शनिबार, असोज ८, २०७९

गणेशमानको ब्याजमा सिंचित प्रकाशमानको राजनितिक प्रतिबिम्ब

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन २३ गते १८:५२

प्रकाशमान सिं, फोटो स्रोत- माई रिपब्लिका

प्रकाशमान सिंहसँग प्रत्यक्ष रुपमा नेपाली कांग्रेसका लागि गतिलो योगदान पुर्‍याएको छर्लङ्ग देख्न सकिने कुनै त्यस्तो रेकर्ड छैन । तर आफ्नो पिता र माता कांग्रेसले शुरु गरेको आन्दोलनमा होमिंदा घर परिवारमा पर्ने मनोबैज्ञानिक असर, परिवारमा अभिभावक नहुँदाको सास्ती र बा आमाको अभावलाई हेर्ने हो भने उनले पनि विभिन्न कालखण्डमा देशका लागि भएका आन्दोलनहरुमा योगदान पुर्‍याएको मान्नु पर्दछ । उनका अभिभावकको योगदानलाई सामेल नगर्ने हो भने प्रकाशमान सिंह कुनै उत्कृष्ट, विचारले भरिएका वा देशलाई परिवर्तन गर्ने क्षमता भएका नेता होइनन । तै पनि उनले प्रजातन्त्र पछीका हरेक सुकिला सभा, पार्टीका प्राय: जिम्मेवारी र नेपाल सरकारको उपप्रधानमन्त्री हुने मौका पाइरहे । यि सबै सुविधाहरु उनले आफैंले जुटाएको नभएर गणेशमान सिंहको योगदानले जुराएको थियो ।

एक प्रकारले भन्दा प्रकाशमान सिंहले नेपालको राज्यसत्ता र पार्टीले दिने सुविधाहरुमा बाउको ब्याज खाइरहेका छन् । जसरी बिनाकुनै योगदान, बिनाकुनै राजनीतिक खुवी बीपी कोइरालाको पुत्र हुनुको सुविधा शशांक कोइरालाले प्राप्त गरेका छन । खासमा यि दुबै जनासँग कुनै त्यस्तो राजनीतिक गुण छैन जसले देश र जनताको उन्नतिमा योगदान पुर्‍याउन सकोस ।

प्रकाशमान सिंहले हालै भएको एउटा कार्यक्रममा निकै भावुक र मलिन भएर आफुले अहिलेसम्म जनताको लागि गरेका कामको बिस्तार लगाए । उनले आफूले जनप्रतिनिधिका रूपमा क्षेत्र नं. १ मा सामुदायिक विद्यालयका संरचनादेखि दुःख पर्दा बस्ने किरियापुत्री भवनसम्ममा काम गरेको बताए ।

प्रकाशमान नेपाली कांग्रेसका यस्ता थोरै नेताहरुमा पर्दछन जसले अढाई दशक भन्दा बढी नेपालको राज्य सत्तामा ओहोर दोहर गरिरहेका छन । काठमाडौंबाट निर्वाचित भएको एउटा सांसदले के गर्न सक्दथ्यो अथवा के गर्नु पर्दथ्यो भन्ने कुरा कसैले उनलाई बताएकै छैन । उनले भनेको सामुदायिक स्कुल र किरियापुत्री भवन भने यस्ता कुरा हुन जसको निर्माण एउटा टोलको सामान्य समितिले पनि गर्न सक्दछ । प्रकाशमानले दुई दशक भन्दा बढी सुविधाका पदमा बिताएर ‘मैले किरियापुत्री भवन निर्माणमा काम गरें’ भन्नु जती हाँस्यास्पद सुनिन्छ एउटा देश संचालन गर्छु भन्ने नेताका लागि लाजमर्दो विषय पनि हो । त्यो कार्यक्रममा नेता सिंहले आफू लामो समयदेखि पार्टी र सरकारमा समेत कहिल्यै ‘फर्स्ट म्यान’ नभएको भन्दै मौका दिन आग्रह गरे ।

‘म ग्रासरुटदेखि नम्बर टु भएर काम गरेको मान्छे हुँ । अहिलेसम्म नम्बर वान भएर काम गर्न पाएको छैन । मलाई कुनै कुराको लोभलालच छैन,’ उनले अघि भने, ‘म यदि नम्बर वान म्यान भएँ भने लोभलालच नभएको, कुनै स्वार्थ नभएको नेता ठाउँमा पुग्यो भने गर्न सक्छ भनेर पुष्टि गर्छु, म काम गरेर देखाउँछु ।’ भन्दै आफूलाई ‘फर्स्ट म्यान’ बनाउन आग्रह पनि गरे ।

काठमाडौं क्षेत्र नं १ बाट लगातार विजयी बन्दै आएका सिंह पछिल्लो चुनावमा रविन्द्र मिश्रसँग थोरै मतान्तरले जित्न सफल भएका हुन । यस पटक पनि मिश्र १ नं क्षेत्रबाट नै चुनाव लड्दै छन भने अन्य केही स्वतन्त्र उम्मेद्वारहरुले पनि आफ्नो उम्मेद्बारी घोषणा गरेका छन । त्यसकारण अहिले यो क्षेत्र सिंहका लागि त्यति सजिलो देखिंदैन । काठमाडौंका रैथाने यिनलाई पछिल्ला चुनावहरु निकै सहज थिए । किनभने यो क्षेत्र मात्र होइन देश भरी गणेशमानको योगदान बोल्थ्यो ।

तर अब समय अलिकती फेरिएको महशुस स्थानिय निर्वाचनले गराएको छ । अहिले जनताले आन्दोलन, संगत र पारिवारिक कारणले स्थापित भएका नेताहरुलाई पुरानो ब्याजमा सिमित नरहन र भौतिक विकासका लागि योगदान दिन भनेका छन । जुन प्रकाशमान त के देशको कार्यकारी तहमा पुगेको कुनै पनि नेताले गरेका छैनन । देशका लागि काम गर्नलाई खासमा प्रकाशमानले भने जस्तो ‘नम्बर वान म्यान’ हुन पर्दैन । महाविर पुनलाई एक पटक तल देखी माथिसम्म हेर्ने हो भने सिंहले देख्ने छन- कुनै सरकारी पदमा नरहेर र चप्पल लगाएर हिंडेको भरमा मात्र पनि कति काम गर्न सकिन्छ भन्ने ।

कुनैपनि लोभ लालच नभएको मान्छे काम गर्नका लागि पदमा पुग्नै पर्छ भन्ने छैन । प्रकाशमानले आफूलाई इमान्दार र स्वार्थरहित राजनीतिककर्मी भनेर पटक पटक भने । मतदाता वा अझै नेपाल कांग्रेसका कार्यकर्ताका लागि यो अझै उदेक लाग्दो हुन सक्दछ ।

अलिकती पछाडि फर्केर हेरौं । नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनमा प्रकाशमान सभापतिका दावेदार थिए । उनी चुनावमा होमिए पनि । तेस्रो भए । उनले सभापतिको चुनाव जित्ने सम्भावना छँदै थिएन । किनभने सिंहले नेपाली कांग्रेसको सभापति बन्ने हैशियत बनाइसकेका छैनन । गणेशमान सिंहलाई सम्मान गर्दै कार्यकर्ताले भोट हाले । ति ज-जसले उनलाई भोट हाले ति मध्ये ८० प्रतिशत मतदातले गणेशमानका नाममा भोट हालेका थिए । जे जस्तो भए पनि महाधिवेशनमा प्रकाशमानको उपस्थिती दमदार नभए पनि गतिलो थियो ।

तर नेपाली कांग्रेसको विधान अनुसार तेस्रो हुने ब्यक्ती चुनावी दौडबाट अलग हुने भएकोले उनी अलग्गिए । देउवा र शेखर कोइरालाको बिचमा अन्तिम प्रतिस्पर्धा हुने भयो । त्यतिबेलासम्म सिंह शेरबहादुर देउवाका कट्टर आलोचक थिए । धेरैको अनुमान उनले शेखर कोइरालालाई समर्थन गर्ने छन र नेपाली कांग्रेसको आगामी सभापति कोइराला बन्ने छन भन्ने थियो । तर त्यस्तो भएन । रातारात पासा पल्टियो । कांग्रेस भित्र प्रकाशमान सिंहले जत्तिको देउवालाई कसैले चिनेकै छैन । देउवाको लगाव, पार्टी र देशलाई केही गर्न सक्छन वा सक्दैनन भन्ने उनलाई धेरै राम्रोसँग थाहा छ । देउवाको हैशियत पनि थाहा छ । त्यसैले नेपाली कांग्रेस टुक्रिंदा देउवाका खम्बा बनेर प्रजातान्त्रिक कांग्रेसमा लागेका उनले कांग्रेस जोडीएपछी देउवालाई छोडे । तथापी त्यो समय निकै भयानक थियो जब सभापतिको अन्तिमा दौडमा उनले देउवालाई समर्थन गरे । यहाँँनेर तिनै लोभ र स्वार्थले काम गरेको थियो ।

चाक्सीबारिमा रातभर भएको लेनदेनमा काठमाडौंको मेयरमा प्रकाशमानकी श्रेमतीलाई नेपाली कांग्रेसको उम्मेद्वार बनाउन देउवा सहमत भएका थिए । अरु के के लेनदेन भएका थिए तो समयले भन्दै जाने छ । यदि प्रकाशमानले महाधिवेशनमा कार्यकर्ताको चाहना अनुरुप शेखर कोइरालालाई समर्थन गरेको भए सम्भवत: नेपालको राजनीतिले अर्कै मोड लिने थियो । देशले बाटो फेर्न सक्थ्यो र नेपाली कांग्रेसको भविष्य फेरिन सक्दथ्यो । तर प्रकाशमानका सामान्य स्वार्थका कारण देश, राजातिनी र पार्टी जहिंका त्यहिं रह्यो ।

अब देशले भन्ला, जनताले भन्लान प्रकाशमान कत्तिको स्वार्थ रहित नेता हुन ? नेपाली कांग्रेसका हरेक नेताहरु ब्यक्तिगत लेनदेनमा चलेका छन- यो सर्वब्यापी कुरा हो । तर प्रकाशमान अन्य भन्दा अझ बढी छन- पार्टी र सरकारमा रहँदा यिनका स्वार्थ कहाँँ कहाँँ कती झांगिएका छन- कार्यकर्ताले मात्र होइन पुरै देशले देखेको छ । प्रकाशमान तिमी न त इमान्दार नेता हौ न स्वार्थ रहित ।

तपाइँको प्रतिक्रिया

फेसबुक