आइतबार, मंसिर १८, २०७९

हे राम ! फर्केर नहेरे पनि देखिन्छन हाम्रा विश्वासका अनगिन्ती छिद्र

गुमनाम परदेशी२०७९ साउन १७ गते १४:३२

यो १० कक्षा पढ्दाको कुरो । जस्ता पाताले छाएको जनक माध्यामिक विद्यालय गैंडाकोट । कक्षा कोठाका भित्ताबाट बुर बुर खस्ने कुहिएका ईंटाको धुलो । स्कुलको दक्षिणपूर्वको कुनामा लाज नमानी बसेको बौंसेलु किरा खेल्ने चर्पी । पिउने पानी नपाएर दिनभरी प्याकप्याक पर्ने विध्यार्थीका घाँटी । यि यस्ता विषय थिए जसले हामीलाई पहिलो पटक मुर्दावाद भन्न सिकाएका थिए । त्यही हो पहिलो पटक हामी सबैले स्कुल संचालक समितिका अध्यक्ष बज्रमोहन स्वती मुर्दाबाद, संचालक समितिको नालायक अध्यक्ष राजिनामा दे भन्यौं ।

त्यो बेला त्यो ‘मुर्दाबाद’ कतिसम्म लम्बिन सक्दछ भन्ने हामीलाई थाहा थिएन । हेड गुरु पुष्पराज कोइरालालाई केहीबेर अफिसमै थुन्यौं । पाँच दिन सम्म स्कुलमा हड्ताल भएपछी चर्पी अलिअली टालटुल गरियो । ठाउँँ ठाउँँमा पिउने पानीका घैंटाहरु राखिए । सिंगान झर्न रोकिएर भर्खर हाम्रा ओंठ माथि जुँगाका रेखी बस्दै थिए । त्यहिबेला सिक्यौं हामीले मुर्दावाद भन्न । त्यो २०४६ सालको आन्दोलनको समय आउँदै थियो ।

विद्यार्थीहरुले आन्दोलन नगर्ने हो भने दुनियाँका कुनै पनि आन्दोलन सफल भएका छैनन भनेर मैले अली अस्ती कसको किताव पढेको थिएँ । तर हामी कस्सिएर गर्न लागेको आन्दोलन कस्तो हुन्छ भनेर हामीलाई कसैले भनेको थिएन ।

गाउँका नेताहरु भूमिगत भएका थिए । फागुनको १ गते थियो । हामी नारायणीमा पौडेर घर फर्कदै थियौं । गाउँका एक जना कम्युनिष्ट नेताको साइकल हाम्रो अगाडि आएर घ्याच्च रोकियो ।

“के छ बाबुहरुको खबर” ? उनले हामीलाई सोधे ।

देवीलाल खिस्स हाँस्यो । देवीलाल कँडेल ०४६ सालमा हाम्रो स्कुलको हिरो विद्यार्थी । ‘एक्कैछिन गफ गरौं न’ ति नेताले भने । हामीले आफ्नो कपाललाई फेरी एक पटक गम्छाले पुछ्यौं । अब गर्मी बढ्न लाग्यो- देवीलालले भन्यो ।

देविलाल र म कैंयन रात गहुँ बारीमा सुत्यौं । माथि जंगलका कोप्चेरामा लुकेर बस्यौं । साँच्ची हामीले आन्दोलन किन गरेका थियौं ? मैले बुझिन । देविलाल र कलाधरले पनि बुझेनन्।

‘अँ अब आन्दोलनको गर्मी पनि बढ्दैछ । भाईहरुले कस्तो कार्यक्रम बनाएका छौं’ उनले सोधे ।

‘खोइ हाम्रो त खास कार्यक्रम केही छैन । कसैले केही भनेको छैन । हेरौ अब ७ गते के हुन्छ’- मैले यत्ती के भनेको थिएँ उनले उत्साहित हुँदै भने- ल ठीक छ, त्यसोभने भोली देखी नै स्कुलमा हड्ताल गर्नपर्‍यो । ७ गतेका लागि स्कुल भित्रै कार्यक्रम गर्न सक्यौं भने प्रशासनलाई ठुलो दवाव हुन्छ ।

तर देवीलालले भने मानेन । ‘हामीले हड्ताल त नगर्ने । हड्ताल गरियो भने हाम्रो आन्दोल कमजोर हुन्छ । स्कुल नै नगए पछी हामीले कहाँँ आन्दोलन गर्ने ?’

उसले भन्यो- पढाई र आन्दोलनलाई सँगै लान सकिदैन र ?

ति कम्युनिष्ट नेताका आँखा अली चनाखा भए । ‘

‘यो बुर्जुवा पढाई हो । सामन्ती उत्पादन गराउने शिक्षा । यो आन्दोलन सफल भयो भने यो पुरै प्रणाली खारेज हुन्छ । अहिले अलिकती पढेर केही हुनेवाला छैन’ उनी भन्दै थिए ।

तर हामीलाई उनका कुराहरु प्रती खासै रुची लागेन । हिंड्ने बेला केही थान हँसिया हथौडा अंकित झन्डा छोडेर गएका थिए । धेरै पछी ति झन्डा हामीले बाममोर्चाका एक जना कार्यकर्तालाई उपहार दियौं ।

हाम्रो अर्को साथी थियो कलाधर पौडेल । भोली पल्ट हामीले ति कम्युनिष्ट नेताका कुरा सुनाउँदा उसले मुड्की कसेको थियो । २०४६ साल फागुन सात गते बिहान १० बजेको छ । विध्यार्थीहरु सबैजना लाइनमा छन । म पिटी खेलाउन अगाडि उभिएको छु । त्यहाँभन्दा अली उताको चउरमा केही कुर्सीहरु छन । टेबलमा फूल, अवीर, राजा त्रिभुवन, विरेन्द्र र रानी ऐश्वर्याका तस्वीर छन । कुर्सीमा संचालक समितिका अध्यक्ष बज्रमोहन स्वती, हेड सर पुष्पराज कोइराला र गाउँका केही माथिल्ला मान्छे छन ।

कार्यक्रम अनुसार हामीले पिटी खेली सकेपछी प्रजातन्त्र दिवसको अर्को कार्यक्रम सुरु हुनुपर्ने छ । जहाँँ हामी सबैले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ । पंचायती ब्यवस्था अमर रहोस जस्ता केही नाराहरु घन्काउनुपर्ने हुन्छ ।

“यो फागुन ७ गते त्यस्तो हुँदैन”- हिजो मात्रै कलाधर, देवीलाल र म बसेर छलफल गरेका थियौं । हामीले अब पिटी खेलाउदा ब्यवस्था विरुद्दका नारा लगाउने छौं । जनक माद्यामिक विद्यालयकै ईतिहासमा पहिलो पटक पंचायती ब्यवस्था मुर्दावादको नारा गुन्जियो । राजतन्त्र मुर्दावाद, प्रजातन्त्र ल्याउछौं ल्याउछौं । यो यस्तो समय थियो- स्कुलको कम्पाउण्ड बाहिर प्रहरीका केही गाडीहरु रोकिएका थिए । गाडी भनेका साना जिप होइनन । बडेमानका ट्रिपर जस्ता बलिया इन्जिन भएका ट्रक । लगभग २०-३० जना पुलिस हुँदाहुन । हामीले नारा लगाउन छोडेनौं ।

बज्रमोहन स्वतिले कुन्नी के भनेका थिए । कलाधर पौडेल तिनको कठालो समात्न पुग्यो । अगाडिको चउरमा राखिएको टेबल हामीले नै तोड्फोड गर्‍यौं । राजा रानीका तस्वीर जमिनमा घोप्टो परे । अवीर माटोमा मिल्यो । अथवा यो स्कूलको माटो अवीरले रंगियो । त्यही दिन यस्तो लाग्यो यो माटोले विजयको टिका लगाएको छ ।

‘यो बुर्जुवा पढाई हो । सामन्ती उत्पादन गराउने शिक्षा । यो आन्दोलन सफल भयो भने यो पुरै प्रणाली खारेज हुन्छ । अहिले अलिकती पढेर केही हुनेवाला छैन’ उनी भन्दै थिए ।

यतिबेरसम्म प्रहरी आइसक्ने थियो । किन पसेन स्कुलको हाता भित्र ? पुष्प सर, विनोदी सर र कमल सुबेदी सरहरुले प्रहरीलाई स्कूल हातामा प्रवेश गर्न नदिनु भएको रहेछ । हामीलाई थाहा छ, हाम्रा कुनै पनि मास्टरहरुले पंचायती ब्यवस्थालाई रुचाउँदैनन । हामीलाई उनिहरुले दिएको मौन समर्थन सगरमाथा जत्रै अग्लो थियो । त्यसले पनि कती जोश थपेको हुँदो हो ।

त्यो दिनले भनेको छ मलाई, आन्दोलनको जोश कस्तो हुन्छ । आफूले समातेको झन्डा निर्विघ्न फर्फराओस भन्ने हुन्छ, आफ्नै छातीबाट मुल फुटे झैं गरी झरेको रगतले यो धर्ती सिंचित होस भन्ने लाग्छ । साँच्ची आन्दोलन भन्ने अचम्मको परिवेश हो ।

‘बज्रमोहन स्वती त भागेछ’- कसैले भन्यो । हामीले स्कूलको छतमा, अगाडिका आँपका बुटामा जताततै चारतारे झडा फहराएका छौं । हरेकका हात र गोजीमा तिनै झन्डा छन । स्कूल हाम्रो कब्जामा छ । विध्यार्थीका झुन्डझुन्डमा नाराहरु गुन्जिएका छन । विर बीपी अमर रहुन, नेपाली कांग्रेस जिन्दावाद ।

साँच्ची हामीलाई कांग्रेस कसले बनायो ? हामी किन कांग्रेस बन्यौं- धेरैलाई अझै सम्म पनि थाहा छैन ।

“गावीस भवन आन्दोलनकारीले कब्जामा लिए अरे” । कम्पाउण्ड बाहिरका प्रहरीका गाडीहरु पश्चिमतर्फ हुँइकिए । हाम्रो जुलुस पनि हिंड्यो । नारा उनै थिए, अझ त्यसमा एउटा नारा थपिएको छ- पम्फा देवी कस्ती छ ? पछी बिच बाटोमा हामीलाई प्रहरीले तितरवितर पार्‍यो । हामी मध्ये केहीलाई छोपेर थानामा लाग्यो । एक घण्टामै पुष्प सर र कालिका निम्न माद्यामिक विद्यालयका प्रअ लक्ष्मी आचार्य सर हामीलाई निकाल्न थानामै पुग्नु भएछ ।

विद्यार्थीलाई यसरी थुन्न पाइँदैन- मैले पुष्प सरको आवाज भित्रै बाट सुनें । प्रहरीकै गाडीले हामीलाई गाविसको कार्यालयमा लगेर छोडिदियो ।

त्यहाँ त उल्का भएको रहेछ- प्रहरीले नै ‘पंचायती ब्यवस्था मुर्दावाद’ भनेछन । इन्स्पेक्टर थिए गैंडाकोटमा । नाम कुन्नी के हो थाहा भएन । उनलाई अवीर लगाएर ‘पंचायती ब्यवस्था मुर्दावाद’ भन्न लगाइएको थियो । आन्दोलनको चार घण्टामै बहुदल ल्याउने पहिलो गाविस बन्यो शायद गैंडाकोट ।

पछी चुडामणी कँडेल जो अहिले त्यही जनक मावीको प्रधानाध्यापक हुनुहुन्छ उहाँको जमर्को थियो, जिल्लाभरी विजय जुलुस गर्ने । एउटा बस लिएर आउनु भयो । बेल्डिहामा सयौंको संख्यामा प्रहरी थिए, तिनले घेरामा पारे हामीलाई । देवीलाल त्यहिंबाट पक्राउ परेछ । हामी जोगिएर आयौं । कलाधरले भनेको- प्रहरीले लखट्दा उ इनारमा खसेछ । धेरैबेर पछी आफैं निस्किएछ त्यहाँबाट । “उफ धन्न बाँचे । प्रहरीले छोपेको भए मार्थे पनि होला” । नारायणीको किनारै किनार गैंडाकोट आएछ ।

साँच्ची हामीलाई कांग्रेस कसले बनायो ? हामी किन कांग्रेस बन्यौं- धेरैलाई अझै सम्म पनि थाहा छैन ।

चौध दिन पछी देविलाललाई प्रहरीले छोड्यो । विहानै देविलाललाई भेटें । निन्याउरो भएको रहेछ ।

“यो चौध दिनमा चौधसय पटक प्रहरीका बुट परेहोलान यो शरीरमा । मर्न चाँहीं नमरिदो रहेछ”- देविलालले भन्यो ।

फेरी पनि हाम्रो आन्दोलन रोकिएन । देशमै आन्दोलन सकिएको थिएन हाम्रो कसरी रोकिन्थ्यो ? हाम्रा बा आमा आन्दोलनको कारण छोराहरु गुमाउन चाहन्थेनन् । हामीले आन्दोलन गरेर देशमा प्रजातन्त्र फैलाउने अवशरलाई छोड्न चाहन्नथ्यौं । त्यसैले पनि हामीलाई रोक्न प्रहरी प्रशासन मात्र होइन हाम्रा बा आमा पनि लागेका थिए ।

हामी कसरी रोकिन्थ्यौं ? हामीलाई निशुल्क शिक्षा चाहिएको थियो । स्कुलमा गतिलो चर्पी चाहिएको थियो । सफा पिउने पानी चाहिएको थियो । यो सबै प्रजातन्त्रले मात्र दिन सक्दछ भन्ने कति ठूलो विश्वास हुँदो हो ।

हे राम ! फर्केर नहेरे पनि देखिन्छन हाम्रा विश्वासका अनगिन्ती छिद्रहरु । तथापी देविलाल र म कैंयन रात गहुँ बारीमा सुत्यौं । माथि जंगलका कोप्चेरामा लुकेर बस्यौं । साँच्ची हामीले आन्दोलन किन गरेका थियौं ? मैले बुझिन । देविलाल र कलाधरले पनि बुझेनन्। गीताको चौथो अध्याय जस्ता भए हाम्रा सोंचहरु ।

अहिले देविलाल देशमा छैन । पोसिलो भविष्यका लागि आन्दोलन गरेका धेरै देविलालहरु देशमा छैनन । कलाधर देशमै छ तर दुई वर्ष अघी विजय चोकको पारीपट्टी भेटिंदा भनेको थियो- जमीनमा टेकेर उभिनुलाई मात्र देशमा भएको भन्न मिल्दैन । त्यसो भने कहाँँ छ कलाधर ? सोचहरुले सपना उमार्छन । सपना हुर्काउने जिम्मा समयको हो । यो धोकेवाज समयको के कुरा । के देविलालले सम्झेको होला, शरीरमा वर्सिने प्रहरीका डण्डा ? कि कलाधरले विर्स्यो छप्लङ्ङ इनारमा खसेको विस्मृत समयको उदेक लाग्दो पाटो ?

तपाइँको प्रतिक्रिया