बिहीबार, वैशाख १३, २०८१

आगामी कार्यकालकालागि एनआरएनए अध्यक्ष पदमा साहको दाबी

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २१ गते २३:३४

गैर आवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल करिब १४ महिना बाँकी रहँदा केन्द्रिय कोषाध्यक्ष सुनील साहले आगामी कार्यकालकालागि अध्यक्ष पदमा दाबी गरेका छन् ।

करिब दुई साता लामो युरोप भ्रमणका क्रममा पेरिस आइपुगेका उनले शुक्रवार नेपालप्लससितको भेटमा पहिलो पटक खुलेरै आफ्नो दाबी सार्वजनिक गरेका हुन् ।

एनआरएनए अमेरिकाको अध्यक्ष पद सफलतापूर्वक निभाएका कोषाध्यक्ष साहलाई नेपालप्लसले प्रश्न गरेको थियो- तपाई युरोपका बिभिन्न देशमाभ्रमण गर्दा एनआरएनएका पदाधिकारी, सदस्यहरुसित भेटघाट अन्तर्क्रिया गरिरहनुभएको छ । कतै यो आगामी निर्वाचनकालागि तयारि त होइन ?’

उनले निर्वाचन केन्द्रित भएरै युरोपमा माहोल बनाउनकालागि मात्रै आफ्नो भ्रमण केन्द्रित नभएको बताए । तर एनआरएनए अमेरिका जस्तो सबैभन्दा बढी सदस्य रहेको संस्था उदाहरणिय रुपले हाँकेको, हाल कोषाध्यक्षको जिम्मेवारीपनि सफलतापूर्वक निभाईरहेकाले अब नेतृत्वमा लायक भएको  दाबी गरे।

‘नेतृत्व भनेको के एनआरएनएको सर्बोच्च पदका लागि हो की ?’ भन्ने प्रश्नमा उनले भने ‘म मुख्य नेतृत्वनै लिन तयार छु ।’

संस्थामा पालो लगाउने, कुर्नुपर्ने र भागवण्डा गर्ने थितिको पक्षमा आफू नरहेको र सफल, सक्षम ब्यक्तिकालागि भागवण्डा गर्न नहुने बरु जुनसुकै समयमापनि नेत्रित्वमा जान दिनुपर्ने पक्षमा आफू रहेको खुलेर बताए ।

साहले भने ‘कोहि ब्यक्ति धेरै वर्ष संस्थामा लागेको छ भन्दैमा उसैले नेतृत्व गर्न पाउनुपर्छ, दिनुपर्छ भन्ने छैन । कोहि कम समय काम गरेपनि सफल हुन्छ, राम्रो काम गरेको हुन्छ, आफूलाई सबल र संस्था हाँक्न सक्षम छ भने उसलाई नेतृत्वमा जान दिनुपर्छ । नत्र त नेपालका राजनितिक दलमा जस्तै भैहाल्यो नी ।’

संस्था हाँक्नको लागि आफ्नो खाँचो रहेको महसुस गरेको र आफू तयार रहेकोसमेत साहले नेपालप्लसलाई बताए । उनले भने ‘राम्रो, सक्षम, सबल ब्यक्तिले नेतृत्व गर्नुपर्छ भन्ने संस्थाले महसुस गर्नुपर्छ । मैले यो संस्था राम्रोसित हाँक्नसक्छु भन्ने महसुस गरेको छु र त्यसकोलागि तयारपनि छु । संस्थाको नेतृत्वकालागि मैदानबाट भाग्दिन ।’

आफूले एनआरएनए अमेरिकाको अध्यक्ष हुँदा गरेको काम, हाल कोषाध्यक्षका रुपमा बसेर गरेको काम र संस्थाकालागि आजसम्म दिएको योगदानका आधारमा आफू नेतृत्व लिन तयार भएको उनले दोहोर्‍याए ।

साहले एनआरएनएमा कुनै पार्टी वा राजनितिक बिचार र आस्थाका आधारमा गरिने निर्णयलाई आफूले नमान्ने बताउँदै भने ‘पार्टी भनेको पार्टी हो । एनआरएनए भनेको हामी गैर आवासीय नेपालीको गैर राजनितिक साझा संस्था हो । त्यसैले एनआरएनएमा पार्टीको निर्देशन चल्दैन, पार्टीको व्हिप पार्टीमै लाग्ला, एनआरएनएमा लाग्दैन । चल्नुहुन्न र म त्यसलाई पार गर्न सक्छु ।’

एनआरएनएमा पार्टीले हस्तक्षेप गर्छ गर्दैन, किन गर्छ गर्दैन भन्नेपनि आफूलाई थाह नभएको भनाई उनको थियो ।

‘यो एनआरएनए भनेको सबै पार्टीको, सबै नेपालीको हो । आम नेपालीका समस्या हल गर्ने हो । नेपाल र नेपालीलाई जोड्ने हो । नेपाल सरकारसित समन्वय गर्ने हो, देश र प्रवासी नेपालीका हकहित र प्रगतिकालागि । त्यो काम गर्न सक्ने ब्यक्तिलाई नेत्रित्वमा लाने हो ।’

साहले आफ्नो दुई हप्ता युरोप भ्रमणका क्रममा फ्रान्स, बेल्जियम, स्विजरल्याण्ड, जर्मनी, स्पेन, अस्ट्रियालगायत झण्डै एक दर्जन देशका एनआरएन र अन्य नेपालीसित अन्तर्क्रिया, भेटघाट समेत गरेका छन् । उनको यो भेटघाटलाई धेरैले आगामी निर्वाचनकालागि माहोल बनाउन लागेको भनेर अर्थ लगाएका छन् ।

तर साहले भने आफूले निर्वाचनकै लागि भन्दापनि एनआरएनएको अभियन्ता, नेतृत्वमा भैसकेपछि आफू पुगेको देशका एनआरएनसित छलफल, अन्तर्क्रिया गर्ने, गुनासा र समस्या बुझ्ने र हार्दिकता कायम गर्ने आफ्नो कार्यशैली रहेको रहेको बताए ।

‘चुनावकै लागि मात्रै भेटघाट भन्ने सोच्नु हुँदैन, त्यसरि बुझ्नुभएन । म केन्द्रिय तहको नेतृत्वमा भएकाले आफू पुगेको देशका नेपालीसित छलफल र बहस गर्नुपर्छ, परिचय र हार्दिकता बढाउनुपर्छ, तल्लो तहसम्मका बिचारहरु सुन्नुपर्छ भन्ने मेरो मान्यता छ’ साहले भने ।

तपाइँको प्रतिक्रिया