मंगलबार, वैशाख ४, २०८१

द्रोहको बाटोमा प्रधानमन्त्री देउवा

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन १७ गते १६:५७

लोकतान्त्रिक प्रणालीमा जनताले आफ्नो गुनासो सुनुवाई हुने अपेक्षा राखेको हुन्छ । लोकतन्त्र भनेको राज्य संचालकहरुले जनतालाई सर्वोपरी राखेर उनैका गुनासो सुन्ने ब्यवस्था पनि हो । यो कुरा लोकतान्त्रिक पद्धतीका आयमहरुमा टेकेर राज्य संचालनको तहमा पुगेका नेताहरुलाई पक्कै पनि थाहा हुनुपर्ने हो । तथापी लोकतन्त्रका मुलभुत सिद्धान्तलाई सरकारमा पुग्ने हरेकले किन नजरअन्दाज गरिरहेका हुन्छन र जनताका गुनासाहरु किन सुनिंदैन ? यो निकै अचम्म लाग्दो कुरा हो ।

८० वर्षको हाराहारिमा पुग्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई के त्यस्तो कुरा छ जसले उनको आत्ममा लालचको भण्डार निर्माण गरिदिएको छ ? डडेल्धुराको सामान्य किसान परिवारमा जन्मिएका देउवाले राजनीति नगरेका हुँदा हुन त उनी कुनै स्कुलको सामान्य मास्टर हुन्थे । वा गाउँमै किसान बनेर आफ्नो जीवन निर्वाह गरेका हुन्थे । समय, परिस्थिती र संगतले उनलाई राजनीतिमा ल्यायो जसले उनलाई पटक पटक राज्यको सर्वोच्च निकायमा पुर्‍यायो ।

त्यति मात्र होइन उनिसँग अरवौंको सम्पत्ति छ । त्यही हिसावमा बैंक ब्यालेन्स छ । विहान बेलुका पाउसम्मै पुगेर लम्पसार परिदिने कार्यकर्ताहरुको लर्को छ । धेरै महत्वकांक्षी मान्छेलाई चाहिने कुरा यिनै त होलान । तर शेरबहादुर देउवालाई किन पुगेको छैन ? यो भने नेपालीहरुले सधैं गरिरहनुपर्ने गहकिलो प्रश्न हो ।

मान्छेका लागि जीवनमा के ठूलो हुन्छ ? पद-पैसा, परिवार वा देश ? यो मान्छेहरुको स्तर अनुसार व्याख्या हुने विषय हो । सामान्य मान्छेहरुका लागि पैसाले महत्व राख्दो हो । किनभने जीवनस्तर उकासिने माध्यम पैसा नै हो । निम्न वर्गका मानिसको जिन्दगीमा धेरै हदसम्म परिवारको खुशी पैसासँग जोडीएको हुन्छ । यसको हद यही हो । तर देश बनाउने जिम्मा लिएका राजनीतिज्ञहरुको सोचमा देश पर्नुपर्ने हो । देश भनेको चार किल्ला छुट्याएको जमिन मात्रा होइन । जनता पनि हुन । हो यिनै जनता लोकतान्त्रिक ब्यवस्था भएका देशमा सर्वोपरी हुन्छन । लोकतन्त्रको नियमा अनुसार हुनु पर्ने यही हो ।

तर हाम्रो मुलुकमा किन जनता सर्वोपरी हुन सक्दैनन ? यसको सजिलो जवाफ के हो भने बैमान नेताहरुका कारण यस्तो भएको हो । नेताहरु इमान्दार हुन्थे भने जनता देशका राजा हुन्थे र नेताहरु कारिन्दा । अहिले निरंकुश लोकतान्त्रिक ब्यवस्था चलेको छ । जहाँँ जनतालाई बोल्ने छुट त हुन्छ तर तिनिहरुको आवाजलाई कहीं कतैं सुरक्षित गरिदैन ।

बजेट निर्माणका बेला कुनै अज्ञात ब्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दायरा हेर फेर गराएको आरोपमा रजिनामा दिएका अर्थमन्त्री जनार्दन शर्मा पुन: सोही मन्त्रालय सम्हाल्ने गरी मन्त्री भएका छन । पुन: अर्थमन्त्रालय सम्हाल्ने चाहना शर्माको भन्दा पनि शेरबहादुर देउवा र पुष्पकमल दाहालको हो । आफ्नो मन्त्रीमण्डलका सदस्य माथी बजेट निर्माणका क्रममा कुनै अज्ञात ब्यक्तिलाई मन्त्रालयमा छिराएर करका दर हेरफेर गरेको गम्भिर आरोप लागेको छ । यो भनेको सिधा सिधा राष्ट्रद्रोह हो । कर भनेको देशको अर्थतन्त्र, जनताको जीवन स्तर र अन्ताष्ट्रीय आर्थिक प्रक्षेपणलाई मुल्यांकन गरेर तय गर्नु पर्ने हुन्छ । कुनै ब्यक्ती, समुह वा केही राजनीतिज्ञको चाहनामा करका दर बनाइनु भनेको देशलाई गम्भिर संकटमा पुर्‍याउनु हो । जनार्दन शर्मा यही खेलमा सामेल थिए । उनी देश विघटन गराउने षड्यन्त्रमा लागेका ब्यक्ती हुन ।

तर संसदिय समिती जस्तो कमजोर समिती बनाएर सफाइ दिनुले शेरबहादुर देउवा, पुष्पकमल दाहालहरु देशलाई विघटन गराउने षड्यन्त्रमा सामेल छन भन्ने कुरा झनै छर्लङ्ग भएको छ । शर्मालाई संसदिय समितिले सफाइ दिए पनि नेपाली जनताले सफाइ दिएका छैनन । जनताका औंला अझै पनि शर्मा, देउवा र दाहाल माथि उठिरहेका छन । संसदिय समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेजमा त्यस्तो शंकास्पद केही पनि नदेखिएको बताएको छ । त्यो फुटेज नहुन पनि सक्दछ । किनभने बेइमानी गर्नेले जे पनि गर्न सक्दछ । अथवा फुटेज भए पनि संसदिय समितीलाई नै कुनै प्रभावमा पारिएको हुन सक्दछ । किनभने नेपालमा यस्ता कैंयन उदाहरणहरु छन जहाँँ पुराका पुरा समिती नै बेचिएका छन ।

अर्को तर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदिय समितिले दिएको प्रतिवेदन भन्दा अली माथि उठेर मन्त्रीको कल डिटेल हेर्नुपर्ने बताएको छ । यो एउटा प्रकृया हुन सक्दछ तर कसले गर्ने ? कल जाँच गर्ने प्रकृयालाई कानुनी अड्चन देखाइेको छ । जसले जती आवाज उठाए पनि अब केही हुने वाला छैन ।

यहाँनेर फेरी पनि प्रधानमन्त्री शेरबहादुर देउवा उनकी श्रीमती आराजु राणा र पुष्पकमल दाहालको चाहना खुला रुपमा देखिएको छ । देश र जनता यिनिहरुका प्रथामिकतामा पर्दैनन । पाँचौ पटक प्रधानमन्त्री बन्दै गरेका प्रधानमन्त्री देउवासँग आफ्ना सबै पुराना पाप पखाल्ने ठूलो मौका थियो । द्रोहको बाटोलाई पन्छाएर उनले यो एक वर्षमै आफूलाई पखाल्न मात्र होइन देशलाई उन्नतिको बाटोमा लैजान सक्दथे । “बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखेर सिधा बनाउने जतीसुकै प्रयास गरे पनि पुच्छर बाङ्गाको बाङ्गै हुन्छ” भन्ने नेपाली उखान जस्तै प्रधानमन्त्री देउवाले द्रोहको बाटो फेर्न सक्दैनन भन्ने पछील्लो उदाहरणबाट आफूलाई माथि उठाउन सकेनन ।

केही हप्ता अघी काठमाडौंमा भेटिएका एक जना नेपाली कांग्रेसका नेताले नेपालप्लस सँगको कुराकानीमा भनेका थिए- देशमा प्रधानमन्त्री मात्र इमान्दार हुने हो भने सत्तरी प्रतिशत गलत काम रोकिन्छन । तर हाम्रो देशमा यस्ता प्रधानमन्त्री छन जसको विगत नै गलत तरिकाले स्थापित भएको छ । शेरबहादुर देउवाहरुले अर्थमन्त्री शर्मालाई चोख्याउन जुन जालझेल गरे यो भनेको देश प्रतिको द्रोह हो- ति नेताले भने ।

लोकतन्त्रमा लोकको कुरा सुनिन्छ । जनतालाई नसुन्ने आडम्बरी सरकार भनेको निरङ्कुश सरकार हो । निरङ्कुस हुनेले जे पनि गर्दछ । देशका हरेक अवयव सँग खेलवाड गर्दछ । निरङ्कुश ब्यक्तिलाई देशको परवाह हुँदैन । उसले आफ्नो फाईदाका लागी देशलाई धरौटी राख्न सक्छ । यही हो देश द्रोह भनेको । देउवा-प्रचन्ड देश द्रोहको यही सिमानामा उभिएका छन । अब यिनिहरुले आफूलाई पखाल्न सजिलो छनै ।

करको दर हेरफेर गर्न कुनै अज्ञात ब्यक्तिलाई जिम्मा दिनु सामान्य कुरा होइन- देश र जनताको भविष्य सँग जोडीएको गम्भिर विषय हो । यस्तो गम्भिर विषयमा कसैका प्रती सापेक्ष रहने प्रधानमन्त्री देउवालाई ईतिहासले कहिल्यै पनि माफ गर्ने छैन ।

फेरी पनि देउवाप्रती उही कुरा- के चाहिएको छ अझै पनि उनलाई ? सामान्य किसान परिवारमा जन्मेका उनको सातपुस्ता पुग्ने सम्पत्ति छ । पाँच पटक प्रधानमन्त्री भइसके । अब के चाहियो ? यो हामीले सोध्ने प्रश्न हो । तर देउवाको महत्वाकांक्षा सकिएको छैन । उनमा सम्पत्तिको आसक्ती सकिएको छैन । अझै प्रधानमन्त्री बन्ने लोभ सकिएको छैन । तथापी यि सबै प्राप्तिका पछाडि देउवा अहिले उभिएको बाटो देश द्रोहको बाटो । समयले यो बाटोलाई कहिल्यै पनि विर्सिने छैन ।

तपाइँको प्रतिक्रिया