बिहीबार, वैशाख १३, २०८१

मिडिया रिसर्चमा लगानी इन्जाले ल्याएको बिहानी

कपिल काफ्ले२०७९ साउन १५ गते ११:०५

 

इन्टरनेसनल नेटवर्क अफ नेपाली जर्नलिस्टस् (इन्जा) विश्वका विभिन्न क्षेत्रमा रहेका नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसले नेपाली पत्रकारिता र पत्रकारको पेशागत विकासका लागि विगत पाँच वर्षदेखि भूमिका खेल्दै आएको छ ।

अमेरिकामा केन्द्रीय कार्यालय रहेको इन्जाका लागि अस्ट्रेलिया, क्यानडा र युरोपेली मुलुकबाट बढी योगदान पुगेको देखिन्छ । जीवनवृत्तिका सिलसिलामा विश्वको विभिन्न मुलुकमा पुगेका पत्रकारहरुले आफ्नो गाँस काटेर इन्जाका लागि कोष बनाउँछन् र नेपाली पत्रकार र पत्रकारितालाई सघाउँछन् । ‘नेपाली पत्रकारको मर्दा–पर्दाको साथी’ बनेको छ इन्जा । इन्जाले १४ साउनका दिन आफ्नो पाँचौं स्थापना दिवस मनायो, यसका अध्यक्ष गुणराज लुइँटेलले अमेरिकाबाट भर्चुयल सम्बोधन गर्दै ‘मर्दा–पर्दा’को मार्मिक सन्दर्भ जोड्नुभयो । एशिया च्याप्टरका अध्यक्ष टंक पन्तले क्यान्सर पीडित पत्रकार कमल पौडेललाई २० लाख रुपियाँसम्म खर्च गरेर उहाँको जीवन बचाउन भूमिका खेलेको सन्दर्भ सुनाउनुभयो ।

पन्तले नेपाली पत्रकार र पत्रकारिताका लागि संस्थाले खेलेको भूमिकाका अनेकौं उदाहरण पनि दिनुभयो । केन्द्रीय सचिव दीपक रिजालको एउटा भनाइ निकै मार्मिक थियो, ‘इन्जाका सदस्यहरुले विश्वव्यापी चन्दा उठाएर र पत्रकारहरुले गाँस काटेर जम्मा पारेको रकमबाट नेपाली पत्रकारिता र पत्रकारको सेवा गरिरहेका छन्, तर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की इन्जाले पुरस्कार र सहयोगको राशि बढाओस् भन्ने कामना गर्नुहुन्छ, तर राज्यका तर्फबाट इन्जाको कोष बढाउन सघाउँछु भन्न चाहिं सक्नुहुन्न ।’

पाँचौं स्थापना दिवसमा इन्जाले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेर प्रशंसा बटुल्यो । अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्प्रेषण गरी राज्यलाई सात अर्ब रुपियाँ राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गरेकाले पत्रकार बुढाथोकीलाई सो सम्मान प्रदान गरिएको उहाँको प्रशंसापत्रमा उल्लेख छ ।

काठमाडौंमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले नगद एक लाख राशि र सम्मानपत्रद्वारा पत्रकार बुढाथोकीलाई सम्मान गर्नुभएको थियो । त्यसैगरी मन्त्री कार्कीले ‘इन्जा ग्रामीण पत्रकारिता’ पुरस्कार पत्रकारद्वय दीपा कर्ण र सरोज ढुङ्गानालाई, वरिष्ठ पत्रकारद्वय हरि लम्साल र गोपालचन्द्र शर्मा तथा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई पनि कदरपत्रद्वारा सम्मान गर्नुभयो । यस्तै, विद्यावारिधि गर्दैगरेका पत्रकार तथा प्राध्यापकलाई विद्वत्वृत्ति प्रदान गरेर मिडिया अनुसन्धानमा सघाउने काम पनि भयो ।

‘इन्जा बौद्धिक पत्रकारिता’ पुरस्कार नाम दिइएको यो पुरस्कार वास्तवमा मिडिया रिसर्चका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यले स्थापना गरेको देखिन्छ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक देवराज अर्याल र विगत चार दशकदेखि पत्रकारिता, प्रशिक्षण र प्राध्यापनमा सक्रिय पत्रकार कपिल काफ्ले (पक्तिकार) लाई जनही ५० हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गरिएको यस पुरस्कारले नेपाली मिडिया जगतका लागि बौद्धिक योगदान दिने निश्चित छ ।

नेपाल पत्रकार महासंका सभापति विपुल पोखरेलले अप्ठेरामा परेका पत्रकारहरुलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ इन्जासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनु कार्यक्रमको अर्को उपलव्धि थियो । वास्तवमा महासंघलाई इन्जाजस्ता पत्रकारितासँग सम्बद्ध संस्थाहरुले सघाइरहेका छन् । मूलतः पत्रकारहरुको मूल गुठी नेपाल पत्रकार महासंघ नै हो । नेपालमा मिडिया रिसर्चको आवश्यकतालाई सरोकारवालाहरुले बुझ्न नसकिरहेका बेला इन्जाको यो कार्य ऐतिहासिक भएको छ ।

आज विद्यावारिधिको अनुसन्धानका लागि कसले कति पुरस्कार पायो भन्नुभन्दा पनि यसले पत्रकार महासंघ, प्रेस युनियन र प्रेस चौतारीदेखि सरकारलाई समेत यस क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्‍यो । भोलि मिडिया रिसर्चका लागि सहयोगी वातावरण बन्ने आधार तयार पार्‍यो । इन्जा परिवारप्रति हार्दिक आभार तथा शुभकामना !

(साभार- न्युज अफ नेपाल)

तपाइँको प्रतिक्रिया