शनिबार, वैशाख ८, २०८१

मेरो मुडुलीडाँडामा म

सञ्जय घिमिरे२०७९ साउन १८ गते १०:३०

गाउँमा एक जना ‘स्यानाबा’, जो सर पनि थिए । भीरपानीको जङ्गलबाट सोझै अमेरिकाका राष्ट्रपतिसँग कुरा गर्न सक्छु भन्थे । ऊ बेलै ‘वाइफाई दिमाग’ थियो, बूढाको, जति बेला वाइफाईको अत्तोपत्तो थिएन ।

सन्जय घिमिरे

पश्चिमको एउटा गाउँ देउराली ।
यस्तो गाउँ, जो कुनै कलाकारले वर्षाैं लगाएर बनाए जस्तो…..।
हुन त प्रकृतिभन्दा राम्रो कलाकार को हुन सक्छ र ?
त्यसको पनि मुडुलीडाँडा ।
सिङ्गै अन्नपूर्ण हिमशृङ्खला देखिने उत्तरतर्फ ।
त्यसबीचको माछापुच्छ्रे ।
माछापुच्छ्रे हिमालको त के कुरा भयो र ?
खोला, नदी, ताल वा सागरमा देखिने माछा, त्यसको पनि पुच्छर ! त्यो कसरी हिमाल चढ्यो होला ?

माछापुच्छ्रेको पुच्छर, फेवातालमा माछासँगै टल्किन्छ, आकाश खुलेको दिन ।
कहिलेकाहीँ सोच्छु, पहिले त्यो माछापुच्छ्रे बन्यो होला कि फेवाताल ?
कि फेवातालको माछा उड्दै गएर त्यो हिमालमा पो बस्यो कि ?
त्यस्तो हिमालको छाया वा आडमा बसेको देउरालीको मुडुलीडाँडा ।
पश्चिमतर्फ खाल्टेको साँघुरो फाँट ।
अलि पर मादी नदी ।
पोखराबाट विजयपुर खोला, सातमुहाने हुँदै देउराली उक्लिनुअघिसम्म मुडुलीडाँडामा त्यस्तो के छ र जस्तो लाग्छ ।
पुगिसकेपछि के छैन र जस्तो लाग्छ ।

तैपनि केही न केही त छेकिएकै हुन्छ । अग्लो भन्नु पनि तुलना नै त रहेछ नि ।
चढ्नुअघि लाग्छ, मुडुलीडाँडा चढेपछि बाँकी सबै छ्याङ्ङ देखिन्छ ।
देखिन त देखिन्छ, अन्नपूर्ण हिमशृङ्खला, मादी नदी, देउराली बजार, विद्यालय, वरपरका गाउँ ।
तर कहाँ ती सबै हुन् र ?
एउटा डाँडा उक्लिँदैमा कहाँ सबै छ्याङ्ङ देखिँदो रहेछ र ?
एउटा डाँडा चढ्यो, अर्को अग्लो डाँडा ।
मान्छेका जीवनमा यस्ता डाँडा कति आइलाग्छन्, आइलाग्छन् ।
यसो मौका मिल्यो कि हामी टहलिने र लहडिने यही मुडुलीडाँडामै हो ।
मुडुलीडाँडाले हाम्रो मात्र होइन, समग्र गाउँकै हामी जस्ता लहडीहरुको लहड देखेको छ ।
कहिले गँजडीहरुको गाँजाको सुगन्धमा लट्ठिएको छ यो कहिले प्रेमिल जोडीहरुको प्रेममा परेको छ ।
आफू जस्तो नाङ्गो छ, त्योभन्दा बढी अरुको नाङ्गो रुप पनि देखेको छ, मुडुलीडाँडाले ।
मुडुलीडाँडाले सूर्य उदाएको हामीभन्दा बढी देख्छ, सूर्य अस्ताएको पनि हामीले भन्दा बढी देख्छ ।
बढी यसकारण कि, मुडुलीडाँडा बिनाहलचल त्यहीँ छ ।
हामी त कता हल्लिरहन्छौं कता ?
कति हल्लिरहन्छौं कति ?
हामी हल्लनखोर ।
हामी हल्लनबाज ।
हामी हल्लिन्छौं । हल्लिएको हल्लियै हुन्छौं जीवनभर ।

उसो त, हामीले पनि धेरै चीज देख्छौं, मुडुलीडाँडाले भन्दा ।
तर हामीले हरेक दिन उदाएको सूर्य देख्दैनौं, मुडुलीडाँडाले जस्तो ।
हामीले हरेक दिन अस्ताएको सूर्य देख्दैनौं, मुडुलीडाँडाले जस्तो ।
हामीले न आकाश देख्छौं, न जमिन देख्छौ, जो मुडुलीडाँडाले देख्छ । हरपल ।
सूर्य पनि सधैं उसैगरी कहाँ उदाउँछ र ?
सूर्य पनि उसैगरी सधैं कहाँ अस्ताउँछ र ?
न आकाश सधैं उस्तै हुन्छ, न जमिन ।
उस्तै नभएको, हामीले भन्दा बढी मुडुलीडाँडाले थाहा पाउँछ ।
छिटो थाहा पाउँछ ।
तर डाँडाले जति जिद्दी गरे पनि, जब मान्छे त्यहाँ पुग्छ, डाँडा पनि मान्छेका पैतालामुनि पर्छ ।

ऊ बेला, जब तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा पाइला टेके, तब बालकृष्ण समले भने, “सगरमाथा एक मान्छे अग्लो भयो ।”
तर भन्न त यसो पनि सकिँदो रहेछ— सगरमाथा पनि मान्छेको पैतालामुनि पर्‍यो ।
मान्छे अग्लो कि सगरमाथा ? मान्छे अग्लो कि मुडुलीडाँडा ?
अग्लो भन्नु पनि केही रहेनछ ।
अग्लो पनि टेकिन्छ, कहिलेकाहीँ ।
अग्लो पनि छेकिन्छ, कहिलेकाहीँ ।
मुडुलीडाँडामै रहेको एउटा घर भने हतपत छेकिँदैन ।
टाढैबाट देखिन्छ ।
पोखराबाट पनि ।
माता बस्नुहुन्छ यस घरमा ।
मलाई किन किन आइरहन मन लाग्छ यहाँ ।
माताको आडमा । यो मुडुलीडाँडामा ।
छन त डाँडा आफैं मुडुली छ । तर यहाँ आएपछि देख्छु, जिन्दगीका बाक्ला आकृतिहरु कपाल जस्तै ।
हामी मातालाई भेट्न र सुन्न होइन, हाम्रो चेतनाको लहडमा लहडी–लहडी मुडुलीडाँडामा आउँछौं ।
जस्तो उमेर, जस्तो चेतना, उस्तै लहड ।

यो डाँडाका काखमा बसेको देउराली गाउँ ।
मान्छेका जस्तै गाउँका पनि स्वभाव, चरित्र र विशेषता हुन्छन् ।
त्यहाँ फुल्ने फूल, त्यहाँ हुर्कने रुखबिरूवा, त्यहाँका बाटोका आकारप्रकार ।
यसै बन्दैनन्, बारीका डिल र काल्नामा बाटाहरु ।
यसै बन्दैनन्, जङ्गलतिर घाँसदाउरा गर्न जाने र पँधेरा जाने बाटाहरु ।
त्यहाँका मान्छेका चरित्र र आवश्यकताले ठाउँकुठाउँ बाटो बनाइदिँदा रहेछन् ।
कहिलेकाहीँ त लाग्छ, मान्छेका हस्तरेखा जस्तै हरेक गाउँका बाटा फरक हुँदा हुन् ।
गहिरो गरी हेर्ने हो भने, ती यति जीवन्त र मौलिक लाग्छन् कि, हरेक मान्छेसँग ती बाटा जोडिएका छन् । ती बाटाले म जस्तै अरु कैयौं मान्छेका चरित्र र स्वभाव देखेका छन् ।
कसको चाल कस्तो छ ?
को शान्तसँग हिँड्छ ?
को बुर्कुसी मारेर कुद्छ ?
को दिउँसो काममा हिँड्छ ?
वा को राति रक्सीले टन्न भएर सहारा खोज्दै हिँड्छ ?
कसको ओछ्यान पनि त्यही हुन्छ ?
बुर्कुसी मार्ने केटाकेटीहरु, क्याटवाक चालमा ढसकढसक गर्ने युवतीहरु, मुस्किलले खुट्टा लतार्ने बूढाबूढीहरु, सुस्त र सौम्य पाइला चाल्ने प्रौढहरु, डरले काँपेका वा घमन्डले उचालिएका र पर्वाह वा बेपर्वाहमा हिँड्नेहरुलाई बाटोले जति अरु कसले जानेको होला र ?

जन्ती गएको र दुलही लिएर फर्किएको पनि तिनै बाटाले देखेका छन् ।
रूँदै मलामी गएको पनि तिनै बाटाले देखेका छन् ।
कतिपय मान्छेका खुसीका आँसु तिनै बाटामा पोखिएका छन् ।
कतिपय मान्छेका रूवाइका आँसु पनि तिनै बाटामा पोखिएका छन् ।
घाउ लाग्दा रगतहरु चुहुने पनि अक्सर तिनै बाटामै हो ।
बाटा, हाम्रा चरित्र, जीवनशैली र भोगाइका खाँटी साक्षी हुन् ।
आफू त्यही ‘बाटो’ भएर हिँड्नेहरुबारे लेख्न मन छ । पेटभरि ।
हो त नि ।
‘बाटो’ भएर देखिने, हिँड्नेहरुको चरित्र र अवस्था जत्तिको वर्णनयोग्य चीज अरु के हुन सक्छ र ?
बल्लो पो देखिन्छ त खाँटी जीवन ।
गन्तव्यमा पुगेर लगाइने धाकधक्कु जस्तो हुँदैन, बाटाहरुले देखेको जीवन ।
गन्तव्यमा पुगेर लगाइने धाकधक्कुको जीवनदेखि म वाक्क छु ।
यसैले मलाई पात्र चयनमा कठिन भइरहेको छ सायद ।
के चीज छैन र गाउँमा ?
को छैन र गाउँमा ?

गाउँका मान्छे काँचो माटो जस्तै हुन्, जो भाँडा बनेपछि बजारतिर बिक्री हुन निस्कन्छन् ।
कुनै भाँडाको मूल्य तोक्नै नसकिने पो हुन्छ त ।
हिसाब पो गरिदिँदैन कसैले ।
म त्यही हिसाबको खोजीमा छु । यस्तो हिसाब, जसको उत्तर यस्तो होस्— सूत्र जस्तै ।
हुन्छ नि, एउटा सूत्र लगाएपछि सबै हिसाब मिल्ने— सबैका जीवनका हिसाबकिताब मिल्ने ।
सहरतिरको जस्तो गाउँतिरको जीवन उतिसाह्रो छरपस्टिएको हुँदैन ।
उकालो–ओरालो । जङ्गल । खोला ।
सबैसँग त्यहाँका मान्छेको गन्ध जोडिएको हुन्छ ।
पहिले त आफ्नै बाल्यकालका क्षण स्मृतिमा आउँछन् ।
माटोमा लडीबुडी खेलेको ।
खाली खुट्टा बारीबारी दौडिएको ।
बाँसका सुत्लाको फिरफिरे बनाएर बाटोतिर दौडिएको ।
जङ्गलमा कटुस खोज्न गएको ।
काफलको हाँगा भाँच्चिएर साथी भुइँमा बजारिएको ।
हाँगा भाँचिएर तल बजारिँदा पनि शरीरभन्दा पहिले खैनीको बट्टा कता हरायो भनेर खोज्ने त्यो मित्र ।
च्यातिएका खोल र मैलिएका पाना भएका किताब बोकेर स्कुल गएको ।
नयाँ किताब किन्न पाउनु त ठूलै कुरा हुन्थ्यो ।
कक्षा उक्लिएकाहरुको घर खोज्दै किताब लिन गइन्थ्यो ।
पुराना किताबमा नयाँ गाता हालिन्थ्यो ।
उति बेला किताबभन्दा, गाता बढी बिक्री हुन्थ्यो सायद ।

ऊ बेला के थियो र स्कुलमा पनि ? एउटा बेन्चमा पाँच जना बसिन्थ्यो । धूलैधूलैको भुइँ हुन्थ्यो । चप्पलले कुर्कुच्चा ढाक्दैनथे । धूलोले कुर्कुच्चा र भुइँको रङ उस्तै ।
लगाएका चप्पल कि त साना हुन्थे, कि त ठूला । आफूले नापेर–जाँचेर किनेको भए पो ठिक्क हुन्थे !
चप्पल जस्ता होऊन्, त्यसमा जीवन सानको हुन्थ्यो ।
जुत्ताको त के कुरा गर्नु ?
जुत्ता हामी के लगाउँदैनथ्यौं र, जुत्ताले हामीलाई लगाउँथ्यो ।
पढाइ ?
हामीलाई यति मात्र थाहा थियो— हामी स्कुल पुगिरहेका छौं ।
स्कुलले हामीलाई कहाँ पुर्‍याउँछ ?
अहँ, थाहा थिएन ।
गाउँतिरका स्कुल आज पनि किनकिन मलाई गोलचक्कर जस्ता लाग्छन् । तिनले घुमाउँछन् मात्रै, एउटै चक्करमा । गन्तव्यमा पुर्‍याउँदैनन् हतपत ।
यसो भनेर हिँड्न कसले छाडछ र ?
खुट्टा जो छन् ।
खुट्टै नभए पनि, हिँड्ने त दिमागले हो रहेछ । चेतनाले हो रहेछ ।
हामी हिँड्छौं ।
हिँडिरहेछौं मन परे पनि, नपरे पनि ।
हिँडिरहन्छौं एउटै बाटो वा फरक बाटो ।
हामीलाई हिँड्ने ठाउँ चाहिएको छ ।

पुग्ने ठाउँ ?
न मलाई थाहा छ, न तपाईंलाई ।
स्कलुसम्मको बाटो थाहा छ, हामी त्यहाँसम्म पुग्छौं । त्यसपछिको बाटो थाहा छैन, यसलै हामीलाई अक्सर स्कुलमा निद्रा लाग्छ ।
हाफछुट्टीपछिका पिरियडहरुमा त झ्याप्पझ्याप्प निद्रा लाग्ने । झुपुक्क हुँदा ठ्याक्कै निधारमा लाग्ने गरी चकले हान्थे रामलाल सर ।
हात त उनका असाध्यै सीधा । भूगोल पढाउँथे उनी । ऊ बेला भूमध्यरेखा, महासागर र महादेश अल्छीलाग्दा लाग्थे ।

अङ्ग्रेजी ?
ओहो, कुरा गरिसाध्य छैन । जति कन्दा पनि एक वाक्य तयार हुँदैनथ्यो, १० कक्षासम्मै । चार कक्षाबाट सुरू गरेको एबिसीको सिकाइ, १० कक्षासम्मै तान्थे कतिले त । शिक्षक नै कनीकुथी गर्थे । विद्यार्थी बिचरा !
अङ्ग्रेजीमा, ग्रामरको डरले हामीलाई थचक्कै बसाउँथ्यो । वाक्य बनाउन खोज्यो ग्रामर भूत जस्तै ठ्याक्क पहिले दिमागमा आएर बस्ने ।
बोल्न खोज्यो, उही ग्रामर सैतान ।
अहिले आएर लाग्दै छ, भाषा शिक्षकहरुले होइन, आमाहरुले सिकाउँछन् । सजिलो गरी ।
आमाहरुले कहिल्यै व्याकरण सिकाएनन् । यसैले हामीले फरर नेपाली बोल्यौं । शिक्षकहरुले हामीलाई ग्रामरमा पेलाए, यसैले हामीले फरर अङ्ग्रेजी बोल्न सकेनौं ।
डर पो लाग्छ, ग्रामरदेखि ।
शिक्षकले सिकाउन खोजेका ग्रामरबाट आजपर्यन्त हामी तर्सिरहेका छौं ।

गणित ?
गणित बरू जसोतसो पार लाग्थ्यो । अङ्ग्रेजी जत्तिको डर सायद गणितमा थिएन । गणित बिग्रिएको सुरूमै थाहा हुन्थ्यो, अङ्ग्रेजी बिग्रिएको त फेल भएपछि मात्रै ।
हेर्दै जान्छु— विषयका हुलमुलमा कति मिच्चिए, मिच्चिए । विषयका हुलले पेलिएका ती मेरा मित्र पात्रहरुले मलाई अहिले पनि बिथोलिरहन्छन् ।
त्यति बेलाका हरेक क्षण र घटना, यस्ता लाग्छन्— ती विश्वविद्यालयले पढाउन खोजेर पनि कहाँ सक्छन् र ?
शैक्षिक भ्रमण गएको ।
नयाँ ठाउँ र नयाँ चीज देख्दा फुरूङ्ङ परेको ।
बाटामा बरफ र चनाचटपटे खाँदाको स्वाद ।
ओहो, त्यो स्वाद ।
रहर, खुसी र स्वाद पनि समयपिच्छै फरक हुँदा रहेछन् ।
त्यसमाथि स्कुलका आफ्ना कतिपय अलि बढी मनपर्दा केटी साथीहरु ।
खै थाहा पाएर हो वा नपाएर ?
दिमागले हो वा मनले ?
भावनाले हो वा विचारले ?
सावित्री र मीनाहरु भनेपछि केटाहरु हुरूक्क हुन्थे ।
शैक्षिक भ्रमणमा हामी सँगै हुनु, त्यसमाथि बसको एउटै सिटमा पर्नु, स्वर्गीय आनन्द थियो ।
भलै स्वर्गबारे ऊ बेला थाहा थिएन ।
थाहा नभएरै, हामी थाहा पाएको अनुभूत गर्थ्यौं ।
ती सावित्री र मीनाहरु, कहाँ के गर्दै छन्, थाहा छैन ।
उति बेला उनीहरु देवीका रुप धारण गरेर नृत्य प्रस्तुत गर्थे ।
उनीहरुका देवी–नृत्य हेरेको कैयौं दिनसम्म म उनीहरुलाई देवीकै रुपमा देख्थें ।
आज उनीहरु देवी छन् कि छैनन्, थाहा छैन ।
देवी समयले बनाउने हो वा आफैं बन्ने हो ?
यो पनि मलाई थाहा छैन ।
यत्ति मात्र छ, उनीहरु मेरा स्कुलका सहपाठी थिए । उनीहरु बहुरुपी थिए ।
कहिले सरस्वती बने, कहिले लक्ष्मी । साँच्चिकै जीवनमा, आज, ती न सरस्वतीका नजिक छन्, न लक्ष्मीका । १० कक्षासम्म त नाचेरै पास भए । पास गराइयो ।
एसएलसीमा उनीहरुको नाच हेर्ने कोही भएन । गुल्टिए ।
एसएलसीमा गुल्टिए पनि जीवनमा सधैं कोही गुल्टिँदैन ।
सायद ती पनि गुल्टिएनन् ।
सहपाठीहरु जस्ता बहुरुपी थिए, सरहरु त्योभन्दा कम्ता बहुरुपी थिएनन् ।
सरहरु, जसले मलाई पढाए, उनीहरुको कसरी बद्ख्वाइँ गर्नु ?

गाउँमा एक जना ‘स्यानाबा’, जो सर पनि थिए । भीरपानीको जङ्गलबाट सोझै अमेरिकाका राष्ट्रपतिसँग कुरा गर्न सक्छु भन्थे । ऊ बेलै ‘वाइफाई दिमाग’ थियो, बूढाको, जति बेला वाइफाईको अत्तोपत्तो थिएन । बजारतिर गोरा भेट्यो कि ‘बी किपिङ’ भन्दै घरका छाना तलतिर झुन्डिएका मौरीका घार देखाउन गाउँका घरतिर ल्याइहाल्थे । दिउँसोभर स्कुलमा नैतिक शिक्षा पढाउँथे, साँझ परेपछि भट्टीमा पसेर रक्सी नपिई हुँदैनथ्यो । रक्सी पिएपछि नैतिक–अनैतिकको के कुरा ?
रक्सीले अनैतिकलाई पनि नैतिक बनाइदिन्थ्यो, त्यो रातभर । भोलिपल्ट फेरि विद्यालय जान्थे, शिक्षक जो थिए ।
सरलाइ साँझ मातेको देखेका विद्यार्थी अलमलमा पर्थे ।
कक्षाकोठामा नैतिक शिक्षाको किताब बोकेर छिर्ने उनै सर भट्टीबाट लोकल ठर्राको बोतल बोकेर आउजाउ गरिरहेको दृश्यले विद्यार्थीहरुमा, पढने र गर्ने कुरा बेग्लै हुन् कि भन्ने भाव जगाउँथ्यो ।
समाजमा पनि नैतिक हुनु नपर्ने, घरमा पनि नैतिक हुनु नपर्नेले कक्षाकोठामा मात्र कसरी नैतिक शिक्षा पढाउन सक्छ ? विद्यार्थीहरु मनमनै सोच्दा त हुन् । तर भन्दैनथे । कान निमोठिने वा भाले हुने डर हुन्थ्यो विद्यार्थीलाई ।

अलिक कमजोर विद्यार्थी त सरले फेल गराइदिने हुन् कि भन्ने डरले, धेरै कुरा लुकाउँथे । त्यही डरको फाइदा गणित र विज्ञानका शिक्षकले बढी उठाउँथे । गणित र विज्ञानका शिक्षकले बढी यसकारण कि, उनीहरु सहरतिरबाट पढेर आएका अलिक टाठाबाठा युवा हुन्थे ।
विद्यार्थीलाई सबैभन्दा मुस्किल विषय पनि तिनै ।
गणित र विज्ञानमा पास गराइदिने आसले गाउँतिरका कति केटी विद्यार्थी सरले जीउ छाम्दा पनि चुपचाप बसेको कति देखियो कति ।

विज्ञान र गणितका एक जना शिक्षक, जो आफ्नो गाउँ छाडेर आएका थिए, हाम्रो गाउँको विद्यालयमा पढाउन ।
उनी गाउँको कसैको घरमा भाडामा बसेका थिए ।
एसएलसीको बेला थियो । केटीहरु साँझ ट्युसन पढ्न आएका थिए ।
सरको कोठामा मट्टीतेलको दियो थियो ।
घरबेटी बाले थाहा पाउँछन् भनेर भर्‍याङ चढेर झ्यालबाट छिरेको थिएँ म, दोस्रो तलाको सरको कोठामा । सरकै आग्रहमा । सरले यसकारण आग्रह गरेका थिए— म सरको विश्वासपात्र र सहयोगी थिएँ । सरलाई मैले बचाउन सक्ने थिएँ, कतिपय उनका बदमासीहरुबाट ।
घरबेटी हजुरबा, बढ्तै कडा ।
साँझ परेपछि केटा मान्छेलाई घरमा ढिम्कन नदिने ।
यसैले मलाई झ्यालबाट छिर्नुपर्‍यो । यसैले भर्‍याङ चाहियो ।
सरले अलि अँध्यारो भएपछि मट्टीतेलको दियो निभाए, थाहा नपाउँदो गरी ।
अनि सरले सलाई खोज्ने बहानामा केके खोजे केके ?
सलाई धेरै बेरसम्म भेटाएनन् ।
त्यही–त्यही भेट्याए, जो उनले खोजिरहेका थिए ।
सलाई त कहाँ छामेर पाउँथे !
त्यही पाए, जो उनले छाम्न चाहेका थिए ।

अर्का त्यस्तै शिक्षक थिए गणितका ।
उनी थिए जनकपुरका, जो मेरै घरमा बसेका थिए ।
समय थियो, १० कक्षाको टेस्टको ।
अलि पर गाउँका गुरूङसेनी केटी आएका थिए, ट्युसन पढ्न ।
बिहानको समय थियो, स्कुल जानुअघिको ।
सरले मलाई खै कसरी फकाए, मैलाई थाहा छैन ।
सम्झाए, “ट्युसनको समय सकिइसकेपछि मेरो कोठामा अरु कसैलाई तिमीले छिर्न नदिनू, मीनाबाहेक । म मीनालाई एकछिन यहीँ बस्न भन्छु ।”
मैले मानें ।
मेरा उनी सर थिए । म उनको विद्यार्थी ।
उनले त्यस दिन मीनालाई छामछुम गर्ने योजना बनाएका थिए ।
म उनको गार्ड बन्नुपर्ने थियो ।
गार्डको भूमिका मैले राम्ररी पूरा गर्न सकिनँ, त्यस दिन । यसैले मीना उम्किई ।
सबै मीनाहरुले कहाँ उम्किने मौका पाउँछन् र !
कुरा मीनाहरुको होइन, सरहरुको हो ।
सरहरु त त्यस्ता थिए । अनि स्कुलको के कुरा गर्नु ?
यस्तैयस्तै कुराले त भनेको नि, स्कुल पुग्ने बाटा थाहा थिए । तर स्कुलबाट कहाँ पुगिन्छ, थाहा थिएन ।
स्कुल मात्र होइन, जीवनका अरु बाँकी पाटा पनि उस्तै थिए ।
हस्पिटल पुग्ने बाटा थाहा थिए, हस्पिटलबाट कहाँ पुगिन्छ, थाहा थिएन ।
यसैले होला सायद, लुतोको सुई हाल्न हस्पिटल जान पनि डर लाग्थ्यो ।
सुईको डरले भागेको छु, कैयौं पटक ।
औषधि तीतो हुन्छ भनेर खानै नमानेको । गङ्गा नर्सले सुई रोपेको (उनको तरिका लगाएको जस्तो होइन, घोपेको जस्तो थियो) ।
टाढैबाट हात उठाएर, जमिनमा खाँबो गाडेको झैं गरी उनी सुई गाड्थिन् मेरो पाखुरामा वा तिघ्रामा ।

……

गाउँबेंसी ।
बेंसीमा भैसी चराउन गएको । एक दिन भैंसी बेस्सरी दौडिएर अर्काको बारीतिर लाग्यो ।
भैंसी फर्काउन म पनि उसको पछिपछि भैंसीसरी दौडिएँ ।
कसैले भनेको थियो, त्यहाँ कतै नागको थान छ । भैंसीको पछि दौडिँदा दोडिँदै नागको थान टेक्न पुगें ।
एक्कासि मेरा दुवै खुट्टा लल्याकलुलुक भए ।
म उभिनै सकिनँ ।
बिचरा, जगत दाइ, जसले मलाई आफ्नो पिठ्युँमा बोकेर गाउँ ल्याए । बीचमा झारफुक गर्ने एक जना झाँक्री बा थिए, उनकोमा मलाई लिएर गए ।
झाँक्री बाले भने, “नाग लागेको हो ।”
झाँक्री बाले फुके । मेरा खुट्टा ठीक भए । म हिँड्न सक्ने भएँ ।
नाग कसरी लाग्यो ?
र नाग कसरी उत्रियो ?
मैले खासै भेउ पाइनँ ।
यत्ति मात्र भेउ पाएँ— ठीक थिइनँ, पछि ठीक भएँ ।
ती झाँक्री बा, ती नाग, ती जगत दाइ ।
त्यो पेरिफेरी ।
गाउँका लागि यस्ता घटना–परिघटना नित्य हुन् ।
नियमित आकस्मिकता हुन् ।
गाउँमा यस्ता घटना–परिघटनाका चर्चा–परिचर्चा भइरहन्छन् ।

वल्लोघर, पल्लोघर ।
त्यो बेलाका गाउँमा समाज बस्ने तरिका र छलफल हुने विषय ।
बेलाबेलामा लगाइने पूजा ।
रूद्री, पुराण र त्यस अवसरमा गाइने भजन ।
भजनमा आउने आत्मा र परमात्माका प्रसङ्गहरु ।
राग र वैरागका सन्दर्भ ।
दुःख र सुखका भाव ।
सान्त्वना र चित्त बुझाउने शब्द ।
ती भजनमा प्रकट हुने भाव ! अहो ! कम आत्मिक, आध्यात्मिक र दार्शनिक हुँदैनथे । तिनले एकै बसाइमा जीवन–जगतका कुरा गरी भ्याउँथे ।
धर्म पनि त्यहीँ हुन्थ्यो । विज्ञान पनि त्यहीँ हुन्थ्यो । र भोगाइ पनि त्यहीँ हुन्थ्यो ।
कतिपय भजन त यस्ता हुन्थे कि— ती काम, क्रोध, लोभ, मोह, उत्तेजना, हाँसो, खुसी, दुःख र रोमान्स, जीवनका सबै रङले भरिएका हुन्थे ।
सुन्दा यस्तो लाग्थ्यो— फिल्म पनि तिनै हुन्, नाटक पनि तिनै हुन्, किताब पनि तिनै हुन् ।
भजनमा नाच्दानाच्दै र गाउँदागाउँदै एकैरातमा कसैले कसैलाई फकाएका ।
कसैले कसैलाई भगाएका घटना त कति कति !
रातमै जीवन बदलिन्थ्यो कतिपयको ।
सम्बन्धहरु यसरी गहिरिँदै जान्थे कि, एक मिनेट एक वर्षको जस्तो हुन्थ्यो । र ६० वर्षमा झाङ्गिने सम्बन्ध ६० मिनेटमा झाङ्गिइसक्थ्यो ।
कहिलेकाहीँ सोच्छु— के खराबी थियो र त्यो जीवनमा ? आत्मसन्तुष्टि त त्यसले पनि दिएकै थियो !)

गाउँठाउँ सुहाउने लोकगीत हुन्थे ।
दैनिक जीवनसँग असाध्यै जोडिएका गीतका भाव हुन्थे ।
लय र स्वर पनि ‘अर्ग्यानिक’ लाग्थ्यो ।
जङ्गलतिर घन्किने लोकगीत मान्छेले होइन, प्रकृतिले गाएको जस्तो लाग्थ्यो ।
गीतभित्र रमाइला छेडछाड हुन्थे ।
साह्रै गहिरा भाव हुन्थे कुनैमा त—
म त त्यस्तो हैन नि,
पिरतीले जोगी बनायो ।

(डेढ दशकयता अमेरिकाबासी बनेका पत्रकार घिमिरेको शनिबार बिमोचन भएको गैर–आख्यान कृति ‘पात्रहरु’को सम्पादित एक अंश ।)

तपाइँको प्रतिक्रिया