शुक्रबार, चैत १६, २०८०

भाषा संरक्षणको स्विस मोडेल

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ साउन ११ गते १७:५६

Image source-studyinginswitzerland.com

सानो देश भएपनि स्विजरल्याण्डमा चार राष्ट्रिय भाषाहरू छन् : जर्मन, फ्रान्सेली, इटालियन र रोमान्च। अङ्ग्रेजी, आधिकारिक भाषा नभए पनि प्रायः नागरिक नागरिकबिचको विभाजनहरू हटाउन, एक अर्कासित एकाकार हुन प्रयोग गरिन्छ । र आधिकारिक कागजातहरूको एक महत्त्वपूर्ण भाग अंग्रेजीमा उपलब्ध हुन्छ ।

त्यसो त, स्विजरल्याण्ड चार फरक भाषिक क्षेत्रहरू मिलेर बनेको छ । अर्थात् जर्मन-भाषीको भाग, फ्रान्सेली-भाषी भाग, इटालियन-भाषी भाग र रोमान्च-भाषी भाग । यि चार भाषीका चार वटै प्रान्त (क्यान्टोन) छन्- बर्न, फ्राइबर्ग, ला भाले र ग्राउबेन्डन । र एउटा सहर (बिएल / बिएन) मा आधिकारिक रूपमा द्विभाषी छन् ।

राष्ट्रिय भाषाहरूमा संघीय कानून अनुसार, स्विट्जरल्याण्डका आधिकारिक भाषा जर्मन, फ्रान्सेली र इटालियन हुन् । साथै रोमान्च भाषा बोल्ने मानिसहरूसँगको व्यवहारमा रोमान्च भाषापनि आधिकारिक पर्छ । रोमान्च ल्याटिन जरा भएको रेटो-रोमान्च भाषा हो र यो ग्रेबुन्डेनको प्रान्तमा व्यापक रूपमा बोलिन्छ । अन्यत्र यो भाषाको खासै उपस्थिति छैन । स्विजरल्याण्डका चार प्रमुख भाषा मध्ये सबैभन्दा दूर्लभ हुँदै गएकोपनि यहि भाषा हो ।

जर्मन-भाषी स्विट्जरल्याण्डको बारेमा सबैभन्दा उल्लेखनीय भाषिक तथ्य भनेको बोल्ने बेला उनीहरु स्विस भाषिका (डाईलेक्ट) बोल्छन् । जसलाई उनीहरु स्विस स्ल्याङ भन्छन् । कोहि कोहिले स्विस भाषानै भन्ने गरेकोपनि पाइन्छ । अन्यले त्यसलाई स्विस जर्मन भन्ने गर्छन् । जे भनेपनि स्विस जर्मनको आफ्नै लिपी छैन । लिखितको मानक चाहिँ जर्मन हो ।

यसले जर्मन-भाषी क्षेत्रहरूमा भाषा-सिकाउने कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ । झन बिदेशीहरुलाई त झनै गाह्रो बनाउँछ । किनभने बोल्दा स्विस जर्मन (भाषिका) मा बोल्नु पर्‍यो । लेख्ने बेला शुद्द जर्मनमा । त्यसैले त्यो दुबै जान्नु उति सजिलो हुन्न । त्यसो त, त्यसका थप जटिलताहरूपनि छन् । स्विस जर्मन भाषिका बोल्नेको पनि एकै खालको वा एकै बोली मात्रै छैन, धेरै छन्, जुन एक प्रान्तबाट अर्कोमा जाँदा महत्त्वपूर्ण रूपमा फरक हुन सक्छ ।

जनसंख्याको ६० प्रतिशत भन्दा बढीले जर्मन (दुबै मानक जर्मन र स्विस जर्मन) भाषा बोल्छन् । आफ्नो मुख्य भाषाको रूपमा । २० प्रतिशत भन्दा अलि बढीले फ्रान्सेली बोल्छन् । लगभग ८ प्रतिशतले इटालियन र एक प्रतिशत भन्दा कमले रोमान्च बोल्छन् ।

चाख लाग्दो तथ्य के छ भने २० प्रतिशत भन्दा बढी बासिन्दाहरूको मातृभाषाको रूपमा अर्को भाषा छ- मुख्य रूपमा अंग्रेजी, पोर्तुगाली र अल्बेनियन् । तर स्विजरल्याण्डमा २० प्रतिशतले बोल्ने भाषा सरकारीमा पर्दैन कि एक प्रतिशतले बोल्ने रोमान्च पर्छ । किनकि रोमान्च भाषा स्विजरल्याण्डकै मात्री भाषा हो भने अंग्रेजी, पोर्तुगाली र अल्बेनियन आगन्तुक भाषा हुन् ।

समानुपातिक रूपमा फ्रान्सेली र गैर-राष्ट्रिय भाषा बोल्नेहरूको संख्या बढ्दै गएको छ । जर्मन, इटालियन र रोमान्चको संख्या घट्दो छ । तर स्विस जर्मन कार्यस्थलमा सबैभन्दा व्यापक रूपमा बोलिने भाषा हो । त्यसपछि आधिकारिक वा मानक जर्मन, फ्रेन्च, अंग्रेजी र इटालियन हो ।

स्विजरल्याण्डमा भाषाको बचाउ, संरक्षणकोलागि सरकारले अति धेरै लागनी र सहयोग गर्छ । जर्मन, ईटालियन र फ्रान्सेली भाषाका त पत्रपत्रिका, रेडियो र टिभी हुनेनै भए,  रोमान्च भाषाकोलागिपनि छ, आफ्नै रेडियो, टिभी र अखवार ।

राष्ट्रिय भाषा बोल्न सक्ने क्षमता समाजमा एक अर्काबिच घुलमिल हुन र राष्ट्रमा नागरिकबिचको एकीकरणको लागि महत्त्वपूर्ण हुन्छ । स्विजरल्याण्डमा आफ्नो कुनैपनि भाषा सिकाउनकालागि असाध्यै प्राथमिकता दिन्छ राज्यले । भाषा पाठ्यक्रमहरू साप्ताहिक कक्षादेखि गहन पाठ्यक्रमहरू छन् । ति प्रत्येक क्षेत्र, प्रान्तमा व्यापक रूपमा उपलब्ध छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक