शुक्रबार, वैशाख १४, २०८१

अत्यधिक गर्मीले फ्रान्सका २६ विभाग उच्च सतर्कमा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन १८ गते १८:४८

फोटो सौजन्य- डा रबीन्द्र समिर

फ्रान्समा यस वर्षको ग्रीष्म याममा तेस्रो पटक उच्च गर्मीको लहर फैलिएपछि २६ विभाग (डिपार्टमेन्ट) लाई उच्च सतर्कतामा राखिएको छ ।

फ्रान्समा आएको तेस्रो उच्च गर्मीको लहरमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म बढेको छ । बुधवारनै राजधानी पासपासमा तापक्रम बढेर ३८ पुगेको छ ।

बढ्दो तापक्रमका कारण देशका २६ वटा विभाग ‘ओरेन्ज अलर्ट (सुन्तला रङको सतर्क स्तर)’ मा छन् । मौसम पूर्वानुमान विभागले पूर्व तर्फका क्षेत्र बाहेक देशका अधिकांश क्षेत्रमा असर गर्ने जनाएको छ ।

बुधवार फ्रान्सको दक्षिणपश्चिमी क्षेत्रहरूमा तापक्रम ४० डिग्री पुगेको छ । फ्रान्सका ६० विभाग (डिपार्टमेन्ट) खडेरीको “संकट” स्तरमा छन् । ति क्षेत्रमा वर्षाको कमीको कारण पानी जथाभावी प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

२०२२ को जुलाई महिना फ्रान्समा अति कम वर्षा भएको महिनाको रुपमा सूचित गरिएको थियो जसमा चार दिन भन्दा कम वर्षा रेकर्ड गरिएको थियो । मेतेओ फ्रंस (मौसम विभाग फ्रान्स) का अनुसार फ्रान्समा औसत भन्दा लगभग ३ देखि १० दिन कम वर्षा भएको हो ।

मौसम विभागका अनुसार हाल फ्रान्समा औसतमा ९ दशमलव ७ मिलिमिटर वर्षा भएको छ, जुन यस अघि भन्दा ८५ प्रतिशतले कमी हो ।

जुलाई २०२२ लाई देशमा सन् १९५९ यताकै सबैभन्दा सुख्खा महिना मानिएको छ ।

अर्कोतर्फ स्पेनका धेरै क्षेत्रहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने भन्दै उच्च सतर्कताको सूचीमा राखिएको छ ।

“यस ग्रिष्मयाममा गर्मीको निरन्तरता असाधारण छ, र यो जारी रहने देखिन्छ” स्पेनको मौसम विज्ञान विभागले भनेको छ ।

तर प्रायद्वीप र बेलेरिक टापुका ठूला क्षेत्रहरूमा आगामी १५ दिन असामान्य रूपमा उच्च तापक्रमको पूर्वानुमान गरिएको छ। खडेरीले धेरै दक्षिणी युरोपेली देशहरूमा पानी प्रतिबन्ध लगाउन प्रेरित गरेको छ ।

युरोपेली आयोगको भर्खरैको प्रतिवेदनले ईयूको झण्डै आधा भाग खडेरीको चेतावनी स्तरमा पुगेको बताएको छ ।

खडेरी र उच्च तापक्रमले जङ्गली आगोको लागि उपयुक्त अवस्था सिर्जना गर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ‘सुख्खा वनस्पति अधिक ज्वलनशील हुन सक्छ र आगो निकै छिटो फैलिन सक्छ।’

तपाइँको प्रतिक्रिया