शनिबार, वैशाख ८, २०८१

‘उहाँ जीवनभर मेरो शरिर र म उहाँको छायाँ जस्तो’ बिद्या बाटाजु

प्रस्तुती: अनुराधा पौडेल / फ्रान्स२०७९ साउन १८ गते १७:१५

बिद्या बाटाजु

बाल्यकालका संझनाहरु मध्ये टोलमा हुने नवदुर्गाको नाच प्रिय थियो । यो दिन नवदुर्गा र उनका साथी हामीहरु मिलेर टोलबासीको खेतका मेथीको साग टिपेर खान्थ्यौँ । देवी देवता खेतमा पसे बालीनाली सप्रिन्छ भन्ने चलन थियो उ बेला । रिसाउने ठाउँमा मानिस रमाउँथे । घरको दैलो खुला राख्नुपर्छ भनेर ताला चावी लगाइदैनथ्यो । पेरिस आएपछि मात्रै मैले ताला चावी लगाउन सिकेँ ।

मेरो जन्मघरमा टोलबासीहरु बेलुका जम्मा भएर भजन किर्तन गर्नुहुन्थ्यो । घरको धार्मिक माहोलले मलाइ संगितप्रेमी, भगवान प्रति आस्थावान, कर्तव्यपरायण र दयालु बनायो ।

एक पटक बुबा नापीको कामले घर बाहिर जाँदा कतै बास बस्नुभएछ । घरमुलीले ‘एउटा केटी चाहिएको छ । केटी खोज’ भनेछन् । बुबाले आफ्नै छोरी पो दिनेकी भनेर ‘मा’ सँग कुरा गर्नुभएछ । ‘मा’ ले मलाइ पेरिसमा बस्ने एउटा ठूला मानिसले केटी खोज्या रैछन् । उनी सितारका गुरु रे, नरेन्द्र बाटाजु । तर आँखा नदेख्ने रहेछन् भन्नुभयो । रेडियो नेपालमा उहाँले कम्पोज गरेका शास्त्रीय सँगितका धुन बज्थे त्यो बेला । उहाँ पद्म कन्या क्याम्पसको सितार गुरु पनि हुनुहुन्थ्यो । उहाँको एउटा राम्रो फोटो हेरेँ । केटा रोज्ने सवालमा उ बेला छोरीहरुले नाइनास्ती गर्दैनथे । भाग्यको खेल हो भनेर मैले हुन्छ भनिदिएँ ।

मैले बचन दिएपछि मेरा पिता र हुनेवाला ससुरा बुवासँग काठमाडौंबाट दिल्ली हूँदै दुइ हप्ताको लामो यात्रा पछि सन् १९७७ मा पेरिस आइपुगेँ । भक्तपुर र पेरिसको संसार एकदम फरक थियो । पेरिसमा जताततै झिलीमिली थियो । मोटरहरु गुड्थे । सडक फराकिला थिए । म पेरिस आइपुग्दा डेरामा मेरा हुनेवाला श्रीमान, उहाँको नजिकका मित्र तबलाबादक कृष्ण गोविन्द केसी र उहाँको श्रीमती हुनुहन्थ्यो ।

पेरिस आइपुगेको भोलिपल्ट मैले म बिद्या हुँ भनेर नरेन्द्रजीसँग परिचय गरेँ । हिजो बुवाहरु भएकोले मैले बोल्न मिलेन भनें । अप्ठेरो मानेर हुँदैनथ्यो । नेपाल देखि उहाँसँगै बिहे गर्ने भनेर आएपछि नबोलेर हुँदैभएन । त्यतिबेला उहाँले लाजले अनुहार रातो पार्नुभएको थियो जुन हिजै जस्तो लाग्छ ।

पेरिस आएको दुइ हप्तामा पेरिस १८ मा रहेको आभन्यु राशेलको डेरामा मेरो बिहे भयो । उ बेला फ्रान्सका लागि नेपाली राजदुत त्रैलोक्यनाथ उप्रेती हुनुहुन्थ्यो । उहाँ पन्डित बनिदिनुभयो र पेरिसका दुइ चार नेपाली परिवारले जन्तीको भूमिका निभाउनुभयो । दुताबासले बिहे गरिदिएको हामी दोस्रो जोडी हौँ । यहि डेरामा हामीले ४० वर्ष बितायौं ।

पहिलो पटक उहाँलाई डोराएर लग्दा हातहरु नरम रहेछन् भन्ने थाह पाएँ । आँखाबाट प्रेम अभिव्यक्त गर्ने कुरा हुँदैनथ्यो हाम्रो । हाम्रा आवाज र छुवाइहरु नै प्रेम व्यक्त गर्ने माध्यम थिए । उहाँले मलाइ छामेर म कस्ती छु भन्ने थाह पाउनुभयो । सबैले म निकै राम्री छु भन्थे । उहाँलाई गर्व लाग्थ्यो, म राम्री छु भन्दा । र फेरि कता कता उहाँमा मेरी श्रीमती अरुले खोसिदिन्छन् कि भन्ने डरपनि हुन्थ्यो ।

मेरो बिहे भएको ताका, पेरिसमा कोही नेपाली देख्यो कि दाजुभाइ भेटेजस्तो हुन्थ्यो । हामी दुइ चार घर नेपाली अति आत्मिय थियौं । कोही नेपाली यताबाट काठमाडौं गएमा एक झोला चिठी लाने र उताबाट आउँदा पनि एक झोला चिठी ल्याउने गर्थे । चिठी लाने मानिस पाइएन भने हवाइ पत्र भनेर लेखिएका खाम हुन्थे, तिनमै चिठी लेखेर पठाइन्थ्यो । पछि क्यासेटमा आवाज भरेर पनि पठाइयो । फेरि पछि टेलिग्राम हुँदै टेलिफोनको चलन आयो तर यि दुवै सेवा महँगा थिए ।

बिहे भएपछि हामी घुम्न गएको ठाउँ भनेको नजिकैको मो मार्थ भन्ने गिर्जाघर हो । त्यहाँ पहिलो पटक उहाँलाई डोराएर लग्दा हातहरु नरम रहेछन् भन्ने थाह पाएँ । छुट्टीमा हामीहरु सिनेमा हेर्न जान्थ्यौं । हिरोहोरोइन र सिनेमाका पात्रहरुको आवाजहरु सुनेर कथा बुझ्ने उहाँहरुमा अनौठो क्षमता थियो । आँखाबाट प्रेम अभिव्यक्त गर्ने कुरा हुँदैनथ्यो हाम्रो । हाम्रा आवाज र छुवाइहरु नै प्रेम व्यक्त गर्ने माध्यम थिए । उहाँले मलाइ छामेर म कस्ती छु भन्ने थाह पाउनुभयो । सबैले म निकै राम्री छु भन्थे । उहाँलाई गर्व लाग्थ्यो; म राम्री छु भन्दा । र फेरि कता कता उहाँमा मेरी श्रीमती अरुले खोसिदिन्छन् कि भन्ने डरपनि हुन्थ्यो ।

नरेन्द्र जीको बाल्यकाल त्यति सुखी थिएन । आमा सानैमा बितेकोले बुबाले सानो आमा भित्र्याउनुभएको रहेछ । उहाँको जन्म काठमाडौंको न्याखन्टोलमा सन् १९४१ मा भएको हो । उहाँका पिताजी भक्तपुरबाट बसाइ सरेर काठमाडौं जानुभएको रहेछ र उहाँका पीताजीका मित्र हुनुहुँदो रहेछ नारायण प्रसाद श्रेष्ठ ।

मेरो चाहिं भक्तपुर दरबार क्षेत्रको एकाँछेमा विसं २०१५ मा भएको हो, जन्म । बुबा श्याम भक्त राय र आमा श्यामादेवी रायबाट म जन्मिएँ ।

नरेन्द्रजीको मित्र नारायण प्रसाद श्रेष्ठ होटल कोहिनुरको मालिक हुनुहुँदो रहेछ । प्रख्यात भारतीय सितारवादक गुरु रवीशंकरको भक्त र उहाँकै तरिकाले सितार पनि बजाउने गर्नुहुँदो रहेछ । उहाँ मार्फत नै नरेन्द्रजीले आठ वर्षको उमेर देखि रेडियो नेपालमा गीत गाउने र पछि उहाँबाटै सितार सिक्ने मौका पाउनुभएको रहेछ । नरेन्द्रजीले सितार सिक्ने क्रममा मरुटोलका तबलाबादक कृष्ण गोविन्द केसीसँग भेट भएको रहेछ । कृष्ण गोविन्द केसी पछि प्रख्यात तबलाबादक बन्नभुयो र नरेन्द्र बाटाजु सितारबादक । दुवैजना जीवनभर छुटिनुभएन । कतिपय अवस्थामा कृष्ण गोविन्द केसी अभिभावको भूमिकामा रहनुभयो । पछि दुवै जनाले भारत सरकारबाट शैक्षिक वृत्ति पाएर लखनउको भातखन्डे कलेजबाट सन् १९६४ मा स्नातकोत्तर स्तरको पढाइ सकाउनुभएको रहेछ । यतिबेला नेपालमा व्यवासायिक सितारबादक र तबलाबादकहरु निकै कम हुनुहुँदोरहेछ ।

मेरो बिहे भएको ताका, पेरिसमा कोही नेपाली देख्यो कि दाजुभाइ भेटेजस्तो हुन्थ्यो । हामी दुइ चार घर नेपाली अति आत्मिय थियौं । कोही नेपाली यताबाट काठमाडौं गएमा एक झोला त चिठी लाने र उताबाट आउँदा पनि एक झोला चिठी ल्याउने गर्थे ।

पढाइकै क्रममा उहाँहरुले अल इन्डिया रेडियोमा पनि आफ्नो प्रस्तुती दिनुभएको रहेछ ।  पढाइ सकाएर नेपाल फर्केपछि नरेन्द्र जी पद्मकन्या क्याम्पसको सितारको गुरु बन्नुभएछ । केहि फ्रान्सेली विद्यार्थीहरु उ बेला मेरा श्रीमान र कृष्ण गोविन्द दाजुका विद्यार्थी हुनुहुँदो रहेछ । उनै विद्यार्थीहरुको साथ र सहयोगमा उहाँहरु दुवै जना पेरिस आइपुग्नुभएको हो । उहाँहरुले नेपालमा अवसर नपाएर बिदेशीनु भएको होइन । उहाँहरुले बिदेशमा आफ्नै ज्ञान सिप प्रस्तुत गर्न सकिन्छ र शास्त्रिय संगितलाई युरोपमा पनि बिस्तार गर्न सकिन्छ भन्ने आत्म बिश्वासले नै देश छाड्नुभएको हो ।

उहाँहरुको त्यो आत्मविश्वास देख्दा मलाइ अहिले गर्व पनि लाग्छ र अचम्म पनि लाग्छ किनभने फ्रान्समा फ्रान्सेली भाषा बोल्नुपर्थ्यो, उहाँहरुले अंग्रेजी बोल्नुहुन्थ्यो । कत्रो आँट उहाँहरुको ! गर्व यस अर्थमा लाग्छ कि बाचुन्जेल उहाँहरुले यहि संगित मार्फत् आफ्नो जीवन निर्वाह गर्नुभयो । जहाँ पुग्नुभयो नेपाली भनेरै चिनिनुभयो र नेपालकै नाम उचा पार्नुभयो ।

नरेन्द्रजी पेरिस आएकै बर्ष अर्थात सन् १९७२ मा उहाँ भारतिय संसार प्रसिद्द विख्यात सितारवादक गुरु रविशंकरबाट दिक्षित हुनुभएको रहेछ । गुरु बन्दा नरिवल पूजा गर्ने चलन हुनेरहेछ । त्यो नरिवल आजसम्म पनि मैले जतनले राखेकी छु ।

फ्रान्स आएपछि मैले फ्रान्सेली भाषा सिकें । कार्यक्रमका सिलसिलामा युरोपका बिभिन्न देश जानुपर्ने भएकोले अंग्रेजी पनि सिकें । कृष्ण गोविन्द दाजुको श्रीमती र मैले फेरी तान्पुरा सिक्यौं र हामीले हाम्रो समुहलाई ठूलो बनायौं । शास्त्रिय संगीतमा तान्पुराको पनि महत्व हुन्छ । हामीले फ्रान्सेली पत्रिका मार्फत बिज्ञापन दिन्थ्यौँ र कसैलाई शास्त्रिय संगीत सुन्न मन भए सम्पर्क गर्नुभन्थ्यौँ । हामीलाई बिभिन्न ठाउँबाट कार्यक्रमको लागि निम्ता मिल्थ्यो । सानो डेरामा सितार र तबला बजाउन सिक्न आउनेहरुको ठूलो भिड लाग्थ्यो । यति विद्यार्थि हुन्थे कि पालो कुर्नकालागि घरको करिडोर र हुँदा हुँदा बाथरुममा समेत भिड लाग्थ्यो ।


बिद्या बाटाजु र नरेन्द्र बाटाजु । फोटो सौजन्य-बिद्या बाटाजु

सन् १९७२ देखि ९० को दशकसम्म गुरुदेव रविशंकरको वर्षमा कम्तीमा एउटा कार्यक्रम पेरिसमा हुन्थ्यो । उहाँ यहाँ आउँदा नरेन्द्रजीलाई दीक्षित बनाउने गर्नुहुन्थ्यो र हाम्रा घरमा जे पाकेको छ त्यहि खानुहुन्थ्यो, त्यो पनि भूँइमा बसेर । रविशंकर बढो नम्र र हसिमजाक गर्ने स्वभावको हुनुहुन्थ्यो । कार्यक्रम गर्दा चाहिं एकदम कडा । उहाँले भनेजस्तै गर्नुपर्ने । उहाँको कार्यक्रममा पटक पटक भाग लिएर तान्पुरा बजाउने मौका पाएँ मैले ।

नेपाल देखि उहाँसँगै बिहे गर्ने भनेर आएपछि नबोलेर हुँदैभएन । त्यतिबेला उहाँले लाजले अनुहार रातो पार्नुभएको थियो जुन हिजै जस्तो लाग्छ ।

कार्यक्रमको सिलसिलामा हामीहरु युरोपका सबै र उत्तर अफ्रीकी देशहरु ट्युनिशिया अल्जेरिया र मोरक्को गयौँ । मोरक्कोमा फेस्टिभल द माराकेश हुन्छ । बिशाल हुन्छ यो फेस्टिभल (मेला वा पर्व) । सन् १९७८, १९८२ र सन् १९९१ गरी तिनपटक हामीले यो मेलामा भाग लिने मौका पायौँ । त्यहाँ जाँदा त हामीलाई मानिसहरुले घेरेर फोटो खिच्थे । एउटा वर्ष यति भिड भयो कि बार्दली नै खस्यो । धन्न मानिसहरुलाई केहि भएन ।

उहाँले सकुन्जेल फ्रान्सका बिभिन्न शहरहरुमा कार्यक्रम गरियो । पेरिस स्थित युनेस्को कार्यालयमै कम्तीमा ६ वटा कार्यक्रम भए । फ्रान्सेली पत्रिका देखि बिबिसी नेपाली सेवामा समेत उहाँका अन्तर्वार्ता र कार्यक्रमका खबर आउँथे । कार्यक्रम पछि दर्शकहरुले उठेर गडगड ताली लगाउँदाको क्षणले एकदम आत्मसन्तुष्टि दिन्थ्यो । शिर निहुराएर अभिवादन गर्थे । यस्ता कार्यक्रमहरु मार्फत् हामीहरुले बढो मान सम्मान, इज्जत र प्रतिष्ठा कमायौँ । प्रतिष्ठित मानिसहरु शास्त्रीय संगित प्रेमीहरु र ठूला संघसँस्थाहरुसँग हाम्रो संगत र सम्पर्क रह्यो ।

आयोजकहरुले हामी नेपाली हौं भनेर चिन्थे, किनभने हामी नेपाली पासपोर्टमै हुन्थ्यौँ । तर कतिपय ठाउँमा भने हामीलाई हिन्दुस्तानी भन्थे । दर्शक तथा स्रोताहरुसँग छलफल हुँदा हामीले नेपाली पहिचान कायम राख्यौं । कतिपयले तिमीहरु नेपाली हौ र सितार त भारतिय बाजा हो भन्थे । मैले यस्तो बेला बाजाहरुका देश हुँदैनन् । बाजाहरुको प्रयोगबाट संगित कम्पोजिशन गर्ने हो, धुन निकाल्ने अनि त्यहि धुन सुन्ने हो भन्थेँ ।

नेपाल बारे सधैं जानकार भइयोस भनेर नरेन्द्रजी गोरखापत्रको ग्राहक बन्नुभएको थियो । उ बेला काठमान्डौं पेरिस गर्ने दैनिक जहाज नहुनेभएकोले १५ दिनमा एक बन्डल गोरखापत्र घर आइपुग्थे र त्यो मार्फत नेपालबारे पुरा जानकारी राख्ने कोशिष गर्नुहुन्थ्यो नरेन्द्र जी । गोरखापत्र घर आइपुगेपछि पढेर सुनाउने काम मेरो हुन्थ्यो । केहि दिनकालागि मलाइ काम पुग्थ्यो ।

सन् १९९५ मा सितारवादक कृष्ण गोविन्द दाइ बित्नुभएपछि उहाँहरुको चिरपरिचत जोडि टुट्यो । नरेन्द्रजीले अरु तवलावादकहरुसँग काम गर्नुभयो । तर उहाँको अभाव बेसरी खट्कियो । उहाँको निधन पछि नरेन्द्रजी डिप्रेसनको शिकार बन्नुभयो जुन पछि पछि पनि बल्झिरह्यो ।

नरेन्द्रजी मानिसको स्वरको उचाइ, गहिराइ, लय आदिबाट को कति टाढा छ र कसरी उसले आफ्नो कुरा अभिव्यक्त गरेको छ भन्ने थाह पाउनुहुन्थ्यो । आवाजमा मधुरता या कर्कशपनि छुट्टाउनुहुन्थ्यो र आवस्यक पर्दा टाढिनुहुन्थ्यो । कसैले उहाँलाई अन्धो मानिस भन्यो भने धेरै मन दुखाउनुहुन्थ्यो र उसमा के बत्तिसै लक्षण रहेछन् भन्नुहुन्थ्यो । उहाँले मलाइ ‘अशक्त र अपांगहरुलाई कहिल्यै नेहप्नु र सहानुभुती अभिव्यक्त गर्नु’ भन्नुहुन्थ्यो ।

बाचुन्जेल उहाँहरुले यहि संगित मार्फत् आफ्नो जीवन निर्वाह गर्नुभयो । जहाँ पुग्नुभयो नेपाली भनेरै चिनिनुभयो र नेपालकै नाम उचा पार्नुभयो ।

उमेर ढल्कँदै जाँदा उहाँको धैर्यता घट्यो र एक्लोपन बढ्यो । कोही बिते । कोही पेरिस छाडेर बाहिर गए । मेरो परिवारका केहि सदस्यहरु पेरिसमा स्थाइ बसोबास गर्न आइपुग्नुभयो । तर उहाँको परिवारका तर्फबाट पेरिसमा कोही पनि बसोबास (सेटल) गराउन सकिएन ।

जीवनका अन्तिम अन्तिम क्षणमा त सीतारवादकहरुलाई सितारले पनि साथ दिन छाड्दो रहेछ । एक जना विद्यार्थीले मेरो जन्मदिनको उपलक्ष्यमा हजुरले शास्त्रिय संगित कार्यक्रम राखिदिनु पर्यो भनिन । हामी खुसी भएर गयौँ । तर त्यहि दिन सितारको तार चुँडियो । पछि पछि त तोकेको भन्दा आधा मात्र पैसा दिन थाले । जसले गर्दा उहाँले आफ्नो अबमूल्यन भएको महशुस गर्नुभयो ।

घरमा रहेको सुरबाहार बाजा झिकेर एक दिन बजाउन खोज्नुभयो । तर तार मिलाउन सक्नुभएन । र लामो सुस्केरा तानेर ‘हे बरै मेरो जमाना गए, अब बजाउन सक्दिन’ भनेर दुखमनाउ गर्नुभयो । उहाँ हार्मोनियम र तबला पनि बजाउनुहुन्थ्यो । उहाँका गहनाहरु नै थिए यि बाद्य सामाग्री त । उमेर बढ्दै जाँदा बलले पुगेन । एउटा कार्यक्रम आयोजना गरेर पब्लिकलाई बाइ बाइ भन्छु भन्नुहुन्थ्यो । त्यो समय पनि जुरेन ।

जीवनका अन्तिम ६ वर्षमा उहाँका दुवै मृगौलाले काम गर्न छाडे । ‘मलाइ घोचेर बाँच्नु छैन, म डायलेसिस गर्दिन’ भनेर अडान लिनुभयो । नेपालबाट प्राकृतिक जडिबुटी र ओखती ल्याएर केहि वर्ष बचाइयो तर ७६ बर्षको उमेरमा छोरा र मलाइ छाडेर उहाँ जानुभयो । हामीले उहाँको सदगत पेरिसमा गर्यौँ र अस्तु समुन्द्रमा बिसर्जन गर्यौँ ।

मैले मेरो जीवनका ४१ वर्ष उहाँसँग बाँडें । उहाँलाई कुनै दुख नदिईकनै उहाँसँग थप सुखसयलहरुको माग नराखेरै बिताएँ । यो अवधिमा म एक रात, एकदिन पनि उहाँबाट अलग भइन । पेरिसका मेट्रो र टयाक्सी अनि लामा लामा यात्राहरु सबैमा मैले उहाँलाई काँध दिएँ । र साथ दिएँ । एक संगीतकारलाई जस्तो वातावरण चाहिने हो त्यो मैले उपलब्ध गराउने कोशिष गरेँ । जीवनभर मलाइ उहाँ शरिर र म छायाँ जस्तो लाग्थ्यो । प्रकाशले नै त छायाँ बनाउने हो । मेरो त दीप नै नष्ट भएको अनुभव हुन्छ ।

तपाइँको प्रतिक्रिया