बिहीबार, वैशाख १३, २०८१

केहि युरोपेलीका घरमा दिनको जम्मा चार घण्टा पानी

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन १९ गते १७:५७

युरोपले अहिलेसम्मकै सबैभन्दा सुख्खा गर्मीको सामना गरिरहेको बेला चर्को खडेरीका कारण केहि युरोपेलीले दिनको जम्मा चार घण्टा मात्रै पानी प्रयोग गर्न पाएका छन् ।

क्रूर गर्मीको लहरले युरोप भरि वनमा डढेलो दन्काएको मात्रै छैन, नदीहरू सुकिरहेका छन् । त्यसको असर अब कहनी पानीको अभावकारुपमा घर घरै भित्रिन थालेको छ ।

जाडोयामपछि थोरै वर्षा भएकाले केही देशहरूमा ताप्रक्रम यति उच्च छ कि त्यसले अहिलेसम्मकै रेकर्ड तोडेको छ । लाखौं मानिसहरू अहिले गम्भीर खडेरीको नतिजा सामना गरिरहेका छन्।

थुप्रै मानिसले आफ्नो वगैंचाका सयौं रुख विरुवा मर्दापनि ट्लुटुलु हेरेर बस्नुपरेको छ भने केहिले आफ्नो पौडी पोखरीहरु सुकाउन थालेका छन् । तर केहि मानिसकालागि भने पानीको अभावले दैनिक जिवननै अप्ठेरो बनाईरहेको छ ।

नेचर जियोसाइन्स जर्नलमा प्रकाशित पछिल्लो लेख अनुसार स्पेनले कम्तिमा १,२०० वर्षदेखि सबैभन्दा सुख्खा मौसमको सामना गरिरहेको छ ।

खडेरीले गर्दा बार्सिलोनाको ठीक दक्षिणमा रहेको बोनास्ट्रे गाउँमा बसोबास गर्ने करिब ८०० मानिसहरूको धारा सुक्न थालेको छ ।

जलाशयमा पानीको स्तर राष्ट्रिय औसतभन्दा पनि कम भएपछि पानी प्रयोगमा गम्भीर प्रतिबन्धहरू लगाइएको छ । बासिन्दाहरूलाई प्रत्येक दिन ७:०० देखि १०:०० र २०:०० देखि २३:०० सम्म मात्र पानीको पहुँच दिईएको छ ।

गाउँमा कागज छपाईको पसल गर्ने ४३ वर्षीय मारियो फेरारियो भन्छन्, “सैद्धान्तिक रूपमा हामीसँग दिनमा चार घण्टा मात्रै पानी हुन्छ । म बिहान सबेरै छोरीहरूलाई स्कूलमा लैजान्छु । त्यो बेला हामीसँग पानी हुँदैन ।”

यदि उनीहरु भाग्यमानी छन् भने फर्केर आउँदा नुहाउन पाउँछन् । यदि होइन भने उनीहरुले साँझ वा अर्को दिन पनि कुर्नुपर्छ ।

“त्यहि पनि यदि त्यहाँ पानी भए मात्रै हो । किनभने पानी भर्ने तालिकाहरू प्राय: पालना हुँदैन। स्थानीय अधिकारीहरूले समयतालिका सेट गरेका छन् । त्यसपछि हामीलाई थाहै नदिई त्यो तालिका परिवर्तन गरिदिन्छन्” उनी भन्छन् ।

बोनास्ट्रे गाउँका मेयर, एस्टर बार्ताले यस वर्ष बोनास्ट्रेको अवस्थालाई विशेष गरी चरम पानीको संकट भनेर वर्णन गरेका छन् । गाउँलाई पानी उपलब्ध गराउने इनारलाई गाइआ कुइफेर भन्ने संस्थाद्वारा आपूर्ति गरिन्छ जहाँ महिनौंदेखि खडेरीको प्रभाव परेको छ ।

सुरुमा, नगर परिषदले मानिसहरूलाई पानीको प्रयोगमा जिम्मेवार हुन आग्रह गर्यो । बिस्तारै सप्ताहन्तमा पानीको बहाव नियन्त्रण गर्न थाल्यो। त्यसबेलादेखि पानीको उपलब्धता क्रमिक रूपमा खराब हुँदै गएको छ । कहिलेकाहिं त पानीको आपूर्तिहरू दिनभर बन्द गरिएको छ।

मारियोको लागि, यसको मतलब लुगा धुने वा आफ्ना दुई छोरीहरूको लागि खाना पकाउने जस्ता दैनिक कार्यहरू विलासितामा बदलिएका छन् । त्यहाँका बासिन्दाहरूले पानी कटौती नभएको बेला पानी भण्डारण गर्ने प्रयास गर्छन् । यदि बिर्सिएभने तिसित पानीको थोपो हुन्न ।

“अघिल्लो ग्रीष्ममा हामीसँग अलि बढी पानीको पहुँच थियो, तर यो विनाशकारी भएको छ” बोनास्ट्रे निवासी मारियो फेरारियो भन्छन् “पानी नपाइनु सामान्य अवस्था जस्तो भयो, यसबाट मानिसहरु निकै क्रोधित छन् किनभने यो पहिलो पटक भएको होइन ।”

बोनास्ट्रेका बासिन्दाहरू थकित छन् । स्थानीय राजनीतिज्ञहरूले मद्दत गर्न पर्याप्त काम नगरेको मारियो बताउँछन् । उनी चार वर्षदेखि यो गाउँमा बस्दै आएका छन् । पछिल्ला तीन वर्षदेखि पानीमा प्रतिबन्ध लगाइएको छ । तर, यो वर्ष भने अवस्था निकै नाजुक छ ।
“अघिल्लो गर्मीमा हामीले अलि बढी पानीको पहुँच पाएका थियौं । तर यो वर्ष विनाशकारी भएको छ । प्रतिबन्धहरू विगतका वर्षहरूमा भन्दा धेरै गम्भीर छन्” उनी सुनाउँछन् ।

अत्यधिक गर्मीले पानीको संकट सामना गर्न अझ गाह्रो बनाउँदैछ । किनभने मानिसहरूले आफूलाई ठण्डा राख्न संघर्ष गरिरहेका छन् । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जुलाईको अभूतपूर्व उच्च तापक्रममा १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

“त्यहाँ मेरो भन्दा धेरै खराब अवस्था भएका मानिसहरू पनि छन् किनभने तिनीहरूसँग कुवा छैन । यस्तो गर्मीका बेला पानी बिना समस्या सामना गर्न असम्भव छ” बोनास्ट्रेमा बस्ने नुरिया पोन्स भन्छिन् ।

“उनीहरूलाई गाह्रो भइरहेको छ किनभने हामी दिनको अधिकांश समय पानी बिना बिताउँछौं । गाउँमा टाउनहलले पानीको ट्याङ्की ल्याउँछ तर पानीको भाँडो बोकेर माथि जान नसक्ने वृद्धहरू छन् ।”

टाउन हलले गाउँलेहरूलाई जिम्मेवार तरिकाले पानी प्रयोग नगरेको आरोप लगाएको छ । तर नुरिया भन्छिन् “यो एक चिरपरिचित बहाना हो ।”

सबैभन्दा बढी पानी प्रयोग गर्नेहरू गाउँमा ग्रीष्मकालीन घर भएका मानिसहरू हुन्, जो जुलाई र अगस्टको बीचमा मात्रै आउँछन् भन्ने उनको विश्वास छ। पानीको बढ्दो मागले बोनास्ट्रेको अवस्थालाई अझ खराब बनाइरहेको छ ।

उत्तरी इटालीमा असाधारण उपाय

इटालीका उत्तरी क्षेत्रहरू ७० वर्षमा सबैभन्दा खराब पानी संकटको सामना गरिरहेका छन्। कतिपय प्रदेशमा खाद्यान्न उब्जाउनका लागि पानी सकिन लागेको छ ।

इमिलिया-रोमाग्ना क्षेत्रको फेरारा सामान्यतया तातो गर्मीको अवस्थाबाट प्रभावित हुँदैन किनभने यसको खेतहरूमा पानी आपूर्ति गर्ने नहरहरूको संजाल छ । तर यस वर्ष पो नदीको स्तर गत ५७ वर्षमा अहिलेसम्मकै न्यूनमा झर्दा यहाँ पनि असाधारण उपायहरू आवश्यक भएको छ।

फेरारा ल्यान्ड रिक्लेमेसन कन्सोर्टियमले भर्खरै २० भन्दा बढी अस्थायी पम्पहरू स्थापना गरेको छ जसको लक्ष्य समुद्रतर्फ जाने पानीलाई “रिसाइकल” गर्ने हो । ति पम्पहरूले दिनमा लाखौं लिटर पानी सिँचाइका खाडलहरूमा पुर्‍याउँछन् जसले खेतहरू भिजाउँछ ।

(रोसी फ्रट, लौर अलाक र सामुएल दामिलानोद्वारा युरोन्युजमा प्रकाशित रिपोर्टको मुख्य अंशलाई नेपालीमा भावानुवाद गरिएको हो)

तपाइँको प्रतिक्रिया