्रजातिका फूल र विरुवा लगाउनुस् । तिनमा जति धेरै विविधता भयो ति फूल र विरुवामा उतिधेरै विविधतायुक्त माहुरी, किराहरु आकर्षित हुन्छन् । ति पाहुना जति धेरि झुम्मिन्छन् उति धेरै वातावरण स्वच्छ, सफा र तपाईलाई आनन्दित बनाइदिन्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक