शुक्रबार, वैशाख १४, २०८१

फ्रान्सको दूर्घटनामा परेका दुई नेपाली : हामीले जे पायौं

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २२ गते २३:१७

निसमा भएको भनिएको संभावित दूर्घटनाको तस्विर । फोटोस्रोत-आक्चु निस स्क्रिनसट

फ्रान्समा गम्भिर दूर्घटनामा परेका भनिएका दुई नेपालीको परिचय खुलेको छ । फ्रान्सको राजधानी पेरिस शहरमा दुई नेपाली दूर्घटनामा परेको भन्दै नेपालीहरुबिच ब्यापक खोजिनिति भैरहेको थियो ।

दूर्घटनामा पर्नेमा बरपिपल, भरतपुर, चितवनका महेन्द्र प्रसाद कँडेल र नवलपुर, नवलपरासीकी लक्ष्मी न्यौपाने हुन् । कँडेलको भने दूर्घटनामा ज्यान गएको भन्दै नेपाल प्रहरीले पत्रनै सार्वजनिक गरेको छ ।

भएको के हो ?

नेपालप्लसले परिवारका बिभिन्न स्रोत, फ्रान्सेली पत्रपत्रिका र सूचनाको भरपर्दो पहुँचसम्म पुग्ने कोसिस गर्दा दूर्घटना पेरिसमा भएको भनिएपनि पेरिसबाट ९३२ किमी दक्षिणमा रहेको निस शहरमा भएको हो ।

स्रोतका अनुसार दूर्घटनामा पर्ने नेपाली र अन्य गरेर करिब १० जनाको समूह फ्रान्सबाट ईटालीतर्फ जाँदै थियो । ति नेपाली केहि दिन अघि रोमानियाबाट हिंडेका थिए । उनीहरु ईटाली तर्फ जाँदै गर्दा गत अगस्ट ४ बिहिवारका दिन दूर्घटनामा परेको भनिएको छ । तर दक्षिण फ्रान्सको सोहि क्षेत्रबाट प्रकाशित अखवार आक्चु निसले ठ्याक्कै यहि प्रक्रितिसित मिल्ने समाचार छापेको छ ।

आक्चुनिस अखवारले ‘निस, ए ८ राजमार्गमा तीन वटा सवारी साधनबीच भएको गम्भीर दुर्घटना, हामीलाई जे थाहा छ’ शिर्षकमा समाचार लेखेको छ ।

समाचारमा उल्लेख भए अनुसार निस नजिकैको ए ८ युरोपियन राजमार्गमा शुक्रबार बिहान एउटा मोटरसाईकल, कार र ठूलो मालवाहक सवारीसाधन एकआपसमा ठोक्किएर गम्भीर दुर्घटना भएको हो । घाइते मध्ये एक जनाको अवस्था गम्भीर भएको उल्लेख गरेको छ ।

आल्प्स-मेरिटिम्स क्षेत्रमा पर्ने निस शहरको उत्तरमा इटाली तर्फ जाने बाउमे सुरुङको अगाडि ए ८ राजमार्गमा अगस्ट ५, २०२२ शुक्रबार बिहान ८ बजेतिर दुर्घटना भएको हो ।

नेपालीहरुले भने अगस्ट ४ बिहिवारकै दिन भएको भन्दै आएका छन् । दूर्घटनामा तीन जना परेको अखवारले उल्लेख गरेको छ । दूर्घटना लगत्तै ११ वटा एम्बुलेन्सहरु पुगेका थिए ।

आक्चु निस अखबारका अनुसार दूर्घटनामा परेका मध्ये एक महिला र पुरुषलाई तत्कालै पास्चर २ अस्पताल लगिएको थियो । दुई जनामध्ये पुरुषको अवस्था अत्यन्त गम्भिर थियो ।

आकस्मिक सेवा दिने एम्बुलेन्सका अनुसार ट्रकका चालकलाई कुनै हानी भएको छैन र उनलाई अस्पताल लैजानुपरेको पनि थिएन।

दूर्घटनाका कारण राजमार्गको सवारी करिब ७० मिनेट अवरुद्द भएको थियो । पत्रीकाले त्यसपछि दूर्घटनामा को थिए र अवस्था के छ भन्ने केहि उल्लेख गरेको छैन ।

नेपालप्लसले नेपाली दुतावास पेरिससित सम्पर्क गरि घटनाबारे जिज्ञासा राखेको थियो । पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले यस घटनाको पूर्ण जानकारिकालागि सुरक्षा निकायलाई पत्राचार गरेको, दूर्घटना भएको भएपनि त्यसको पूर्ण विवरण आइनसकेको जानकारि दिए ।

नेपालप्लसले दूर्घटनामा पर्नेका परिवारसितपनि सम्पर्क गरेको छ । संवन्धित परिवारका सदस्यहरुले दूर्घटनाका बारेमै पूर्ण विवरण पर्खिरहेको बताएका छन् ।

यस घटनामा परेका ब्यक्तिहरुकालागि के गर्न सकिन्छ भनेर आइतवार पेरिसमा नेपाली संघसंस्थाको छलफल भएको थियो । फ्रान्सका बिभिन्न नेपाली संघसंस्थासमेत कुनै सहयोग गर्नुपरेमा तयार रहेको एनआरएनए फ्रान्सकी अध्यक्ष गीता थापाले बताईन् ।

तपाइँको प्रतिक्रिया