सोमबार, साउन ३०, २०७९

महाशमसानमा चीताकै अगाडि नृत्य

बिम्मी कालिन्दी शर्मा / बनारस२०७९ साउन १६ गते ०:१९

नृत्य चेतनाको उन्नत रुप हो भने चीता त्यही शून्यमा विलीन हुनु हो । चीता र चेतनाको अदभुत संयोग असम्भव छ । तर बनारसको मणिकर्णिका घाटमा यो अदभुत घटना सम्भव भैदिन्छ, हरेक चैत्र नवरात्रीमा अष्टमीको राती । जब भारतभरिबाट आएका नगरवधू (बेश्या) हरु तिनै बलिरहेको चीताको वरिपरि नाचेर जीवनको क्षणभंगुरतालाई वोध गराउँदछन् । नृत्यको रुपमा एकातर्फ जीवन र जलिरहेको चीताको बीच मोक्ष र मायाको यस्तो अलौकिक प्रतिष्पर्धा हुन्छ जसको साक्षी बन्छ, काशीको मणिकर्णिका घाट । र त्यो अदभुत नृत्यको रसास्वादन गर्न आएका दर्शक ।

तर रातभरि नाचेर पनि यी नगरवधूहरुले पैसा लिंदैनन् । बरु उनीहरु यो बिश्वासका साथ नाच्छन् कि यहाँ नृत्य गरेपछि मोक्ष प्राप्त हुन्छ र अर्को जन्ममा नगरवधू भएर फेरि जन्मिनु नपरोस् । साढे तीनसय वर्षभन्दा पुरानो यो परम्परा अहिलेसम्म जीवित छ र अचम्म यसका बारेमा अहिलेसम्म कुनै सिनेमा या डक्युमेन्ट्री बनेको छैन ।

यस अदभुत परम्पराको शुरुआत राजा मानसिंहको पालामा भएको थियो । राजा मानसिंहले त्यो बेलाका नामचलेका कलाकार र नर्तकीहरुलाई आफ्नो कलाको प्रदर्शन गर्न बाबा मसाननाथको मन्दिरमा बोलाएका थिए । तर यो मन्दिर मणिकर्णिका घाटको बीचमा भएकोले कोही आउन मानेनन् । नृत्यको तयारी एलान शहरमा भैसकेको थियो । तर कलाकारहरु नआइदिएपछि राजालाई अफ्ठ्यारो पर्यो । राजा कार्यक्रम स्थगित गरेर पछि हट्न सक्थेनन् । शमसान घाटमा जलिरहेको चीताको बीचमा नृत्य गर्ने हिम्मत आखिर कसले गर्ने ? अरु कुनै उपाय नभएपछि तब राजा मानसिंहले त्यसबेला काशीका बदनाम गल्लीमा बस्ने गणिका वा नगरवधूहरुलाई त्यहाँ बोलाएर यो नृत्य गर्न लगाए । त्यहि बेलादेखि चलेको यो परम्परा अहिलेसम्म कायम छ ।

नगरवधूहरुले राजाको यो निमन्त्रणा स्वीकार गरी त्यहाँ आएर रातभरि नृत्य गरे । तर उनीहरुले नृत्य गरेवापत राजाबाट कुनै बकशीश वा इनाम लिएनन् बरु मन्नतको चढावा बाबा मसाननाथलाई नै चढाएर गए । उनीहरुको मन्नत यही थियो कि अर्को जन्ममा फेरि नगरवधूहरु बन्नु नपरोस र मोक्षको प्राप्ति होस् ।

तर समयसँगै साढे तीनसय वर्ष पुरानो यो परम्परामा विकृति आइसकेको यो नृत्य प्रत्यक्ष हेर्ने मौका पाएका बनारसका मदन यादव बताउँछन् । यादव भन्छन् ‘सिनेमाको गानाबजाना र हाउभाउका कारण यो परम्परा अश्लील हुँदै गएको छ ।’

यादव यो विकृतिबाट दु:खी हुँदै भन्छन् ‘अब त्यो समय रहेन, यसमा सिनेमाइ लटकन-झटकन हावी भैसक्यो ।’

बारम्बार यो नृत्यको रसास्वादन गरिसकेटा गणेश मिश्र भन्छन् ‘यो एउटा पुरानो र जीवन्त परम्परा हो जसलाई सबैले हेर्न र महसुस गर्न जरुरी छ ।’

बिश्वको सबैभन्दा ठूलो शमसान मानिएको मणिकर्णिका घाटस्थित महाशमसानमा बलिरहेको चीताको अगल-बगलमा नाचिरहेका नगरवधूहरुले आफ्नो नृत्य र हावभावबाट सबैलाई यही बताउँदै आइरहेका छन् की जीवन क्षणभंगुर छ र जीवनको क्षणभंगुरताको शोक विलाप गरेर हैन कि नृत्यको उत्सव गरेर मनाइनुपर्दछ । किनकि जीवनको अन्तिम पडाव मात्रै हैन मृत्यु उत्सव पनि ।

उदास र दु:खको माहौलमा शमसान घाटको बीच जहाँ जीवनको लय सकेर यो नश्वर शरीर धूवाँमा विलीन हुँदै गर्दा नगरवधूहरु अर्को जन्ममा फेरि नगरवधू बन्नु नपरोस् भन्ने मोक्षको कामनाका साथ नृत्यमा लीन हुन्छन । यो उत्सव चैत्र नवरात्रीको अष्टमी तीथिमा शुरु भएर तीन दिनसम्म चल्दछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक