शुक्रबार, चैत १६, २०८०

बेल्जियममा फेरि नेपाली घर निर्माणको चर्चा, महायज्ञमा बोलेको दान पहिले उठाउने कि ?

सन्तोष न्यौपाने / बेल्जियम२०७९ साउन १३ गते १८:३६

‘एउटा आशा र भरोशाको धरोहर खडा गर्न संघ उद्दत छ । करिब एक दशक अगाडिको सपना र अवधारणा अझसम्म के र कति कारणले पुरा हुन सकेनन् ? वर्तमानमा उभिएर हेर्ने हो भने नेपाली समाजलाई किंकर्तव्यबिमुढको संज्ञा जो कोहिले पनि दिनसक्छ । प्रश्नहरुसँग पर भागेर, समस्याहरुसँग जुध्न छोडेर, कित्ता कित्तामा बिभाजित भएर सिंगो समाजलाईनै भावसुन्यतातर्फ डोर्याएको आरोप लगाउनेछ हामीलाई हाम्रो आउँदो पुस्ताले।’

एनआरएन बेल्जियम मार्फत सुरु गरिन लागिएको निकै महत्वकांक्षी परियोजना नेपाल हाउस निर्माणको क्रममा आएको सन्देस हो यो । नेपाल हाउस बेल्जियमको आफ्नै वेभ साइट्मा लेखिएका यि लाईनहरु पढ्दा जति उर्जा आउँछ त्यती नाजवाफ पनि हुन सकिन्छ । अलिकती जान्ने बुझ्ने ब्यक्तिहरुले यि लाईनबाट बन्न लागेको नेपाल हाउस बारे धेरै कुरा सजिलै बुझ्न सक्नेछ्न ।

अब लागौं लगभग १२ वर्ष अगाडी बेल्जियमको लुभेन शहरमा सम्पन्न  महायज्ञ तर्फ । अहिले एनआरएन बेल्जियमले ल्याएको परियोजना नेपाल हाउस र महायज्ञ मार्फत अगाडी सारिएको नेपाल हाउस परियोजना लगभग उस्तै थियो । १२ वर्ष अगाडीको परियोजना एउटा धार्मिक कार्यक्रम मार्फत सर्वसाधाराणको पहुँचको थियो । बेल्जियमभरिका नेपालीहरुको उपस्थित उक्त महायज्ञको शुरुवात जयन्तु संस्कृतम बेल्जियमले गरेता पनि बेल्जियम स्थित सम्पुर्ण नेपाली संस्थाहरुको साथ र समर्थन थियो ।

नेपालबाट आएका पन्डित दिनबन्धु पोखरेलद्वारा सम्पन्न महायज्ञमा नेपाल हाउस निर्माण गर्ने भनेर दान स्वरुप १६८ जना भन्दा बढीले रकम बोलेका थिए । तर अहिलेसम्म कसैले पनि यो रकम उठाएर नेपाल हाउस निर्माण तर्फ पहल कदमी गरेको छैन । अधिकतम दान रकम बोल्नेमा एनआरएन बेल्जियम थियो । जसले ५५ हजार पाँच सय ५५ युरो दिने भनेर त्यतिबेला सार्वजनिक रुपमा घोषणा गरेको थियो । त्यस्तै अर्जुन कुमार श्रेष्ठ २० हजार एक सय एक युरो, हरी थपलीया एन्तरपेन २३ हजार तीन सय ३३ युरो ३३ सेन्टिम, सहदेव गौतम २२ हजार दुई सय २२ युरो २२ सेन्टिम, जनसम्पर्क समिति बेल्जियम २१ हजार एक सय ११ युरो रकम दिने भनेर धार्मिक कार्यक्र्ममा बोलेका थिए । यस बाहेकका कोकोले कति बोलेर रकम दिएनन तल हेर्न सक्नु हुनेछ ।

एनआरएन बेल्जियमले साँच्चै सबै नेपालीहरुको प्रतिनिधित्व होस भन्ने चाहना राख्दछ भने यो महायज्ञमा दान रकम बोल्नेहरुबाट रकम उठाउन शुरु गर्नुपर्दछ । यही रकम उठ्न सक्यो भने पनि नेपाल हाउस निर्माण सहयोगार्थ धेरै राहत पुग्नेछ । कुनै पनि धार्मिक कार्यक्रममा दान रकम बोलेर नदिने तथा अहिलेसम्म उठाउन प्रयास नगरिनु आफैंमा लज्जास्पद विषय बनेको छ । दान रकम बोल्नेहरु एनआरएन तथा बिभिन्न संस्थाको माथिल्लो पदसम्म पुगिसकेका छन तर यस तर्फ कसैको चासो देखिंदैन । अब चासो दिएर रकम उठाउने र सोही रकम नेपाल हाउस निर्माणमा लगाउनेमा एनआरएन बेल्जियम वर्तमान कार्य समिती लाग्नुपर्दछ । होइन भने विगतका समिती भन्दा के नै फरक देखिने भयो त ?

गैर आवासिय नेपाली संघ बेल्जियमका सचिब तथा नेपाल हाउस बिभागका सदस्य सचिब सुबास भट्टका अनुसार अहिले अगाडी सारिएको नेपाल हाउसको लागि हाल प्रोमोटर शेयर होल्डर्र्को रुपमा ५०,००० वा २५,००० युरोको लगानी जोकोहि बेल्जियमबासी नेपाली वा नेपाली संघसंस्थाले गर्न सक्ने प्रावधान संघले राखेको छ भने कम लगानी गरि प्रतिफल लिंदै सहभागी हुन इच्छुकहरुको हकमा ५,००० युरो मूल्य बराबरको साधारण शेयर खुला गरिएको छ । भट्टको डाटा अनुसार जाने हो भने पनि अगाडी सारिएको नेपाल हाउसमा बेल्जियम स्थित नेपाली ब्यबशायी बाहेक सर्वसधाराणको पहुँच बाहिरको कुरा हो । पुर्ण ब्यवशायिक रुपमा अगाडी बढन लागेको परियोजनाले बेल्जियमबासी नेपालीहरुको प्रतीनिधित्व गर्दछ भन्नेमा द्विविधा नै देखिन्छ ।

किनकि यो संस्क्रिति, आफ्नो चाडपर्व को संरक्षण, प्रवाशी नेपालीको समग्र भावना समेटिने भन्दापनि ब्यापारिक प्रयोजनको द्रिष्टिकोणबाट अगाडि सारेको देखिन्छ । सबैले अपनत्व गर्न त सबै क्षेत्र, जात, समुदाय र क्षेत्रका नेपालीको संलग्नता हुनुपर्छ ।

अब पुन विषयको सुरुवाती चराणमा जाउँ । एनआरएन बेल्जियमको भनाईलाई मान्ने हो भने हाम्रो आउँदो पुस्ताले सिङ्गो समाजलाई भावसुन्यतातर्फ डोर्याएको आरोप लगाउनेछ । उनिहरुले प्रश्नहरुसँग पर भागेर, समस्याहरुसँग जुध्न छोडेर कित्ता कित्तामा बिभाजित भएको आरोप पनि लगाउनेछन । त्यसो हो भने एनआरएन बेल्जियम तथा यहाँका संस्थाहरु नेपाल हाउस निर्माण गर्न आफैंले तथा आफ्नै संस्थाले बोलेको रकम संकलन गर्न किन पछी परिरहेका छन ? रकम उठाउने समस्यासँग जुधेर एउटा नजिर स्थापना गर्न कसले रोकेको छ ? एक पटक आफैंले आफैंलाई प्रश्न गर्नुहोस । नेपाल हाउस निर्माण बारे जति मिठा शब्दहरु लेखिएको छ त्यही शब्दहरुले बनेका वाक्य र त्यसले दिने चुनौतिको सामना सबैले गरौं ।

हुन त बेल्जियम यस्तो देश हो जहाँ केहि नेपालीहरु दलाली गर्दछन् । संस्थाको लागि आपसी मतभेद र कुटपिटमा तयार रहन्छन । उनिहरुको बाहुल्यता धेरै संस्थामा रहन्छ । यो लाईनले धेरैलाई चित्त दुखाउला । तर तितो सत्य पनि यहि हो । यदि नयाँ पुस्ताको साँच्चै डर छ वा मान्ने हो भने नेपाल हाउस निर्मणको क्रममा मात्रै होइन हरेक विषयमा सुधार गरेर अगाडी बढनु जरुरी छ । यसतर्फ वर्तमान एनआरएनए समिती तथा यहाँ स्थिती सम्पूर्ण नेपाली संस्थाहरुले सन २०११ मा आफू तथा आफ्नो संस्थाद्वारा बोलिएको दान रकम उठाउन विशेष पहलकदमी गरोस । होइन भने अहिलेको प्रबिधिको दुनियाँमा नयाँ पुस्तासँगै आगामी अन्य थुप्रै नेपाली पुस्ताहरुले आफ्ना अभिभावकको वास्तविक रुप छर्लङ्ग थाहा पाउन असहज हुनेछैन ।

रकम बोलेर नदिनेहरुको नामावली यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक