शुक्रबार, वैशाख ७, २०८१

विमान कर्मचारीहरूले किन गरिरहेछन् युरोपभरि हडताल ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २४ गते १८:०४

आफ्नो तलव र थप सुविधाको माग गर्दै युरोपभरि, एयरपोर्ट र विमान कर्मचारीहरूले हडताल गरिरहेका छन्, जसले गर्मीयामको ब्यस्त यात्रामा गम्भीर अवरोध उत्पन्न गरेको छ ।

ग्राउन्ड स्टाफ, ब्यागेज ह्यान्डलर, केबिन क्रू र पाइलटहरू सहितका कर्मचारीहरूले स्पेन, इटाली, पोर्चुगल, जर्मनी र बेलायत जस्ता देशहरूमा हडताल गरिरहेका छन्।

यात्रु संख्या लगभग कोरोना महामारी पूर्वको स्तरमा फर्किएपछि बढेको यात्रुको चापले हवाई औद्योगिक क्षेत्र ब्यस्त बनेको छ । यात्रुको चाप अनुसारको कर्मचारी संख्या नहुँदा युरोप र यस वरपरका विमानस्थलहरूमा अराजकता निम्त्याएको छ ।

कर्मचारी हडतालको कारण

कोरोना महामारीका प्रतिबन्धहरु लगभग सबै देशले हटाइदिनाले युरोपभरिनै यात्रुको चाप बढेको छ । कोरोना कालमा कर्मचारी संख्या ब्यापकरुपमा कटौति गरिएको थियो । तर हाल कोरोना काल सक्किएर यात्रु संख्या कोरोनाकाल अग्रिमकै स्थितिमा पुग्दा पनि कर्मचारी थपिएको छैन । यात्रुको संख्या तिब्र बढ्नु र कर्मचारि नथपिनुले गर्दा उड्डयन क्षेत्रले यात्रुलाई सेवा दिन संघर्ष गरिरहेको छ ।

महामारीको समयमा धेरै एयरपोर्ट बन्द थिए । विमाननै नचलेपछि पाईलट लगायतका उडानका कर्मचारी, ग्राउन्ड ब्यागेज होल्डर कोहि चाहिएन । त्यसैले धेरै कर्मचारी निकालिएर तिनलाई पुन भर्ति नगरिएकाले अहिले कर्मचारी कम भयो ।
कर्मचारी कटौति तर यात्रु संख्या तिब्र बढ्दो भएपछि काम बढी भयो । त्यसैले धेरै काम र कम पारिश्रमिक, चेक-इन स्टाफ, केबिन क्रू र पाइलटहरू लगायतका कर्मचारीहरू पछिल्ला केही महिनादेखि हडताल गरिरहेका छन् ।

विमानस्थलका कर्मचारीहरू अझै पनि कोभिड सम्झौतामै

बास्तवमा कर्मचारी हडतालको कारण कोरोनाकै कारण उत्पन्न भएको हो । त्यसै भन्छन् कर्मचारीहरु ।

“यो सबै कोविडबाट सुरु भयो” युरोपेली यातायात श्रमिक महासंघका उड्डयन शाखा प्रमुख इयोन कोट्स भन्छन्।

महासंघले खानपान, इन्धन, बोर्डिङ र एयर ट्राफिक कन्ट्रोललगायत सबै प्रकारका भूमिकाहरूमा कामदारहरूको प्रतिनिधित्व गर्दछ ।

“विमानस्थलका कामदारहरू एकदमै अनिश्चित तरिकाको भारी काममा छन्,” कोट्स भन्छन्, “यो समस्या नयाँ होइन: ग्राउन्ड स्टाफले विशेष गरी दशकौंदेखि उनीहरूको सेवा, सर्त र सुविधाहरू घटाएर काम गरिरहेका छन् ।”

कोट्सका अनुसार एयरपोर्ट र एयरलाइन्सका कर्मचारीहरू पहिले नै कम तलब र शून्य-घण्टा अनुबन्धमा संघर्ष गरिरहेका थिए, तर महामारीले सबैलाई झनै बढाउने काम गर्‍यो ।”

“बेल्जियम, स्पेन र इटाली जस्ता देशहरूमा, जहाँ हामीले धेरै हडताल देखिरहेका छौं, कर्मचारीहरूलाई कोविड अनुबन्धमा राखियो र तलब कटौती गरियो” उनी भन्छन्।

कोट्सका अनुसार कर्मचारीहरुलाई हडतालमा उतार्न बाध्य पारिएको छ । किनभने कामदारहरूले कडा मेहनत गरिरहेका छन् । धेरै अवस्थामा कम तलबको लागि पनि तोकिएको भन्दा धेरै समय काम गरेका छन् । कोविड कालका अप्ठेरा र संकुचित सम्झौताहरू अझै पनि बाध्यकारी छन् । र धेरैले त्यहि संझौता सन् २०२४ सम्म लागू गर्ने उल्लेख गरेका छन् ।

रायन एयर केबिन क्रू, लुफ्थान्सा ग्राउन्ड क्रू र इजीजेटका कर्मचारीहरूले बढ्दो महँगी र मुद्रा स्फितिको अनुपातमा आफ्नो तलब नबढाएको भन्दै हड्ताल गर्नुको कारण न्युन तलब भएको बताएका छन् ।

सम्झौता परिवर्तन सम्मान गर्न माग

रायन एयरको समस्याहरू कोविड संकट अघिदेखि सुरु भएको हो । र अझै समाधान भएको छैन। युनियन सिन्डिकल ओब्रेरा (युएसओ) का युनियनिस्ट लिडिया अरासान्जका अनुसार स्पेनमा रायनएयर केबिन क्रूले कम्पनीलाई सन् २०१९ देखि सम्झौताहरूको सम्मान गर्न आह्वान गर्दै आएका छन्।

“हामी आयरिश अनुबन्ध अन्तर्गत थियौं । तर २०१९ मा रायन एयरले सबै कामदारहरूलाई स्पेनी कानून अन्तर्गत पारित गर्ने सम्झौतामा हस्ताक्षर गर्‍यो” अरासान्ज बताउँछिन् “तर उनीहरूले आफूले चाहेको भाग मात्रै कार्यान्वयन गरेका छन् ।”

युनियनले एयरलाइनलाई स्पेनिस कानून अनुकूल कामदारहरूको सम्झौता मिलाउन आग्रह गरिरहेको छ । त्यस अनुसार कर्मचारीहरूलाई ३० दिनको वार्षिक बिदा, प्रति वर्ष १४ वटा सरकारी र सार्वजनिक बिदा र प्रायः स्पेनी कामदारहरूले वार्षिक रूपमा प्राप्त गर्ने दुई अतिरिक्त भुक्तानीहरू समावेश हुन्छ ।

रायन एयरद्वारा हडताल गर्ने केबिन क्रू बर्खास्त

अघिल्लो पटकपनि रायर एयरका कर्मचारीले हडताल गरेका थिए । युनियनले अघिल्लो हड्ताल कारबाहीमा बर्खास्त गरिएका कर्मचारीहरूलाई पुनर्बहाली गर्न पनि आह्वान गरिरहेको छ ।

“हामीले रायन एयरलाई बर्खास्त गरिएका कर्मचारीलाई काममा फिर्ता लैजान आग्रह गरिरहेका छौं । किनभने उनीहरूलाई हडताल गर्ने अधिकार छ । आफ्नो अधिकार प्रयोग गरेको कारण उनीहरूलाई बर्खास्त गरिएको थियो” अरसान्ज भन्छन्।

युनियनका अनुसार ११ कर्मचारीलाई बर्खास्त गरिएको छ भने करिब १०० जना अनुशासनात्मक कारबाहीमा छन् । अनुशासनको कारवाहिपनि फिर्ता लिनुपर्ने माग मजदूर युनियनको छ ।

यो गर्मीयाममा थप हडताल ?

कोट्सका अनुसार कोविड कालमा गरिएका अनुबन्धहरूले कर्मचारीले हडताल गरे र कम्पनीहरूलाई वार्ता सुरु गर्न बाध्य पार्‍यो । तर समस्या भने अझै धेरै छ जुन समाधान भएको छैन।

“त्यसैले एयरपोर्ट कर्मचारीहरूले गर्मीमा हडताल जारी राख्ने संभावना छन्। गर्मीयामको तालिका कम्तिमा सेप्टेम्बरको मध्य सम्म रहनेछ र दबाब अझै पनि कामदारहरूमा रहनेछ” कोट्स भन्छन्।

“हामीले अहिले सम्झौताहरू पुन: सच्याउन वार्ता गरेपनि ती मागहरू पूरा गर्न हामीसँग समय पुग्ने छैन । किनकि कामदारहरूको संख्या बढाउने बेलासम्म गर्मी समाप्त हुनेछ ।”

स्पेनका इजीजेट पाइलटहरूले तलब र कामको अवस्थालाई लिएर अगस्टमा नौ दिन हडताल गर्ने घोषणा गरिसकेका छन् ।

पोर्चुगलमा, अपरेटर एएनएका उड्डयन कर्मचारीहरूले अगस्ट १९-२१ सम्म ज्याला वृद्धिको माग गर्दै हडतालको योजना बनाएका छन् । हडतालले लिस्बन, पोर्तो र फारो लगायतका प्रमुख एयरपोर्टहरूमा गम्भीर अवरोध ल्याउने सम्भावना छ । ति पोर्चुगलका अत्यन्त ब्यस्त पर्यटकिय गन्तब्य हुन् ।

रायन एयरका कर्मचारीले आगामी पाँच महिनासम्म नियमित औद्योगिक कारवाहिको योजना समेत बनाएका छन् । हडताल प्रत्येक हप्ता सोमबारदेखि बिहीबारसम्म प्रत्येक २४ घण्टामा हुनेछ ।

“अहिलेको लागि केहि परिवर्तन भएको छैन। हामीले सम्झौतामा पुग्ने प्रयास गर्न रायन एयरलाई इमेल पठाएका थियौं । तर हामीले कुनै जवाफ पाएनौं” अरासान्ज भन्छन् “हडताल आयोजक समितिलाई धम्की दिने र हामी छानबिनमा छौँ भन्ने जवाफको पत्र मात्रै पायौं ।”

तपाइँको प्रतिक्रिया

फेसबुक