बिहीबार, वैशाख १३, २०८१

अमेरिकी सभामुखको ताईवान भ्रमणबारे चीन र अमेरिकाको वाक युद्द जारी

नेपालप्लस संवाददाता / लण्डन२०७९ साउन १७ गते १६:३५

अमेरिकी सभामुख नान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणको विषय चीन र अमेरिकाले एक अर्कालाई चेतावनी दिईरहेका छन् । पेलोसीको भ्रमणले गर्दा वासिंटन र बेइजिङबीच तनाव बढेको छ ।

ह्वाइट हाउसले सोमबार अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको अपेक्षित भ्रमणको बारेमा बेइजिङको भनाईको निन्दा गरेको छ । संयुक्त राज्य अमेरिकाले “कुनै फाईदा लिने वा दुई देशको समस्यामा संलग्न नहुने र चीनसँग तनाव बढाउनमा कुनै चासो नराख्ने उल्लेख गरेको छ ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले चीनले आफ्नो दाबी गरेको स्वशासित टापुको भ्रमण गर्ने वा नगर्ने निर्णय अन्ततः पेलोसीको भएको बताए । उनले कांग्रेसका सदस्यहरूले वर्षौंदेखि नियमित रूपमा ताइवान भ्रमण गरेको उल्लेख गरे।

एसिया भ्रमणमा रहेकी सभामुख पेलोसी सिंगापुर र मलेसिया को भ्रमण सकेर दक्षिण कोरिया र जापान जाने कार्यक्रम छ । मंगलवारनै उनी ताईपुग्ने कार्यक्रम रहेको ताईवानका मेडियाले उल्लेख गरेका छन् ।

चीनले आफ्नो भूभाग मान्दै आएको ताइवानको आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ । ‘चीनले अमेरिकलाइ ‘आगोसित नखेल्न’ भन्दै चेतावनीपनि दिएको छ ।

बेइजिङले ताइवान स्ट्रेट वा ताइवान वरपर क्षेप्यास्त्रहरू प्रहार गर्ने, ताइवानको आकाशमा उड्ने र ठूलो मात्रामा नौसेना अभ्यासहरू गर्ने, जलसेनाहरु परिचालित गर्ने जस्ता सैन्य कारबाहीहरू सहित उत्तेजक प्रतिकारात्मक कदमहरू लिनको लागि भ्रमणलाई बहानाको रूपमा प्रयोग गर्न सक्ने भन्दै किर्बीले आफ्नो प्रशासनका अधिकारीहरू चिन्तित रहेको जनाएका छन् ।

“सरल भाषामा भन्नुपर्दा, बेइजिङले लामो समयदेखि रहेको अमेरिकी नीतिसँग मेल खाने सम्भावित भ्रमणलाई कुनै प्रकारको संकटमा परिणत गर्ने वा ताइवान सिमा वा वरपर आक्रामक सैन्य गतिविधि बढाउने बहानाको रूपमा प्रयोग गर्न्य्पर्ने कुनै कारण छैन” किर्बीले भने।

तर पेलोसी ताईवान पुग्ने कुनै आधिकारिक घोषणा भने भएको छैन । ताइवानका स्थानीय मेडियाले रिपोर्ट गरे अनुसार पेलोसी मंगलबार राती आइपुग्नेछिन् । उनलाई २५ वर्ष भन्दा लामो समयमा भ्रमण गर्ने उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी हुने बताएका छन् । ताइवानका तीन ठूला राष्ट्रिय समाचारपत्रहरू युनाइटेड डेली न्यूज, लिबर्टी टाइम्स र चाइना टाइम्सले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उनले मलेसियाको भ्रमण गरेर ताइपेई आइपुग्ने र रात बिताउने उल्लेख गरेका छन् ।

अमेरिकी सभामुखका तर्फबाट हुने भ्रमणले बेइजिङलाई तनाब उत्पन्न गराएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न क्षेत्र मान्दै आएको छ । यदि पोलेसीको ताईवान यात्रा अगाडि बढ्यो भने “गम्भीर परिणामहरू” हुने भन्दै चीनले बारम्बार चेतावनी दिएको छ ।

“यदि पेलोसीले जिद्दी गर्दै ताइवान भ्रमण गरेमा चीनले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न दृढ र बलियो कदम चाल्नेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बेइजिङमा भनेका छन् ।

“आगोसँग खेल्नेहरू त्यसबाट नष्ट हुनेछन्,” झाओले भने “हामी अमेरिकालाई फेरि एकपटक चेतावनी दिन चाहन्छौं कि हामी कुनै पनि परिस्थितिको लागि पूर्ण रूपमा तयार छौं र हाम्रो जनता मुक्ति सेना कहिल्यै चुपचाप बस्नेछैन।”

सोमबार पत्रकारहरूसँग कुरा गर्दै संयुक्त राष्ट्र संघका लागि चीनका राजदूत झाङ जुनले सम्भावित भ्रमणलाई “धेरै खतरनाक, धेरै उत्तेजक” भनेर ब्याख्या गरे ।

“यदि अमेरिकाले भ्रमणमा जोड दियो भने चीनले हाम्रो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न दृढ र बलियो कदम चाल्नेछ” उनले एक ब्रीफिंगमा भने।

चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि गत हप्ता राष्ट्रपति जो बाइडेनसँगको फोन वार्तामा बेइजिङको आफ्नो टापु ताइवानसँगको व्यवहारमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएका थिए ।

(स्रोत- एपी, एएफपी र फ्रंस २४)

तपाइँको प्रतिक्रिया