सोमबार, साउन ३०, २०७९

आगामी चुनाव यस्तो होस, देश चुस्ने जुकाहरु सदाको लागि सकिउन्

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन २१ गते १७:१२

फोटो साभार- गोरखापत्र

शेरबहादुर देउवा नेतृत्वको गठवन्धन सरकारले आगामी मंशिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको छ । गठवन्धन दलका नेताहरुले चुनावको मितीलाई फागुनसम्म पुर्‍याउने आग्रह गरिरहेका थिए । तर प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसका नेताहरुको सल्लाह र छलफल पछी निर्वाचनको मिती तोकेको बताइन्छ । हुन त उनले विगत केही हप्ता देखी गठवन्धनका नेताहरु माधव कुमार नेपाल र प्रचन्डसँग चुनाव समयमै गराउनका लागि छलफल गर्दै आइरहेका थिए । उनिहरुले प्रतिनिधि सभाको चुनाव मंशिरमै गरेपनि प्रदेशको चुनावलाई पछी धकेल्न आग्रह गरेका थिए । यसका वावजुद देउवाले दुवै चुनाव एकैदिन गराउने कडा निर्णय गरे ।

यस अघि २०७४ सलमा देउवाकै नेतृत्वमा भएको निर्वाचनमा नेपाली कांग्रेस जम्माजम्मी २३ सिटमा खुम्चिएको थियो । त्यसको अपजस उनले अहिलेसम्म बोकिरहेका छन । उनलाई यसपटक नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने चुनौती छ भने गठवन्धनका नेताहरुलाई आफु प्रती आश्वस्त बनाइरहनुपर्ने कठिन काम पनि छ । प्रचन्ड माधव नेपालहरुलाई एमालेसँग रिस फेर्नुछ त्यसले पनि देउवा आफ्नो बाटोमा सहज अवतरण गर्लान भन्ने अनुमान गर्न सकिन्छ ।

तर मह्त्वपूर्ण प्रश्न चुनाव घोषणाले देशका लागि के चाहिं परिवर्तन ल्याउँछ भन्ने हो । नेपाली कांग्रेस, एमाले वा माओवादी पहिलो पार्टी हुँदैमा नेपाली जनताको जीवनस्तर कसरी सहज हुन्छ ? अली अगाडि देखी हेरौं, नेपाली कांग्रेस पटक पटक देशको ठुलो पार्टी बन्यो । माओवादी एमालेलाई पनि जनताले ठुला पार्टी बनाए । यि सबै पार्टीका नेताहरुले पटक पटक सत्ताको बागडोर थाम्ने मौका पाए तर देशको लागि के गरे त ?

अबको निर्वाचनले देउवा, प्रचन्ड, माधव नेपाल, केपी ओलीलाई फेरी पनि अहिलेकै हैसियत र स्थानमा ल्याउने हो । थोरै कसैको घटिबढी होला नत्र सबैको ठाउँ उस्तै हो । चुनाव घोषणा त भयो तर दलहरुसँग आफ्नो पार्टीलाई ठुलो बनाउने, आफूले चुनाव जित्ने बाहेक देश बनाउने र जनताको जीवनस्तर उकास्ने कुनै कुरा छैनन । देशका ऐजेण्डा हरेक पटक ओझेलमा परेका हुन्छन र यसपाली पनि हुने त्यस्तै हो ।

२०४८ को संसदिय निर्वाचन पछी शेरबहादुर देउवा गृहमन्त्री बनेका थिए । गृहमन्त्री बनेको चार वर्षमै उनी प्रधानमन्त्री बने । जतिबेला उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए धेरैले त्यसलाई कोइराला परिवार विरुद्दमा गतिलो टक्कर दिने अजंगको पर्खाल मानेका थिए । देउवाले कोइराला परिवारलाई टक्कर दिन त सके तर देशका लागि केही दिन सकेनन । उनकै प्रधानमन्त्री काल पछी देशले माओवादी जनयुद्दको कहिल्यै नमेटिने चोट बोक्नु पर्‍यो । तै पनि उनी प्रधानमन्त्री भइरहे । उनको पार्टीका रामचन्द्र पौडेल त्यहीबेला देखी कहिले कोइरालाहरु सँग त कहिले देउवा सँग सिंगौरी खेल्दै आएका छन । उनी पनि पटक पटक यस्तो ठाँउमा पुगे जहाँँ बसेर इमान्दारीपूर्वक काम गरेको भए धेरै नेपालीले नेताहरुबाट आशा गरेको दियो निभिसकेको हुने थिएन ।

माधव नेपाल एकै पटक उपप्रधानमन्त्री बने । नौ महिना नै सहि, के गरे देशका लागि ? केपी ओली गृह, उपप्रधान हुँदै ३० वर्ष यताकै सबै भन्दा शक्तिशाली प्रधानमन्त्री बने । आफुले पालेको समुह, निरन्तर दुहुन मिल्ने केही ब्यापारिक घरना बाहेक यिनले पनि देश र जनताका लागि के गरे ? प्रचन्डको के कुरा । यिनी कसका लागि र केका लागि प्रधानमन्त्री भए कसैले भेउ पाउन सकेको छैन । देश परिवर्तन गर्नका लागि १२ वर्ष सम्म नेपाली जनताका काँधमा बन्दुक बोकाएर एक्कासी यिनी प्रधानमन्त्रीको रुपमा सिंहदरवार पसेका थिए । देशकै लागि अर्जुन दृष्‍टि लगाएको भए प्रचन्डले धेरै नेपालीका सपना साकार पार्न सक्दथे । तर यिनका दृष्‍टि कहिले माओवादी शिविरको रकममा त कहिले छिमेकी राष्ट्रबाट हातपार्ने पैसामा परीरह्यो । प्रचन्ड जस्तो सामान्य किसानको छोरोबाट एक दशकमै देशको सबैभन्दा ठूलो धनाढ्य कसरी बने भन्ने कुरा एक एक नेपालीलाई थाहा छ ।

परिवर्तन भनेको राजतन्त्र समाप्त गरेर राजदरवारलाई संग्राहलय बनाउनु मात्र थिएन । परिवर्तन जनताका घरमा, चुल्हामा, करेसामा देखिनु पर्दथ्यो । त्यो उस्ताकोउस्तै छ । गणतन्त्रका लागि भएको आन्दोलनपछी देशमा अब चौथो पटक निर्वाचन हुँदैछ र प्राय निर्वाचनहरु केही नेताहरुलाई लगातार जागिर ख्वाउने मैदान बाहेक केही पनि हुन सकेनन । गणतन्त्रको डेड् दशक तीन वटा चुनाव भए। देशले कुन कुन क्षेत्रमा फड्को मार्‍यो ? छैन । गणतन्त्र पछीको पहिलो चुनावमा जो जो छानिएका थिए दोस्रोमा पनि उनै थिए र तेस्रो चुनावमा पनि उनैले जिते । चुनाव जित्ने मान्छे परिवर्तन हुँदैन, मन्त्रीहरु प्रधानमन्त्रीहरु परिवर्तन हुँदैनन भने फेरी देश कसरी परिवर्तन हुन्छ ? हुँदैन, यि नेताहरुलाई जहिलेसम्म हामीले भोट् दिएर जिताइरहन्छौं तबसम्म देश परिवर्तन हुँदैन ।

गल्ती हामीले पनि गरेका छौं । शेरबहादुर देउवाले देशमा केही गर्न सक्दैनन वा चाहन्नन भन्ने उनी पहिलो पटक प्रधानमन्त्री भएकाइ बेला थाहा भएको हो, तथापी हामीले उनलाई हरेकपटक जिताईरहन्छौं । केपी ओली, नेपाल र दहालहरुको हैशियत पनि थाहा भएकै हो । किन हामीले चुनाव जिताएका छौं ? किनभने हामीहरु सपनामा बाँच्न बानी भइसकेका छौं । अबको यो समय हामीहरु सपनाबाट बाहिर निस्किने समय हो र देउवा, ओली, नेपाल, दाहाल र पौडेलहरुलाई सिहदरवार पस्नबाट रोक्ने समय हो । यस्ता नालायकहरुलाई जनताको घोडा चढाएर कहिलेसम्म सिंहाशनमा विराजमान गराइरहने ?

रविन्द्र मिश्र ठिकै भन्छन- ‘विचार भन्दा ठूलो देश’ । स्वार्थरहित तरिकाले यहिबाटो बाट सोच्ने हो भने अब कसैलाई कम्युनिष्ट, कांग्रस वा राजावादी हुनु परेको छैन ।

महत्वपूर्ण कुरा के हो भने तपाईंले आफ्नो सिद्दान्तलाई ठुलो मान्नुहुन्छ वा देशलाई ? यदी हामीले कुनै बादलाई, विचारलाई पछ्याई रहन्छौं भने देउवा र ओलीहरुले हामीलाई आजन्म दास बनाइरहने छन । अबको चुनाव यही दासत्वबाट मुक्तिका लागि हुनु पर्दछ ।

निर्वाचन आयोगका अनुसार पछिल्लो स्थानीय चुनावमा भन्दा करिब १० लाख मतदाता थपिएका छन । ०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भन्दा आगामी चुनावमा करिब ३० लाख मतदाताले मतदानका लागि आफ्नो नामा लेखाइसकेका छन । ०७४ को निर्वाचनमा १ करोड ५४ लाख मतदाता थिए भने वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख मतदाता थिए । स्थानीय चुनावपछि थपिएका १० लाख समेत गरी आगामी चुनावमा करिब १ करोड ८६ लाख मतदाता हुनेछन् । यो ३० लाखको संख्या भनेको अहिले नेपालमा भएको एउटा ठूलो पार्टीको मतदाता संख्या भन्दा पनि धेरै हो । त्यसैले यदि यो ३० लाखको समुहले देशलाई माया गर्ने हो भने प्रेत आत्माहरुलाई चुनावमा रोक्न सक्नेछ ।

चुनाव हुनै पर्दछ, तर हामी मतदाता पनि सच्चिने समय हो यो । पहिला देश हो त्यसपछी विचार हो । शेरबहादुर देउवा, ओली, माह्हव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामचन्द्र पौडेल, प्रचण्डहरु भनेका धानमा लाग्ने पुत्लाहरु जस्ता मात्र हुन । जसले यो देशलाई खाइरहेका छन । यो समय देश खाने पुत्लाहरुलाई लखेट्ने समय हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक